
बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र ब्लुबुक सम्बन्धी सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यले दुई महत्वपूर्ण सेवा सुरु गरेको छ ।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली र ब्लुबुक क्यूआर प्रणाली प्रदेश सरकारले सुरु गरेको हो । यी दुवै सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली अन्तर्गत अब सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन दिनुका साथै लाइसेन्स नवीकरण, वर्ग थप, प्रतिलिपि मागजस्ता सेवा अनलाइनमार्फत लिन सक्नेछन् । बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले यस सेवाका लागि edl.bagamati.gov.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ।
त्यस्तै, ब्लुबुक क्यूआर प्रणालीमार्फत सवारीसाधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवाहरू पनि डिजिटलरूपमा उपलब्ध हुनेछन् । यस प्रणालीलाई नागरिक एपसँग पनि आबद्ध गरिएको छ, जसबाट सेवाग्राहीले मोबाइल फोनमार्फत नै ब्लुबुक देखाउन सक्नेछन् । ब्लुबुकमै समावेश गरिएको क्यूआर कोड स्क्यान गरेर सवारीको विवरण सजिलै हेर्न सकिने भएकाले अब कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट पनि हट्नेछ ।
मन्त्रालयले यी प्रणाली कार्यान्वयनसँगै सेवामा पारदर्शिता बढ्ने, बिचौलियाको प्रभाव घट्ने र आम नागरिकको पहुँच अझ प्रभावकारी हुने विश्वास लिएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































