जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

एनएमबि बैंक कर्णाली प्रदेशद्वारा काँक्रेबिहारमा सरसफाइ साथै आरामदायी बेन्च हस्तान्तरण

एनएमबि बैंक लिमिटेड कर्णाली प्रदेशले सुर्खेतको काँक्रेबिहार वरिपरि सरसफाइ गरेको छ । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका ९ लाटिकोइलीमा विश्व सम्पदा दिवसको अवसरमा बैंकले प्रभातफेरीका साथै काक्रेबिहार वरिपरि सरसफाइ गरेको हो ।एनएमबि बैंक कर्णाली प्रदेशको अगुवाइमा सम्पूर्ण कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रमका साथै काक्रेबिहार आसपास सरसफाइ गरेको छ । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरीका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक लिमिटेड सुर्खेतका शाखा प्रमुख सुमन सुवेदी बताए । साथै उनले दिवसको अवसरमा राजधानीसहित देशभरी सबै ठाउँमा सञ्चालन भइरहेको समेत जानकारी दिए ।

उनले प्रत्येक वर्ष सम्पदा संरक्षण अभियान सञ्चालन भइरहेको र आगामी वर्ष पनि जारी रहने बताए । यस्तै बैंकले काक्रेबिहारमा आरामदायी मेच, झाडु, डसप्यान पनि हस्तान्तरण गरेको छ । सुर्खेतमा रहेको एनएमबी बैंकको कार्यालयबाट र्‍याली शुरु गरी मंगलगडि चोक हुँदै काक्रेबिहारमा गइ सरसफाइमा तल्लिन भएको थियो ।

विश्व सम्पदाको संरक्षण तथा सम्बद्र्धनका लागि नयाँ पुस्तालाई जागरूक बनाउन हरेक वर्ष अप्रिल १८ तारिखमा यो दिवस मनाउने गरिन्छ ।नेपालमा पनि प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिँदै आइएको छ । उक्त कार्यक्रममा एन.एम.बी बैंक कर्णाली प्रदेशको सम्पुर्ण कर्मचारीको सहभागिता थियो ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको बैंकका शाखाका व्यापार विकास अधिकृत खगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई-एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गरेको हो ।

प्रतियोगितामा २१ टोलीहरुलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरीएको थियो । प्रतियोगि टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगंज, काभ्रे, धरानबाट सहभागि भएका थिए ।

सहभागि टोलीहरुमध्य टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप रु १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश दोश्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन् ।

दोश्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमश टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगिताका विजेता टोलीहरुलाई डेपुटी गभर्नर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन संचालन गरेकोमा डेपुटी गभर्नर बम बहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए । यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरुलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरुमा नविनतम् प्रविधीको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधानको लागि सहयोग पुग्नुका साथै नविनतम् सेवाहरुको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको बताए । प्रतियोगिताको उत्कृष्ट टोलीहरुलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी प्रदान गरे ।

बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरुले बैंकको वेवसाइट मार्फत आवेदन दरखास्त गरेका थिए ।

ह्याकाथन प्रतियोगिता दुई चरणमा संचालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।

अभिकर्ता सशक्तिकरणमा प्रभु महालक्ष्मीको निरन्तर पहल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

चितवनको सौराहमा कम्पनीले बैशाख १८, १९ र २० गते गरी ३ दिनसम्म विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले सम्बोधन गरेका थिए ।

कम्पनीमा आवद्ध ३०० जना भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने

स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्थायी दरबन्दी थप गर्न गर्नुभएको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुई जनशक्ति थपिने भएका छन् ।

बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लग्नुभएको थियो । हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्र बाँकी दाबीमा मूल्याङ्कनसक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ तथा डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

यसले ती अस्पतालहरूले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

“सङ्गठन तथा व्यवस्थापन संरचनाको काम नसकिँदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालमा सहजता आउने विश्वास गरिएको छ”, उहाँले भन्नुभयो ।

नागढुङ्गा-नौबिसे सडकखण्ड राति बन्द हुने

त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ । आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ । सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ ।”

सिद्दिलक्ष्मी स्टील्सका कारण स्थानीयबासी समस्यामा

‘बाँच्न पाउनु’ नागरिकको मौलिक अधिकार हो । संविधानले प्रत्याभूत गरेको यही अधिकार अहिले पश्चिम नवलपरासीका दर्जनौं परिवारका लागि निरर्थक बन्दै गएको छ । यसको मूल दोषी ठहरिन्छ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ । लक्ष्मी समूहका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठको स्वामित्वमा सञ्चालित सिद्धिलक्ष्मी स्टील्स उद्योग अहिले रामग्राम नगरपालिका–६ र १० का नागरिकका लागि पीडाको पर्याय बनेको छ । उद्योग सञ्चालनसँगै फैलिएको अत्यधिक प्रदूषण, धूलो–धुवाँ, रासायनिक फोहोर र कानुनको ठाडो अवज्ञा-यी सबैको केन्द्रबिन्दुमा अञ्जन श्रेष्ठको ‘शक्ति–सञ्चालित मनपरी’ खडा छ ।

श्रेष्ठको उद्योगले वातावरणीय कानुनको उपहास गर्दै स्थानीय समुदायको जीवनशैली तहस–नहस बनाइरहेका बेला, राज्यका नियामक निकायहरू भने मूकदर्शक बनेका छन् । जसका कारण प्रदूषण नियन्त्रण ऐनदेखि लिएर सामाजिक उत्तरदायित्वका आधारभूत मान्यतासम्म सबै सिद्धिलक्ष्मी स्टील्सका लागि केवल कागजी दस्तावेज बन्न पुगेका छन् ।

सिद्धिलक्ष्मी स्टील्स सञ्चालनमा आएसँगै आसपासको वातावरण साँच्चिकै ‘नरक’ बनेको छ । उद्योगबाट निस्कने धूलो, धुवाँ, रसायन मिसिएको फोहोर पानीले बालबालिकादेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । स्थानीय बताउँछन् ‘सास फेर्न गाह्रो भइसकेको छ, बालबालिकाको छालामा डाबर, आँखामा पोल्ने, खोकी नछोड्ने भयो, हाम्रो बस्ती जस्ताको त्यस्तै नरहने भयो अब ।’

स्थानीय खोलामा उद्योगले ६–७ वटा ह्युम पाइप जडान गरेर विषालु रसायन मिसाएको पाइएको छ, जसले खोलाको पानी प्रयोगमा समेत अवरोध पुर्याएको छ । प्रदूषण यति हदसम्म छ कि घरको कपडा सुकाउन छतमा राख्न नमिल्ने अवस्था छ । खेतबारीमा उत्पादकत्व घट्दो क्रममा छ । पशुपालन असहज बनेको छ । उद्योग सञ्चालनले वातावरणको प्राकृतिक चक्र नै विक्षिप्त बनाइरहेको छ ।

अञ्जन श्रेष्ठ र उनको कम्पनीले केवल वातावरणलाई मात्रै हैन संविधान प्रदत्त मौलिक अधिकारलाई समेत उपेक्षा गरिरहेका छन् । वातावरण संरक्षण ऐन, २०७६ ले स्पष्ट रूपमा भनिएको छ—उद्योगबाट जनस्वास्थ्यमा असर पर्ने गरी प्रदूषण फैलाउन पाइँदैन । तर सिद्धिलक्ष्मी स्टील्सले न ईआईए सार्वजनिक गर्यो, न त प्रदूषण नियन्त्रणका मापदण्ड पालना गर्यो । यो एकप्रकारको कानुनी अपराध हो । तर दुर्भाग्य, प्रशासन चुप छ । प्रहरी चुप छ । जनप्रतिनिधिहरू चुप छन् । सबैले अञ्जन श्रेष्ठको पहुँच र प्रभावको डर खाएका छन् ।

स्थानीय बासिन्दाको भनाइ अनुसार उद्योगको भारी मेशिनरी रातभरी चल्छ, जसले गर्दा सुत्नसमेत नसक्ने अवस्था छ । धूलोले घरभित्र पंखा, ओछ्यान, भाँडाकुँडा सबैमा असर परेको छ । उद्योगसँग सटिएको बस्तीका मानिसहरूमध्ये धेरैजनाले घर बेचेर अन्यत्र सर्न थालेका छन् । तर गरिब, बेसहारा, निम्न आय भएका परिवारहरू सर्ने अवस्थामा छैनन् । उनीहरू सधैंनै रोगको जोखिममा छन् ।

स्थानीय वासिन्दाले पटक–पटक उद्योग प्रशासन, वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालय हुँदै प्रदेश र संघीय सरकारसमक्ष उजुरी गरेका छन् । तर कतैबाट सुनुवाइ भएको छैन । जबजस्ती ट्रान्सफर्मर र पोलहरू निजी जग्गामा राखिएको विषयमा पनि प्रशासन मौन छ । यी सबैले स्पष्ट गर्छ—श्रेष्ठको शक्ति, पहुँच र प्रभाव राज्य संयन्त्रमाथि हावी छ ।

सरकारले बनाएको कानुन केवल कमजोर, पहुँचविहीन जनताका लागि मात्र लागु हुन्छ भन्ने प्रमाण बनेको छ सिद्धिलक्ष्मी स्टील्स । स्थानीयसँग सम्झौता गरेर रोजगारी दिने, स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने, उचित क्षतिपूर्ति दिने भने पनि ती सबै खोक्रा वाचा साबित भएका छन् । न रोजगारी दिइयो, न उपचार सहयोग, न क्षतिपूर्तिको व्यवस्था । केवल प्रदूषण बाँडियो, रोग बाँडियो, पीडा बाँडियो ।

धेरैजसो स्कुल पढ्ने बालबालिकालाई खोकी, दम, छालाका समस्या देखिन थालेका छन् । स्थानीय पशुपालकहरू बताउँछज—‘गाईगोरु बिरामी हुन्छन्, छालामा गाठागुँठा आउँछ, दूध उत्पादन घटेको छ ।’ यो सब देख्दा पनि उद्योग प्रशासन बेखबर छ । बरु, स्थानीयले बोले उद्योगले धम्क्याउने, केस हाल्ने, प्रहरी बोलाउने काम गरेको छ । यस्तो मनोवृत्तिले गर्दा समाजमा त्रास बढेको छ ।

पर्यावरणविद्हरूका अनुसारस्टील उद्योगबाट निस्कने धूलोमा फलाम, कार्बन, भारी धातुजस्ता तत्त्व हुन्छन्, जसले फोक्सो, छाला, आँखामा दीर्घकालीन असर पु¥याउँछ । वातावरणीय मूल्यांकन नगरीकन यस्तो उद्योग सञ्चालन गर्नु राष्ट्रिय स्वास्थ्य संकटको संकेत हो । तर सरकार मौन छ, संसद मौन छ, मन्त्री मौन छन् ।

अञ्जन श्रेष्ठ सत्तासीन दलसँगको घनिष्ठ सम्बन्ध, विभिन्न सरकारी निकायमा प्रभाव र निजी क्षेत्रको नाममा फैलिएको ‘प्रभुत्व’को भरमा जनताको पीडामाथि व्यापार गरिरहेका छन् । सिद्धिलक्ष्मी स्टील्सले न त सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको छ, न नै जनताको आवाजको कदर गरिरहेको छ । बरु, उद्योग सञ्चालनमा आएको ५ वर्ष बित्दासम्म पनि वातावरणीय परीक्षण रिपोर्ट सार्वजनिक नगर्नु, स्पष्ट रूपमा कानुनको अपमान हो ।

उद्योग सञ्चालन गर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । तर सिद्धिलक्ष्मी स्टील्सले त्यो रिपोर्ट सार्वजनिक गरेको छैन । यो न केवल कानुनको उल्लंघन हो, यो जनतालाई अन्धकारमा राख्ने, उनीहरूको जीवनमाथि खेलवाड गर्ने कार्य हो ।

राजनीतिक पहुँचका कारण सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि सबै मौन छन् । प्रदूषण नियमन गर्ने निकायलाई समेत श्रेष्ठले प्रभावमा पारेका छन् । अवस्था यस्तो बनेको छ कि सिद्धिलक्ष्मी स्टील्सले चाहेको गर्न सक्छ । यसको एउटा उदाहरण हो-निजी जग्गामा ट्रान्सफर्मर गाड्नु, पोल राख्नु, रासायनिक पाइप बिछ्याउनु, खोलाको पानी प्रयोगमा ल्याउनुजस्ता कार्य ।

स्थानीयहरू आफ्नो जग्गा प्रयोग गर्न पाएका छैनन् । तर जिल्ला प्रशासन र प्रहरी प्रशासनले ‘उद्योगको हितमा बोल्नु’ आफ्नो कर्तव्य ठानेको छ । यसमा दोष केवल कम्पनीको मात्र छैन, अञ्जन श्रेष्ठ स्वयंले शक्ति प्रदर्शनका नाममा सम्पूर्ण राज्य संयन्त्रलाई ‘बन्धक’ बनाएका छन् ।

संविधानले तोकेको मौलिक अधिकार—स्वस्थ जीवन, सुरक्षित वातावरण, शुद्ध खानेपानी, सार्वजनिक सम्पत्तिमा पहुँच, शिक्षा र आवास जस्ता विषयमा यो उद्योग ठाडो उल्लंघनकर्ता बनेको छ । जनताको सम्पत्ति, स्वास्थ्य, सामाजिक अवस्था—सबै नष्ट गर्दै उद्योग आफ्नो मनोमानी ढंगमा चलिरहेको छ ।

अञ्जन श्रेष्ठले आफ्नो राजनीतिक पहुँच, व्यवसायिक प्रभुत्व र आर्थिक बलमा कानुनभन्दा माथि रहेको अनुभव गरिरहेका छन् । तर राज्यले यस्ता उद्यमीहरूको अगाडि झुकेको अवस्था कहिलेसम्म चल्ने ? जबसम्म उद्योगको नियमन पारदर्शी, प्रभावकारी र जनमुखी हुँदैन, तबसम्म रामग्रामका बासिन्दाले ‘बाँच्न पाउने अधिकार’ मागिरहनु पर्नेछ ।

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनश र नगदसहित कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको बैशाख १७ गते साझ बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीको खातामा जम्मा हुने प्रावधान छ ।

रिलायबल नेपाल लाइफ थानकोट शाखाद्वारा १० लाख रुपैयाको बीमा दावी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थानकोट शाखाले मृत्यु दाबी रकम रु १० लाख १४ हजार भुक्तानी गरेको छ । चन्द्रागिरि –०५ , दुर सन्चार किसिपिडि निवासि स्वर्गीय मोहन साउकोटा सुनार को परिवार लाइ एक कार्यक्रम गरि मृत्यु दाबि रकम भुक्तानी गरेको छ।

स्वर्गीय सुनार ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स थानकोट शाखा बाट ९ महिना अगाडि रिलायबल समुन्नति जिवन बीमा योजना थानकोट शाखाकि अभिकर्ता सलिना बि. क मार्फत खरिद गरेका थिए।उनले पहिलो किस्ता बापत रु १ लाख बीमा शुल्क कम्पनीमा बुझाएका थिए।
तामा पित्तल को भाडा निर्माण गर्ने कार्य गर्ने सुनारलाइ काम गर्दा गर्दै स्वास्थमा समस्या आइ उपचार गर्ने क्रम मा उहाको निधन भएको थियो।

कार्यक्रममा चन्द्रागिरि वाड न ५ का वाडा अध्यक्ष राजेन्द्र महर्जन ज्यु, कम्पनी का चिफ मेनेजर युवराज शर्मा , काठमाडौ का रिजनल मेनेजर याम पोखरेल ज्यु , थानकोट शाखा प्रमुख अर्जुन खनाल ज्यु, चन्द्रागिरि नगरपालिका न्यायिक समितिकि मेलमिलाप कर्ता तथा MDRT सुमित्रा महर्जन ज्यु लागायत करोड पति एजेन्सी मेनेजर सर्मिला बेल्बासे , अन्य अभिकर्ता ज्युहरु स्थानिय बासिन्दा को उल्लेखनीय उपस्थिति रहेको थियो।

आय आर्जन गर्ने परिवार को मुख्य ब्यक्ति को निधनले ठुलो चोट, पिडा मा रहेको आफ्नो परिवारलाई दावी रकम भुक्तानी गरि घाउमा मलम लाउने काम गरेकोमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लाई सुनार का छोरा मनिष सापकोटा ले धन्यवाद दिएका छन ।

जिवन बीमा को महत्व को बारेमा कम्पनिको चिफ मेनेजर युवराज शर्मा र रिजनल मेनेजर याम पोखरेल ले उपस्थित महानुभावहरु मा प्रकास पार्नु भएको थियो।

भविष्यमा केही अप्रत्यासित घटना घटेमा त्यस बाट हुने आर्थिक क्षतिबाट बच्ने एक मात्र माध्यम र आर्थिक क्षति तथा जिवन को जोखिम हस्तान्तरण को एकमात्र माध्यम बीमा रहेको बताउदै उपस्थित सम्पुर्णलाइ जीवन बीमा गरि सुरक्षित रहनुहुन कम्पनिका चिफ मेनेजर युवारज शर्मा , वडा अध्यक्ष राजेन्द्र महर्जन , रिजनल मेनेजर याम पोखरेल र शाखा प्रमुख अर्जुन खनाल ले अनुरोध गर्नु भएको थियो।

उक्त कार्यक्रम थानकोट शाखाकि करोड पति एजेन्सि मेनेजर सर्मिला बेल्बासे ले सन्चालन गर्नु भएको थियो।

घर बनाउन चाहनेलाई बैंकको आकर्षक अफर

घर बनाउन चाहनेहरुका लागि बैंकहरुले आकर्षक अफर ल्याएका छन्। ब्याजदर निरन्तर घटिरहेका बेला बैंकहरुले ६ प्रतिशतसम्मको स्थिर ब्याजदरमा घर कर्जा दिने स्किम ल्याएका छन्।

ऋणको माग अपेक्षाकृतरुपमा बढ्न नसकेका बेला ब्याजदर घटाएर स्थिर ब्याजदरको घर कर्जाको स्किम ल्याएको बैंकरहरुले बताएका छन्।

नेपाल बैंकले सबैभन्दा न्यून स्थिर ब्याजदरमा घर कर्जा स्किम ल्याएको छ। बैंकले ६.३१ प्रतिशत स्थिर ब्याजदरमा २५ वर्ष अवधिकोसम्मको स्किम ल्याएको हो।

ग्लोबल आइएमई, एनएमबि, नबिल, एभरेष्ट, सिटिजन्स, एनआइसी एसिया, कुमारी, हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले समेत १० प्रतिशत तलको स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गरिरहेका छन्।

ग्लोबल आइएमई बैंकले ६.८८ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जाको स्किम सार्वजनिक गरेको छ। यो स्किम बैंकले वैशाख मसान्तसम्मका लागि ल्याएको हो।

नबिल बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्ष अवधिको कर्जा दिइरहेको छ। अधिकांश बैंकले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन्।

चालु आर्थिक वर्ष ८ महिनामा वाणिज्य बैंकहरुले ६ अर्ब ४४ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेका छन्।

नेपाल एसबिआई बैंकको घर कर्जाको स्थिर ब्याजदर सबैभन्दा धेरै छ। यो बैंकले १२ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गरिरहेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ। ब्याजदर निरन्तर घट्दा पनि अपेक्षाअनुसार कर्जाको माग बढ्न सकेको छैन।

ग्लोबल आइएमई ७६.८८% एनएमबि ७६.९९% नबिल ७७.९९% सिटिजन्स ७७.९९% कुमारी ७ वर्ष ८.५९% एभरेष्ट ७ वर्ष ९.००% हिमालयन ७ वर्ष ९.५० % एनआइसी एसिया–९.५०% नेपाल इन्भेष्टमेन्ट मेगा ७ वर्ष १०.९९% राष्ट्रिय वाणिज्य ५ देखि १५ वर्ष ९.७५ देखि १०.२५ प्रतिशतसम्म प्रभु ५ वर्ष, ५ वर्ष बढी ९.९९ देखि ११.९९ प्रतिशतसम्म सानिमा–१० देखि ११.५० प्रतिशतसम्म कृषि विकास ५ वर्ष देखि १५ वर्ष १०.१५ देखि ११.६५ प्रतिशतसम्म प्राइम–१० देखि १२ प्रतिशतसम्म स्टान्डर्ड चार्टर्ड ५ देखि १० वर्ष ९.७५ देखि १०.७५ प्रतिशतसम्म नेपाल एसबिआइ ३ देखि १० वर्ष १०.५० देखि १२ प्रतिशतसम्म सिद्धार्थ ५ देखि १० वर्ष ८.९९ देखि १० प्रतिशतसम्म माछापुच्छ्रे ५ वर्षदेखि १० वर्षसम्म ९.५० देखि ११.५० प्रतिशतसम्म लक्ष्मी सनराइज ५ देखि १५ वर्ष (स्रोत : वाणिज्य बैंकहरु)

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय अन्य कर्जाको तुलनामा होम लोन बढी सुरक्षित हुने भएकाले न्यून स्थिर दरमा स्किम ल्याएको बताउँछन्।

‘रियल सेक्टरको लोनको तुलनामा होम लोनको पोर्टफोलियो धेरै नै कम छ,’ उनले भने, ‘होम लोन राष्ट्र बैंकको प्राथमिकतामा पनि पर्छ। ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा रियल इस्टेटमा डिमान्ड बढाउन बजारमा प्रचलनमा रहेकोभन्दा कम स्थिर ब्याजदरमा होम लोनको स्किम ल्याएका हौं।’

उनका अनुसार न्यून ब्याजदरको स्किमले होम लोनको पोर्टफोलियो बढाउन बैंक सफल भइरहेको छ। नेपाल बैंकले असारयता घर कर्जा साढे ११ प्रतिशतले बढाएको छ।

स्थिर ब्याजदरको आकर्षक अफरका कारण ग्लोबल आइएमई बैंकले घर कर्जा १६.६७ प्रतिशतले विस्तार गरेको छ।

तर, स्थिर ब्याजदरका बाबजुद आधा बैंकले घर कर्जा अपेक्षा अनुसार बढाउन सकिरहेका छैनन्। ९ वटा बैंकको घर कर्जा घटेको छ। कतिपय बैंकले ब्याजदर सस्तो भएपनि पुँजीकोषमा दबाबका कारण घर कर्जा बढाउन नसकेका हुन्।

प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेलले स्थिर ब्याजदरको ऋण अपेक्षा अनुसार माग नभएको बताए।

‘पछिल्लो समय कर्जाको ब्याजदर निरन्तर घट्दो क्रममा छ। त्यस कारण पनि स्थिर ब्याजदरमा त्यति आकर्षण देखिएको छैन,’ उनले भने, ‘ऋणीले पछिका लागि भन्दा पनि अहिलेकै लागि सोच्ने रहेछन्। हामीले स्थिर ब्याजदर तोकेका छौं। तर, कर्जा अपेक्षाजनक रुपमा गएको छैन।’

प्रभु बैंकको घर कर्जाको स्थिर ब्याजदर अवधि अनुसार ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म छ।

गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न कम्पनी स्थापना गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरेका छन्।

पौडेलले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा ब्यवस्थापनका लागि सम्पत्ति ब्यवस्थापन कम्पनी स्थापना गरिने छ’ पौडेलले भने ।

नीति तथा कार्यक्रमले बैंकिङ सेक्टरमा के–के समेट्यो

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरेका थिए ।

पौडेलले बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने घोषणा गरेका छन्।

यस्तै सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना अनुसारका कार्यसम्पन्न गरी वि. सं २०८३ सालभित्रै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण पालना गर्ने उल्लेख गरेका छन् ।

सम्पत्ति शुद्धीकरणलाई नियमन गर्न अनुसन्धान र अभियोजन प्रणाली पारदर्शी र प्रभावकारी बनाइने उल्लेख गरेका छन् । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिनेछ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत् सहकारी क्षेत्रका समस्याहरू समाधान गरिनेछ ।

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिनेछ। सहकारी ऋण सूचना, बचत सुरक्षण तथा ऋण असुली न्यायाधिकरण स्थापना गरिने उल्लेख गरेका छन् ।

सहकारी तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति गरिने उल्लेख गरेका छन् । यस्तै धितोपत्र बोर्ड सुदृढीकरण तथा स्टक एक्सचेञ्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शीता वृद्धि गरिने उल्लेख गरिएको छ ।

बैंकहरूको खराब कर्जा सम्हाल्न सम्पत्ति व्यवस्थापन कम्पनी खोलिने

सरकारले बैंकहरुको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म निष्क्रिय कर्जा ४.९ प्रतिशत पुगेको छ । त्यस्तै बैंकहरुले ऋणीको धितो विशेषतः घरजग्गा लिलामी नभई बैंकहरुले नै सकारेको सम्पत्ति बढेको छ ।

खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ । नेपाल राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि ऐन ड्राफ्ट गरिसकेको छ ।