जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • व्यवसाय बढाउन नसकेपछि मुद्दती निक्षेपमा बैंकहरुको अनिच्छा

व्यवसाय बढाउन नसकेपछि मुद्दती निक्षेपमा बैंकहरुको अनिच्छा

बैंक तथा वित्तीय संस्थाले लगानी बढाउन नसकेर तरलता थुप्रिएपछि संस्थागत निक्षेपमा रुची देखाउन छोडेका छन्।
ब्याजदर घटेर तल्लो विन्दुमा आएका बेला लागत कम पर्ने भए पनि कर्जा लगानी बढाउन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपमा अनिच्छा देखाउन थालेका हुन्। बैंकहरुको अनिच्छाका कारण मुद्दतीमा संस्थागत निक्षेप खुम्चिएको छ। चालु आर्थिक वर्ष पछिल्लो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीमा संस्थागत निक्षेप ६ अर्ब ५८ करोड रुपैयाँ खुम्चिएको हो।

कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदी मुद्दती निक्षेपमा लगानी गर्नका लागि प्रस्ताव माग गर्दा बैंकहरुले रुची नै नदेखाएको बताउँछन्। ‘संस्थागत मुद्दतीको ब्याजदर व्यक्तिगतमा १ प्रतिशत कम हुनुपर्ने भन्ने छ। तर, अहिले बैंकहरुले व्यक्तिगतमा ५/६ प्रतिशत ब्याजदर दिए पनि संस्थागतमा २.७५ प्रतिशतमा झारेका छन्,’ सुवेदीले भने, ‘त्यही ब्याजदरमा लगानी गर्नका लागि प्रस्ताव आह्वान गर्दा पनि बैंकहरुले बिड गरिरहेका छैनन्।’

चालु आर्थिक वर्ष दुई महिनामा कोषको मुद्दती निक्षेपमा लगानी ९ अर्ब ८९ करोड रुपैयाँले खुम्चिएको छ। बैंकहरुले मुद्दतीमा निक्षेपमा पैसा राख्न नचाहेपछि कोषले सरकारी सुरक्षणपत्र र सञ्चयकर्तामा लगानी बढाइरहेको छ। ‘हाम्रा सञ्चयकर्ता धेरै छन्। उनीहरुलाई विभिन्न ६ प्रयोजनका लागि कर्जा दिइरहेका छौं,’ सुवेदीले भने, ‘सञ्चयकर्तालाई न्यून ब्याजदरमा लगानी गरिरहेका छौं।’ सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई स्पेशल कर्जा, घर कर्जा, शैक्षिक कर्जा, सजिलो कर्जा, घर मेन्टिनेन्स कर्जा र जग्गा खरिद कर्जा दिने गरेको छ।

मुद्दती निक्षेपमा लगानी नागरिक लगानी कोषको २ अर्ब ३५ करोड र अन्य संस्थागत लगानीकर्ताको ८ अर्ब २६ करोडले खुम्चिएको छ। सामाजिक सुरक्षा कोषका एक कर्मचारीले बैंकहरुले पैसा लिन नमानेपछि सरकारी र अन्य संस्थाको ऋणपत्रमा लगानी बढाउन थालेको बताए। ‘बैंक तथा वित्तीय संस्थाहरुले थोरै थोरै रकमका लागि मात्र बिड गर्ने, त्यसमा पनि एकदमै कम ब्याजदरमा,’ ती कर्मचारीले भने, ‘त्यही कारण अहिले ऋणपत्र लगायत अन्य इन्स्ट्रुमेन्टमा लगानी बढाइरहेका छौं।’

बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी भने बढेको छ। पछिल्लो दुई महिनामा मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको लगानी १३ अर्ब ९३ करोडले बढेको छ। तर यो रकम पोहोरको वृद्धिको तुलनामा भने कम हो। पोहोर दुई महिनामा बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा १४ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेका थिए। कर्जा लगानी बढाउन नसकेर लगानीयोग्य रकम थुप्रिएका कारण संस्थागत निक्षेप स्वीकार गर्न चासो नदिएको एक बैंकका सीइओले बताए।

‘अहिले कर्जाको माग छैन। तरलता निरन्तर बढिरहेको छ। तरलता थुप्रिंदा हाम्रो लागत बढ्छ,’ ती सीइओले भने, ‘लागत बढ्छ भनेर व्यक्तिगत निक्षेप राख्दिन भन्न पाइँदैन। व्यक्तिगत निक्षेप आइरहेके छ। हामीलाई संस्थागत निक्षेपको तुलनामा व्यक्तिगत निक्षेपको हिस्सा धेरै हुनु राम्रो पनि हो।’

चालु आर्थिक वर्ष असोज मसान्तसम्म वाणिज्य बैंकहरुले करक्जा लगानी जम्मा ४४ अर्बले बढाएका छन्। जबकि सोही अवधिमा निक्षेप झन्डै २ खर्ब रुपैयाँ थपिएको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा प्रणालीमा झन्डै ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। जसमध्ये ७ खर्ब ९३ अर्ब रुपैयाँ राष्ट्र बैंकले खिचिरहेको छ।

ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत तल ब्याजदर आउन नदिन राष्ट्र बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।

225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका