
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। “आयकर ऐन २०५८” बमोजिम करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागमा पेश गर्नुपर्ने भएकाले ग्राहकले तत्काल प्यान अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार प्यान अद्यावधिकका लागि ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको PAN Update विकल्प प्रयोग गर्न सक्नेछन्। साथै, आफूलाई सहज हुने जुनसुकै शाखाबाट पनि प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
एन आई सी एशिया बैंकले निक्षेपकर्तालाई भुक्तानी गरिएको ब्याजमाथिको कर (Tax Deducted at Source – TDS) E-TDS प्रणालीमा प्रविष्ट गर्न प्यान अनिवार्य रहेको स्पष्ट पारेको छ। प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण स्वचालित रूपमा अनुसूची–१० मा मिलान हुने भएकाले ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ। यसले बैंकसम्म धाउनुपर्ने झन्झट पनि अन्त्य गर्ने बताइएको छ।
तर, प्यान अद्यावधिक नगरिएमा E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा वा थप कर समायोजन गर्नुपर्ने अवस्थामा बैंक जिम्मेवार नहुने चेतावनीसमेत दिइएको छ।
यसअघि प्यान उपलब्ध गराएको भए पनि करकट्टी विवरण समावेश नभएका ग्राहकले नजिकैको शाखा कार्यालय वा बैंकको ग्राहक सम्पर्क केन्द्र (फोन नम्बर १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गरी सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
बैंकले आफ्नो लाखौं ग्राहकलाई कर प्रशासन प्रणालीमा सहज पहुँच दिलाउन यो पहललाई महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































