जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

एटिएम तोडफोड गरेर रकम झिक्न खोज्दा पक्राउ

तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङ्कको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँ छन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको बैङ्कको एटिएम मेशिन तोडफोड गरी पैसा लुट्ने योजनाका साथ एटिएमका पिन स्क्रुपको सहायताले खोल्दै गरेका अवस्थामा बानियाँलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीले निजका साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरेको छ । अभियुक्तविरुद्ध आज तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ ।

बैंक र वित्तिय संस्थाहरुको लाभाशं र बोनस शेयर घोषणा गर्ने क्रम संगै शेयर बजारमा तहल्काः नयाँ अर्थमन्त्री पौड्याल शेयर बजार प्रति सकारात्मक ?

देश कोरोना कहर बीच चलिरहेको छ । करिब १ लाख ६४ हजार भन्दा बढि नेपाली कोरोना भाइरसका बिरामी परेका छन् । भने ९०० भन्दा बढि नेपालहरुले कोरोना भाइरसका कारण मृत्युवरण गरेका छन् । कोरोना कहरका कारण मुलुकको अर्थतन्त्रका सूचकहरु गिरावट मात्रै आएका छैनन, अर्थतन्त्रनै कता जाने हो ? भन्न सक्ने अवस्था छैन भन्दा फरक पर्दैन ।

नेपालीहरुका महान चाडपर्व दशैं चलिरहेको छ भने तिहार, छठ जस्ता पर्व आउँदै छन् । यसै बीचमा शेयर बजारले हरियो बत्ति बलिरहेको छ । यो खुशीको पक्ष पक्कै हो ।

कोरोना भाइरसका कारण प्रायः सबै जस्तो बैंक र वित्तिय संस्थाहरुले साधारण सभा गर्न सकेको छैन । तर, पनि बैंक र वित्तिय संस्थाहरुले लाभाशं र बोनस शेयर धमाधम घोषणा गर्ने क्रम जारी छ । यसको प्रत्यक्ष असर शेयर बजारमा परेको कारण दशैं पछि शेयर बजारमा करोड होइन अर्व भन्दा बढिको कारोबार भएको देखिएको छ । यो अत्यन्तै राम्रो पक्ष पक्कै हो ।

कात्तिक १२ र १४ गते शेयर बजारले तहल्का नै मच्चाएको देखिन्छ । वाणिज्य बैंकहरु सिटिजन इन्टरनेशनल बैंक लिमिटेड, माच्छापुच्छ्रे बैंक लिमिटेड, एनआईसी एशिया बैंक, कुमारी बैंंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड लगायत बैंकहरुले कोरोना कहर बीच राम्रो बोनस शेयर र लाभाशं घोषणा गरेका छन् । भने अरु वाणिज्य बैंक र वित्तिय संस्थाहरुले लाभाशं घोषणा गर्ने क्रम जारी छ ।

मुलुकले नयाँ अर्थमन्त्री विष्णु पौड्याल पाएसंगै शेयर बजारले हरियो बत्ती बालेको अडकल काट्नेहरुको पनि कमी छैन । कोरोना कहर र चाडपर्व बीच शेयरबजारले हरियो बत्ती बाल्नुको पछाडी बैंक र वित्तिय संस्थाहरुको लोभलाग्दो लाभाशं नै भएको शेयर ज्ञाताहरुको दाबी छ ।
नयाँ अर्थमन्त्री विष्णु पौड्यालले शेयर बजारलाई सकारात्मकरुपमा लिइएको देखिन्छ अनि यो बैंक र वित्तिय संस्थाहरुको लाभाशं घोषणा गर्ने समय भएकै कारण शेयर बजारले प्रगति गरेको देखिन्छ ।

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाकै पालमा नेपालको शेयर बजार खरानी भएको तथ्य हामी बीच छ । उनीको कार्यकालभरी शेयर बजार कहिले चलायमान भएन शेयर खरिद गर्नेहरु हेर र पर्खकै अवस्थामा रहे भन्न सकिन्छ ।

देशमा कोरोना भाइरस बढेसंगै लगानीकर्ताहरु भोलि कै हुने हो भन्दै लगानी गर्न नसकिरहेको बेला फेरि नयाँ अर्थमन्त्री आएसंगै बजारले प्रगति गरेको देखिन्छ ।

नेपालको शेयर बजारले मुलुकको अर्थतन्त्र चलायमान मात्रै हुँदैन । यसबाट राज्यले ठूलो कर समेत पाउने भएका कारण शेयर बजारलाई राज्यले चनाखो भएर सकारात्मकरुपमा लिनु पर्दछ । जनताले कमाए राज्यले कर पाउने हो । यो विर्सनु हुँदैन । सचेत भया ।

 

सानिमा बैंकको बुक क्लोज कात्तिक १७ गते

सानिमा बैंक लिमिटेडको १६ औं साधारणसभा यहि कात्तिक २८ गते बोलाएको छ । उक्त साधारणसभा प्रयोजनको लागि बैंकले कात्तिक १७ गते एक दिन शेयरको खरिद विक्रिका लागि बुक क्लोज गर्ने भएको छ । बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने गरी १६ औँ वार्षिक साधारण सभा डाकेको छ । सो लाभांश प्रस्ताव पारित गर्न  बैंकले कात्तिक २८ गते, आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११।०० बजे साधारणसभा बोलाएको हो ।

यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन् । सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

विश्वभर फैलिएको कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरू सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ । बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ ।

8 वटा वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ?

सञ्चालमा रहेका २७ वटा वाणिज्य बैंकमा अहिलेसम्म ६ वटा बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/ ७७ को लाभांश घोषणा गरेको छन् ।

अहिलेसम्म अहिलेसम्म विभिन्न ७ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । चाडबाडको समयमा बैंकहरुले लाभांशको घोषणा गर्दै लगानीकर्तालाई पनि राहत नै महशुस भएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको नेपालमा पनि परेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोनाले प्रत्यक्ष असर पारेको थियो । त्यो समयमा बैंकहरुको नाफामा गिरावट आएर लाभांशमा संकुचन आउने हो की भन्ने धेरैमा त्रास थियो । तर हालसम्म बैंकहरुले घोषणा गरेको लाभांश दर निकै आकर्षक देखिएको छ ।

बैंकहरुले न्यूनतम १०.४ देखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी एनआईसी एसिया बैंकले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

जसमा एनआईसीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद रहेको छ । यस्तै माछापुच्छ«ेको ७.०३ बोनस र ३.३७ प्रतिशत नगद रहेको छ । लाभांश घोषणा गरेका अन्य बैंकमा बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित १६ प्रतिशत, कुमारी बैंकले १० प्रतिशत र ४ प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् ।

सानिमा बैंकले १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगदसहित १३.६ प्रतिशत र सिटिजन्स बैंकले ७.७ प्रतिशत बोनस र ३.३ नगद सहित ११ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
यस्तै ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १४ प्रतिशत बोनस सेयर रहेको छ भने २ प्रतिशत नगद लाभांश रहेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कोभिडको कारण बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशमा कडाई गरेर बोनस सेयर बाड्ने नीति लिएको थियो । कुल लाभांशमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्र नगद लाभांश दिन सक्छन् ।

शुक्रबार हिमालयन बैंकको सबै शाखा कार्यालय बन्द हुने, कसरी गर्ने कारोबार ?

हिमालयन बैंकका सबै शाखा कार्यालय भोलि (शुक्रबार) बन्द हुने भएको छ । बैंकले सूचना जारी गरेर नै भोली १४ गते बैंकको सबै शाखा बन्द हुने जनाएको छ ।

बैंकका अनुसार यो दिन बैंकको सिस्टम अपग्रेसन हुने भएकोले सबै शाखा कार्यालय पूर्ण बन्द हुन लागेको हो ।

बैंकको सबै शाखा बन्द भएपनि कार्डबाट हुने सबै भुक्तानी तथा एटिएम सेवा भने सूचारु हुने बैंकले जनाएको छ । उपभोक्ताले कार्डमार्फत वित्तीय कारोबार गर्न सक्नेछन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको तीन वर्षपछि बोनस सेयर प्रस्ताव, घोषणा गर्‍यो ११.८४ प्रतिशत लाभांश

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले तीन वर्षपछि पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ। बैंकले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद लाभांश वितरण गरिरहेको थियो।

बैंकले गत वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर सहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश घोषणाका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ। गत वर्षको वार्षिक प्रतिवेदन स्वीकृत भएपछि बैंकले साधारणसभा डाकेर लाभांश अनुमोदन गराउनु पर्छ।

बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट २२.५ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७४/७५ को नाफाबाट प्रति सेयर १७.५० प्रतिशत नगद लाभांश दिएको थियो।

हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ।

दशैँमा आपराधिक घटना न्यून

यसपाली मुलुकमा दशैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दशैँँको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना नभएको बताउनुहुन्छ । सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उहाँको दावी छ ।

दशैंँको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरण अनुसार यसपाली करणीसम्बन्धि ४ वटा घटना दर्ता भएको छ । कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले बताउनुभयो । यस्तै यो अवधिमा ३३४ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाका कारण ४३ को मृत्यु भएको र ५१९ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समग्रमा दशैँको समयमा सबै घटनाहरु न्युन रहेको प्रहरीले जनाएको छ । यस बीचमा ठूला दुर्घटना पनि हुन पाएन । सवारी साधन समेत अत्यन्त न्यून रुपमा सञ्चालन भएको थियो ।

गत वर्ष दशैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनमा चोरीका ६६ र करणीसम्बन्धीका ५० घटना भएको अभिलेख छ । उक्त अवधिमा ७०० सवारी दुर्घटनामा १११ को मृत्यु भएको थियो । काठमाडौँ उपत्यकामा पनि सवारीसम्बन्धी ठूला घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकाको तीन जिल्लामा २९४ सवारी दुर्घटनामा ९ को मृत्यु भएको र २७८ जना घाइते भएको जानकारी दिनुभयो ।

अघिल्लो वर्ष भने ४०० भन्दा बढीको दुर्घटना भएको थियो । त्यसमा १० जनाको मृत्यु र ३१८ जना घाइते भएको महाशाखाले जनाएको छ ।

सरकार सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्नेछः अर्थमन्त्री पौड्याल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।

अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकार मिडिया र पत्रकारहरुलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी अघि बढ्ने बताउनु भएको हो ।

उहाँले पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा नेपाल पत्रकार महासंघसँग घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री पौडेलले लोकतन्त्रमा मिडिया र पत्रकारलाई चौथो अंगको भूमिका निर्वाह गर्न आग्रह गर्दै सशक्त र प्रभावकारी रुपमा प्रस्तुत हुन अनुरोध गर्नुभयो । उहाँले सरकारको कार्य तथा गतिविधिहरुलाई निरन्तर रुपमा नियालेर सुझाव र आलोचना गर्न पनि आग्रह गर्दै मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्धत गर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघले पेश गरेका सुझावहरुबारे अर्थ मन्त्रालयका अधिकारी र नेपाल पत्रकार महसंघका पदाधिकारीहरुसँग पुनः छलफल गर्न भन्दै अर्थमन्त्री पौडेलले छलफल र संवादका आधारमा मिडिया र पत्रकारहरुका समस्या सम्बोधन गरिने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले कोराना भाइरसको न्यूनीकरण र नियन्त्रण र त्यसले उत्पन्न गरेका समस्याहरुको सम्बोधन गर्ने वातावरण तयार पार्न लागि नेपाली मिडियाको भूमिका अझ बढेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलिप थापा, महासचिव रमेश विष्ट, सचिवहरु रामप्रसाद दाहाल, प्रकाश थापा, रेमबहादुर विश्वकर्मा, कोषाध्यक्ष राजेश मिश्र लगायतका पदाधिकारीहरुले अर्थमन्त्रीलाई १३ बुँदे सुझाव पत्र बुझाउनु भएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले कोराना भाइरसले उत्पन्न गरेको जटिलामा पनि अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुमा परेको प्रभाव र असरबाट उत्पन्न समस्या सम्बोधनका लागि अल्पकालीन र दीर्धकालीन योजना तयार गर्न आग्रह गर्नुभयो ।

पत्रकार महासंघले कोरोनाको असरका कारण रोजगारी गुमाउन र लामो समयदेखि बेतलबी बिदामा बस्न बाध्य बनाइएका श्रमजीवी पत्रकारलाई लेखनवृत्ति सहितका वैकल्पिक कार्यक्रमहरुमार्फत राहत दिन आग्रह गरेको छ ।

महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरिरहेका सञ्चार माध्यमहरुलाई श्रमजीवी पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न आग्रह गरेको छ ।

यस्तै महासंघले श्रमजीवी पत्रकार ऐन र नियमावालीमा रहेका व्यवस्था कार्यान्वयन नगर्ने सञ्चारगृहलाई नेपाल सरकारका तर्फबाट कुनै पनि सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन आग्रह गरेको छ ।

महासंघले नेपाली मिडियालाई सेवा उद्योगका रुपमा मान्यता दिन पनि अर्थमन्त्रालयसँग माग गरेको छ ।

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो ।

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताउनुभयो ।

बन्जी र स्वीङ दुबैको मूल्यरु सात हजार तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुबिधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । टेण्डम (जोडी) स्वीङको १२ हजार छ । गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।

यसको परिकल्पनाकार राजु कार्की र फोलोरेन्स कार्की हुन् । रिसोर्टसहित रु २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरै परिवर्तन ल्याउनेछ । एसियाकै अग्लो स्थानबाट बन्जीजम्प, प्राकृतिक सुन्दरता र कालीगण्डकी खोँचको सुन्दर दृश्य यो पुल र पुलसँग जोडिएका संरचना प्रयोग गर्दा लाग्ने खर्चको उपयोगिता पुष्टि गर्ने माध्याम हुन् । यहाँ सञ्चालनमा रहेको रिसोर्टले पोखरा काठमाडौंका सुविधासम्पन्न स्टार होटेल र युरोपका शहरहरूको रिसोर्ट बसाइको झल्को मेटाउने खालको छ । निजी क्षेत्रको लगानीमा बनेको यो पुलसँगैका संरचनाको प्रयोगमा निश्चित शुःल्क लाग्छ ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र बन्जीजम्प बन्न सक्छ । साहसिक पर्यटनका लागि यहाँ बनेका संरचना नेपालमै अद्भूत छन् । सामान्य लठ्ठेपिङ खेलाउनका लागि समेत प्रयोग भएको प्रविधिले सबैलाई लोभ्याउँछ । २२८ मिटरको उचाइ, कालीगण्डकीले चिरेको पहाडका परिदृश्यमा स्काई साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो ।

बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल यो बन्न सक्छ । नेपालमै पनि प्राकृतिक नदीमाथि बनाइएका बन्जीहरूबाट नदीको बहाव र हिमाल मुस्कुराएको दृश्य देख्ने अन्यत्र कुनै ठाउँ छैन । बलेवा विमानस्थल, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग यसका आधार क्षेत्र हुन् । सहज यातायातको व्यवस्था हुँदा पर्यटकहरूलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । बन्जीजम्पले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत ठूलो योगदान गर्ने नै छ ।

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सकिने

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् ।

अर्थ मन्त्रालयमा आज सम्पन्न बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने र सो कार्यका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने’ निर्णय भएको हो ।

बैठकले गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सम्पन्न गर्न क्रियाकलाप सहितको समयबद्ध कार्यतालिका एक हप्ताभित्र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पार्नेे निर्णय पनि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेकोे बताउनुभयो । उहाँले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पु¥याउने बताउँदै गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिब घरपरिवार परिचय पत्रका आधारमा कार्यक्रमहरु सञ्चालन गर्दा स्रोतको सही सदुपयोग हुने र प्रभावकारी परिणाम निस्कने बताउनु भयो ।

बैठकले घर परिवार सर्वेक्षणमा झुठ्ठा वा नक्कली तथ्याङ्क सङ्कलन र प्रविष्ट हुन नसक्ने विधि सहित त्यस्ता तथ्याङ्कको सिफारिस गर्ने वा सङ्कलन गर्ने वा प्रविष्ट गर्ने पदाधिकारी उपर कारवाही गर्ने प्रणाली भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विकास गरी त्यसको नियमित रुपमा अुनगमन गर्ने संयन्त्र विकास गर्ने निर्णय पनि गरेको छ ।

विगत जस्तो रहेन दशैँको रौनक

राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा–५ की मनीषा सिम्खडाले बताउनुभयो ।

साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएको दृश्य देखिन्छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस बञ्चित भएका छन् । गोकर्णेश्वर नगरपालिका–३ स्थित पर्यटकीय स्थल तारेभीरमा भने स्थानीयवासी दशैँमा पिङ खेलेर रमाइरहेका भेटिन्छन् । पिङमा रम्ने काठमाडौँका अन्य क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ नयाँ टिक टक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस राजधानीकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् । निजी सवारी हुनेहरु आफन्तकहाँ पुगेपनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरु बढ्दो सङ्क्रमणबाट हिँड्न तर्सिएका छन् । सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको चन्द्रागिरी–१ का रामचन्द्र भण्डारीले बताउनुभयो । त्रासकै बीच यस वर्ष राजधानी बाहिर जाने सवारीमा पनि विगत वर्षमा जस्तो भीड भएको छैन ।

टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी
सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरा सहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहने छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केही मानिसले कात्तिक महिनामा परेको दशैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जाललगायत माध्यमबाट चलाएको हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको समितिको ठहर छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले चान्द्रमास अनुसार अहिले पनि आश्विन शुक्ल पक्ष नै रहेकाले त्यस्तो हल्लाका पछि नलाग्न सवैमा आह्वान गर्नुभयो । “हाम्रा चाड पर्व, तिथि, श्राद्ध चान्द्रमास अनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस सङ्क्रमण नफैलने गरी सुरक्षित रुपमा टीका ग्रहण गर्न शुभ छ, सौरमास अनुसार कात्तिकमा दशैँ परेको यो पहिलोपटक होइन, यस वर्षमात्र किन यसरी हल्ला गरियो ? यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय मौलिक संस्कृतिमाथि आक्रमण गर्ने चलाइने यस्ता हल्लाका पछि नलागी सांस्कृतिक पर्वको शास्त्रीय मान्यता बुझेर त्यस अनुसार अघि बढ्न धर्मशास्त्रविद्हरुले आम मानिसमा आह्वान गर्नुभएको छ । वैदिक सनातनी परम्परामाथि भ्रम फैल्याउन विगत केही वर्षदेखि मौलिक धर्म, संस्कृति लक्षित हल्ला चलाउने क्रम जारी रहेकाले सचेत हुन नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईको भनाइ छ ।

 

युरोपमा फेरि लकडाउन र धेरै देशमा कर्फ्यू समेत जारी

बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले युरोपेली राष्ट्रहरुमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएको जनाएको छ । सोहि क्रममा फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन्।

शुक्रवारबाट लागू हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्। रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन्।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अहिले फ्रान्समा लक डाउन घोषणा गरिएको छ । भने अन्य युरोपेली राष्ट्रहरुले समेत संकटकाल घोषणा गरिरहेका छन् । स्पेन, जर्मनी, बेल्जिम लगाएतका मुलुकहरुले संकटकालको घोषणा गरिसकेका छन् ।

लकडाउन लागू भएसंगै मानिसहरु स्वास्थ्य सम्बन्धि कामबाहेक घरबाट बाहिर निस्कन पाउने छैनन् । ब्यापार ब्यबसायहरु पुर्णरुपमा बन्द रहने छन, रेष्टुराँ र होटलहरु खोल्न प्रतिबन्ध लगाइएको छ । यद्यपि बिद्यालय र कारखानाहरु भने पुर्णरुपमा सञ्चालन हुनेछ ।

राष्ट्रपति म्याक्रोंले फ्रान्समा लागू गरिएको यो दोश्रो चरणको लकडाउन पहिलो भन्दा कडा हुने भन्दै सबै नागरिकलाई नियम पालना गर्न अपील समेत गर्नुभएको छ । हजारौं संक्रमितहरु सडकमा खुलेआम हिडेका कारण पनि संक्रमण दर दिनानुदिन उच्च गतिमा फैलिरहेकाले नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय भएको बताउँदै उनले यसमा जनताले साथ दिने बिश्वास समेत ब्यक्त गरे ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ४० हजाराको हाराहारीमा नयाँ संक्रमित थपिनुका साथै थप २ सय ४४ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितको संख्या १२ लाख ३५ हजार १ सय बढी पुगेको छ । कोरानाका कारण त्यहाँ ३५ हजार ७ सय ८५ बढीको मृत्यु भइसकेको छ ।

स्विट्जरल्याण्डका अधिकांश प्रान्तका अस्पतालहरु कोभिडका बिरामीले भरिभराउ भएपछि नयाँ संक्रमितहरुलाई भर्ना लिन असमर्थ भएको सुचना जारी गरिसकेको छ ।

एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार, ३३,००० नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो। माक्रोँले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताए।

यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन्। युरोपेली थुप्रै देशहरूमा सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ।

थुप्रै देशहरूमा रातिको समयमा कर्फ्यू लगाइएको छ। ४ करोड ६० लाख जनसङख्या भएको फ्रान्समा पनि रातिको समयमा कर्फ्यू लगाइएको छ।