
राष्ट्र बैंकको लचिलो नीतिपछि बैंक तथा वित्तीय संस्थामा घर कर्जाको माग बढेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घर कर्जाको हकमा लोन टू भ्यालु रेसियो र सीमा बढाएसँगै यस क्षेत्रमा ऋण लगानी बढ्न थालेको हो। यसपालि चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जाबापत २४ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। यो रकम पोहोर सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै हो। गत आर्थिक वर्ष पहिलो चार महिनामा घर कर्जा शीर्षकमा १० अर्ब २१ करोड ८० लाख रुपैयाँ प्रवाह भएको थियो।
चालु आर्थिक वर्ष चार महिनामा समग्र कर्जा ०.९२ प्रतिशत अर्थात ५१ अर्ब ५१ करोड रुपैयाँले बढ्दा घर कर्जा मात्रै २४ अर्ब ५२ करोड प्रवाह भएको हो। २०८२ कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ५६ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये ७.८४ प्रतिशत अर्थात ४ खर्ब ४२ अर्ब रुपैयाँ घर कर्जा हो।
५/६ प्रतिशत ब्याजदरको स्किमले कर्जा बढाउन सहयोग गरेको छ। न्यून ब्याजदरको स्किमसँगै राष्ट्र बैंकको नीतिले घर कर्जा बढ्न थालेको बैंकरहरु बताउँछन्। अहिले कर्जाको औसत ब्याजदर ७.३९ प्रतिशत छ। आधार दर (बेसरेट) साढे ५ प्रतिशतभन्दा तल झरेको छ भने बैंकहरूसँग लगानीयोग्य रकम ११ खर्बभन्दा धेरै छ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय आवासीय घर कर्जामा केन्द्रीय बैंकले लिएको खुकुलो नीतिका कारण बैंकहरुलाई व्यवसाय बढाउन सहज भएको बताउँछन्।
‘केन्द्रीय बैंकले आवासीय कर्जामा २ करोडको सीमा ३ करोड पुऱ्याएका कारण हामीलाई व्यवसाय बढाउन सहयोग पुगेको हो। यसमा सस्तो ब्याजदरले पनि ठूलो काम गरेको छ,’ उनले भने।
नेपाल बैंकले अहिले ५.७२ प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ। यो ब्याजदर स्थिर होइन, परिवर्तित हो। बैंकको बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ।
पछिल्लो तीन महिनाको औसत बेसरेट ५.२२ प्रतिशत छ। बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन्छन्।
घरजग्गाका साथै निर्माण क्षेत्रको कर्जामा खुकुलो नीति लिएको राष्ट्र बैंक आगामी दिनमा अझै लचिलो हुने तयारीमा छ।
मध्यम वर्गलाई लक्षित गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ‘लोन टु भ्यालु रेसियो’ बढाएको राष्ट्र बैंकले यसलाई अरू हिसाबले पनि सहजीकरण गर्न सकिन्छ कि भनेर हेरिरहेको छ।
राष्ट्र बैंकको नीति अनुसार, अहिले घरजग्गा किन्न ३ करोड रुपैयाँसम्म ऋण पाइन्छ। साथै, पहिलोपटक ३ करोडसम्मको घर खरिद वा निर्माण गर्ने प्रयोजनको कर्जामा लोन टू भ्यालु रेसियो यो वर्षको मौद्रिक नीतिबाट ७० बाट ८० प्रतिशत पुगेको छ।
अन्य क्षेत्रमा ऋणको माग निक्कै सुस्त रहेका कारण बैंकहरुले घरजग्गा क्षेत्रलाई प्रोत्साहित गर्दै आएका छन्। आवासीय घर कर्जामा जोखिम पनि कम हुन्छ।
अहिले वाणिज्य बैंकहरुले ७/८ प्रतिशत स्थिर र ५/६ प्रतिशत परिवर्तित ब्याजदरमा घर कर्जा दिइरहेका छन्। कतिपय बैंकहरुले घर र गाडी कर्जा ६ प्रतिशतभन्दा कम ब्याजदरमा दिइरहेका छन्।
एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ। परिवर्तितको हकमा भने बैंकको घर कर्जाको ब्याजदर ६.४० प्रतिशत छ।
नबिल बैंकले ६.३३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ प्रतिशत, एनएमबि बैंकले ६.२२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.३३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेका छन्।
राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनाल बैंकको लचिलो नीति र आफूहरुको स्किमका कारण घर कर्जा बढेको बताउँछन्।
‘समग्र कर्जाको माग सुस्त भएर लगानीयोग्य रकम प्रणालीमा थुप्रिएको छ। त्यही कारण बैंकहरुले जोखिम कम हुने आवासीय घर कर्जामा आकर्षक स्किम ल्याइरहेका छन्। राष्ट्र बैंकले पनि घर कर्जामा लचिलो नीति लिइदियो। जसले गर्दा घर कर्जा बढ्न पुग्यो,’ खनालले भने, ‘चार महिनामा ५०/५२ अर्ब ऋण लगानी हुँदा घर कर्जा २४/२५ अर्ब जानु नराम्रो होइन।’
घर कर्जा सबैभन्दा धेरै प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक छ। यो बैंकले ४४ अर्ब ८ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेको छ। सबैभन्दा कम लगानी गर्नेमा नेपाल एसबिआई बैंक छ। यसले जम्मा २ अर्ब ७० करोड रुपैयाँ मात्र घर कर्जा प्रवाह गरेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































