जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

ट्राफिक अनलाइन सेवा प्रभावकारी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अघिल्लो महिनाबाट सञ्चालनमा ल्याएको अनलाइन सेवा प्रभावकारी देखिएको छ । घरबाटै सेवा लिन सेवाग्राहीहरु अभ्यस्त हुन थालेका छन् । एक महिनामा दुई हजार ५०० बढीले अनलाइनबाटै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

सवारीसाधान र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले महाशाखाले गत असोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको थियो । प्रमुख ढकालका अनुसार हराएको लाईसेन्स, विलबुक र अनुमितको लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए । दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा हालसम्म अनलाइनमार्फत एक हजार ३८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले विलवुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका माहशाखाले जनाएको छ ।

त्यसमध्ये एक हजार ७१० जनालाई अनलाइनबाटै सिफारिस दिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकरी दिनुभयो । उहाँका अनुसार वाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका ७९० निवेदन फिर्ता गरिएको छ । महाशाखाले असोज १८ बाट हराएका सवारी साधनको निवेदन र सिफारिस पनि अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ । अनलाइनबाट दुबै सेवा लिन महाशाखाको वेभसाइट ट्राफिक डट नेपालपुलिस डट जीओभी डट एनपी मा गएर अनलाइन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ । त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई वटा अप्सनमा गएर आफ्नो समस्या अनुसारको निवेदन दिन सकिने छ ।

उपत्यकामा ट्राफिक व्यवस्थापन सम्बन्धी अन्य सेवालाई समेत प्रविधिमैत्री बनाउन थालिएको छ । सोही अभियान अन्तरगत विगत नौ वर्षदेखि बिग्रिएर बसेको यहाँको २४ स्थानका ट्राफिक बत्ती सञ्चालनमा छ । यस्तै सर्भिलेन्स भेइकल्स, राडर गन, बे्रथलाइजरकोसमेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही चलाइएको महाशाखाले जनाएको छ । सिसी क्यामरालाई अधिकतम प्रयोग गर्दै कारवाही तिब्र पारिएको महाशाखाले जनाएको छ । ‘ट्राफिक कम्युनिकेसन एप्स’को प्रयोग गरी सवारी साधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा रहेको छ । उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ ।

महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’ को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसुरमा कारवाहीको लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिष्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ । यस्तै दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको समेत उपयोग भइरहेको छ ।

तातोपानी नाका पुनःसञ्चालन

नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।

दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ ।

यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

राष्ट्र बैंकले १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख, ‘ख’ वर्गको विकास बैंकमा १९ करोड ५ लाख र ‘ग’वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मंसिर २ गतेदेखि २०७८ साउन ३२ गते सम्मको लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको छ ।

यसको लागि बैंक तथा वित्तीय संस्थाले १६ गते दिउँसो साढे ३ बजेसम्म ब्याजदर तोकेर राष्ट्र बैंकमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । यसको लागि बैंकले विभिन्न शर्त राखेको छ ।

डिसहोममा आजदेखि आइपीएल हेर्न पाइने

आजदेखि डिसहोममा इन्डियन प्रिमियर लिग (आइपीएल) हेर्न पाइने भएको छ । क्लिनफिडका कारण नेपालमा बन्द भएको स्टार स्पोर्टस च्यानल अब डिसहोममा हेर्न पाइने भएको हो ।

क्लिनफिडका कारण बन्द भएका कैयन च्यानलसँगै स्टार स्पोर्टस वान च्यानल पनि बन्द भएको थियो । तर अब डिसहोममा भने क्लिनफिड सहितको च्यानल हेर्न पाइने भएको हो ।

आइपीएल नेपाली दर्शकमाझ पनि लोकप्रिय प्रतियोगिता हो । हाल डिसहोमका मुलुकभर १५ लाख ग्राहक छन् ।

नबिल बैंक एडीबीके ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ । एशियालि विकास बैंकको द्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ ।

ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिन्यायिहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा सँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

आर्थिक प्रलोभनमा पार्न खोज्दा…

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैँ कारवाहीमा परेका छन् । दशैँका अवधिमा सवारी नियम उल्लङ्घनविरुद्ध चलाइएको कारवाही अभियानका क्रममा नियम उल्लङ्घन गर्ने उनीहरुले प्रहरीलाई नै आर्थिक लोभ देखाएपछि कारवाही गरिएको छ ।
यसरी कारवाहीमा पर्नेमा आठ सवारी चालक तथा सहचालक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खड्गबहादुर सुनुवार, अभिक आचार्य र अविन शाही छन् । उनीहरुले सवारी नियम उल्लङ्घन गरेपछि कारवाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई रु ५०० देखि तीन हजारसम्म दिन खोजेका थिए ।

महाशाखाले कुनै प्रलोभनमा नपरी आर्थिक लाभ इन्कार गरेर संलग्नलाई नियमानुसार कारवाहीका दायरामा ल्याउने ती ट्राफिक प्रहरीलाई पुरस्कृतसमेत गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार सङ्गठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारीसाथ निर्वाह गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरिएको छ । यसअघि पनि प्रलोभनमा नपर्ने ७३ ट्राफिक प्रहरीलाई पुरस्कृत गरिसकिएको छ ।

महाशाखाले कुनै प्रहरीले लापरबाही गरेको वा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजीकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि आज सूचनामार्फत अनुरोध गरेको छ ।

आजदेखि बैंक तथा बीमा कम्पनीहरुका सबै शाखाहरु खुल्दै

दशैंमा बन्द भएका बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु आजदेखि खुल्ने भएका छन् । नेपाल बैंकर्स संघले बैंकका सबै शाखा कार्यालयहरु आजबाट खुल्ने जनाएको छ । यसअघि दशैंमा समेत बैंकिङ सेवा बन्द नगरेका बैकहरुले यस पटक कोरोना भाइरसको महामारीका बीचमा सेवा प्रवाह गर्न नसकिने भएपछि गत साताको शुक्रबारदेखि देशैभरिका बैंकका शाखाहरु बन्द गरेका थिए ।

दशैंमा सेवा प्रवाह रोकिँदा धेरैका कारोबार रोकिन पुगेकोमा आजदेखि सबै सुचारु हुने जनाइएको छ । बैंकर्स संघले सूचना निकालेर दशैंको समयमा बैंकका शाखा कार्यालय सुचारु नहुने हुँदा डिजिटल कारोबार गर्न सुझाव दिएको थियो ।

उता, पाँच दिन लामो बिदा सकिएपछि आजदेखि बीमा कम्पनीका सबै शाखा कार्यालयहरु पनि खुल्ला हुँदैछन् । नेपाल बीमक संघका अनुसार आजदेखि सम्भव भएका शाखा कार्यालयहरु खुल्ला गरी सेवा प्रवाह सुचारु हुनेछन् । त्यस्तै जीवन बीमा कम्पनीका शाखा कार्यालयहरु पनि आजैदेखि सुचारु हुनेछन् । जीवन बीमा कम्पनीहरुले दशैंमा हुने बीमा गतिविधिलाई उच्च प्राथमिकता राख्दै शाखा कार्यालयहरु आजैदेखि सुचारु हुने जनाएका छन् ।

मर्दी हिमालको ‘हाइक्याम्प’मा फोन र इन्टरनेट

नेपाल टेलिकम पोखराले कास्कीको चर्चित मर्दी हिमाल पदयात्रामा फोन र इन्टरनेट सेवा विस्तार गरेको छ । माछापुच्छ«े गाउपालिका–९ स्थित तीन हजार ५५० मिटरको उचाईको ‘हाईक्याम्प’मा टावर स्थापना गरी फोन र इन्टरनेट सेवा शुरु गरिएको नेपाल टेलिकम पोखराका कार्यालय प्रमूख नरेन्द्रमान सिँह महर्जनले जानकारी दिनुभयो ।

विद्युत नभएकोले सोलार प्रणालीबाट ‘टूजी’ र ‘थ्रीजी’ मोवाईल सेवा सञ्चालन गरेको र यसबाट तीव्र गतिको ईन्टरनेट चलाउन तथा कुराकानी गर्न सकिनेछ । त्यहाँ ‘ओम्नी एन्टेना’ जडान गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दछ मर्दी हिमाल पदयात्रा । समुन्द्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा अवस्थित मर्र्दी हिमालको आधारशिविर पदयात्राको अन्तिम गन्तव्य हो ।

मर्दी पदयात्रामा टेलिकमको सेवा विस्तारसँगै विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर र माछापुच्छ«े नमूना पदयात्रामा जाने पर्यटक लाभान्वित हुने सोही क्षेत्रमा पर्यटन व्यवसायमा आवद्ध सुदीप गौतम बताउनुहुन्छ ।

पोखरा बजारदेखि उत्तरतर्फको मर्दी हिमालको काखसम्म पुग्न माछापुच्छ«े–९ सिदिङसम्म जीपमा पुग्न सकिन्छ जहाँबाट पैदलयात्रा शुरु हुन्छ । पोखराबाट पाँच देखी छ दिनको प्याकेजमा मर्दी बेसक्याम्प पुगेर फर्किन सकिन्छ ।

हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीको दृश्यावलोकन सहितको आनन्द लिन सकिने यो पदयात्राामा वर्षमा ४० देखी ५० हजार हाराहारीमा पर्यटक आउने गरेको पर्यटन व्यवसायी बताउँछन् । पर्यटकको आकर्षण रहेपनि सञ्चार पहुँच नहुँदा पर्यटक बाटोबाटै हराउने, गन्तव्य पहिलाउन नसक्दा अलमलिने तथा परिवारसँगको सम्पर्कबाट विमुख हुनुपर्ने बाध्यता थियो । कतिपय अवस्थामा पर्यटकको उद्धार तथा बिरामी भएमा अस्पतालसम्म लैजानलाई सम्पर्क गर्न कठिन पथ्र्यो ।

माछापुच्छ«े गाउँपालिका वडा नं ९ ले टेलिकम पोखरालाई सेवा विस्तारको अनुरोध गरेपछि वडा र टेलिकमबीच गत वर्ष सो सम्बन्धी सम्झौता भएको थियो । अब मर्दीको आधार शिविरसम्मै फोनमा कुराकानी गर्न सकिन्छ । कार्यालय प्रमुख महर्जनले भन्नुभयो,“ उकाली,ओराली तथा बढी खोँच भएकाले राम्रो सेवाका लागि अझै केही स्थानमा टावर थप्नुपर्ने हुन सक्छ । गुणस्तर हेरेर अन्यत्र सेवा बढाउँछौँ ।” अन्नपूर्ण पदमार्गको देउरालीको सिडिएमए टावरका कारण कहिलेकाँही सो सेवा उपलव्ध रहेपनि प्रायःजसो सम्पर्क गर्न कठिनाई हुन्थ्यो ।

हालको टावर सञ्चालनबाट अन्नपूर्ण पदमार्गका कतिपय कूना काप्चाहरुमा समेत सेवा पुग्ने र सो मार्गका अन्य स्थानहरुमा यही टावरकै लिङ्क प्रयोग गरी सेवा विस्तार गर्न सकिने टेलिकमले जनाएको छ । सञ्चारको असुविधाका कारण कतिपय पर्यटकहरु पदयात्राका क्रममा बेपत्ता भएको र खोजी कार्यमा समेत कठिनाई हुने गरेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताउनुभयो ।
फोन नलाग्दा पर्यटक र उनीहरुका पथप्रदर्शक तथा पर्यटन व्यवसायीबीच सम्पर्क नहुँदा कपितय अवस्थामा दुर्घटना र बिरामी पर्दा समेत समयमै उद्धारमा कठिनाई हुने गरेको बताइन्छ ।

मर्र्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले घाम नलागेको दिनमा साँझमा फोन र इन्टरेटमा अलि समस्या आएपनि अन्य दिनमा राम्रो सेवा प्राप्त भएको बताउनुभयो । समितिले हाइक्याम्पमा टेलिकमको टावर राख्नका लागि रु छ लाख लागतमा भवन निर्माण गरेको बताउनुभयो । पदयात्रीको बास बस्ने अन्तिम स्थल हाइक्याम्प हो । त्यहाँबाट आठ घण्टामा मर्र्दीको आधार शिविर पुगेर फर्केर आउन सकिन्छ ।

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे कोरोना संक्रमित, ‘स्वास्थ्य ठिक छ’

नेपाल इन्भेटमेन्ट बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । पाँडेले आफ्नो स्वास्थ्य ठिक रहेको र होम आइसोलेसनमा नै रहेको उनले बताए । दशैभन्दा पहिला कामको शिलशिलामा काठमाडौं बाहिर गएको फर्केपछि स्वास्थ्यमा केहि समस्या आएपछि घरमा नै रहेको उनले बताए ।

 

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ ।

दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दशैंंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।

वर्षभरि कर्मचारीले १३ महिनाको तलब पाउँछन् । थप एक महिनाको तलब दशैं खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दशंैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

“पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दशैंं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ”, अर्थशास्त्री डा लाभले भन्नुभयो । व्यवसायीहरुका अनुसार दशैंमा करिब रु १० अर्ब मूल्य बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने व्यवसायीहरुको भनाइ छ ।

जनकपुरमा मात्र हरेक वर्ष दशैंंमा २५ हजार खसिबोका खपत हुने तथ्याङ्क छ । यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उहाँहरुका अनुसार दशैंंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । करिब पाँच लाख कर्मचारीका लागि रु चार अर्बभन्दा बढी रकम दशंैं खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

यसबाहेक निजी क्षेत्रका सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दशैं खर्चबापत बोनस तथा भत्ता दिन्छन् । यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ । पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार औषतमा दशैंताका करिब रु १०÷१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको सङ्ख्यामा नेपालीहरु कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।

अर्थविद्हरुका अनुसार दसैं अघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दशैंदेखि छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको अर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरीलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ । दशैंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष शिवशंकर साहको भनाइ छ । उहाँका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।

यतिखेर प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा दशैंंको निकै चहलपहल बढेको छ । दसैंको टीका चलिरहेको र दिपावली नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ । खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलहरुमा मानिसहरुको भीड लागेको छ । चाडपर्वका लागि मानिसहरुले खाद्यान्नदेखि लत्ताकपडासम्म अनिवार्य रूपमा किन्ने गरेका छन् । जनकपुरका मुख्य बजारहरु शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँहरुमा किनमेल गर्ने मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ ।

गाउँदेखि शहरसम्म धुमधामका साथ मनाइने दशैंमा व्यापारसमेत बढ्ने गर्छ । कुल राष्ट्रिय उपभोगको २० प्रतिशत दशैं अघिको दुई÷तीन साता अवधिमा मात्रै हुने अनुमान गरिएको छ । व्यापारीहरूको पनि वर्षभरीको कमाइ हुने समय भनेकै दशैं, तिहार, छठजस्ता महान चाडपर्व नै हो ।

दशैँका मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान

नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुट्नुभयो अभियानकर्मी कमलबहादुर राजलवट ।

दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उहाँले कोरोना सङ्क्रमित भई घरमै आइसोलेसनमा बसी गुर्जोका सामग्री माग्नेलाई सम्बन्धित स्थानमै पुगेर वितरण गर्नुभएको छ । अभियानकर्मी राजलवटले हालसम्म एक लाखभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिसक्नुभएको छ ।

आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृत पदमा कार्यरत उहाँले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा बनाई देशव्यापी रुपमा निःशुल्क वितरण गरिरहनुभएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जोको बिरुवा लगायत यसबाट बनेका सामग्री माग गर्नेको सङ्ख्या पनि हाल दिनप्रतिदिन बढिरहेको छ ।

महानवमी र विजयादशमीका दिन कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका ४५ जनालाई बिरुवा, चिया र धुलो वितरण भएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिका–५ सुगमनगरका स्थानीयवासीलाई ५०० वटा बिरुवा हस्तान्तरण गरिएको छ । स्थानीयवासीले त्यहाँको सार्वजनिक जग्गाका साथै घर घरमा गुर्जोको बिरुवा रोप्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी शङ्खपार्कमा १००, बनेपा बसपार्कमा ५००, सुनाकोठीमा ८००, सिभिल होममा १०० गुर्जोको बिरुवा पनि दशैँका मुख्य दुई दिनमा वितरण गरिएको छ । गुर्जोको धुलो मधुमेह, उच्च रक्तचाप, ग्याष्ट्रिक, माइग्रेसन, मौसमी रुघा खोकी लगायत रोगका लागि पनि औषधीको काम गर्ने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्यले जानकारी दिनुभयो । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।

गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउनु हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिनुभएको छ । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने गरेको उहाँको प्रतिबद्धता छ ।

देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइ अभियानकर्मी लगायतले गुर्जोको बिरुवा वितरण अभियानमा सहयोग गर्नुभएको जनाइएको छ ।
गुर्जोसँगै अमला, निम, तुलसीपत्र, समी, कपुर जस्ता औषधीय गुणले युक्त वनस्पति रोपणमा लाग्न पनि अभियानले आम मानिसमा आह्वान गरेको छ ।

अहिलेको परिस्थितीलाई विद्युतीय भुक्तानी प्रणाली र ई–कमर्श प्रवद्र्धनको अवसरका रूपमा लिनुपर्छ : गभर्नर अधिकारी

पुनरुत्थानको निम्ति एएफआई र जि २४ का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

जी २४ एएफआई पोलिसीमेकरर्स राउण्डटेबल बैठकमा भाग लिँदै उहाँले साना तथा मझौला उद्यम÷व्यवसायको पुनरुत्थानको निम्ति स्रोतको व्यवस्थापन, नीतिगत तथा नियामकीय सहुलियत, विद्युतीय बैंकिङ प्रणालीको प्रवद्र्धनका निम्ति केन्द्रित हुनुपर्ने बताउनुभयो ।

गभर्नर अधिकारीले कोभिड संक्रमणको विषम परिस्थितिलाई विद्युतीय भुक्तानी प्रणाली र ई–कमर्श प्रवद्र्धनको अवसरका रूपमा लिइनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, “डिजिटल बैंकिङको प्रवद्र्धनबाट युवा पुस्ताको रोजगारी प्रवद्र्धन र उद्यमशीलताको विकासमा टेवा पुग्न सक्छ ।”

एलाइन्स फर फाइनान्सियल इन्क्लुजनका सञ्चालक समितिका सदस्यसमेत रहनुभएका गभर्नर अधिकारीले कोभिडबाट देखिएको समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढ्न्पर्ने उल्लेख गर्नुभयो ।

सो बैठकमा सहभागीबीच कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरको न्यूनीकरणका निम्ति अवलम्वन गरिएका नीतिगत प्रयास र युवा पुस्ताको वित्तीय समावेशीकरणका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैठकमा आर्थिक वृद्धि र विकासमा युवा पुस्ताको भूमिका र डिजिटल वित्तीय साक्षरतामार्फत वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो ।