
नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पूँजी रु १२ अर्ब ५८ करोड पुगेको छ । बैंकको आज यहाँ सम्पन्न ३२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट कायम शेयर पूँजीको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी वृद्धि भएको हो ।
बैंकको जगेडा तथा कोषको रकम पनि बढेर रु नौ अर्ब ७७ करोड पुगेको छ भने शेयर धनी कोषको रकम रु २४ अर्ब ८७ करोड पुगेको छ । बैंकले आव २०७४÷७५ मा रु चार अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको थियो ।
त्यसैगरी खुद नाफा रु तीन अर्ब ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११ दशमलव ४५ प्रतिशतले बढेर रु एक खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १४ दशमलव ४४ प्रतिशतले बढेर रु एक खर्ब २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा अनुपात एक दशमलव ३६ प्रतिशत रहेको छ । बंैकले काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी १६ वटा नयाँ शाखा बिस्तार गरेको छ । एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि विस्तारित शाखासहित बैंकले काठमाडौँ उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय, आठ एक्सटेन्सन काउन्टर, नौ राजश्व सङ्कलन एक्सटेन्सन काउन्टर, ४७ शाखारहित बैंकिङ सुविधा तथा १०९ वटा एटिएमबाट सेवा दिइरहेको छ ।
बैंकको सहायक कम्पनी एनआइविएल क्यापिटल मार्केट लिमिटेड र साविक एस क्यापिटल लिमिटेड एकआपसमा गाभिइ एनआइविएल एस क्यापिटल लिमिटेड स्थापना गरिएको छ । नेपालको सबैभन्दा बढी रु २७ करोड चुक्ता पूँजी भएको मर्चेन्ट बैंकरका रुपमा सो संस्था सञ्चालनमा रहेको बैंकले दाबी गरेको छ । साधारणसभामा नेपाल राष्ट्र बैंकको निर्देशानुसार बैंकको वित्तीय विवरण तथा भावी कार्यक्रममाथि छलफल भएको थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































