जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • मुद्दतीबाट धमाधम पैसा झिक्दै संस्थागत निक्षेपकर्ता

मुद्दतीबाट धमाधम पैसा झिक्दै संस्थागत निक्षेपकर्ता

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउन थालेपछि बीमा कम्पनी लगायत ठूला संस्थागत निक्षेपकर्ताले लगानी रणनीति फेर्न थालेका छन्। निरन्तर घट्दो ब्याजदरले आम्दानी खुम्चिने भएपछि ठूला संस्थागत निक्षेपकर्ताले मुद्दतीमा लगानी घटाएर अन्यत्र बढाएका छन्। चालु आर्थिक वर्ष पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत निक्षेप २१ अर्ब ५० करोड ३९ लाख रुपैयाँले खुम्चिएको छ। गत वर्ष साउनमा बीमा कम्पनीसहित ठूला संस्थागत निक्षेपकर्ताको मुद्दती निक्षेपमा लगानी ३ अर्ब ७ करोडले खुम्चिएको थियो।

गत असार मसान्तमा बीमा कम्पनीसहित ठूला संस्थागत निक्षेपकर्ताले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा कूल १३ खर्ब ३६ अर्ब रुपैयाँ लगानी गरेकोमा अहिले १३ खर्ब १४ अर्बमा झरेको छ। सामाजिक सुरक्षा कोषका प्रवक्त्ता कृष्ण अधिकारीले ब्याजदर धेरै तल आउकाले मुद्दतीको रकम अन्य क्षेत्रमा लगानी गर्न थालेको बताए।

‘बैंकहरुले ब्याजदर निरन्तर घटाउँदै आएका छन्। संस्थागत मुद्दतीमा ब्याजदर बचतको बराबर मात्र छ,’ उनले भने, ‘त्यसैले ब्याजदरभन्दा बढी प्रतिफल पाउने क्षेत्रतर्फ लगानी बढाउन थालेका छौं।’ उनका अनुसार कोषले मुौतीबाट पैसा झिकेर डिबेञ्चर, सरकारी ऋणपत्र र म्युअल फण्डमा लगानी बढाइरहेको छ।

मुद्दती निक्षेपमा कर्मचारी सञ्चय कोषले पनि लगानी घटाएको छ। पछिल्लो एक महिनामा मुद्दतीमा कोषको लगानी ४ अर्ब ७२ करोड रुपैयाँले खुम्चिएको छ। कोषका प्रवक्त्ता दामोदर सुवेदीले मुद्दतीको रकम झिकेर ट्रेजरी बिल्स र सरकारी ऋणपत्रमा लगानी बढाउन थालेको बताए।

‘बैंकहरुको ब्याजदर धेरै नै तल आयो। उनीहरुले संस्थागत मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन्। यति कम ब्याजदरमा लगानी गरेर के गर्नु?,’ सुवेदीले भने, ‘मुद्दतीमा राखेर फाइदा हुने नदेखिएपछि हामी अन्य क्षेत्रतिर लागेका हौं। हामीले ट्रेजरी बिल्स र विकास ऋणपत्रमा लगानी बढाइरहेका छौं। त्यतातिर मुद्दती निक्षेपको तुलनामा रिटर्न केही बढी छ।

मुद्दती निक्षेपमा नागरिक लगानी कोषको लगानी पनि एक महिनामा ३ अर्ब ६० करोड रुपैयाँ खुम्चिएको छ। असार मसान्तमा मुद्दती निक्षेपमा कोषको कूल लगानी १ खर्ब ३३ अर्ब रहेकामा अहिले १ खर्ब २९ अर्बमा झरेको छ।

मुद्दतीमा अन्य संस्थागत निक्षेपकर्ताको लगानी २१ अर्ब २८ करोडले घटेको छ। तर, बीमा कम्पनीले भने बढाएका छन्। बीमा कम्पनीले पछिल्लो एक महिनामा मुद्दतीमा ८ अर्ब ११ करोड रुपैयाँ लगानी बढाएका छन्। नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीइओ चंकी क्षत्रीले ब्याजदर तल आए पनि धेरै विकल्प नरहेकाले मुद्दतीमा लगानी बढाएको बताउँछन्।

‘संस्थागत मुद्दतीको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेका कारण केही कम्पनीले अन्य क्षेत्रमा लगानी बढाउन थालेका छन्। सबैले एउटै क्षेत्रमा लगानी गर्ने कुरा पनि भएन। हामीसँग लगानीको धेरै विकल्प छैन,’ उनले भने, ‘त्यसैले ब्याजदर घटेर प्रतिफल खुम्चिने अवस्था भए पनि हामीले मुद्दतीमा नै लगानी बढाएका छौं।’

630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका