जोडिनुहोस
बिहिबार, माघ ३०, २०८२
बिहिबार, माघ ३०, २०८२
  • होमपेज
  • सर्वोच्चले उल्ट्यायो नदी किनारको थप २० मिटर मापदण्ड सम्बन्धी फैसला

सर्वोच्चले उल्ट्यायो नदी किनारको थप २० मिटर मापदण्ड सम्बन्धी फैसला

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छाड्नुपर्ने यसअघिको फैसला आंशिक उल्ट्याएको छ ।

न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले आइतबार संक्षिप्त आदेश जारी गर्दै संयुक्त इजलासको उक्त फैसला ‘कानुन र न्यायको रोहमा नमिलेको’ ठहर गरेको हो ।

यसअघि २०८० पुस ३ गते न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले बागमती, विष्णुमतीलगायतका नदी किनारमा सरकारले तोकेको २० मिटरको मापदण्डमा थप २० मिटर थपेर मात्र निर्माण अनुमति दिन र सो क्षेत्रलाई ‘निर्माण निषेधित क्षेत्र’ घोषणा गर्न आदेश दिएको थियो ।

उक्त फैसलाले उपत्यकाका हजारौँ घरधुरी प्रभावित हुने र निजी सम्पत्तिको हक हनन हुने भन्दै सरकारले पुनरावलोकनका लागि निवेदन दिएको थियो ।

पुनरावलोकन निवेदनमा सरकारले अघिल्लो फैसला कार्यान्वयनमा तीनवटा मुख्य जटिलता देखाएको थियो । सरकारले ठूलो परिमाणमा मुआब्जा दिनुपर्ने आर्थिक भार, नदी किनारका पुरातात्विक संरचनाहरू भत्काउनुपर्ने अवस्था र सर्वसाधारणको तीव्र विरोधलाई मुख्य कारणका रूपमा अघि सारेको थियो ।

ती तर्कहरूलाई स्वीकार गर्दै पूर्ण इजलासले भनेको छ, ‘बागमती र यसका सहायक नदीका हकमा २०६५ मंसिर १ मा मन्त्रिपरिषद्द्वारा निर्धारित मापदण्डबाहेक थप २० मिटर छाड्नुपर्ने र क्षतिपूर्ति दिएर जग्गा प्राप्त गर्ने भन्ने हदसम्मको फैसला कानुन र न्यायको रोहमा मिलेको देखिएन । सो हदसम्म संयुक्त इजलासको फैसला केही उल्टी हुने ठहर्छ ।’

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका