पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेप (विद्युतीय चुरोट) प्रयोग गरी सुन तस्करी गरेको आरोपमा महरा आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने गिरोहसँग महरा र उनका छोरा राहुलको सम्पर्क रहेको कल रेकर्ड सार्वजनिक भएपछि उनी अनुसन्धानको घेरामा आएका थिए ।
चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँगको निरन्तर संवादले महराको संलग्नता पुष्टि गर्दै आएको छ । केही दिनअघि मात्र उनीसँग बयान लिइएको थियो ।
यसअघि पनि महरा अनुसन्धानको दायरामा परेका भए पनि राजनीतिक दबाबका कारण छानबिन अघि बढ्न सकेको थिएन।
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, सेयरधनीलाई ८ प्रतिशत नगद दिने
ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शनिबार (असोज २५ गते) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि विरतण हुनेछ ।
राष्ट्र बैंकद्वारा रेमिट्यान्स नीतिमा परिवर्तन
नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्स (विप्रेषण) रकमको सीमा वृद्धि गरेको छ। अबदेखि फिर्ता नगर्ने गरी पठाइने रेमिट्यान्स रकम २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँसम्म ल्याउन सकिने भएको छ।
केन्द्रीय बैंकका अनुसार नेपाली वा विदेशी नागरिक, साथै नेपालमा दर्ता भएका फर्म तथा कम्पनीहरूले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका प्रयोजनका लागि विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्न सक्नेछन्।
यस अन्तर्गत अब दैनिक २५ लाख रुपैयाँसम्मको रकम फिर्ता नहुने रेमिट्यान्सका रूपमा नेपाल ल्याउन पाइने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले विप्रेषण कम्पनीहरूलाई रकम संकलन र भुक्तानी गर्दा प्रचलित कानुनअनुसार ग्राहक पहिचान (KYC) सम्बन्धी कागजात अनिवार्य रूपमा लिनुपर्ने स्पष्ट गरेको छ।
यसबाहेक, यसरी आएको रेमिट्यान्सबारे प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभाग, सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
केन्द्रीय बैंकका अधिकारीहरूका अनुसार रेमिट्यान्स सीमा वृद्धिले वैदेशिक आय औपचारिक माध्यमबाट भित्र्याउने प्रवाह बढाउने तथा आर्थिक क्षेत्रको पारदर्शिता र विश्वसनीयता थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
अब दैनिक २५ किलो सुन आयात गर्न सकिने
नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण २५ किलो बनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक परिमाण २० किलोबाट २५ किलो बनाएको हो ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०८१ को शंसोधन गरी सुन आयातको दैनिक परिमाण बढाएकाे हाे
राष्ट्र बैंकले तोकेको दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी वाणिज्य बैंकहरुले सुन आयात गर्न सक्नेछन् ।
नबिल इन्भेष्टमेन्ट बैंकिङले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने
नबिल इन्भेष्टमेन्ट बैंकिङले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। शुक्रबार भएको १६औँ वार्षिक साधारण सभाले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले कर प्रयोजनका लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७.८९ लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।
कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न साधारण सभामा संचालक समितिका सदस्यहरू, सेयरधनीहरू तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरू उपस्थित थिए।
एटीएमबाट झिक्न पाउने रकमकाे सीमा घट्यो
नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो ।
हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिन्छ । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको छ । शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।
केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाखको सीमा यथावत राखेको छ ।
त्यसैगरी क्रेडिट कार्डको सीमा पनि परिवर्तन नभएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा समेत यथावत राखेको केन्द्रीय बैंकले जनाएको छ ।
क्यासिनोले अब इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने
अब क्यासिनो लगायतका संस्थाहरुले इजाजतपत्र (लाइसेन्स) लिएर मात्र विदेशी मुद्रा कारोबार गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्रा कारोबार गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्राको कारोबार गर्नका लागि अनिवार्य रूपमा बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको जनाएको हो ।
सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद–४ अनुसार क्यासिनोलाई विदेशी मुद्रा कारोबारको इजाजत प्रदान गर्ने व्यवस्था गरिएको छ ।’

नेपाल एसबिआई बैंकद्वारा ‘एफएटीएफ इभ्यालुएसन- बेस्ट प्राक्टिसेज’ गोष्ठी आयोजना
नेपाल एसबिआई बैंक लिमिटेडले “नेभिगेटिङ एफएटीएफ इभ्यालुएसन – बेस्ट प्राक्टिसेज” विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमले नेपालको एफएटीएफ मूल्याङ्कनको तयारीका क्रममा गरिने AML-CFT उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास, तथा संस्थागततालाई जोड दिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक श्री गजेन्द्र कुमार ठाकुर, विभिन्न सरकारी तथा कानुन कार्यान्वयन निकायका वरिष्ठ अधिकारीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अधिकारीहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य सम्बन्धित संस्थाका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा डेपुटि गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले गोष्ठीको महत्व तथा नेपालकाे एफएटीएफ मूल्याङ्कनका सम्बन्धमा चर्चा गर्नुका साथै बैंक तथा बित्तीय संस्थाले खेल्नुपर्ने भुमिकाका बारेमा प्रकाश पारिन्।
उक्त कार्यक्रमको सहजीकरण भारतीय स्टेट बैंकका पूर्व अधिकारी तथा AML–CFT एवं अनुपालन विज्ञ श्री रामकृष्ण सुसारलाले गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपालका वित्तीय क्षेत्रका लागि उपयोगी अन्तर्राष्ट्रिय अभ्यास र दृष्टिकोणहरू बारे प्रकाश पारे ।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा, सरोकारवालाहरू बीच आपसी समन्वयलाई जोड दिदै विश्वव्यापी अनुपालन मापदण्डहरूको पालना मार्फत नेपालको AML-CFT ढाँचालाई सुदृढ पार्ने प्रतिबद्धताका साथ कार्यक्रम समापन भयो । नेपाल एसबिआई बैंक लि. द्वारा आयोजित यस किसिमको गोष्ठी नेपालको वित्तीय क्षेत्रमा एक नया अभ्यास हो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य
कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि वसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । आचार्य यस भन्दा अगाडी पनी बैंकको अध्यक्ष पदमा नै रहेका थिए।
बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए।
फस्ट पे को लाइसेन्स रद्द
फस्ट पे टेक्नोलोजी प्रा.लि.को अनुमतिपत्र (लाइसेन्स) रद्द भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी विभागले फस्ट पेको लाइसेन्स रद्द गरेको हो ।
केन्द्रिय बैंकले २०७६ फागुन १३ गते संस्थालाई भुक्तानी प्रणाली संचालकको अनुमतिपत्र प्रदान गरेको थियो । भुक्तानी तथा फस्र्यौछट ऐन २०७५ को दफा १३(६) को व्यवस्था बमोजिम लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको खण्डमा आजैका मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
कामना सेवाको १९ औं वार्षिक साधारणसभा सम्पन्न
कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा असोज २४ गते (आज) साभारणसभा सम्पन्न भएको हो ।
बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभावाट १० प्रतिशत वोनस शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभासं (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।
साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८१.८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।
त्यसै गरि सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
उक्त साधारणसभाले आ.व. २०८२÷०८३ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरा अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
प्रभू टेक्नोलोजीको लाइसेन्स राष्ट्र बैंकले गरेन नविकरण
नेपाल राष्ट्र बैंकले प्रभू टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र (लाइसेन्स) नविकरण गरेको छैन् ।
प्रभूले २०७६ फागुन ११ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको थियो । केन्द्रिय बैंकका अनुसार भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(४) को व्यवस्था बमोजिम नविकरण नगरिएको जनाएको छ ।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी भए आजैका मितिले ३० दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।












