आर्थिक विशेष
१० वाणिज्य बैंकको लेखापरीक्षणपछि बंगलादेशी कम्पनीको प्रारम्भिक निष्कर्ष : खराब कर्जा दोहोरो अंकमा

बंगलादेशको होवलदार युनुस एण्ड कम्पनीले नेपाली बैंकहरुमा ‘एभर ग्रिनिङ’ को अभ्यास व्यापक रुपमा भइरहेको जनाएको छ। १० वाणिज्य बैंकहरुको ऋणको लेखापरीक्षण सकेपछि नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई प्रारम्भिक ब्रिफिङमा उसले अन्तर्राष्ट्रिय मुद्रा कोषले दुई दशकदेखि औंल्याउँदै आएको ‘एभरग्रिनिङ’ का कारण नेपाली बैंकको खराब कर्जा न्यून रहेको विषयलाई पुष्टी गरिदिएको हो।
करिब दुई महिना लगाएर होवलदारले बढी ऋण प्रवाह गरेका १० ठूला बैंकमा लेखापरीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषको शर्त अनुसार राष्ट्र बैंकका अधिकारीहरुसमेत सम्मिलित भएर लेखापरीक्षण गरिएको हो। होवलदारले अर्को १० दिनभित्र लेखापरीक्षण प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। फाइलबाहेक ऋण लगानी भएका व्यापार-व्यवसायसम्म पुगेर होवलदारले अनुगमन गरेको थियो।
‘बिग्रिएको ऋणलाई राम्रो बनाउन अरु-अरु शीर्षकमा थप ऋण प्रवाह भएको कुरा हामीले पनि भन्दै आएका हौं,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘होवलदारले त्यसलाई डकुमेन्टेड गरिदिने भयो।’ उनका अनुसार होवलदारले ब्रिफिङमा बैंकहरुको खराब ऋण दोहोरो अंकमा हुने औंल्याएको छ।
बंगलादेशी कम्पनीले नबिल, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, ग्लोबल आइएमई, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण गरेको थियो। राष्ट्र बैंकले आफ्नै पहलमा बाँकी १० बैंकको पनि लेखापरीक्षण गराउने तयारी गरिरहेको छ।
होवलदारका अनुसार, ब्यापार-व्यवसाय नहुने ठाउँमासमेत ऋण प्रवाह भएको औंल्याएको छ। उसले गर्नु पर्नेजति नोक्शानी व्यवस्थापन नगरिएको भन्दै बन्द भइसकेको व्यापार-व्यवसायमा समेत नियमित रुपमा ऋण प्रवाह भइरहेको उल्लेख गरेको छ।
‘हामीसँगको ब्रिफिङमा होवलदारले जे जति कुरा उठाएको छ ती सबै हामीले पहिले औंल्याइसकेकै कुराहरु हुन्,’ उच्च स्रोतले भन्यो, ‘अहिले त उसले १० वटा बैंकमा भएका मूख्य मूख्य अभ्यासका बारेमा औंल्याएको हो। बिस्तृत प्रतिवेदनमा हामीले फेला नपारेका अभ्यास वा गतिविधी पनि भएको उल्लेख हुन सक्छ।’
होवलदारले औंल्याएको अर्को महत्वपूर्ण विषय एउटा बैंकबाट अर्को बैंकमा ऋण ‘स्वाप’ गर्दा अस्वभाविक तरिकाले धितोको मूल्यांकन बढाउने गरिएको छ। ब्याज दर वा सेवा शुल्कलगायतका कारणले ऋण एउटा बैंकबाट अर्कोमा सर्नु पर्नेमा, समस्याग्रस्त भएको ऋणलाई राम्रो बनाउन मूल्यांकन बढाएर अर्कोमा सार्ने अभ्यास बढी भएको छ। बैंकहरुले निर्देशित कर्जातर्फ धितोको अधिक मूल्यांकन गरिएको पनि पाइएको छ।
होवलदारले पूर्ण प्रतिवेदन दिएपछि त्यसका आधारमा नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रको सुधार योजना बनाएर काम गर्नेछ। ‘आएको प्रतिवेदनका आधारमा कसरी अगाडि बढ्ने भनेर हामी योजना बनाउँछौं,’ उनले भने, ‘त्यसपछि सुधार गर्नु पर्ने ठाउँमा सुधार गर्छौं।’
उनका अनुसार, विदेशी कम्पनीले अध्ययन गरेको हुँदा उनीहरुको हेराइ र नेपालको अभ्यास फरक पर्न जान्छ। त्यस्तोमा व्यवहारिकता हेरिने छ। प्रतिवेदन आएपछि राष्ट्र बैंकले त्यसैका आधारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको ‘पर्फर्मेन्स रिभ्यू’ गर्ने छ।
‘कमजोर कार्यसम्पादन रहेका बैंकमा त्यसपछि सुधारका काम सुरु हुनेछन्। त्यो भनेको प्रमुख कार्यकारी अधिकृतलाई बिदा गर्न सकिन्छ,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘पहिले त तुलनात्मक अध्ययन हुन्छ। उनीहरुको कुरा सुनिन्छ। सुधार योजना के छन् भनेर हेरिन्छ। त्यसमा चित्त बुझेन भने प्रमुख कार्यकारीबाट हटाइन्छ।’
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सुपरिवेक्षणलाई बलियो बनाउनु पर्ने बताउँदै आएका छन्। पौडेलले त्यही रणनीति अनुसार जथाभावी ऋण प्रवाह गरेका र स्रोत दुरुपयोग गरेका बैंकका प्रमुख कार्यकारीलाई हटाउनेसम्मको योजना बनाएको उनी निकट स्रोतले बतायो।
‘आगामी दुई महिनामा गुणस्तर परीक्षण भएका बैंकहरुमा सुधारको काम सुरु भइसक्ने छ। प्रतिवेदन सार्वजनिक नभए पनि गुणस्तर कमजोर भएका बैंकले कति रेटिङ पाए भन्ने हामीले बढाएको निगरानीबाटै थाहा हुन्छ,’ स्रोतले भन्यो।
प्रतिवेदनमा खराब अंक पाएको बैंकमा नेतृत्व परिवर्तन गरेर सुधार थालिने छ। ‘त्यसभित्र व्यवस्थापन मात्र होइन सञ्चालक समिति पनि पर्छ,’ स्रोतले भन्यो। खराब कर्जा उच्च भएकै भरमा व्यवस्थापन कमजोर रहेछ भनेर मापन नगरिने तर खराब कर्जा बदनियतपूर्वक दिइएका ऋणका कारण बढेको हो/होइन भनेर हेरिने स्रोतले बतायो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार

































































