
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनले बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
‘हिजो पुस ९ गते झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडी आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामैं भनेको छु। एक वर्षअघि २०८१ पुस २१ गते मेचीनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै- आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिलेदेखि गाउँमा मेहनत गर्नोस्, म २०८४ मा उम्मेदवार बन्न इच्छुक छैन भनेर घोषणा गरेको थिएँ,’ उनले भने, ‘आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने। जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने। एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भएपनी उम्मेदवार बन्नैपर्ने। बाँचुन्जेल- क्षेत्र कब्जाको सोच राख्ने। सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने। हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ। अत: लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु्।’
विश्वप्रकाश झापा-१ को उम्मेदवारका लागि सर्वसम्म सिफारिस भएका छन्। उनले आफू यसपालि उम्मेदवार बन्नुको साटो देशव्यापीरुपमा पार्टीका उम्मेदवारको साथमा पुग्ने भन्दै चुनावमा युवा र नयाँ साथीलाई अवसर दिनुपर्ने बताए।
विश्वप्रकाशले फागुन २१ गतेका लागि चुनावको वातावरण बन्न नसकेको भन्दै निर्वाचन वैशाखमा सार्नुपर्ने पनि बताए। उनले संवैधानिक जटिलता आउन नदिनका लागि फागुन २१ गते सात प्रदेशका सात क्षेत्रमा निर्वाचन गर्न सकिने बताए।
‘फागुन २१ मा निर्वाचन गर्न उपयुक्त वातावरण बन्न सकेको छैन। चुनाव हुन कि त सरकारले वातावरण बनाउन सक्नैपर्छ कि त सर्वपक्षीय संवाद र छलफल गरेर वैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ,’ उनले भने, ‘संवैधानिक प्रश्न सम्बोधन गर्न फागुन २१ गते ७ प्रदेशका ७ क्षेत्रमा गर्न सकिन्छ।’
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































