जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको चारैतिर कर्फ्यू लगाउने सरकारको निर्णय

काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारीसँगै महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरिएको छ ।

यस अवधिमा तोकिएको सीमाभित्र कुनै पनि व्यक्तिले आवत जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्। प्रशासनले कर्फ्यू उल्लंघन गर्नेलाई आवश्यक कानुनी कारबाही गर्ने बताएको छ।

जेन जीको आन्दोलनले ठुलो रुपलिएपछि यसअघि बानेश्वर क्षेत्र आसपास कर्फ्यू आदेश जारी भइसकेको छ ।

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र नयाँ अध्यक्ष नियुक्तीका लागि गठित समितिका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीले ओझालाई पूर्ववत रुपमा अध्यक्षको हैसियतमा काम गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएकी हुन् ।

सर्वोच्च अदालतको आदेशपछि बीमा प्राधिकरणमा पुनः शरद ओझाले नै अध्यक्षको हैसियतमा काम गर्न जानेछन् । उनी सर्वोच्च आदेश पाउने वित्तिकै सिधैं बीमा प्राधिकरणमा पुगेर पदभार सम्हाल्नेछन् । ओझाका विरुद्धमा सर्वोच्च अदालतमा यसअघिका दुई मुद्दा बिचाराधिन अवस्थामै रहेका छन् ।

अब अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने बिषयमा पुनः एक साताभित्रैमा पेशीमा चढाएर मुद्दामाथि सुनुवाई हुनेछ । त्यसपछि अन्तरित आदेशलाई निरन्तरता पाएको अवस्थामा अध्यक्षको हैसियतमा काम गर्नेछन् भने अल्पकालिन अन्तरिम आदेश खारेज भएमा पदमुक्त हुनेछन् ।

केपी ओली र शेरबहादुर देउवा : अब माफीमात्र स्वीकार्य छैन

२०६२/६३को जनआन्दोलनपछि सत्तामा पुगेका राजनीतिक दलले नेपाली जनताको आधारभूत सेवा प्रवाहलाई समेत नजरअन्दाज गरे। २० वर्षको अवधिमा धेरै समय सत्ताको बागडोर सम्हालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले नयाँ पुस्ताको आकांक्षालाई संबोधननै गर्न चाहेनन्।

यी तीन नेताले आफ्ना लागि लोकतान्त्रिक मूल्य, मान्यतालाई तिलाञ्जली दिए भने जनतालाई भोट बैंकको रुपमा मात्रै हेरे। जनआन्दोलनपछि जन्मिएका पुस्ताले यी तीनै नेताले गरेको कुशासन, भष्ट्राचार र अनियमितता मात्रै देखे। युवापुस्तालाई वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिने बाटो खोलेर राजनीतिक व्यवस्थापन गर्न मात्रै उनीहरुले ध्यान केन्द्रित गरे।

युवापुस्ताको आकांक्षा राम्रो सेवा, शिक्षा, उद्यमशीलता, प्रविधिमा अवसर र सुशासन थियो। यी आकांक्षालाई सत्तामा बस्ने तीनै नेताले संबोधन नगरेपछि जेनजी पुस्ता उनीहरुसँग निराश थिए। ती निराशालाई सामाजिक सञ्जालमार्फत खबरदारी गर्दै आएका थिए। तर, सरकारले त्यही सामाजिक सञ्जाल समेत बन्द गरेपछि त्यो पुस्ता जब सडकमा ओर्लियो, राज्य तिनीहरुको आवाज दबाउन लाग्यो। आफ्नो भविष्यका लागि भन्दै सडकमा आएका भर्खरका विद्यार्थीहरुमाथि गोली बर्सियो। राज्यको सुरक्षा निकायको कमजोरी र लाचारी बानेश्वर घटनाले उदांगियो।

यो नेपालको दृश्य हो। तर, फरक छैन यस्तै आन्दोलन चर्किरहेको इन्डोनेसियाको अवस्था पनि। इन्डोनेसियाको युवा पुस्ता त्यहाँको सरकारविरुद्ध विभिन्न सहरमा पछिल्लो केही सातादेखि प्रदर्शनमा छन्। हालसम्म १० जनाको ज्यान गुमिसकेको छ भने करिब २० जनाको अवस्था अज्ञात छ। ३ हजार भन्दा बढी मानिस पक्राउ परेका छन्। सयौं भवन र सार्वजनिक स्थानमा आगजनी र तोडफोड भएको छ।

सत्ताको मज्जा उठाइरहेकाहरुको सुविधा बढ्दा इन्डोनेसियामा सुरु भएको आन्दोलनमा थप बल फिलिपिन्सको ‘एक्सपोज नेपो बेबी’ अभियानले पायो। नेपालमा पनि त्यही समयमा फेसबुक, युटयब लगायत २६ सामाजिक संजाल बन्द हुँदा जेनजीले टिकटक, रेडिट र डिस्कर्ड जस्ता एपको माध्यमबाट राजनीतिक लाभ लिएका व्यक्तिका छोराछोरीलाई जवाफदेही बनाउन ‘एक्सपोज नेपो बेबी’ अभियान थाले।

इन्डोनेसियामा पनि सामाजिक संजालमाथि सरकार क्रुर हुँदा प्रदर्शनको प्रत्यक्ष प्रसारण हेर्ने माध्यम टिकटक बन्यो। अहिले नेपालमा जसरी नै। कथा उस्तै। इन्डोनेसियालीहरु सन् १९९८ को क्रान्ति सम्झिरहेका छन् जसबाट अधिकायकवादी सुहार्तो जनतासँग हारेका थिए र नेपालीहरु २००७ सालेदेखि २०६२/६३ को आन्दोलन। तर, राजनीतिक बेइमानी र असन्तुष्टि उस्तै।

जसरी इन्डोनेसियाली डायस्पोराले त्यहाँ भइरहेको प्रदर्शनको समर्थन गरिरहेको छ त्यसरी नै अमेरिका, अष्ट्रेलिया, खाडी लगायत क्षेत्रमा रहेकाहरु नेपाली डायस्पोराको समर्थन छ जेनजीको प्रदर्शनमा।

विपक्षीको मौनता पनि यस्तै
हुनत: नेपालमा विपक्षी नामका मात्र छन् भन्दा फरक पर्दैन। मिलेर सत्तामा पुग्न सबै पल्केका छन्, चाहे त्यो अहिलेको सत्तारुढ एमाले, कांग्रेस होस् या माओवादी वा नयाँ दलहरु नै। जब कुर्सीको कुरा आउँछ फ्याट्ट मिलिहाल्छन्, जनताको असन्तोषको ‘छु मतलब’। त्यस्तै अवस्था छ इन्डोनेसियामा पनि।

इन्डोनेसियामा सत्ताको शक्तिका लागि त्यहाँका इलिटहरु मिल्छन्। र, विपक्षी मौन बस्छन्। अहिले भइरहेको आन्दोलनमा पनि त्यही देखिएको छ। सरकार त त्यहाँका जनताप्रति जवाफदेही भएनन् नै विपक्षी पनि भएनन्।

विपक्षीले समेत आफ्नो आवाज नबोली दिएपछि इन्डोनेसियालीहरु सडकमा ओर्लिएका हुन्। र, उनीहरु अब राजनीतिक नेतृत्वबाट माफी मात्र मागिरहेका छैनन्। सन् २०२४ को एक सर्वेक्षणका अनुसार करिब १ करोड जेनजी पुस्ता बेरोजगार छ। र, अब दशकौंदेखिको असन्तुष्टीलाई समान्य प्रदर्शनबाट मात्र सकाउने पक्षमा छैनन् उनीहरु।

‘हामीहरु अब माफी वा केही अधिकारीहरुको बर्खास्तगी मात्र मागिरहेका छैनौं। अब अब सरकारमा वास्तविक परिवर्तन मागिरहेका छौं। वास्तविक सुधार मागिरहेका छौं,’ इन्डोनेसियालीहरु सामाजिक संजालमा यस्तै लेखिरहेका छन्।

नेपालमा पनि २६ वटा सामाजिक संजाल बन्द भएपछि जगमगाएको जेनजी पुस्ता आफ्नो भविष्य कोर्न सडकमा ओर्लिएका छन् अहिले। सत्तामा पुगिरहेका राजनीतिक दल र मौकाको फाइदा उठाउने पपुलिस्टहरुलाई खबरदारी गर्दै इन्डोनेसियालीहरुले जस्तै उनीहरु पनि वास्तविक परिवर्तनको सुधार बिना रोकिने पथमा छैनन्।

जसरी इन्डोनेसियामा सरकारले परिवर्तन माग गर्दै सडकमा ओर्लिएकाहरुप्रति दमन गरेको छ। नेपालमा त्यो दृष्य थप भयानक भएको छ। आज एकदिनमै १५ जनाको मृत्यु भएको छ प्रहरीको गोली लागेर। दर्जनौं मानिस घाइते भएका छन्।

तर सरकार यसको जिम्मा लिनु भन्दा फेरि कुतर्क गरेर पन्छिने प्रयासमा छ। अब के सामाजिक संजाल खोल्दैमा मात्रै युवाको आवाज स्थापित होला? कसले लिन्छ अन्धाधुन्ध गोली चलाएको जिम्मा? कसले लिन्छ बानेश्वरमा ढलेका सपनाको जिम्मा?

‘घुसपैठ भएर आन्दोलन तपाईँहरूको काबुबाहिर गएपछि त हामीले पनि सम्हाल्ने हो। जे जति तर्क गरे पनि मान्छे मर्नु चाहिँ राम्रो होइन’ सरकारका प्रवक्ताले बचाउ गर्दै बीबीसी नेपालीलाई भनेका छन्।

उनले तर्क गर्न मिल्दैन भनिरहँदा उनैले बिर्सन हुन्न उनकै दलका नेताले गोदावरीमा दिएको भड्काउ अभिव्यक्ति। उनी आफ्नैले भुल्न हुन्न आफूले दिने उत्तरको बोल्ने शैली।

त्यसैले हुनु नपर्ने जुन घटना भयो त्यसलाई सामान्यकरण गरिनु हुँदैन। प्रधानमन्त्री केपी शर्मा ओली र उनलाई नै सर्वेसर्वा मान्ने एमालेले यसको जिम्मा लिनु पर्छ। र, ओलीलाई काँध दिइरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक पनि त्यसको भागिदार हुनुपर्छ। सरकारबाट बाहिरिँदैमा आफ्नै गृहमन्त्रीले गरेको ‘जनहत्याको आरोप‘बाट अब त्यसै कहाँ मुक्त हुन सकिन्छ र? सँगै सुरुमा चुप लाग्ने र आपत्त परेपछि मात्र बोल्ने विपक्षी झन् जवाफदेही लिनुपर्छ।

सशस्त्र द्वन्द गर्दै त्यही असन्तुष्टिमा सत्तामा पुगेका पुष्पकमल दाहाल प्रचण्डले आजको घटनालाई ‘नरसंहार’ भन्दा जग उनीमाथि नै हाँसिरहेको छ। नयाँ भन्ने दलले पनि जेनजीको मागलाई ‘क्यास’ गर्ने कुनै प्रयास गरेनन्। उल्टै विज्ञप्तिमा सहानुभूतिमात्र बाँधे अब पनि आफूलाई त्यसमा मात्रै सीमित गर्ने त होला!


इन्डोनेसियालीहरु अहिलेको राष्ट्रपति प्रबाओ सुबाएन्टोको राजीनामा मात्र मागिरहेका छैनन्। पूर्ण राजनीतिक परिवर्तन मागिरहेका छन्। त्यो कहिले र कसरी आउँछन् त्यो थाहा छैन। त्यसरी नै आजको दृश्यले अब सामाजिक संजाल खोल्दैमा र ओलीको राजीनामा आउँदैमा पनि परिवर्तनका लागि सडकमा ओर्लिएकाहरुले पीडा बिर्सने अवस्था छैन।

सरकारले माफी माग्दैमा र संवेदना जताउँदैमा विश्वास गर्ने पात्र को हो? अस्पताल भित्रै पसेर जनता दमन गर्नेमाथि कसले गर्छ कारबाही? ओलीको राजीनामापछि सत्तामा फेरि शेरबहादुर वा प्रचण्ड अब अस्वीकार्य छ। उनीहरुलाई बोकिरहने दोस्रो पुस्तामाथि पनि प्रश्न छ। त्यसैले आजको घटनाले थप बिग्रन नदिन सरकारसँग अब विकल्प एउटामात्रै छ – राजीनामासँगै नयाँ पुस्तालाई सत्ता हस्तान्तरण। सँगै उनीहरुले गर्दै आएको असन्तुष्टिको राजनीतिको अन्त्य। साथै, भोग्नुपर्छ दमनको कारबाही पनि, चाहे त्यो न्यायिक रुपमा होस् या आउने निर्वाचनमा जनताको मतबाट। अन्त: मा युवाहरुको जोशलाई सम्हाल्न होश गुमाएको केपी शर्मा ओली र शेरबहादुर देउवालाई भन्नै पर्छ : अब माफी मात्र स्वीकार्य छैन!

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार लाभांशमध्ये १० प्रतिशत बोनस सेयर हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको १९औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। बैंकले पोहोर १२ प्रतिशत लाभांश वितरण गरेको थियो।

विकास बैंकतर्फ कामना सेवा लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिए सुदेश खालिङ

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ पुन: नियुक्त भएका छन्। बैंकको आइतबार बसेको संचालक समिति बैठकले खालिङलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो। खालिङको थप ४ वर्षे कार्यकालको जिम्मेवारी असोज ८ गतेदेखि लागू हुनेछ।

खालिङसँग साढे तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ। उनी एभरेष्ट बैंकमा पहिलो नेपाली सीइओ हुन्। एभरेष्टअघि खालिङ सिटिजन्स बैंकको संचालक थिए।

त्यसअघि लक्ष्मी बैंकको सीइओका रुपमा काम गरेको अनुभव उनीसँग छ। खालिङ लक्ष्मी बैंकको मुख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी उपाध्यक्षबाट प्रमुख कार्यकारी बनेका थिए।

लक्ष्मी बैंकअघि खालिङले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सूचना अधिकृतका रुपमा काम गरेका थिए। खालिङसँग बैंकिङ जोखिममा समेत काम गरेको लामो अनुभव छ।

नेपाल मेडकिल एसोसिएसनका सदस्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट पाउनेछन् सेवाहरुमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन बीच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसनबीच विस्तारित बैंकिंङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडकिल एसोसिएसन तर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिनेछ। एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलि १० लाखको दुर्घटना बिमा सुविधा दिइनेछ।

यस्तै, अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।

यो सम्झौताबाट नेपाल मेडकिल एसोसिएसनका सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ।

साल्ट ट्रेडिङको ६३औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६३औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । मिर्गौला रोग समाजको सहयोगका लागि कम्पनीले विगतका वर्ष झैं यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

आज कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौंको कालीमाटीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए । उनका अनुसार आज ७३ जनाले रक्तदान गरेका थिए ।

उनका अनुसार नेपालको रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कम्पनीले वार्षिकोत्सव तथा विभिन्न अवसरमा सामाजिक कार्य गर्दै आइरहेको छ ।

शेयरधनीलाई दशैंको उपहारः आधा दर्जन बैंकले लाभांश दिँदै

दशैंअघि आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्ने भएका छन् । एभरेष्ट बैंकले बिहीबार मात्रै लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित भइ वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ थियो । यस आधारमा बैंकले ३८.२७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ । तर, बैंकले केही रकम जगेडामा राखेर २० प्रतिशत मात्रै वितरण गर्ने निर्णय गरेको हो ।

यसैबीच माछापुच्छ्रे बैंकले असोज १० मा बस्ने गरी पोखरामा २७औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नेछ।

साधारणसभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यस्तै, प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनी समूहमा रिक्त सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्तलगायत प्रस्ताव पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ २७ मा बुक क्लोज गरिने बैंकको सूचनामा उल्लेख छ।

यस्तै नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

बैंकका अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

एभरेष्ट, सानिमा, सिटिजन्स, निफ्रा र कामना सेवा विकास बैंकसँगै मञ्जु श्री फाइनान्सले लगानीकर्तालाई दशैंअघि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न आवश्यक प्रक्रिया सुरु गरेका हुन् ।

सेयरधनीलाई दशैंअघि प्रतिफल घोषणा गर्न बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणको अन्तिम लेखापरीक्षण गराई नेपाल राष्ट्र बैंकमा वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति (प्रिलिमनरी अप्रुभल) का लागि जानुपर्ने हुन्छ । हाल बैंक घोषित लाभांशमा राष्ट्र बैंकको अन्तिम स्वीकृति लिने प्रकृयामा छ ।

अन्तिम स्वीकृति लिएर पछि बैंकले वार्षिक साधारण सभाको मिति तय गर्ने छ। बाँकीमध्ये निफ्रा, कामना सेवा विकास बैंक र मञ्जुश्री फाइनान्सले गत आवको सम्बन्धित सुपरिवेक्षण विभागमा प्रिलिमनरी अप्रुभलको लागि पुगेका छन्। सानिमा र सिटिजन्स बैंकले पनि अन्तिम लेखापरीक्षण समाप्त गरी त्यसमा थप रिभ्यु गरिरहेका छन्।

हुन्डाईको आधुनिक शोरूम वीरगञ्जमा

नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगञ्ज(११ मा आफ्नो नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ । यसले वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार वीरगञ्जको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको हो । नयाँ शोरूमाले नेपालभरि आफ्नो नेपालमा पहुँच विस्तार गर्ने र ग्राहकहरूलाई थप सहजता प्रदान गर्ने हुन्डाईको प्रतिबद्धतालाई झल्काउँछ।

हुन्डाई लामो समयदेखि नेपालका सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एक हो। रामग्राम, नवलपरासीमा नेपालको पहिलो चार(पाङ्ग्रे गाडी असेम्ब्ली प्लान्टको सुरुवातसँगै लक्ष्मी ग्रुपले देशको अटोमोबाइल क्षेत्रमा हुन्डाईको नेतृत्वलाई अझ बलियो बनाएको छ । वीरगञ्ज शोरूम हुन्डाईको देशभरि उत्कृष्ट यातायातका विकल्पहरू प्रदान गर्ने ठूलो योजनाको एक हिस्सा हो ।

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए ।उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए । दोहोरो पदमा रहेको भन्दै चर्को आलोचाना र ऐन विपरित रहेपछि सरकारले पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त गरेको हो । बराह क्षेत्र नगरपालिका– ७ सुनसरीका पौडेललाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। पौडेलले यसअघि आयल निगम लिमिटेडको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक भएर जिम्मेवारी सम्हालिसकेका छन्।

पौडेलले उदयपुर सिमेन्टमा दुईवर्षे कार्यकाल बिताउँदा पहिलोपटक नाफामा लगेका थिए। २५ वर्षपछि उनकै नेतृत्वमा उदयपुर सिमेन्ट आव ०७०र७१ मा दुई करोड र आव ०७१र७२ मा १२ करोड नाफामा लगेका थिए। उनको कार्यकाल सकिएपछि उद्योग पुनः निरन्तर घाटामा सञ्चालित छ। उनले दैनिक आठ सय टनसम्म सिमेन्ट उत्पादन गरेर पूर्ण क्षमता उपयोग गरेको उद्योग अहिले बन्द छ।

उदयपुर सिमेन्टमा कार्यकाल सकिनासाथ पौडेलले आयल निगमको कार्यकारी निर्देशकमा नियुक्ति पाएका थिए। तीनवर्षे कार्यकाल पूरा गरेर बाहिरिएका पौडेलले कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी ९१ प्रतिशतसम्म अंक हासिल गरेका थिए। उनको पालामा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो भने डिपो सुधार र ठुला भण्डारण गृह निर्माणको सुरुवात भएको थियो। उनकै पहलमा १० हजार किलोलिटर क्षमताको भण्डारणगृह गण्डकी प्रदेशमा थपिएको छ।

नेपाल रि–इन्स्योरेन्समा अध्यक्ष पौडेलको सबैभन्दा ठुलो चुनौती पुँजी वृद्धि हुनेछ। बीमा प्राधिकरणले आगामी माघभित्र २० अर्ब चुक्तापुँजी कायम गर्नुपर्ने मापदण्ड तोकेको छ। सरकारले हकप्रद सेयर खुला गर्न अनुमति दिएको छैन। अर्कातिर, सरकारी सेयरबापतको रकम विनियोजन नगरेकाले पुँजी वृद्धिको निर्णय लागू हुन सकेको छैन।

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको अध्यक्षमा दिपक ज्ञवाली

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो अधिवेशनबाट संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

सो अधिवेशनबाट दोस्रो कार्यकालको लागि पुनः दिपक ज्ञवाली अध्यक्षमा चयन भएका हुन् । प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलको प्रमुख आतिथ्यमा तेस्रो अधिवेशन सम्पन्न भएको हो ।

तेस्रो अधिवेशनको क्रममा आयोजित कार्यक्रममा बीमा प्राधिकरणमा नयाँ नियुक्ति भएर आउनु भएका कर्मचारीहरूलाई अध्यक्ष ज्ञवाली टीका र खादा लगाएर स्वागत गरेका थिए ।
नयाँ कार्य समितिमा अध्यक्ष दिपक ज्ञवाली, बरिष्ठ उपाध्यक्ष केशब राज भण्डारी, उपाध्यक्ष सुरेन्द्र चौलागाईं, महासचिव सागर आचार्य, सचिव भुमा कुमारी आचार्य, कोषाध्यक्ष शुष्मा पौडेल चयन भएका छन् ।

कर्मचारी संगठनको सदस्यहरू अन्जना शर्मा, सचिन राई, जोतिराज जोशी, मान बहादर चौधरी, हरेराम श्रेष्ठ चयन भएका छन् ।

बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले दिए आवेदन

नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्ष बन्न १४ जनाले इच्छा देखाएका छन्। अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले भदौ १३ गते दरखास्त आह्‍वान गरेकामा १४ जनाले आवेदन दिएका हुन्। शरद ओझालाई हटाएपछि प्राधिकरणको अध्यक्ष पदमा नयाँ नियुक्तिका लागि छनोट प्रक्रिया पुनः सुरु गरिएको थियो।

आवेदन दिनेहरूमा घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणी शिवाकोटी, ज्ञानेन्द्र अधिकारी छन्। त्यस्तै, देव कुमार ढकाल, प्राडा दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपानेले पनि आवेदन दिएका छन्। ओझालाई पदबाट हटाइएपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त भएको थियो। ओझाको नियुक्ति र बर्खास्ती विवादास्पद बनेको थियो।

उनलाई गत फागुनमा सरकारले नियुक्त गरेको थियो। पछि उनका योग्यता र अनुभवका कागजातहरूको जाँच गर्दा फर्जी भएको पुष्टि भएको थियो।

असार ३० मा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले ओझाले पेस गरेको अनुभवको कागजातहरू फर्जी भएको ठहर गरेपछि सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो। जसको जवाफ चित्तबुझ्दो नभएको भन्दै भदौ २ गते बर्खास्त गर्ने सरकारले निर्णय गरेको थियो।