जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • निजी क्षेत्रको कन्फिडेन्स बढाउँदै अर्थमन्त्री

निजी क्षेत्रको कन्फिडेन्स बढाउँदै अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उकास्ने प्रयास थालेका छन्। खनाल अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको भोलिपल्ट मंगलबारबाट निजी क्षेत्रलाई ढाडस दिन मैदानमा उत्रिएका छन्। नवनियुक्त अर्थमन्त्री खनालले अटो हबको रुप लिएको थापाथलीस्थित क्षतिग्रस्त शोरुम र भाटभटेनी सुपरमार्केटका स्टोरको अवलोकन गरेका छन्।

उनले अर्थसचिव घनश्याम उपाध्यायलाई साथै लिएर गाडीका क्षतिग्रस्त शोरुम अवलोकन गर्दै व्यवसायीहरुलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

मंगलबार साढे १२ बजेतिर पुगेका शोरुम अवलोकन गर्न पुगेका खनालले तोडफोड र आगजनीबाट भएको क्षतिको जानकारी दिंदै शोरुम पहिलेकै अवस्थामा ल्याउनका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन्। उनले व्यवसायीहरुलाई क्षति यकिन गरेर बीमाको रकम दाबी गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगजनी र तोडफोडले शोरुममा साथै गाडीहरु ध्वस्त भएको अवस्थामा अर्थमन्त्रीको आश्वासनले आफूहरुलाई पिडामा मल्हम मिलेको जस्तो अनुभूति भएको बताए।

‘उहाँले बीमामा क्षतिको दाबी गर्दा पाइने रकम पहिले नै सर्टेन प्रतिशत निकासा गर्ने व्यवस्था मिलाइदिने भन्नु भएको छ। यसले हामीलाई शोरुम बनाउन सहज हुन्छ,’ चौधरीले भने, ‘बीमामा सहजीकरण गरिदिने आश्वासनले हामीले काम गर्न पाउँछौं। एकातिर बीमाको प्रक्रिया चल्दै गर्छ, अर्कातिर क्षतिग्रस्त शोरुम बनाउने काम अगाडि बढ्छ।’

जेनजीको नाममा भएको आन्दोलनका क्रममा भदौ २४ गते अराजक समूहले टाटा मोटर्स, महिन्द्रा, सुजुकी र हुन्डाईको थाथापलीस्थित शोरुमा तोडफोड गरेका थिए। टाटा मोटर्स, महिन्द्रा र सुजुकीको शोरुममा आगजनी समेत गरिएको थियो।

सीजी ग्रुपको पूरै भवन क्षतिग्रस्त भएको थियो। तोडफोड र आगजनीमा ३० वटा गाडी ध्वस्त भएको व्यवसायीहरुले बताएका छन्। उनीहरुका अनुसार करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

‘अर्थमन्त्रीले क्षतिग्रस्त शोरुम अवलोकन गरेर सहयोग गर्ने आश्वासन दिनुलाई हामी व्यवसायीहरुले सकारात्मक रुपमा लिएका छौं। यसले हाम्रो कन्फिडेन्ट बढाउने काम गरेको छ,’ चौधरीले भने।

नवनियुक्त अर्थमन्त्री खनालले सोमबार पद्बहालीका क्रममा नै निजी क्षेत्रको मनोकल उकास्नु आफ्नो प्राथमिकता भएको बताएका थिए। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी निर्देशक(सीईओ) राजनबाबु श्रेष्ठ अर्थमन्त्रीको आश्वासनले निजी क्षेत्रको मनोबल बढाउने बताए।

‘अर्थमन्त्रीले यसरी फिल्डमै उत्रेर व्यवसायीले खेप्नुपरेको समस्या नजिकबाट हेर्दा व्यापारिक क्षेत्रलाई कन्फिडेन्ट दिन्छ। राम्रो म्यासेज जान्छ,’ श्रेष्ठले भने, ‘उहाँले शोरुम अवलोकनका साथै व्यवसायीलाई दिएको आश्वासनले सरकार निजी क्षेत्रको साथमा भएको अभास दिएको छ।’

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक निराकर श्रेष्ठले अर्थमन्त्रीको आश्वासनलाई आफूले निजी क्षेत्र अप्ठेरोमा पर्दा सरकारले साथ दिन्छ भन्ने रुपमा लिएको बताए।

‘अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको २४ घन्टा नहुँदै उहाँ क्षतिग्रस्त शोरुम अवलोकन गर्न आउनुभयो। यो भनेको सरकार व्यवसायीको समस्यामा गम्भीर छ भन्ने हो,’ उनले भने, ‘यसले हामी व्यवसायीहरुलाई लगानी गर्न प्रोत्साहित गरेको छ।’ व्यवसायीहरुले क्षतिग्रस्त शोरुम बनाउने प्रक्रिया अगाडि बढाइसकेका छन्।

अर्थमन्त्री भाटभटेनीमा
अर्थमन्त्री खनाल गाडीका शोरुम अवलोकनपछि भाटभटेनी सुपरमार्केटको कोटेश्वरस्थित क्षतिग्रस्त स्टोरमा पुगेका छन्। उनलाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले क्षतिबारे जानकारी गराएका छन्।

रामेश्वर खनाल र मीनबहादुर गुरुङ
जेनजीको नाममा भएको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका १२ वटा स्टोरमा तोडफोड र आगजनी तथा थप ९ वटा स्टोरमा लुटपाट भएको थियो। भाटभटेनीका अध्यक्ष गुरुङले अर्थमन्त्रीले आफ्नो क्षतिग्रस्त स्टोर अवलोकन गर्दा आफूहरुलाई हौसला मिलेको बताए।

‘अर्थमन्त्री रामेश्वर खनालज्यू आगजनीबाट प्रभावित हाम्रो कोटेश्वर शाखा अवलोकन गर्न आउनुभयो। उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ,’ गुरुङले भने, ‘भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन। हामी अझ सबल भएर पुनर्निर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं।’

क्षतिग्रस्त भाटभटेनी सुपरमार्केट सफाई गरिंदै
अराजक समूहले चौधरी ग्रुपको कारखानादेखि विभिन्न होटल र अरु व्यावसायिक प्रतिष्ठानलाई पनि खरानी बनाइएको थियो। त्यही कारण निजी क्षेत्र सरकार र राष्ट्र बैंकसँग मनोबल उकास्ने कार्यक्रम ल्याउन माग गरेको छ।

665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?