
तीनवटा व्यावसायिक संस्थाले प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सोमबार अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा नल्याए निजी क्षेत्र निरुत्साहित हुने बताए।
‘जेनजीको प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठानमा भएको तोडफोड, लुटपाट र आगजनी अक्षम्य हो। त्यसैले छानबिन गरेर दोषी पत्ता लगाइ कारबाही गरिनुपर्छ। अन्यथा निजी क्षेत्र थप निरुत्साहित हुन्छ,’ उनीहरुले भने। जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते भाटभटेनी सुपरमार्केटका २१ वटा स्टोरमा तोडफोड र लुटपाट तथा ९ वटामा आगजनी भएको थियो। यस्तै विभिन्न होटल, गाडीका शोरुम लगायत पनि तोडफोड र आगजनीमा परेका थिए।
ढकाल, पाण्डे र अग्रवालले सरकारले उद्यमी व्यवसायीले निर्वाधरूपमा काम गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए।
‘सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर पनि हो। लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन गरी सबै सरोकारवालालाई आश्वस्त पार्नुपर्ने आवश्यकता छ,’ ढकालले भने। तीन संस्थाका अध्यक्षले निर्वाचनले नै खुला बजार र लोकतान्त्रिक व्यवस्था बलियो हुने भएकाले समयमै निर्वाचन गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको जवाफ दिए। उनले निजी क्षेत्रको मनोबल उकास्न सरकारले एकपछि अर्को निर्णय गरिरहेको बताए। जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका व्यावसायिक प्रतिष्ठानलाई सरकारले यसअघि नै राजस्व छुट, बैंकिङ सहुलियत र बीमामा सहजीकरण गर्ने निर्णय गरिसकेको छ।
अर्थमन्त्री खनालले निजी क्षेत्रको मागबमोजिम भन्सारमा नयाँ ‘डेटाबेस’ प्रणाली लागू गरिएको भन्दै त्यसको उपयोग गर्न व्यवसायीलाई आग्रह गरे। सन्दर्भ मूल्य खारेज गरी भन्सारमा असोज ९ बाट लागू गरिएको ‘अनलाइन डेटाबेस’ प्रणालीले बजारमा पारदर्शी कारोबारले प्रश्रय पाउने मन्त्री खनालको विश्वास छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































