जोडिनुहोस
शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ३३ खर्ब १७ अर्ब नाघ्यो

नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ३३ खर्ब १७ अर्ब नाघ्यो

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको आफ्नो वित्तीय अवस्था सार्वजनिक गरेको छ । केन्द्रीय बैंकद्वारा प्रकाशित पछिल्लो ’स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन’ अनुसार बैंकको कुल सम्पत्ति तथा दायित्वमा उल्लेख्य वृद्धि भई ३३ खर्ब १७ अर्ब ४९ करोड ५७ लाख २५ हजार ९६६ रुपैयाँ पुगेको छ ।

गत असार मसान्तमा बैंकको कुल सम्पत्ति २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ३९ हजार ८०३ रुपैयाँ रहेकोमा सात महिनाको अवधिमा यो करिब ६ खर्ब ४६ अर्ब रुपैयाँले बढेको हो ।

विदेशी मुद्रा सम्पत्तिमा उत्साहजनक सुधार राष्ट्र बैंकको वित्तीय विवरण अनुसार सम्पत्तिको मुख्य हिस्सा विदेशी मुद्रा सम्पत्तिले ओगटेको छ । २०८२ माघ २९ गतेसम्म बैंकसँग कुल ३२ खर्ब ७ अर्ब ६३ करोड १५ लाख १६ हजार १७४ रुपैयाँ बराबरको विदेशी मुद्रा सम्पत्ति रहेको छ । असार मसान्तमा यस्तो सम्पत्ति २५ खर्ब ६७ अर्ब ३२ करोड १४ लाख ९८ हजार ६०९ रुपैयाँ मात्र थियो ।

विदेशी मुद्रा सम्पत्ति अन्तर्गत विदेशी सुरक्षणमा गरिएको लगानी सबैभन्दा बढी छ । जुन २१ खर्ब ४७ अर्ब ३६ करोड ७० लाख २३ हजार ०१० रुपैयाँ पुगेको छ । त्यसैगरी, विदेशी बैंकहरूमा रहेको मुद्दती निक्षेप ६ खर्ब ४६ अर्ब ८३ करोड ७८ लाख ४४ हजार ०९९ रुपैयाँ र सुनको प्रमाणपत्रमा गरिएको लगानी २ खर्ब ४५ अर्ब ७२ करोड ३६ लाख ७४ हजार ५११ रुपैयाँ रहेको छ । असारको तुलनामा सुनको प्रमाणपत्रमा गरिएको लगानी दोब्बरभन्दा बढीले वृद्धि भएको तथ्यांकले देखाउँछ ।

सरकारी निक्षेप र चलनचल्तीको मुद्रामा वृद्धि बैंकको दायित्वतर्फ हेर्दा, बजारमा चलनचल्तीमा रहेको नोट ७ खर्ब ७६ अर्ब ३१ करोड ४१ लाख १० हजार ०३७ रुपैयाँ पुगेको छ । यो गत असार मसान्तको ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार १५४ रुपैयाँको तुलनामा झण्डै २६ अर्ब रुपैयाँले बढी हो ।

यस अवधिमा सरकारी निक्षेपमा निकै ठूलो उछाल आएको देखिएको छ । असार मसान्तमा जम्मा ७० अर्ब ८३ करोड ७० लाख ९९ हजार १७४ रुपैयाँ रहेको नेपाल सरकारको निक्षेप माघ मसान्तसम्म आइपुग्दा ३ खर्ब २८ अर्ब ९३ करोड २३ लाख ४७ हजार ४५५ रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप भने ३ खर्ब २२ अर्ब १७ करोड ७४ लाख ६ हजार ४४२ रुपैयाँ रहेको छ । जुन असारको तुलनामा केही घटेको हो ।

मजबुत जगेडा कोष र पुँजीगत आधार बैंकको जगेडा कोषमा पनि आकर्षक सुधार देखिएको छ । असार मसान्तमा ६ खर्ब ७१ अर्ब २ करोड ६३ लाख २३ हजार २८५ रुपैयाँ रहेको जगेडा कोष बढेर माघ मसान्तमा ९ खर्ब ९ अर्ब २९ करोड १२ लाख ३ हजार २१९ रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी भने ५ अर्ब रुपैयाँ नै यथावत रहेको छ ।

स्थानीय मुद्रातर्फको सम्पत्ति १ खर्ब ९ अर्ब ८६ करोड ४२ लाख ९ हजार ७९२ रुपैयाँ रहेको छ । जसमा सुन तथा चाँदी सम्पत्ति ५५ अर्ब ४१ करोड ६२ लाख ९७ हजार २७१ रुपैयाँ र सरकारी सुरक्षणमा लगानी १५ अर्ब २८ करोड ४६ लाख ३४ हजार ०८४ रुपैयाँ समावेश छ ।

केन्द्रीय बैंकको यो विवरणलाई सहायक निर्देशक रञ्जन ताछामो, उप–निर्देशक कृष्ण शरण फुयाँल, कामु निर्देशक प्रियंका बस्न्यात र कार्यकारी निर्देशक राजेन्द्र भट्टराईले प्रमाणीकरण गर्नुभएको छ । यो तथ्यांक अपरिष्कृत भए तापनि यसले मुलुकको बाह्य क्षेत्र सन्तुलन र केन्द्रीय बैंकको बलियो वित्तीय अवस्थालाई चित्रण गरेको छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका