सानिमा बैंक र दराजबीच सहकार्य भएको छ । बैंकले दराजसँग दराज ११.११ योजनाका लागि ग्राहकलाई छुट प्रदान गर्ने भएको हो । योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्ने ग्राहकले छुट पाउनेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुटका लागि ग्राहकहरूले दराजमार्फत बैंक भाउचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।
यो योजना २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने जनाएको छ । बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई नगदरहित कारोबारतर्फ प्रोत्साहित गर्दै आएको छ ।
सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट
सिद्धार्थ बैंकका ग्राहकहरूले अब काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल प्रालिमा विभिन्न सेवाहरू लिँदा छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा सेवा उपयोग गर्दा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यस सहकार्यले आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै नगद रहित कारोबार (डिजिटल ट्रान्जेक्सन) मा जोड दिँदै डिजिटल बैंकिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ ।
यस सम्झौता तथा सेवा सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।
सिटिजन्स बैंकका ग्राहकहरूलाई एकता बुक्समा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एकता बुक्सको थापाथली, मानभवन, पोखरा र इटहरी आउटलेटमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
अर्थमन्त्रालयमा बसेको सेबोनको बैठकले गठन गर्यो समिति
नेपाल धितोपत्र बोर्डको अर्थमन्त्रालयमा बैठक बसेर विवादका कुरा सुल्झाएको छ । सेबोन संचालक समितिको उक्त पूर्ण बैठकले विवाद समस्या समाधान भएको जनाएको छ । बैठकले कर्मचारीको सेवा–सुविधा खारेजीसम्बन्धी अर्थमन्त्रालयले गरेको निर्णय र त्यसको प्रभावबारे एक अध्ययन समिति गठन गरेको छ ।
जसमा धितोपत्र बोर्ड (सेबोन) का संचालक समिति सदस्य समेत रहेका कानुन मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराईको संयोजकत्वमा बनेको समितिमा सेबोनकै सञ्चालक आनन्द वाग्ले र कार्यकारी निर्देशक विनयदेव अधिकारी सदस्य छन्। समितिलाई तीन दिनभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छभने समितिले सिफारीस गरेका सुझावका आधारमा बोर्डले विवादको समाधानका लागि निर्णय गरी अर्थ मन्त्रालयमा पठाउने भएको छ । सेबोन संचालक समितिको यस बैठकसँगै लगातार ४७ दिनदेखि आन्दोलनरत बोर्डका कर्मचारीहरू नियमित काममा फर्किने सहमति भएको छ ।
प्रहरीकाे ३३ औँ आईजीपीमा दानबहादुर कार्की नियुक्त
प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए ।
आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी थिए । एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए ।
२०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो । चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर उनी भदौ २४ मा उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।
२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । एआईजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए । मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरेर काम गरेको थियो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पटाउँछौँ भनेर ठग्ने गिरोहसँग कनेक्सन देखिएपछि २०८० वैशाख २७ मा पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे ।
चर्चित शरणार्थी प्रकरणमा संलग्न आरोपमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुत्र प्रतीक थापा र गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र बिचौलिया बेचन झा पुर्पक्षको लागी थुनामा छन् ।
शरणार्थी प्रकरणमा संलग्न केशव प्रसाद दुलाल र सानु भण्डारी पनि अहिले कारागारमा छन् । सो अनुसन्धान र अभियोजनले नेपालको राजनीतिमा तरङ्ग ल्याएको थियो ।
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान
लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोहीकामी रिता शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले आइतबार सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उनको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरेको छ । किर्तिमानी पर्वतारोहीकामी रिता शेर्पा बिगत दुई दशक देखि लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आबद्घ थिए ।
उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१ औं पटक आरोहण गरेको जानकारी दिए । उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि.सहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।
हिरासतबाट भागेका जिबी राईका जेठान ज्ञानबहादुर बम्जन : पक्राउ
जेनजी आन्दोलनमा हिरासतबाट भागेका कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन्। उनी जेन्जी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका थिए ।
भदौ दोस्रो साता पक्राउ परेका उनीमाथि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको थियो। सिन्धुली दुधौली नगरपालिका ७ घर भएका बम्जन गोर्खा मिडियाका सञ्चालक जिबी राईका जेठान हुन्।
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टलमार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
भोलि अर्थात् कार्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड/डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरे ।
बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागि आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको बताएको छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
‘उच्च मनोवलले काम गर्नुस्, व्यबसायीहरु कालो सूचिमा पर्दा मेरो मन दुख्छ’ : गभर्नर पौडेल
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोवलका साथ काम गर्न, लगानी गर्न र नयाँ टेक्नोलोजी अनुसार अघि बढन व्यबसायीहरुलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै उनले उच्च मनोबलले मात्रै अहिलेको अर्थतन्त्र उकास्न सकिने बताए । उनले -हामीसँग पैसा पनि छ, सुशासन पनि छ, अब फेरि निर्वाचित सरकार आउँछ, फेरि यो सबै हुन्छ, भारत विकास गरिरहेको छ, चीन विकास गरिरहेको छ, हामी किन दुःखी हुनुपर्यो भन्दै नेपालीहरू संसारभरि दक्ष जनशक्तिका रुपमा स्थापीत भएको उल्लेख गरे । हरेक कुरा हामीमै निर्भर रहने भन्दै उनले सम्पूर्ण काम र आर्थिक क्रियाकलापमा पनि मनोबल उच्च राख्न आग्रह गरे । उनले भने – ‘ मलाई लाग्छ, सरकारको सन्देश पनि त्यही हो, केन्द्रीय बैंकबाट त म यो कुरा तपाईंहरूलाई सधैँ भन्छु, कहिलेकाहीँ हामीसँग पैसा पनि हुन्छ, तर मनोबल एकदमै कम हुन्छ अहिले पैसा छ, अहिले हामीले बाहिर गएर माग्न पनि पर्दैन।’ उनले सरकारले साँच्चै खोज्न जाने हो भने २.७५ प्रतिशत ब्याजदरमै रकम पाइने हुँदा अहिलेको अबस्था एउटा अबसर पनि भएको बताए ।
अहिले नेपाली बैंकहरूमा कतिपय समस्या आएको उल्लेख गर्दै उनले पुरानो व्यवसायिक घरानाहरूलाई पुरानो कर्जा तिर्न र नयाँ सस्तो दरको कर्जा लैजान आग्रह गरे । तर पुरानो ऋण भुक्तानी नगर्ने, ऋण तिर्नलाई अर्को ऋण लिने काम गर्दा आफैलाई नोक्सान हुने उनले उल्लेख गरे । उनले कुनै उद्योग वा कुनै फर्महरूले काम गरिरहेको छैन भने, त्यसलाई छाडेर नयाँ व्यबसायमा होमीन पनि आग्रह गरे । पुरानै संरचना र पुरानै तरीकाको उद्योग संरक्षण गरिराख्न जरुरी नभएको उनको भनाई छ । -‘तपाईंहरूले हरेक कुरामा पुनर्संरचना मात्रै भनिराख्नु हुँदैन, अनुकूलन भएन भने छाडेर अर्को सुरु गर्न पनि सक्नुपर्छ ’ उनले भने ।
निजी क्षेत्रबाट धेरै मागहरू नियमित रूपमा आएको उल्लेख गर्दै गभर्नर पौडेलले राष्ट्र बैंकबाट सकेसम्म सबैलाई सम्बोधन गर्ने प्रयास गरेको बताए । उद्योगी र व्यबसायीहरु कालो सूचिमा पर्ने काम आफूलाई निकै नमज्जा लाग्ने गरेको उल्लेख गर्दै उनले एकदम ठूलो सङ्ख्यामा कालोसूचीमा परेको विषयलाई आफूले चिन्ताको रूपमा लिएको बताए ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभाँस दिने
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी १३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हालै बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने जनाइएको छ ।
राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले एकै पटक ११ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेका छन्। १८ जना कार्यकारी निर्देशकमध्ये ११ जनालाई उनले चलाएका हुन्। बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई मानव संशाधन विभाग पुर्याइएको छ भने उनको ठाउँमा मुद्रा व्यवस्थापन विभागका रामु पौडेललाई ल्याइएको छ। विदेशी विनिमयका रेवतीप्रसाद नेपाललाई सम्पति तथा सेवा व्यवस्था विभाग लगिएको छ। त्यहाँका रोशनकुमार सिग्देललाई बैंकिङ विभाग पुर्याइएको छ।
डा. सत्येन्द्र तिमिल्सिनालाई वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभागमा लगिएको छ। डा. डिल्लीराम पोख्रेललाई बैंकिङबाट मौद्रिक व्यवस्थापनमा लगिएको छ। गभर्नरले गरेको सरुवा कर्मचारी माझ विवादमा परेको छ। पूर्व अर्थमन्त्री विष्णु पौडेलको प्रभाव र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारीको खेलोफड्कोमा तालमेल नै नमिलाइ सरुवा गरिएको कर्मचारीहरु बताउँछन्। छोटो समयमै कार्यकारी निर्देशकहरु चलाइएको छ। दसैंअघि मानव संशाधन विभागका कार्यकारी निर्देशक भएका बिश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभाग पुर्याइएको छ। तिमिल्सिनादेखि पण्डितसम्मको सरुवा छोटो अवधिमा गरिएको छ।
केही दिनअघि कार्यकारी निर्देशकमा बढुवा भएका राजन विक्रम थापालाई एकीकृत नेकपा माओवादी समर्थक भनेर शरण अधिकारीको प्रभावमा गभर्नर कार्यालयबाट संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको कर्मचारीको आरोप छ। गुरु पौडेललाई हटाउनमा पूर्व अर्थमन्त्री पौडेलको जोडबल रहेको बताइन्छ। बाँकी कार्यकारी निर्देशकहरु शरण अधिकारीको तजबिजीमा चलाइएको कर्मचारीहरुको आरोप छ।
‘शरणजी खासमा संचालक समितिको सचिवमा मात्र सीमित हुनु पर्नेमा उहाँले अहिले सहायक गभर्नरकै रुपमा काम गरिरहनु भएको छ’ एक कार्यकारी निर्देशकले भने, ‘निर्देशक तहका कर्मचारीले गभर्नर भेट्न पनि उहाँको अनुमति चाहिने वातावरणको सृजना गराउनु भएको छ। अधिकारीले आफूलाई नजानिँदो पाराले नियन्त्रण गरिरहेको भन्ने कुरा गभर्नरले महशुस नगरेको हुन सक्छ।’

निर्वाचन अगाडि नै कांग्रेसको महाधिवेशन
नेपाली कांग्रेसले निर्वाचनअघि नै महाधिवेशन गर्ने निर्णय गर्ने भएको छ। जारी केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिकालाई हुबहु पारित गर्ने तयारी गरेको छ। महाधिवेशनमार्फत नेतृत्व फेरेरमात्र निर्वाचनमा जानुपर्ने आवाज कांग्रेसमा बलियो बन्दै गएसँगै केन्द्रीय समितिले गगनको कार्यतालिका सदर गर्ने तयारी गरेको एक पदाधिकारीले जानकारी दिए। ‘विशेष महाधिवेशनदेखि नियमित महाधिवेशनको दबाब चर्किएको छ। यसैले पनि चुनावअघि नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्छ भन्नेमा लगभग केन्द्रीय पदाधिकारी पुगिसकेका छन्,’ ती पदाधिकारीले भने।
गगनले १५औं महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव केही दिनअघि केन्द्रीय समिति बैठकमा पेस गरेका थिए। संस्थापनइतरका नेता डा शेखर कोइराला र अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनको प्रस्तावलाई साथ दिएकामा संस्थापन पक्षकै कतिपय नेता पनि निर्वाचनअघि महाधिवशेन गर्नुपर्ने पक्षमा उभिएका छन्। शेखरले शुक्रबार आफू पक्षीय जिल्ला सभापतिहरुसँग पुसमै महाधिवेशन गर्नुपर्ने बताएका थिए। ‘बाहिर मौनता साँधेको भन्ने हल्ला छ। महाधिवेशन निर्वाचनअघि नै गर्नुपर्ने माग चर्किएको छ। हाम्रो लाइन के हो?’ छलफलमा जिल्ला सभापतिहरुले शेखरलाई प्रश्न गरेका थिए।
जवाफमा कोइरालाले आफू दुई वर्षदेखि नै नियमित महाधिवेशनको पक्षमा रहेको र अहिले पनि त्यही अडानमा रहेको बताएका थिए। ‘दुई वर्षदेखि नै म नियमित महाधिवेशनको पक्षमा छु। पुसमा महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर मात्र चुनावमा जानुपर्छ,’ कोइरालाले जिल्ला सभापतिहरुसँगको भेटमा भनेका थिए। विश्वप्रकाश पनि विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्न निर्वाचनअघि महाधिवेशन गर्नैपर्ने बताउँछन्। ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो? विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्छ,’ शर्माले आइतबार भनेका छन्।
संस्थापन पक्षका पुराना नेताहरुले निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान राखेपछि यही समूहमा असन्तुष्टि देखिएको छ।
सहमहामन्त्री फरमुल्लाह मन्सुर निर्वाचनमा नयाँ नेतृत्व लिएरमात्र जानुपर्ने भन्दै गगनको पक्षमा खुलेका छन्। सभापति शेरबहादुर देउवा समूहबाट १४औं महाधिवेशनमा सहमहामन्त्री जितेका मन्सुरले यो पटक महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नुपर्ने प्रस्ताव नै राखेका छन्।
देउवा समूहका असन्तुष्ट नेताहरु आइतबार सोल्टीमोडस्थित एक होटलमा भेला राखेका थिए। केन्द्रीय सदस्य राजेन्द्र केसीले डाकेको भेलामा उपस्थिति नेताहरुले नियमित महाधिवेशनको पक्षमा उभिने निर्णय गरेका छन्। भेलामा देउवा पक्षका २५ केन्द्रीय सदस्यलाई डाकिएकामा १५ जना सहभागी थिए। ‘भेलामा १५ जना सहभागी थिए। नियमित महाधिवेशनमै जोड दिनुपर्छ भन्ने सहमति जुटेको छ,’ ती केन्द्रीय सदस्यले भने। भेलामा पुष्पा भुसाल, डा डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, अमृत अर्याल, बहादुर सिंह लामा, अब्दुल सतार, तारामान गुरुङ, मोहन आचार्यलगायत थिए।
देउवा पक्षका अर्का केन्द्रीय सदस्य मदन अमात्यले आफू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको र कार्यवाहक सभापतिलाई खुला पत्र लेख्ने तयारी गरेको बताए। ‘म खुला पत्र लेख्दैछु। निर्वाचनअघि नै महाधिवेशन हुनुपर्छ भन्ने आम कार्यकर्ताको माग हो नि,’ अमात्यले भने। यसरी संस्थापन पक्षकै नेता निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएपछि कांग्रेसले केन्द्रीय समिति बैठकबाट गगनले पेस गरेको कार्यतालिका सदर गर्ने तयारी गरेको हो।
सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ। निर्वाचन भएमा सार्नेगरी यो निर्णय सर्वसम्मत हुने नेताहरु बताउँछन्। ‘अहिले पुसमै महाधिवेशन गर्ने प्रस्तावलाई सदर गर्ने र अनेक कारण देखाएर निर्वाचनपछि सार्ने संस्थापन पक्षको रणनीति छ,’ कांग्रेसका अर्का पदाधिकारीले भने। करिब एक महिनाअघि सुरु भएको केन्द्रीय समितिमा बल्ल १२० जनाले आफ्नो धारणा राखेका छन्। १६७ सदस्यीय केन्द्रीय समितिमा अझै ४५ जनाले धारणा राख्न बाँकी छ।












