जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एनसीसी बैंकको साधारणसभा आह्वान

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी बैंक)ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते बिहिबार भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट आफ्ना सेयरधनिहरुलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश रहेको छ। बैकले हाल कायम चुक्तापुंजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँको ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो। बार्षिक साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप समशोधनाको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् । त्यस्तै मर्जर, प्राप्ति, तथा विदेशी साझेदारीमा जाने निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

सिटिजन लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट मंसिर २६ गते स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार कम्पनीको अग्रमि भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन ।

यस्तै सावधिक जीवन बीमा योजनामो प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक) बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २५ रुपैयाँ देखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ३६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरले गर्यो लाभांश घोषणा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस २ गते, बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा डाकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कामना सेवा बैंकले दियो प्रहरी वृत्त मालीगाउँलाई जनचेतना मूलक बोर्ड

“समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडद्वारा महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक शाइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

साथै हस्तान्तरण कार्यक्रम पछि बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायव उपरिक्षक मिन बहादुर कुंवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामुलक बोर्डको अनावरण समेत गरेका थिए ।

उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ ।

नेशनल लाईफद्धारा बरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम गरेको छ । कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको हो ।

कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८” प्रदान गरेका छन् ।

उक्त कार्यक्रममा देशभरबाट आव २०७७/०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका थिए । यसैगरि अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भएका हुन् ।

एनआईबीएल एस क्यापिटलले गर्यो लगानी सचेतनामुलक कार्यक्रम

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गरे ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानिकर्ता सचेतना अभिवृद्घि कार्यक्रमको सुरुवात सुदुर पश्चिम प्रदेशको धनगढीबाट गरिएको समेत जानकारी दिएको छ ।

उक्त कार्यक्रममा लगानिकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै सचेतनामुलक कार्यक्रम सचांलन गरिने ब्यहोरा समेत क्यापिटलले जनाएको छ ।

‘सार्कभित्र शेयर किनबेच गर्न सम्झौता भएको थियो’

नेपालको सेयर बजार भर्खर बामे सर्न लागेको छ । म २०६४ भदौदेखि करिब १५ महिना नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएँ । त्यतिबेला धितोपत्र बोर्ड भन्ने नै चिनिएको थिएन । त्यतिबेलासम्म स्टक एक्स्चेन्ज भनेर मात्र चिनिएको थियो । बोर्डमा नियमावलीहरू बन्ने तर, पास हुन नसक्ने अवस्था थियो । नियमावली बनाउने काम हुन थाल्यो कि विरोध सुुरु भइहाल्ने प्रवृत्तिले नियमावलीहरू बन्न सकेका थिएनन् ।

मैले ६ महिनाभित्रमा ११ वटा नियमावली बनाएर पास गर्ने काम गरें । धितोपत्र नियमावलीदेखि लिएर सेयर खरिद–बिक्री, स्टक एक्स्चेन्ज नियमावलीसमेत बनाउने काम गरें । त्यतिबेला एउटै व्यक्तिले बोरामा नागरिकता ल्याएर ५०÷६० हजारको शेयर भर्ने गर्थे । नागरिकताको फोटोकपी ल्याउने र विभिन्न व्यक्तिको नाममा शेयर भर्ने प्रवृत्ति अत्यधिक थियो । त्यसरी बोरामा नागरिकता ल्याएर शेयर भर्ने चलन तोड्न निकै कठिन भएको थियो ।

सेयर बजारमा केही व्यक्ति मात्र सीमित थिए । शेयर बजार ‘अटोमेसन’मा जाने त परैको कुरा ‘सेमिअटोमेसन’मा पनि गएको थिएन । केही सीमित व्यक्तिहरूले कलेजका विद्यार्थीलाई शेयर भर्न लगाएर विभिन्न व्यक्तिको नामबाट प्राथमिक निष्कासन (आईपीओ) भर्ने चलन थियो । नेपालमा जस्तो बोरामा नागरिकता जम्मा गरेर शेयर भर्ने चलन विश्वका कुनै पनि मुलुकमा थिएन ।

विश्वमा कहीँ पनि एउटाको नागरिकता फोटोकपी गरेर अर्कोले शेयर भर्ने चलन थिएन । बोरे प्रवृत्ति निरुत्साहित गर्न अनेक उपाय अपनाउनुु परेको थियो । सेयर बजारलाई पारदर्शी बनाउन नियमावलीहरू ल्याउनु आवश्यक थियो । त्यसका लागि सबै लगानीकर्तालाई शेयरमा सहभागी बनाउने अभियान थालियो । बैंकमा खाता खोलेकाले मात्र आईपीओ भर्न पाउनुपर्ने नियमावली आयो । नागरिकताको फोटोकपी ल्याएर र मृत्यु भएका मानिसको फोटो टाँसेर सेयर बजारमा लगानी गरिन्छ भन्ने सूचनाका आधारमा बैंकमा छापा मार्दा साढे तीन लाख कित्ता अनधिकृत शेयर भरेको भेटियो र प्राप्त नागरिकता तथा फारामहरू सार्वजनिक गर्ने काम भयो ।

आगामी दिनमा त्यस्तो काम नगर्ने सर्तमा संलग्न व्यक्तिलाई छोडिएको थियो भने फारामहरू रद्द गरियो । शेयरमा लगानी गर्नेले एउटा नागरिकताको फोटीकपी दुई सयदेखि पाँच सयसम्म तिरेर गाउँबाट ल्याउने गरेको अध्ययनका क्रममा भेटियो । लगत्तै गैरकानुनी कामलाई निरुत्साहित गर्न बैंकमा खाता खोलेकाले मात्र शेयर भर्न पाउने व्यवस्थासहितको नियमावली धितोपत्र बोर्डले बनायो र पहिचान गर्न केही सहज भयो । बोर्डले बनाएको नियमावली अर्थ मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकमा त्यसबेला कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धर हुनुहुन्थ्यो । उहाँले बैंकिङ क्षेत्रलाई गाह्रो हुन्छ भनेर नियमावली कार्यान्वयनमा नलैजाने मनसाय राख्नुुहुुन्थ्योे । राष्ट्र बैंक र बोर्डको प्रतिनिधि बसेर नागरिकता सक्कली कि नक्कली छानबिन प्रस्ताव राख्नुभएको थियो र लामो छलफलपछि कार्यान्वयनमा सहमत हुनुभएको थियो । त्यतिखेर कलेजका विद्यार्थीहरूको धन्दा नै नक्कली नागरिकताको फोटोकपी गर्दै शेयर भर्ने र सेयर भरेबापत महिनाको ६ देखि ८ हजार रुपैयाँ कमाउने खेलो हुँदो रहेछ ।

नियमावलीमा बैंकमा खाता अनिवार्य भएको हुनुुपर्ने व्यवस्था गरिँदा मेरो विरोधमा नारा जुलुस पनि भए । लगानीकर्ता, ब्रोकरहरूसमेत ‘डेलिगेसन’मा गए । त्यतिबेला धितोपत्र बोर्डको कार्यालय थापाथलीमा थियो । चार महिनासम्म उनीहरूले मेरो कार्यकक्ष घेरे । कजेलका विद्यार्थी, एकाध लगानीकर्ता र दलालले शेयर खरिद गर्न बैंकमा खाता खोल्नुपर्ने व्यवस्था फिर्ता लिन दबाब दिए । प्रधानमन्त्रीकहाँ जुलुस जाने, बैंकका मानिसलाई उचालेर असहज स्थिति पैदा गर्ने काम गरे । सुरक्षाका लागि प्रहरी बोलाउँदासमेत नआउने परिस्थिति निर्माण भएको थियो ।

उच्छृङ्खल समूहले धितोपत्र बोर्डको कार्यालय र त्यहाँ रहेका सामग्री जलाइदिन्छु भन्न थालेपछि चिनेको साथी एसपी सुशीलवरसिंह थापालाई भनेर १५ जना प्रहरी राखेर चार महिनासम्म काम गरें । बोर्डको अध्यक्षले हाम्रो दानापानी हटाइदियो भनेर सबै संगठनको जुलुस बिहान बोर्डमा आउने र साँझ जाने गथ्र्यो । अहिले सम्झिँदा लाग्छ नेपाल विचित्रकै देश हो । त्यतिबेला धितोपत्र दलाल व्यवसायी (ब्रोकर) २०÷२२ जना मात्र थिए । ब्रोकरहरूको मनोमानी बढेपछि ब्रोकर थप्नुुपर्छ भनेर आवाज उठ्न थाल्यो । विस्तारै सेयर बजारमा लगानीकर्ता बढ्दै गए । शेयर बजार ‘सेमी–अटोमेसन’मा गयो । त्यसपछि स्टक एक्स्चेन्ज र धितोपत्र बोर्डको सम्बन्ध पनि विस्तारै सुधार हुँदै आएको थियो ।

१५ महिना बोर्डमा बस्दा सेमी–अटोमेसन, ब्रोकर संख्या थप्ने, विनियमावली बनाउने, कमोडिटी एक्स्चेन्जलाई अगाडि बढाउनुपर्छ भन्ने निर्णय भयो । नियमावलीहरू ल्याउँदा बोर्डकै कर्मचारी पनि असन्तुष्ट हुने स्थिति पैदा भयो । विरोध गर्ने बोर्डका २÷३ जना व्यक्तिलाई कार्यक्रमा सहभागी गराउन विदेश पठाएरसमेत नियमावली ल्याउनुुपरेको थियो । त्यतिबेला मलाई साथ दिनेमा बोर्डका तत्कालीन सञ्चालक बाबुराम रेग्मी हुनुहुन्थ्यो । त्यतिखेर अर्थ मन्त्रालयका सहसचिव विमल वाग्लेले पनि मलाई ठूलो सहयोग गर्नुभएको थियो । त्यतिबेला सञ्चालकहरूले मलाई साथ दिएकै कारण नेपालको सेयर बजारको आधार (बेस) तयार भएको थियो । अहिले त्यही धरातल (फाउन्डेसन) मा उभिएर बोर्डले काम गरेको छ । तर, जुन रफ्तारबाट धितोपत्र बोर्ड अगाडि बढ्नुपर्ने हो, त्यो हिसाबले अगाडि बढ्न भने सकेको छैन ।

त्यतिबेलै कमोडिटी एक्सचेन्ज (वस्तुु बजार कारोबार स्थल) नहुँदा ठगियौं भनेर वस्तुु बजारका लगानीकर्ताहरू नियमन गरिदिन आग्रह गर्दै धितोपत्र बोर्डमा पटक–पटक जुलुस आउने गरेको थियो । कमोडिटी मार्केट सञ्चालन गर्ने उद्देश्यसहित बोर्डले बनाएको नियमावलीको मस्यौदा अर्थ मन्त्रालयले बेला भएको छैन भन्दै फिर्ता पठायो । १६ वर्षपछि अहिले बल्ल कमोडिटी मार्केट सञ्चालन गर्नका लागि प्रक्रिया सुरु भएको छ । कमोडिटी मार्केट सञ्चालन गर्न गरिएका सबै प्रयास खेर गए । त्यतिबेलै कमोडिटी मार्केट सञ्चालन भएको भए अहिले कमोडिटी मार्केटको महत्व स्थापित भइसक्ने थियो । कमोडिटी मार्केट नहुँदा धेरै ठगिए ।

त्यतिबेलै एउटा स्टक एक्सचेन्जले पुग्दैन, अर्को खोल्नुपर्छ भन्ने आवाज उठेको थियो । २÷३ वटा अरू स्टक एक्सचेन्ज खोल्नुपर्छ भन्ने बहस अझै जारी छ । विभिन्न देशमा क्षेत्रीय (रिजनल) स्टक एक्सचेन्जहरू मर्ज भइरहेका थिए । भारतमा पनि प्रदेशका स्टक एक्सचेन्जहरू मर्ज भएर बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्ज दुईवटा भएको स्थितिमा नेपालमा थप स्टक एक्सचेन्जको जरुरी देखिँदैन । अन्य मुलुकमा स्टक एक्सचेन्जहरू मर्ज भइरहेका बेला हामीकहाँ अरू स्टक एक्सचेन्जको पक्षमा किन वकालत गरिरहेका छौं, बुुझ्न सकेको छैन । केही सीमित व्यक्ति मात्र नयाँ स्टक एक्सचेन्जका पक्षमा लबिइङ गरिरहेका छन् । मैले सुरुदेखि नै नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताउँदै आएको छु । सानो बजार छ । भएको स्टक एक्सचेन्जलाई पूर्ण रूपमा अटोमेसनमा लैजानुु आवश्यक छ ।

प्राथमिक शेयर भर्ने प्रक्रियामा सुधारसँगै शेयर बजार निरन्तर बढ्दो क्रममा देखिएकाले सबैको चासो बढ्न पुगेको थियो । म बोर्डमा रहेकै बेला २०६५ भदौ १५ गते सेयर बजार सूूचक नेप्से ११७५ अंकमा पुगेको थियो । धितोपत्र बोर्डको कामहरू सबैलाई थाहा पाउन थाले । शेयर बजारमा पनि नियामक छ भन्ने आभास पैदा भयो । सेयर के रहेछ भनेर धेरैले चासो दिन थाले । राम्रो कम्पनी छानेर शेयरमा लगानी गर्न व्यापक प्रचार–प्रसार सुुरु भयो । त्यतिबेलै ५० हजारको हाराहारीमा रहेका लगानीकर्ता छोटो समयमै बढेर १४÷१५ लाखको हाराहारीमा पुगे । नयाँ लगानीकर्ता सेयर बजारमा भित्रिए । शेयर बजारबाट कमाउनेले पनि मनग्ये कमाए । नेप्सेले उचाइ लिइरहेकै बेला सरकार परिवर्तन भयो । माओवादी सरकारमा आयो । सरकारसँग पुँजी बजारलाई हेर्ने दृष्टिकोणमा असहमति देखिन थाल्यो । राजनीति टकराव बढेसँगै मैलै बोर्डबाट राजीनामा दिएँ । उचाइ पुुगेको शेयर बजार सरकारप्रति अविश्वास जनाउँदै निरन्तर घट्न थाल्यो र २९२ अंकसम्म झर्न पुुग्यो । राजनीतिक नेतृत्वले शेयर बजारलाई त्यति राम्रो रूपमा नलिएकै कारण निरन्तर बजार घटिरह्यो । स्वभाविक रूपमा बजार बढेका बेला सेयरमा लगानीकर्ताको आकर्षण बढ्छ ।

त्यसबेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका धितोपत्र बोर्डका अध्यक्षहरू जम्मा भएर सार्कभित्र एक–आपसमा शेयर किनबेच गर्नुपर्छ भनेर सम्झौता पनि भएको थियो । एउटा देशको नागरिकले अर्को देशको शेयर किन्न सक्ने व्यवस्था गर्ने भनेर कुरा भयो । पछि नेपालको ‘ब्याकवार्ड’ शेयर मार्केट भएकाले भारतबाट विज्ञ ल्याएर शिक्षा दिने काम पनि भयो ।

अर्थमन्त्रीका रूपमा आएका माओवादीका नेता डा. बाबुराम भट्टराईले सेयर बजार भनेको जुवा घर हो यसलाई बन्द गर्नुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि बजार निरन्तर घट्न सुरु गरेको थियो । मैले सेयर बजार जुवा घर नभएर लगानी संकलन गर्ने ठाउँ भएकाले सूचीकृत कम्पनीहरूलाई राम्रो हुने र देशको पुँजीलाई संरक्षित तथा एकीकृत गर्दै लगानी गर्न पाइने भएकाले देशको आर्थिक वृद्धिलाई सहयोग पुग्ने हिसाबले व्याख्या गर्दै आएको थिएँ । सेयर बजार भनेको पुँजी संकलन गर्ने केन्द्र हो ।

यसमा खेल्ने मानिसको पैसा दुई हजारबाट एक रुपैयाँमा आउन सक्छ । तर, खपत हुँदैन । जुवामा त हारेपछि सबै सकिन्छ । सेयर खरिद–बिक्री भनेको हारजित होइन । कम्पनी हेरेर सेयर किन्ने हो भन्दा अर्थमन्त्री र मेराबीचमा दुई–चार ठाउँमा विवाद पनि भयो । माओवादी नेतृत्वले नै सेयर बजारलाई जुवा घर भनेको र त्यसमा अन्य कोही पनि बोल्न नचाहेको अवस्था देखिएपछि बोर्डबाट बाहिरिनुु नै उत्तम ठानें ।

त्यतिबेला बोर्डका कर्मचारीले सेयर कारोबार गर्ने गर्दथे । त्यसैले बोर्डले आचारसंहिता बनाएर बोर्डका सदस्य र कर्मचारीले मात्र होइन कर्मचारीका नातेदारलाई समेत सेयर खरिद÷बिक्री गर्न नहुने व्यवस्था लागु गरियो । सेयर बिक्री गरेर हिँड्ने कम्पनीहरू धागो कारखाना, सोयाबिन तेल, एभरेडी ब्याट्रीहरूलाई कालोसूचीमा राखिएको थियो ।

यी कम्पनीका सञ्चालकले शेयर बिक्री गरे अनि भागे । धितोपत्र बोर्डले सूचना निकालेर ३९ वटा कम्पनीलाई कारबाही गरेको थियो । ३९ वटा कम्पनी सेयर बिक्री गरेर सर्वसाधारण (पब्लिक) को पैसा खाएर भागेकाले कारबाहीका लागि अर्थ मन्त्रालयलाई अनुरोध पनि ग¥यौं । त्यतिबेलै हो, युनिटी लाइफको ठगीधन्दा बाहिरिएको पनि । युनिटीले धमाधम सेयर बिक्री गरेको मात्र होइन बिमा पनि गरेको रहेछ । सूचीकृत नभएको कम्पनीले सेयर बिक्री गर्न नपाउने जानकारी सबैलाई गरायौं । बोर्डको अध्यक्ष, बिमा समितका अध्यक्ष, राष्ट्र बैंकका डेपुटी गभर्नर, कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भएर युनिटीले बद्मासी गरेको लाखौं मानिसलाई सदस्य बनाएर ठूलो रकम दुरुपयोग गरेको ठहर गरी पत्रिकामा सूचना निकालेर सर्वसाधारण नागरिकलाई सुसूचित गराउने काम गरियो । पछि मात्रै थाहा भयो युनिटीमा त राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री पनि संलग्न रहेछन् । यस्ता घटनाले सेयर बजारलाई अनेक रूपमा बदनाम गर्ने कोसिस ग¥यो ।

गलत व्यक्तिहरूले सेयरका नाममा पैसा उठाएर भाग्ने चलन त्यति बेलादेखि रोक्न लगाइयो । गलत व्यक्तिहरू बजारमा छिर्न रोकियो । सेयर बजारबाट पैसा लिएर भागेकाहरूलाई भने अहिलेसम्म कारबाही हुन सकेको छैन । ३९ वटा कम्पनीले पब्लिकलाई सेयर बिक्री गरेर भागेका छन् । युनिटीजस्ता कम्पनी दर्ता नभइ सेयर बिक्री गरेर भागे । राष्ट्र बैंकबाट स्वीकृति नलिइ पाँच अर्बजति निक्षेप लिएर लुट्ने काम भयो । यी विभिन्न घट्नाबाट सेयर बजारप्रति सर्वसाधारण जागरुक भए । तर, जुन रूपबाट संस्था विकास हुनुपर्ने हो, त्यो भएको छैन । जग (फाउन्डेसन) अझै मजबुत हुन सकेको छैन ।

धितोपत्र बोर्डको आफ्नै भवन बनाउन सातदोबाटोमा तीन रोपनी जग्गा किनिएको थियो । अहिले पनि बोर्डको आफ्नै भवन नभएकाले कार्यालय सारेको सा¥यै छ । कर्मचारीहरूले विज्ञता हासिल गरिसकेका छैनन् । दुई सयभन्दा बढी सूचीकृत कम्पनीलाई नियमन गर्न ठूलै टिम चाहिन्छ । ५० जना कर्मचारीले सक्दैन । कर्मचारीको वृत्ति विकास हुन सकेको छैन भने भौतिक संरचनाको पनि अभाव छ । स्टक एक्सचेन्जको हालत पनि उस्तै छ । सफ्टवेयर महँगो छ । आवश्यक सफ्टवेयर किन्न सकिएको छैन । स्टक एक्सचेन्ज र बोर्डको आधुनिकीकरणबिना सेयर बजार अगाडि बढ्न सक्दैन ।

गैरआवासीय नेपाली (एनआरएन)हरूलाई सेयर बजारमा भित्र्याउनुपर्छ भन्ने कुरा उठेको पनि मेरै पालादेखि हो । नेपाली पैसामा लगानी गर्न पाए पनि विदेशी मुद्रा प्रयोग गर्न पाइरहेका छैनन् । ‘करेन्सी कन्भर्टेबिलिटी’को समस्या छ । राष्ट्र बैंक र धितोपत्र बोर्ड बसेर सल्टाउनुपर्छ ।

सफ्टवेयर अभावमा ‘इन्ट्रा डे’ कारोबार हुन सकेको छैन । बजारमा सबैभन्दा ठूलो समस्या भित्री कारोबार (इन्साइडर टे«डिङ) को हो । अमेरिकामा भित्री कारोबार भएको पुष्टि भए १०÷१५ वर्ष जेल हुन्छ । नेपालमा राम्रोसँग इन्साइडर टे«डिङबारे बोर्डले अध्ययनसमेत गर्न सकेको छैन । सेयर बजार अझै परिपक्क भएर अघि बढ्न सकेको देखिँदैन । प्रविधि महँगो हुन्छ । नयाँ सफ्टवेयर ल्याउनुका साथै जनतालाई सुसूचित गर्नुपर्ने, भौतिक संरचना त्यही किसिमको बनाउनुपर्ने, कर्मचारीको क्षमता वृद्धि गर्नुपर्ने काम नगरीकन गफ दिएर मात्र सेयर बजारको विकास हुँदैन । अरू देशलाई हेर्दा नेपालले जुन रफ्तारमा सेयर बजारको विकास गर्नुपर्ने हो त्यो हुन सकेको छैन, जुन दुःख लाग्दो छ । नाफिज जर्नलबाट

नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारण सभा

नेपाल पुनर्बीमा कम्पनीले पुस २२ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २७ गतेको सञ्चालक समितिको बैठकले कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ को प्रिमियम वाहेक वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई समेत सभाले वितरणयोग्य बनाउँनेछ ।

कम्पनीले बीमा समितिको निर्देशन बमोजिम लाभांश प्रस्ताव पारितमार्जन गरेको हो । यस अघि कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । परिमार्जन पछि कम्पनीको लाभांशमा नगद लाभांश मात्र १ प्रतिशत कम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यी प्रस्तावहरुसँगै सभाले नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताहरुबाट दुई जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।

साथै संस्थागत लगानीकर्ताहरुबाट प्रतिनिधित्व गरेका सञ्चालकहरु दिप प्रकाश पाण्डेर डिल्लीराज अर्यालको कार्यकाल २०७८ साल बैंशाख १ गतेसम्म रहेकोमा कम्पनीको सञ्चालक समितिले आगामी साधारण सभासम्मका लागि निजहरुको कार्यकाल थप गरेको निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सहकारीबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी

मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित दक्षिणकाली महिला वचत तथा ऋण सहकारी लिमिटेडबाट नगद ७ लाख ५ हजार रुपैयाँ गए राति चोरी भएको छ ।

उक्त लिमिटेडको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल बैंकको ६२ औं वार्षिक साधारण सभाबाट १७ प्रतिशत लाभांश पारित

नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअल मार्फत आयोजना गरिएको यस बैंकको ६२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले हालको चुक्ता पूँजी १२,६३,६७,५८,६२४ रुपैयाँको ३ प्रतिशतका दरले हुन आउने ३७,९१,०२,७५८÷७२ रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १४ (चौध) प्रतिशतका दरले हुन आउने १,७६,९१,४६,२०७÷३६ रुपैयाँ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी .१४,४०,५९,०४,८३१÷३० रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७÷७८ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८÷७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

अन्तमा, सभाका सभापति तथा सञ्चालक समितिका अध्यक्ष सुमन राज अर्यालले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनीहरुलाई धन्यवाद दिएका थिए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी निलम्बनमा

पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी निलम्बनमा परेका छन् । पर्यटन बोर्डको बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेको हो ।

बोर्ड बैठकले रेग्मीलाई निलम्बन गरेसँगै वरिष्ठ निर्देशक नन्दिनी लाहेलाई कार्यवाहकको जिम्मेवारी दिएको छ ।

बोर्ड सीइओलाई हटाउनको लागि उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । बोर्ड सीइओ रेग्मीले लण्डनबाट काठमाडौं फर्कने क्रममा रक्सी खाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत भन्सारका कर्मचारीलाई पिटेका थिए ।

कार्यकारी प्रमुखले कर्मचारीमाथि हातपात गरेको भनी समाचार आएपछि उक्त घटना सामाजिक सञ्चालमा छाएको थियो । पर्यटनमन्त्री आलेको निर्देशनमा सीइओ रेग्मीमाथि छानबिन गर्न समिति गठन भएको थियो ।

सानिमा बैंकको सीइओमा पाण्डे नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीइओमा नियुक्त गरेको हो । बैंकमा अहिलेका सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिने छ ।

लगातार दुई कार्यकाल सीइओ बन्न नपाइने व्यवस्था अनुसार दाहाल सानिमाबाट बाहिरिन लागेका हुन् । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको थियो । पाण्डेलाई दाहालले सीइओ बनेपछि नबिल बैंकबाट ल्याएका थिए ।