जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एभरेष्ट बैंक लिमिटेडले ६ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंक लिमिटेडको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ | भर्चुअल माध्यमबाट सम्पन्न साधारण-सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७७ /०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको छ | 

साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७७/०७८ का लागि ६% का दरले हुने रु. ५३,३६,२३,०३१/- बराबरको बोनस शेयर र ४.३२% का दरले हुने रु. ३८,४२,०८,५८३/- बराबरको नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ |

बैंकले प्रस्तावित रु. ५३,३६,२३,०३१/- बराबरको बोनस शेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी रु. ८,८९,३७,१७,१७८/- बाट बृद्धि भई रु. ९,४२,७३,४०,२०९/- हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ |

बैंकको साधारणसभाले आ.ब २०७८/७९ को लागि सुन्दर एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ |

जुम्लाको तिलामा नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ । यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको हो ।

तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ योगीको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व राज्य मन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए । उक्त कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आङ्खनोे क्षमतालाई कम आकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंकको सधै साथ रहने बताए ।

पोखरा फाइनान्सको लाभांश घोषणा

पोखरा फाइनान्स Pokhara Finance Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.४२५ प्रतिशत नगद लाभांश गरि कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजी रु ९६,३१,४५,७९०( अक्षरेपी छयानब्बे करोड एक्तीस लाख पैतालीस हजार सात सय नब्बे रुपैया) को ८.०७५ प्रतिशतका दरले हुने रकम रु ७,७७,७४,०२३ (सात करोड सतहत्तर लाख चौहत्तर हजार र तेइस रुपैया मात्र) बोनस सेयर र हाल कायम चुक्ता पुँजीको ०.४२५ प्रतिशतका दरले हुने रकम रु ४०,९३,३७० ( अक्षरेपी चालिस लाख त्रियानब्बे हजार तीन सय सत्तरी रुपैया मात्र) बराबरको रकम नगद लाभांश (कर प्रयोजनको लागि ) गरि कुल ८.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

image.png

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंक लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको संचालक समितिको ९३७ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र वैकको स्वकृती प्राप्त भए पश्चात आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारण सभाबाट अनुमोदन गराई बैंकको आर्थिक वर्ष २०७७/०७८ मा कायम रहेको साधारण चुक्ता पुजीको २० प्रतिशतले बोनस लाभांश र बोनस लाभांशमा लाग्ने कर १.०५२६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने र नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

सेन्चुरी कमर्शियल बैंकको लाभांश घोषणा

सेन्चुरी कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५.७५ प्रतिशत बोनस शेयर र ०.३० प्रतिशत नगद गरि कुल ६.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले २०७८ आषाढ मसान्तसम्म कायम चुक्ता पुँजी रु. ९,०३,४४,२९,५०२.५०/- मा ५.७५% ले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी रु. एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ र उनान्चालिस पैसा मात्र) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३०% ले हुन आउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपी रु. दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ र पैसठ्ठी पैसा मात्र) बराबरको नगद लाभांश गरि जम्मा ६.०५% लाभांश वितरण गर्नको लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रोग्रेशिभ फाइनान्सद्वारा पहिलो पटक लाभांश प्रस्ताव

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजी रु.८०,०१,००,०००/- को ७.० प्रतिशत बोनश शेयर रु.५,६०,०७,०००/- (अक्षरेपी: पाँच करोड साठी लाख सात हजार मात्र) र ०.३६८४ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनार्थ नगद लाभांश रु. २९,४७,७३६/८४ (अक्षरेपी: उनान्तीस लाख सड्चालिस हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र) गरी कुल लाभांश ७.३६८४ प्रतिशत अर्थात रु.५,८९,५४,७३६/८४ (अक्षरेपीपाँच करोड उनान्नब्बे लाख चवन्न हजार सात सय छत्तिस रुपैया चौरासी पैसा मात्र ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

आइतबार सार्वजनिक विदा

सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। पुस १ गते बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ “२०७८ पौष ४ गते आइतवारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने” नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७८/०९/०१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”

सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएसंगै आइतबार शेयर कारोबार समेत बन्द रहने भएको छ ।

‘अब उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउँदैन’

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ । कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ । अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र ३१ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ । ‘बुष्टर डोज’ र ओमिक्रोन महामारी नियन्त्रणमा सरकार अहिले भइरहेको प्रयासबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग राससले लिएको अन्तर्वार्ताको सारांशः

नेपालीलाई कोरोनाविरुद्ध ‘बुष्टर डोज’ आवश्यक छ कि छैन ? अतिरिक्त खोपले नै पुग्दैन र ?
कोरोना महामारी फैलिँदै गयो भने ‘बुष्टर डोजर’ लगाउनुपर्छ । कोरोनाबाट थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिलाई छ महिनापछि ‘बुष्टर डोज’ दिने गरिन्छ । महामारी फैलिँदै गएका खण्डमा सरकार यहाँका नागरिकलाई ‘बुष्टर डोज’ दिन तयार रहेको छ । नीति तथा व्यावहारिक रुपमा हामी लगाउनुपर्छ भनेर हामी तयारी अवस्थामा नै छौँ । कुल जनसङ्ख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएका खण्डमा मात्र हामीले ‘बुष्टर डोज’ खोप लगाउँछौँ तर बीचमा नै महामारी आयो भने लगत्तै र नभएका खण्डमा समग्र जनसङ्ख्याको ५० प्रतिशतले खोप लगाएका खण्डमा ‘बुष्टर डोज’ लगाउँछौँ । यही मितिदेखि भन्ने हामीले तय गरिसकेका छैनौँ ।

‘बुष्टर डोजर’ का लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग मेरो सल्लाह भइसकेको छ । उहाँले ‘बुष्टर डोजर’ लगाउनका लागि अगाडि बढ्नू भन्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठनले भने ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटुरोगी, मिर्गौला र दीर्घरोगीलाई मात्र ‘बुष्टर डोज’ लगाउनका लागि सिफारिस गरेको छ तर आम रुपमा अनिवार्य ‘बुष्टर डोज’ दिनुपर्छ भनेको छैन । यही पुस ४ गतेदेखि प्रत्येक स्कुलमा खोप केन्द्र राखेर १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप लगाउँदै छौँ ।

अहिले दैनिक एक लाख ८६ हजारले खोप लगाएको देखिन्छ । लक्षित समुदाय खोप लगाउन त्यत्ति उत्सुक भए जस्तो लाग्दैन । घरदैलामा नै खोप लगाउने केही योजना छ ?

शहरी क्षेत्रमा ८० प्रतिशतभन्दा माथिका मानिसले खोप लगाइसकेका छन् तर ग्रामीण भेगमा ३५ प्रतिशतले मात्र खोप लगाएका छन् । हामीसँग अझै पनि ७० लाख मात्रा खोप रहेको छ । साढे तीन करोड पाइपलाइनमा छ । मानिस खोप लगाउन आएका छैनन् । यसभन्दा अगाडि हामीले जिल्लामा मात्र केन्द्रीत भएर खोप लगाएका थियौँ । तर गाउँका मानिसहरु चेतनाको अभाव वा लापरवाही के ले गर्दा हो खोप आएनन त्यो थाहा भएन ।

उनीहरू आइनन भने हामी चुप लागेर बस्दैनौँ । अहिले हामीले छ हजार खोप केन्द्रबाट खोप लगाइरहेका थियौँ । अब हामीले पुसको पहिलो हप्ताबाट १६ हजार खोप केन्द्र राखेर खोप लगाउँछौँ । जनताको घरदैलोमा खोप केन्द्र पुगेपछि मानिसले पक्कै पनि खोप लगाउने छन् । सोह्र हजार खोप केन्द्रबाट पनि सबै नेपालीलाई खोप लगाउन सकिएन भने हामी जनगणना जस्तै गरी टोलटोलमा पुगेर लगाउँछौँ ।

नेपालमा तीन करोड १४ खोप मात्रा आइसकेको छ । खोप दुई करोड सात लाख मात्रले लगाएको तथ्याङ्क छ । खोप भण्डारणमै थन्किए भन्ने कुरा पनि उठेको छ ? किन यसरी भण्डारण भए ? खोपमा किन सबैको सहभागिता नभएको हो ?

राजनीति पार्टीले खोप अभियानलाई मुद्दा नै बनाएका छैनन् । मैले हालै संसद्को स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा पनि सबै मिलेर सर्वसाधारणलाई खोप लगाउने अभियानमा जुटौँ भनेको छु । गाउँ, समाजमा रहेका समूह, गैरसरकारी संस्था, पत्रकारलगायत सङ्घसंस्थालाई पनि भनेको छु । राजनीतिक दल र नेताहरूलाई “पहिले भोट माग्न पर्चा लिएर जानुहुन्थ्यो, यसपल्ट खोप लिएर जानुहोस्” भनेको छु । खोप र स्वास्थ्यकर्मी दिने काम हाम्रो हो भनेको छु । पहिले हामी सिधै भोट माग्न मतदातासमक्ष गएका थियौँ तर यसपटक स्वास्थ्य दिन आएको छौँ भनेर सबै राजनीतिक दलका नेता–कार्यकर्तालाई ५००–७०० मात्रा खोप निश्चित तापक्रममा राखेर जानुहोस् भनेर अनुरोध गरेको छु । मलाई लाग्छ केही दिनपछि राजनीतिक दलले जनतालाई खोप लगाउन चेतना प्रदान गर्ने छन् भन्ने विश्वास लिएको छु । यदि राजनीतिक दलले नगरेमा हामीसँग भएका जनशक्तिबाट सबैलाई खोप लगाउँछौँ ।

कोरोनाको ओमिक्रोन भेरियन्ट रोकथाम गर्न सरकारको योजना के छ ?
हामी अहिले ज्ञानविहीन अवस्थामा छैनौँ । पहिले कोभिड–१९ हुँदा खोप केही थिएन । हाहाकार भएको बेला पनि नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यतिबेला अक्सिजनको अभाव थियो तर अहिले हामीसँग प्रशस्त्र मात्रामा अक्सिजन छ । अक्सिजन निकाल्ने सानादेखि ठूलो उपकरण हामीसँग छ । स्वास्थ्यचौकीमा अक्सिजन पुर्याएका छौँ । ठूला अस्पतालमा १० हजार लिटरका प्लाण्ट स्थापना गरिसकेका छौँ । निजी संस्था आउँछन् भने सबै भन्सार मिनाहा गरेर अक्सिजन प्लाण्ट खडा गर्न सहुलियत दिएका छौँ । डेढ वर्षमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको हुनाले हरेक स्वास्थ्य केन्द्रमा न्यूनतम सामग्रीदेखि चिकित्सक र स्वास्थ्यकर्मी पु¥याएका छौँ । आइसियु र भेन्टिलेटर पनि वृद्धि भएको छ, गत वर्ष जस्तो हाहाकार छैन ।

विदेशबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा बसालेका छौँ । पहिले जस्तो हाहाकार महामारी हुँदैन । हामी अहिले सबैले खोप लगाइसकेका छौँ । ओमिक्रोनको आक्रमण कम हुन्छ कि भन्ने हामीलाई लागेको छ । अस्पताल, जनशक्ति सबै तयारी अवस्थामा छन् । भारतबाट नेपाल आउने १६ ठाउँमा सहायता कक्ष राखेका छौँ । शङ्कास्पद मानिसलाई क्वारेन्टिनमा राखेका छौँ । अरु मानिसलाई कार्ड हेरेर आउने, जाने व्यवस्था गरेका छौँ । ओमिक्रोन जस्तै अरु भेरियन्ट देखिएका देशबाट नेपाल आउनका लागि मानिसलाई रोक्छौँ ।

अर्को, शुरुमा ओमिक्रोन अरुभन्दा चारगुणा बढी खतरनाक छ भनेर भ्रम फिँजाइयो । ओमिक्रोन गत मङ्सिर ३ गते देखिन थालेको हो । यस बेलासम्म कुनै पनि बिरामीमा थकाइ नलाग्ने जस्ता समस्या देखिएको छैन । सङ्क्रमण देखिएको छ तर सामान्य मानिस जस्तै देखिएका छन् । मङ्सिर ३ गतेयता विश्वमा ६०० जनामा मात्र देखिएको छ । हाम्रो देशमा दुई जनालाई देखिएको थियो । ती सङ्क्रमित सञ्चो भइसकेका छन् । हामीले कयौँ देशबाट मानिस आउनका लागि रोक लगाएका छौँ ।

सबै स्वास्थ्यकर्मीले अझै कोभिड भत्ता पाएका छैनन् । कहिलेसम्म तिनले अतिरिक्त पारिश्रमिक पाउलान् त ?
वैशाखदेखि असारसम्मको कोरोना भाइरस भत्ता हामीले मागिसकेका छौँ । रु ४५ करोडभन्दा माथि नै रहेको छ । अर्थ मन्त्रालयबाट निकास भइसकेपछि हामी उपलब्ध गराउँछौँ । धेरै जसोलाई दिइसकेका छौँ । केही कर्मचारी मात्र छुटेका हुन् ।

सरकारी अस्पतालमा उपचारका लागि अझै लाम लाग्नुपर्ने अवस्था छ । जनताले सरल तरिकाले स्वास्थ्योपचार कहिलेदेखि पाउँछन् ?

हामीसँग भएको जनशक्ति र स्रोत परिचालन गरेका छौँ । शय्या र जनशक्ति थप्ने योजनामा हामी छौँ । वीर अस्पतालमा ५०० शय्या थपिएको छ । अन्य अस्पतालको क्षमता र शय्या विस्तार गर्नका लागि धेरै बजेट विनियोजन गरेका छौँ । अहिले अस्पतालको निर्माण प्रक्रिया चलिरहेको छ । अस्पतालको भौतिक पूर्वाधारदेखि जनशक्ति थप्ने काम भइरहेको छ । अब बिरामी लामबद्ध हुने अवस्थाको अन्त्य गर्छौँ ।

नेपालमा स्वास्थ्योपचार सेवामार्फत समाजवादको अवधारणा कार्यान्वयन गर्न केकस्ता मौलिक नीति, योजना तथा कार्यक्रम ल्याउने सोचाइ राख्नुभएको छ ?

समाजवाद भनेको दुःखी, गरिब सबैले अवसरमा समानता पाउने प्रणाली हो । स्वास्थ्य बिमा निःशुल्क गर्ने तयारीमा छौँ । ज्येष्ठ नागरिकको उपचार निःशुल्क गरेका छौँ । गरिबीको रेखामुनि रहेका मानिसलाई परिचयपत्रका आधारमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ । सरकारी अस्पतालमा कडा र दीर्घ खालका रोगको उपचार निःशुल्क गरिरहेका छौँ । निःशुल्क गर्न नसकिएको बिरामीलाई आर्थिक सहयोग गरिरहेका छौँ । अहिले उपलब्ध गराइएको सुविधा पर्याप्त छैन, अझ सेवा, सुविधा विस्तार गर्नुपर्छ ।

कडा खालका मुटु, मिर्गौला, अर्बुदरोग, एड्स जस्ता रोगीलाई शतप्रतिशत निःशुल्क उपचार गराउने केही योजना छ ?

हामी भर्खर आएका छौँ । हामीसँग भएको स्रोतसाधन, बजेटको स्थिति त्यो सबै हेरेर के गर्न सकिन्छ भनेर हामी गृहकार्य गरिरहेका छौँ । हाम्रो आर्थिक स्रोतमा रु एक–दुई करोड तलमाथि पार्न सक्दा बढीभन्दा बढी जनताले फाइदा पाउन सकिन्छ कि भनी हामी हेरिरहेका छौँ । अहिले हामी मुटु रोग, मिर्गौला, एड्सजस्ता बिरामीको निःशुल्क उपचार गरेका छौँ । बजेटमा विभिन्न प्रकृतिका बिरामीलाई रु पाँच हजार रुपियाँ दिने भनिएको छ । थप अझ के गर्न सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।

स्वास्थ्य बिमा सबै जिल्ला र सबै ठाउँमा कहिले पु¥याइने होला ?
स्वास्थ्य बिमामा हामीले आकर्षण बढाउन सकेका छैनौँ । त्यो स्थानीय जनप्रतिनिधि र हाम्रो नै कमजोरी हो । रु तीन हजार ५०० लगानी गर्नेबित्तिकै आफूसँग पैसा नभएका बेला पनि उपचार गर्न पाउँछौ भन्न हामीले सिकाएका छैनौँ । हामीमा परेका बेला मात्र खर्च गर्ने बानी छ । स्वास्थ्य बिमामार्फत सबैलाई निःशुल्क गर्न सकिन्छ कि भनेर हामी सोचिरहेका छौँ । ज्येष्ठ नागरिक, विपन्न, आर्थिक अवस्था कमजोर भएकामध्ये केहीलाई निःशुल्क गरिसकेका छौँ र केहीको तयारीमा हामी छौँ । अहिले पनि दलित तथा ७० वर्षभन्दा माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा छ ।

उपचार र उपचार खर्च नपाएर अहिले पनि मानिसहरूले असमयमै ज्यान गुमाइरहेका छन् । यस्तो स्थितिको अन्त्य कहिले हुने हो ?

उपचार गर्न नपाएर मानिसहरू अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्था अब हुँदैन । अस्पतालको ढोकामा पुगिसकेपछि बिरामीलाई अस्पतालले उपचार गरेका छन् । हामीसँग भएको क्षमता र जनशक्तिबाट हामीले सेवा पुर्याइरहेका छौँ । हामीले सरकारी अस्पतालको क्षमता बढाउँदै जाने हो । सरकारी अस्पतालमा सहुलियत पनि छ । त्यसैले त्यहाँ भिड देखिएको हो । हामी सरकार अस्पतालमा जनशक्ति र शय्या थप्ने जस्ता काम गरिरहेका छौँ । वीर अस्पतालमा ५०० शय्या थपिँदै छ । त्यसपछि त्यहाँ भिड कम हुन्छ । हामीले विभिन्न अस्पताल र प्रतिष्ठानमा बजेट विनियोजन गरेका छौँ । रु आठ अर्बका निर्माण प्रक्रिया चलिरहेका छन् ।

प्रदेश र स्थानीय तहमा स्वास्थ्य सेवा सुदृढ गर्ने केके योजना छन् ? अब सङ्घीयतालाई बढावा दिन पनि हरेक प्रदेशमा एकएक चिकित्सा विश्वविद्यालय स्थापना गरिनुपर्ने होइन र ?

सात प्रदेशमा शिक्षण अस्पताल र प्रतिष्ठान खोल्नका लागि निर्माण प्रक्रिया पूरा गरेर हामी ठूला अस्पताल स्थापना गर्छौँ । रामराजाप्रसाद सिंह, गिरिजाप्रसाद कोइरालाजस्ता नेताका नाममा प्रतिष्ठान खोलिँंदै छ जसमा विद्यार्थी पढ्ने र उपचार पनि हुने व्यवस्था गरिंँदै छ । पुराना अस्पतालको क्षमता विस्तार गरी सुविधासम्पन्न बनाइरहेका छौँ । पालिकास्तरमा पाँचदेखि १५ शय्याको अस्पताल बनाइरहेका छौँ । कुनै पनि स्वास्थ्य केन्द्र नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्नुपर्छ भनेर काम गरिरहेका छौँ । स्वास्थ्य क्षेत्रलाई सकभर जनताको पहुँचमा पु¥याउने काम भइरहेको छ । गाउँगाउँसम्म स्वास्थ्यको सेवा पुगोस् भन्नेमा सरकारको ध्यान गएको छ ।

प्रतिभाशाली तथा जेहेन्दार विद्यार्थी रकम अभावमा चिकित्सा शिक्षा अध्ययन गर्न वञ्चित छन् । चिकित्सा विषय पढ्न खोज्ने विपन्न विद्यार्थीलाई सहुलियत दरमा वा निःशुल्क अध्ययनको व्यवस्था त सरकारले नै गर्नुपर्ने हैन र ?

छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई हामीले पढाइनै रहेका छौँ । क्षमता र योग्यता भएका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन् । छात्रवृत्ति कोटा पनि छुट्टाइएको छ । काठमाडौँ उपत्यका बाहिर शिक्षण अस्पताल खोल्न आउँछन् भने हामीले अहिले पनि अनुमति दिन्छौँ ।

तपाईँ स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य क्षेत्रमा कस्ता विकृति देख्नुभयो ? त्यसको समाधान गर्न के प्रयास गर्दै हुनुहुुन्छ ?

जसले जे जिम्मेवारी पाएको छ, त्यसले त्यो पूरा नगरेको अवस्था छ । खटाइएको ठाउँमा जानुपर्यो । छल्न र झुक्काउन भएन । ठूला अस्पतालमा शय्या बढाउने जस्ता समस्या छन् । औषधिलगायत ठाउँमा कालोबजारी भएको छ भने नियन्त्रण गर्नुपर्यो । स्वास्थ्य बिमा धेरै ठाउँमा पुर्याइने जस्ता विषय समस्याका रुपमा देखिएका छन् । यसमा हाम्रो ध्यान पुगेर काम गरिरहेका छौँ ।

वैकल्पिक स्वास्थ्य चिकित्सा प्रणालीलाई प्राथमिकतामा राख्नका लागि केकस्ता प्रयास भएका छन् ?
देशका विभिन्न ठाउँमा प्राकृतिक चिकित्सालय पनि खोलिरहेका छौँ । जनशक्ति उत्पादन भइरहेका छन् । परम्परागत रुपमा चल्दै आएका वैकल्पिक चिकित्सा प्रणालीलाई इन्कार गरेका छैनौँ । केही वर्षमा ह्वात्तै आयुर्वेदिक र प्राकृतिक चिकित्साको लोकप्रियता बढेको छ । राज्यले यसलाई संरक्षण र प्रोत्साहन गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहिबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिक्षक सेवा आयोग (एघारौँ संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिशमा पूर्णप्रसाद पौडेललगायत २९ जनालाई रु २३ लाख २० हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

यस्तै सरकारले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (पहिलो संशोधन) गठन आदेश, २०७८ स्वीकृत गरेको छ । बैठकले विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणी पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

सरकारले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र बलको ५८औँ स्थापना दिवस कार्यक्रममा भाग लिन स्वीकृति दिएको छ । बैठकले ‘दि एलाइन्स फ्रान्सकासिस काठमाडौँ’ (एएफके)सँग भएको सम्झौता परिमार्जन गरी संशोधित सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिएको छ । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

यस्तै बैठकले धादिङको बनीघाट रोराङ गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा प्रयोग गर्न तथा भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार, लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा भाडामा उपलब्ध गराउने भएको छ । राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति पनि गठन गरिएको छ । नेपाली सेनाका सहायकरथी डा अरुणकुमार न्यौपानेलाई उपरथीमा बढुवा गरिएको छ ।

सहायकरथी सागरबहादुर केसीलाई अवकाश पूर्वउपरथीमा मानार्थ बढुवाकासाथै अन्य चार सैनिक अधिकृतको बढुवा गरेको सो अवसरमा जानकारी दिइयो । महासेनानी खगेश्वर अर्यालको अवकाशपूर्व विशेष बढुवा गर्ने निर्णय भएको छ । सेनाका प्राविधिक सेवाका सहायकरथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप भएको छ । सेनाका विभिन्न सेवा समूहका उपरथी, सहायकरथी र महासेनानीको सरुवा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका र बाराहताल एवं पञ्चपुरी गाँउपालिकास्थित चेतना सामुदायिक वनलगायतको १०.५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गरिएको छ । जिल्लासभा कालीकोटका नाममा रहेका दुई हजार २९० वर्गमिटर जग्गा खाँडाचक्र नगरपालिका कालिकोटका नाममा हक हस्तान्तरण तथा विभिन्न १३ स्थानीय तहलाई विभिन्न परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको छ ।

सरकारले लोकसेवा आयोगबाट सिफारिश भई आएका डा प्रज्वल श्रेष्ठसहित १० जनालाई नेपाल स्वास्थ्य सेवाको ११औँ तहमा नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले नेपाल राजस्व परामर्श विकास समितिका सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गरेको छ ।

नेशनल लाईफको नयाँ पोलिसी जीवन श्री सावधिक अमृत

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वो परी ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमा लेख नामक नँया सावौधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ । कम्पनीको पोखरामा भएको चेयर पर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमा लेखको शुभारम्भ गरेकी हुन् ।

बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आय श्रोतको रुपमा उपलब्ध हुने यस बीमा लेखवाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्तगर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफु प्रति आश्रीत व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमा लेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भने संग संगै वचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।

आफ्नो आयश्रोत अनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भएपनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ ।

यस बीमा लेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको व्यवस्थापनमा योगदा नपुग्ने छ । मुनाफामा सहभागि हुने यस बीमा लेखवाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुनेछ । जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।

ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपालीका लागि ल्यायो ६ वटा खाता, आकर्षक ब्याज दिने

ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा उनीहरुद्वारा प्रवर्द्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका खाता संचालनमा ल्याएको छ।
बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाता हुन्। अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, युआन र जापानिज येनमा खोल्न सकिने एनआरएनएफसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर दिने बैंकले जनाएको छ।

बैंकका अनुसार यो खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ। खातावाहकलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट दिइने बैंकले जनाएको छ। बैंकका अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत शुल्कमा छुट तथा खातावालको परिवारलाई घर कर्जा तथा सवारी कर्जा दिँदा शुल्कमा विशेष छुट दिनेछ।

अनलाइनबाट पनि खोल्न मिल्ने खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा विशेष प्रिमियम प्रदान दिइने बैंकले जनाएको छ। साँवा तथा आर्जन गरेको ब्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निःशुल्क गर्न सकिने बैंकले जनाएको छ।

एनआईबीएल एस क्यापिटलले गर्यो लगानी सचेतनामुलक कार्यक्रम

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानिकर्ता सचेतना अभिवृद्घि कार्यक्रमको सुरुवात सुदुर पश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ ।

उक्त कार्यक्रममा लगानिकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै सचेतनामुलक कार्यक्रम सचांलन गरिने ब्यहोरा समेत क्यापिटलले जनाएको छ ।