
विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनलाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । अग्रवाललाई ओलीले खादा र टिका लगाएर पार्टीमा प्रवेश गराए ।
अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पनि गरेको थियो । सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरेको थियो ।
उनीमाथि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । करिब १० दिनको हिरासतको अनुसन्धानपछि उनी हाजिर जमानीमा रिहा भएका थिए । अग्रवालले सस्तोमा सेयर खरिद गर्ने गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गर्ने गर्दै आएका थिए ।
उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्याउने भन्दै झुट्टा आश्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे । सोही विषयमा बोर्डमा उजुरी परेपछि अध्ययन गरेको थियो । बोर्डको अध्ययनले पनि अग्रवालले झुटा कारोबार गर्ने गरेको ठहर गरेको थियो ।
अग्रवालले सेयर बजारमा गरेका झुटा कारोबार तथा भ्रामक सूचना फैलाएर सेयर मूल्य बढाउने विषय र सेयर मूल्य बढाउन सामाजिक सञ्जाल प्रयोग गरेको विषयमा अनलाइनखबरले निरन्तर समाचार लेख्दै आएको थियो । अग्रवालले अन्य व्यक्तिका कारोबार खाता पनि आफैं चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए । त्यस्तै आफैंले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्स्फर गर्नेसमेत काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार

































































