जोडिनुहोस
बुधबार, फाल्गुन ६, २०८२
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • लम्बेतान भाषण परम्परामा बालेनको ‘ब्रेक’

लम्बेतान भाषण परम्परामा बालेनको ‘ब्रेक’

जनकपुरको तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्घोष सभा गरेको ठ्याक्कै एक महिनापछि बुधबार नेपाली कांग्रेसले प्रतिज्ञा सभा गर्‍यो । रास्वपाले गत माघ ५ गते जनकपुरमा उद्घोष सभा गरेर चुनावी अभियान सुरु गरेको थियो ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले रास्वपाका तर्फबाट पहिलो सम्बोधन त्यहीँ गरेका थिए । आफूलाई ‘मधेसी छौरा’ बताउँदै मैथिली भाषामा उनले गरेको सम्बोधनले मधेसका नागरिकको मन जितेको पनि थियो ।

माघ ६ गते झापा–५ गएर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बालेनले देश दौडाहा सुरु गरे । माघ ५ गते रास्वपाले गरेको उद्घोष सभामा बालेनले करिब १० मिनेटमात्रै सम्बोधन गरेका थिए । त्यस दिन उनीअघि सम्बोधन गरेका उपाध्यक्ष स्वर्णिम वाग्ले र उनीभन्दा पछाडि सम्बोधन गरेका सभापति रवि लामिछानेको सम्बोधनमा त्यहाँ उपस्थित भएकाहरूको (खासै) चासो थिएन ।

बुधबार अर्को पनि एउटा संयोग जुर्‍यो । कांग्रेसले तिरहुतिया गाछीमा गरेको सभा र रास्वपाले धनगढीमा गरेको सभा सँगसँगै सुरु भयो । तर धनगढीको सभामा बालेन शाहले करिब ३ मिनेटमात्रै सम्बोधन गरे । ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’ बालेनले भने ।

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए । ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने । सम्भवतः बालेनकै छोटो सम्बोधनका कारण हुन सक्छ, सभापति रवि लामिछानेले पनि आफ्नो सम्बोधनलाई छोट्याए । त्यसो त, सबैभन्दा लामो समयसम्म टेलिभिजनमा बोलेर गिनिज बुकमा नाम लेखाएका लामिछाने भाषण गर्नमा पनि माहिर मानिन्छन् ।

यसपालि भने छोटो भाषण गरेका लामिछानेले पुराना दलको पछि नलाग्न आग्रह गरे । उनले आफू स–साना समस्या होइन, देशकै समस्या समाधान गर्न आएको बताए । उनले भने, ‘म खुद्रा–खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु । सिंहदरबार जलायो भनेर भन्दै छन् । सिंहदरबार बनाउने हो । सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो ।’ आफूहरू कुराभन्दा पनि काम गर्न आएको बताएर उनीहरूले धनगढीको चुनावी सभा समापन गरिसक्दा जनकपुरमा सँगै सुरु भएको कांग्रेसको सभामा भने उद्घाटन सत्र नै चलिरहेको थियो ।

कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूले सुन्न चाहे पनि नचाहे पनि, आफूहरूले बोलेको मन पराए पनि नपराए पनि लम्बेतान भाषण गर्नु पुराना राजनीतिक दलहरूको नियति नै बनेको छ । आफूले समर्थन गरेको पार्टीले सभा गर्दा नेताहरूको भाषण सुन्न कार्यकर्ताहरूले दिनभरि नै समय छुट्याउनुपर्ने बाध्यता छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामात्रै होइन पार्टीका आन्तरिक बैठकमा समेत एकोहोरो लम्बेतान भाषण गर्ने रेकर्ड नै कायम गरेका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाबाहेक कांग्रेसका सबै नेता लामो भाषण गर्नेमा पर्छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि भाषण सुरु गरे भने कतिबेला सकिन्छ पत्तो हुँदैन । सहसंयोजक माधव नेपालले अघिल्तिर कुर्सी खाली हुँदा पनि भाषण नरोकेको भनेर खबरहरू नै आएका थिए । झलनाथ खनालले सामान्यतः आफ्ना सम्बोधन जहानियाँ राणाशासनको अन्त्यबाटै सुरु गरेर गणतन्त्र प्राप्ति र त्यसको उपलब्धिसम्म पुर्‍याउँदा पट्यारलाग्दो नै हुन्थ्यो ।

१७औँ शताब्दीका फ्रान्सेली गणितज्ञ, भौतिकशास्त्री र दार्शनिक ब्लेज पास्कलले कुनै सन्दर्भमा भनेका थिए, ‘मैले यो पत्र लामो लेखेको छु, किनभने मसँग यसलाई छोटो बनाउने समय थिएन ।’ कुनै कुरालाई छोटो, मिठो र प्रभावकारी रूपमा लेख्न/बोल्न अतिरिक्त मेहनत र तयारी चाहिन्छ । उनको आशय थियो- छोटो लेख्न/बोल्नका लागि धेरै समय र परिश्रम चाहिन्छ।

बालेनले छोटो भाषणको परम्परा सुरु गरेका छन् । चुनावी सभामा जम्मा दुईपटक सम्बोधन गरेका उनले एकपटक करिब १० मिनेट र एकपटक जम्मा साढे ३ मिनेट सम्बोधन गरे । त्यसो त, लामो भाषण गर्नु सधैं अनुपयुक्त भने हुँदैन । नेताहरूले नागरिकलाई आफ्ना विचार र एजेन्डा प्रष्ट रूपमा राख्न सक्नुपर्छ । तर, सधैंभरि लम्बेतान भाषण गर्ने अभ्यास भने उपयुक्त होइन ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका