जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

आम्दानी बढेपनि यसकारण घट्यो नेपाल बैंकको नाफा

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको खुद नाफा घटेको छ। बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा  बढेपनि बैंकले डिफर्ड ट्याक्स (स्थगित कर) तिर्दा बैंकको नाफा घटेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षकाे तुलनामा ३ करोड १४ लाख रुपैयाँले कम हो।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको कर अघिको नाफा गत वर्ष तुलनामा बढी भए पनि यस अवधिमा बैंकले गत वर्षको तुलनामा बढी कर तिर्नु पर्दा उसको नाफा घटेको हो। बैंकले यस अवधिमा २० करोड १६ लाख वर्तमान कर तिरेको छ भने २ करोड ९३ लाख स्थगित गर तिरेको छ।

पहिलो त्रैमासमा बैंकको वितरणयाेग्य नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकले १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष यस्तो आम्दानी झण्डै १६ करोड रुपैयाँले बढाएको छ।

बैंकको अन्य सञ्चालन आम्दानी पनि बढेको छ। गत वर्षको तुलनामा बैंकको अन्य सञ्चालन आम्दानी ४ करोड १० लाखबाट बढेर ५ करोड १ लाख रुपैयाँ पुगेको छ।

बैंकले गत वर्षको तुलनामा खर्च पनि नियन्त्रण गर्दै लगेको छ। बैंकको कर्मचारी खर्च ६७ करोड रुपैयाँबाट घटेर ६५ करोड रुपैयाँमा झरेको छ भने अन्य सञ्चालन खर्च १९ करोडबाट घटेर १७ करोडमा झरेको छ।

गत वर्षको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ। यस अवधिमा बैंकको खराब कर्जा २.७५ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ। बैंकले आगामी दिनमा खराब कर्जा नियन्त्रणमा भने ध्यान दिनुपर्ने देखिन्छ।

बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ भने सिसिडि रेशियो ६६.५४ प्रतिशतमा झरेको छ। यस अवधिमा बैंकको आधार दर ६.८१ प्रतिशत छ भने स्प्रेड दर ४.३८ प्रतिशत छ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात १६.६० गुणा छ।

रहेनन् पत्रकार बिष्णुप्रसाद चौलागाईं

जुझारु,मिहिनेती र मिलनसार पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ ।

गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि होम आइसोलेसन बस्नुभएको थियो ।

ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो ।

चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा क्रियाशील हुनुहुन्थियो । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।

पत्रकार चौलागाईंसँगै गोपाल शिवाको निधनप्रति पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलगायतले दुःख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यसै बिच पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले जुझारु, ,मिहिनेती र मिलनसार पत्रकार बिष्णु चौलागाईंको असामयिक निधनले दुखित बनाएको भन्दै सामाजिक सञ्जालमा आदरणीय पत्रकार चौलागाईंको निधनप्रति चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु साथै शोकाकुल परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दछु भनि उल्लेख गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले दुःख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले लेख्नभएको छ,विष्णु ! (काभ्रे पोस्ट साप्ताहिकका प्रकाशक र प्रधान सम्पादक) संसारलाई नै आतंकित बनाई रहेको कोभिड(१९ ले हामीबाट सदाका लागि चुँडेर लग्यो । पत्रकारिताको क्षेत्रमा संघर्षपूर्ण जीवनका उकाली ओरालीहरूमा २०४० सालदेखिको तिम्रो हाम्रो मित्रता भौतिक रूपमा समाप्त भएको खबरले हामी मर्महात भएका छौं ।

त्यसैगरि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गर्नुभएको छ । ‘काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक विष्णु चौलागाईंको निधनको खबरले स्तब्ध छु। चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना,’ फेसबुकमा भनिएको छ । पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले लेखेका छन् ।

कोभिड १९ दुश्मनले असमयमै चुककड्यो एक परिश्रमी पत्रकारलाई ! स्तव्ध ! भनि उल्लेख गर्नुभएको छ ।

त्यसैगरि पत्रकार रोशन कार्कीले दुःखत समाचार सुन्नु पर्यो भन्दै अतिनै मिलनशार,काठमाण्डौ आएपछि प्रत्येक पटक रोशन भाई कहाँ हुनुहुन्छ ? एक कप चियासंगै खानु पर्यो, तपाईं भएको ठाँउमा म आउँछु भन्दै फोन गरेर काभ्रे पोष्ट पत्रिका दिनुहुन्थ्यो भन्दै विगत सम्झिदै फेसबुकमा लेख्नुभएको छ ।

अत्यन्तै दुःखत खबर सुन्नुपर्यो न्यूज अभियान डट कम तथा अभियान टाइम्स साप्ताहिकका प्रधान सम्पादक छायाचन्द्र भण्डारीले काभ्रे पोस्ट साप्ताहिकका सम्पादक एवं,जुझारु,मिहिनेती र मिलनसार पुराना र सक्रिय पत्रकार बिष्णु प्रसाद चौलागाईंको असामयिक दुखद निधन भएको खबरले मर्माहत भएको छु भनि उल्लेख गर्नु भएको छ । पत्रकार महासंघका केन्द्रिय सदस्य भुपेन्द्र आचार्य सामाजिक सञ्जालमा लेख्नुहुन्छ, प्रिय साथी, एउटा मिहेनति, परिश्रमी र जुझारु पत्रकार विष्णु चौलागाईको दुखद निधन पत्याउनै मुस्किल परेको छ । तपाइको योगदान साना तथा स्वरोजगार पत्रकारिताको क्षेत्रमा सधै स्मरणीय छ भनि उल्लेख गर्नुभएको छ ।

यस शोकाकुल घडिमा स्वर्गीय बिष्णुदाई प्रती भावपुर्ण श्रद्धाञ्जली तथा परिवारमा गहिरो समबेदना प्रकट गर्दछु भनि सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

पत्रकार चौलागाईं,गोपाल शिवासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउने पत्रकारको संख्या ४ पुगेको छ ।

यसअघि कपिलवस्तुका पत्रकार वनारसी वर्मा र मेट्रो एफएममा कार्यरत विक्रम शाक्यको पनि कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४१० पत्रकार संक्रमित बनेको नेपाल पत्रकार महासंघले जनाएको छ

अर्थमन्त्री पौडेलसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारको कामकारवाही लगायतक विषयमा गरेको अन्तर्वार्ताको

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेलले पुनः अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका छन् । कोभिड– १९ का कारण फेरि यतिखेर  अर्थतन्त्र समस्यामा छ । उनीमाथि नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रमुख जिम्मेवारी पनि रहेको छ ।

पार्टीभित्र होस् वा मुलुकको अर्थतन्त्र समस्यामा पर्दा समन्वय गरेर परिणाम निकाल्नमा सक्षम अर्थमन्त्री पौडेलसँग मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारको कामकारवाहीलगायतक विषयमा राष्ट्रिय समाचार समितिले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

 

चार वर्षअघि तपाईँले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गोरखा भूकम्प, भारतको नाकाबन्दीलगायत समस्या थिए । तिनलाई येनकेन छिचोल्नुभयो । यसपटक पुनः अर्थमन्त्री बन्दा कोरोना भाइरसको प्रभावले मुलुकको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पारेको छ, यस्तो अवस्थामा अर्थतन्त्रलाई गति दिन यहाँले कस्तो योजना बनाउनुभएको छ ?
कोभिड– १९ का कारण अहिले हाम्रो अर्थतन्त्र प्रभावित भएको छ । आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्था देखिएको छ । यसले घट्दै गएको गरीबीको दरलाई पनि प्रभावित पार्छ नै । यस अवस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोेड दिएको छु । पहिलो, बजेटको प्रभावकारी कार्यान्वयन । दोस्रोे, यसैसँग सम्बन्धित पूँजीगत खर्चको बढोत्तरी । तेस्रो, चालु खर्चमा मितव्ययिता । चौथो, कोभिड– १९ बाट  प्रभावित विपन्न र गरीब वर्गलाई राहत । पाँचौँ, अतिप्रभावित आर्थिक क्षेत्रलाई सहयोग र छैटौँ, सरकारको बढ्दो खर्चको आवश्यकता परिपूर्ति गर्न वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन । अहिलेलाई कम्तीमा यति ग¥यौंँ भने अर्थतन्त्रले गति लिन सक्छ ।

यी कार्यहरूमा राजनीतिक दल, निजी क्षेत्र, सञ्चारकर्मी, सरोकारवाला र आमजनसमुदायको पनि सक्रिय सहभागिताको अपेक्षा गर्दछु । हामीसँग भूकम्प र नाकाबन्दीको दृढतापूर्वक सामना गरेको अनुभव छ । हामीले सबैसँगको सहकार्य र समन्वयमा भूकम्पपछिको  पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छौंँ । अहिलेको अवस्था अलि फरक छ । कोरोनाको प्रभाव र असर बहुआयामिक छन्  तर सबैको साथ र सहयोगमा कोभिड– १९ को प्रभावले सिर्जित चुनौतीहरुलाई हामी सामना गर्न सक्छांैँ । त्यो आत्मविश्वासका साथ मैले काम थालिसकेको छु ।

चालु आर्थिक वर्षको बजेट तयारीका क्रममा कोरोनाबाट प्रभावित नेपालको अर्थतन्त्र पुनः ‘भी’ आकारमा उठ्छ र पुनः जीवन पाउँछ भन्ने चर्चा गरिएको थियो । त्यो सम्भावना कत्तिको रहेको छ ?
कोरोनाको संक्रमण कायमै छ । खोप नआउञ्जेल यसको रोकथाम, उपचार र व्यवस्थापनमा लाग्नुपर्ने खाँचो छ । कोरोना संक्रमणको बीच पनि हामी अर्थतन्त्रलाई चलायमान राख्ने केही काम गरिरहेका छौँ । प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको कार्यान्वयन शुरु भएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर आर्थिक गतिविधि अघि बढाउन सबै क्षेत्रलाई आग्रह गर्दछु । अर्थतन्त्रलाई थप गति दिन सबै सरोकारवालाहरूले के गर्न आवश्यक छ भन्ने सन्दर्भमा सम्बन्धित क्षेत्रका व्यक्तिहरूसंँग छलफल गरिरहेको छु । थप सुझावहरू दिन आह्वान गर्दछु । उत्पादनका भौतिक संयन्त्रमा कोभिड– १९ सङ्क्रमणले खासै असर नगरेकाले हामीले अघि सारेका कार्यक्रमको कार्यान्वयन र सङ्क्रमण घट्दै गएपछि अर्थतन्त्र चलायमान हुन्छ र भी आकारमा पुनरुत्थान हुन्छ भन्ने मेरो विश्वास छ ।

कोरोनाबाट प्रभावित उद्योग, व्यवसाय, रोजगारी खोसिएका नागरिक सबैले सरकारका तर्फबाट साथ र सहयोग खोजेका छन् । उनीहरुको अपेक्षा पूरा गर्नेतर्फ तपाईँका के कस्ता योजना छन् ?

कोरोनाले सबै व्यक्ति, वर्ग र क्षेत्रका मानिसहरूलाई असर गरेको छ । असरको मात्रा केही फरक छ र त्यसलाई थेग्न सक्ने क्षमता पनि फरक फरक छ । एकातर्फ ज्यादै विपन्न वर्ग र समुदायका व्यक्तिहरूलाई  बाँच्नको लागि राहतको खाँचो छ । यसतर्फ लाग्दै आएका छौँ । अब त्यसमा समीक्षा गरेर नयाँ ढङ्गले अघि बढ्छौंँ । अति प्रभावित आर्थिक क्षेत्रहरूलाई विशेष सहयोग गरेर पुनरुत्थान गर्नेछौं । बजेट र मौद्रिक नीतिले अबलम्बन गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्नेछौँ । साथै प्रभावित क्षेत्रका सरोकारवालाहरूसंँग छलफल र परामर्श गरेर थप कार्ययोजना तर्जुमा गर्नेछौँ । सरकार कोराना प्रभावित सबै व्यक्ति र व्यवसायीहरूको साथमा छ । म कोराना सङ्क्रमणबाट सबै जना बच्न, स्वास्थ्य मापदण्ड र होशियारी अपनाउँदै उपलब्ध रोजगारी र आर्थिक उपार्जनमा संलग्न हुन पनि अपिल गर्दछु । साथै उद्योग व्यवसायीहरूलाई पनि कोभिड– १९ ले सिर्जित परिस्थितिलाई आकलन गरी स्वास्थ्य मापदण्डका साथ काम शुरु गर्न अपिल गर्दछु । समस्याहरुलाई समाधान गर्दै अघि बढ्न सरकार सबै क्षेत्रलाई साथमा लिएर हिँड्न र साथ दिन तयार छ । यसको मर्म र भावनालाई आत्मसात् गर्दै आआफ्नो ठाउँबाट सक्रिय हुन आग्रह गर्दछु । यसो गर्दा स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिन म विशेष आग्रह गर्दछु ।

कोरोनाका कारण सङ्कुचनमा परेको अर्थतन्त्रलाई पुनःजीवन दिएर गति दिने र सरकारले अपेक्षा गरेको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकारका तर्फबाट थप केही सम्बोधन गर्नुपर्छ भन्ने निजी क्षेत्रको मागलाई तपाईले कसरी लिनुभएको छ ?
निजी क्षेत्रको भनाइ तथा मागलाई सकारात्मक रूपमा लिएको छु । उहाँहरूसंँग थप छलफल र परामर्श गर्ने क्रममा पनि छु । हाम्रो अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अहं रहेको सन्दर्भमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने काम गर्छ । निजी क्षेत्रलाई नवीनतम ढङ्गबाट अहिलेको अवस्थामा नयाँ रणनीतिहरू अवलम्बन गर्नुहुन पनि अनुरोध गर्छु । सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरूको आपसी सहकार्यमा नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने हो । त्यसमा म स्पष्ट छु ।

विपत्तिका कारण आर्थिक गतिविधि कम हुँदा राजश्वमा समेत चाप परेको छ । चालु आवको तीन महिनाको अवस्थालाई हेर्दा तोकिएको लक्ष्य पूरा होला भन्ने यहाँलाई लाग्छ ? यदि लाग्दैन भने लक्ष्य पूरा गराउनेतर्फ यहाँको के  कस्ता योजना छन् ?

पक्कै पनि कोरोना भाइरसको सङ्क्रमण,  यसको न्यूनीकरण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीले गर्दा आर्थिक क्रियाकलाप शिथिल भएको हो र अपेक्षित मात्रामा राजश्व परिचालन नभएको हो । यसले गर्दा गत वर्षको पहिलो त्रयमासभन्दा चालु आर्थिक वर्षको पहिलो त्रयमासमा राजश्व सङ्कलन कम रहेको छ । पहिलो त्रयमासमा लिइएको लक्ष्यको ८७ प्रतिशत राजश्व सङ्कलन भएको छ । विसं २०७७ कात्तिक १३ गतेसम्म रू १८९ अर्ब राजश्व सङ्कलन भएको छ । कोरोना सङ्क्रमण ज्यादै बढेर पुनः बन्दाबन्दीको अवस्था नआएमा लक्ष्य नजीक पुग्न सकिन्छ । कोरोना सङ्क्रमण बढ्न नदिन हामी सबैले होशियारी अपनाउँदै आर्थिक गतिविधिमा संलग्न हुन जरुरी छ । आर्थिक गतिविधि बढ्दै गएमा राजश्व सङ्कलन सहज हुन्छ । साथै म राजश्व सङ्कलनका लागि राजश्व चुहावट नियन्त्रण र राजश्वको दायरा फराकिलो बनाउनेतर्फ पनि ध्यान दिनेछु ।

यहाँले पदबहालीका क्रममा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिताको विषयलाई बढ्ता जोड दिनुभएको थियो । किन ती विषय यहाँको प्राथमिकतामा परे ?
कोभिड– १९ ले गर्दा स्वास्थ्य क्षेत्रको खर्च ह्वात्तै बढेको छ । आर्थिक गतिविधिमा कमी आउँदा राजश्व सङ्कलनमा दवाव परेको छ  तर पनि कोभिड– १९ का सन्दर्भमा  जनताको स्वास्थ्य परीक्षण र उपचारमा लाग्ने खर्चमा कुनै कमी हुन दिँदैनौँ । यस सन्दर्भमा चालु खर्चमा अनुशासन, मितव्ययिता र पारदर्शिता हुनैपर्छ । वित्तीय अनुशासन, खर्च कटौती  र गरिएका खर्चहरू पारदर्शी ढङ्गले जनसमक्ष राख्नुपर्छ भन्ने मान्यताका आधारमा मैले जोड दिइएको हुँ ।

नयाँ संविधान कार्यान्वयनमा आएलगत्तै हरेक वर्ष जेठ १५ गते नै बजेट ल्याउने व्यवस्था गरिए पनि कार्यान्वयनको कोणबाट हेर्दा अपेक्षा गरेअनुसार हुन सकेको छैन । यस्तो अवस्थालाई कसरी सुधार्नुहुन्छ ?
बजेट कार्यान्वयन, त्यसमा पनि पूँजीगत खर्चको कार्यान्वयन कमजोर रहँदै आएको छ । जेठ १५ गते बजेट आए पनि पूँजीगत खर्च बढ्न नसक्नुमा हाम्रो काम गर्ने शैली, लामो खरीद प्रक्रिया, ठूला ठेक्कापट्टामा आउने अन्य व्यावहारिक झमेला, आयोजना व्यस्थापनमा सरकारी संयन्त्रको क्षमता र निर्माण व्यवसायीहरूको क्षमताले प्रभाव पारेको छ । यसको निराकरणतर्फ म लाग्ने छु । पूँजीगत बजेट बढी भएका मन्त्रालयहरूलाई कामको गति बढाउन उत्प्रेरित गर्ने, अनुगमन गर्ने र सहजीकरण गर्ने काम गर्नुछ । ध्यानपूर्वक समयमैै काम सम्पन्न गर्न विकास निर्माणसँंग जोडिएका सबै कर्मचारी, निर्माण व्यवसायी र अन्य सरोकारवालाहरूलाई अपिल गर्दछु । विकास आयोजनाहरूलाई बजेटको अभाव हुन दिन्न तर केही क्षेत्रमा भने प्राथमिकतामा तलमाथि हुन सक्छ । यतिबेला हामी सबैको सर्वोच्च प्राथमिकताको विषय जनताको स्वास्थ्य सुरक्षा नै हुनुपर्छ । जनताको जीवन र जीविका रक्षा गर्न अर्थ मन्त्रालयले आफ्नो ठाउँबाट कुनै कसर बाँकी राख्ने छैन । म  सम्बन्धित पक्षलाई नीति तथा कार्यक्रमहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न विशेष आग्रह गर्न चाहन्छु । हामी सबै आआफ्नो ढङ्गले विशेष परिस्थितिमा विशेष रुपमा सक्रिय भएर लागेमा ठीक ढङ्गले अघि बढ्न सकिन्छ ।

सरकारले अगाडि सारेका कार्यक्रम प्रभावकारी बन्न नसक्दा अर्थतन्त्रको आकार वृद्धि हुन सकेको छैन, रोजगारी बढेको छैन । खर्च गर्ने सवालमा समेत समस्या रहेका छन् ।  यसलाई कसरी सुधार्ने ?

हो, लक्ष्यअनुरुप पूँजीगत खर्च हुन सकेको छैन । यसलाई बढाउनुपर्छ । उपलब्ध भौतिक पूर्वाधारहरूको प्रयोग गरेर स्वरोजगार हुने र सञ्चालनमा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा नेपालीहरूको रोजगार सहभागिता अलि कम भएको देख्दछु । एकातर्फ नेपालीहरूलाई रोजगारी दिन निर्माण व्यवसायीहरूलाई अपिल गर्दछु भने बेरोजगार व्यक्तिहरूलाई पनि आफ्नो क्षमता विस्तार गरेर उपलब्ध रोजगारीमा संलग्न हुन अनुरोध गर्दछु । लघुउद्यम विकास कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र सीप विकास तालीमहरूमा सहभागी हुन र सहुलियत कर्जाको सदुपयोग गरी स्वरोजगार हुन अनुरोध गर्दछु । बेरोजगारीको समस्या भोगिरहनु भएकालाई सरकार र विभिन्न क्षेत्रको सहयोगमा कुनै न कुनै कार्यमा सहभागी हुने योजना बनाउन तथा कार्यक्रममा सहभागी हुन म आग्रह गर्दछु । स्रोतको अभावमा अल्झिरहनुभएका साथीहरुलाई गरिखाने वातावरण सिर्जना गर्दै अघि बढ्नका लागि सरकार साथ दिन तयार छ । म यस कार्यमा प्रदेश सरकार र स्थानीय तहलाई पनि सक्रियताका साथ लाग्न अनुरोध गर्दछु ।

तपाईँ पहिलो पटक अर्थमन्त्री बन्दा एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा कर लगाइएको थियो । आयोजनाका लागि भनेर पैसा उठ्ने तर आयोजना भने अगाडि नबढ्ने अवस्था रहेको छ । सो आयोजनालाई अगाडि बढाउनेतर्फ केही गर्दै हुनुहुन्छ ?

स्वदेशकै पूँजीले बनाउने भनेर बूढीगण्डकी जलविद्युत् आयोजनाका सन्दर्भमा पेट्रोलियम पदार्थमा कर लगाइएको हो । यसबाट अहिलेसम्म रू ४९ अर्ब ६९ करोड रकम उठेको छ । यो आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई मुआब्जा बाँड्ने काम भइरहेको छ । साथै विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन तयार भएको छ । हालको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा सरोकारवालाहरुसँंग छलफल गरी ठोस निष्कर्षमा पुग्ने छौंँ ।

विशेष  गरी विकासनिर्माणका आयोजनामा असाध्यै धेरै समस्या छन् । राष्ट्रिय गौरवका आयोजनाको अवस्था पनि उस्तै छ । ती आयोजनालाई गति दिएर जनतालाई मुलुक विकासको गतिमा अगाडि बढिरहेको छ र जनअपेक्षा सम्बोधन भएको छ भन्ने कसरी अनुभूत गराउनुहुन्छ  ?

राष्ट्रिय गौरवका केही आयोजनाहरूबाहेक धेरै आयोजनाहरूको कार्यान्वयनको गति धीमा छ । विभिन्न खालका समस्यामा ती आयोजनाहरू जेलिएका छन् । विकास आयोजनाहरूमा बजेट भएर पनि द्रुत गतिमा कार्यान्वयन नहुनु चिन्ताको विषय हो । यी आयोजनाहरूका समस्याहरूका बारेमा सम्बन्धित निकायहरूसंँग छलफल गरी समाधानका उपाय निकाल्ने र कार्यान्वयनलाई गति दिने काम गर्नेछौंँ । आयोजना कार्यान्वयनमा संलग्न निकाय र व्यक्तिहरूको कार्यान्वयनको प्रगति हेरेर दण्ड र सजायको व्यवस्था गर्ने र कर्मचारी र निर्माण व्यवसायीहरूको कार्यान्वयन क्षमता बढाउनेतर्फ पनि लाग्ने छौंँ ।

बहुवर्षीय परियोजनाको हकमा बढी समस्या देखिएको छ । ती आयोजनामा स्रोतको उपयोग नहुने, निर्माण व्यवसायीले पनि काम नगर्ने अवस्था देखिएको छ । त्यसलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?

परियोजनाहरूको कार्यान्वयनमा विभिन्न खालका समस्याहरू छन् र त्यसै कारणले व्यवधान देखिएको छ । परियोजनाअनुसार फरकफरक समस्याहरू रहेका छन् । समस्याहरू समाधान गर्ने क्षमता पनि बढाउनु पर्नेछ । अब खासगरी ठूला आयोजनाहरूको कार्यान्वयनमा देखिएको समस्याबारे छलफल गरी समाधानतर्फ अग्रसरता लिन्छु । समयमै विकास परियोजना सम्पन्न भएमा हामी सबैलाई फाइदा हुने हुँदा सानातिना समस्याहरू सम्बन्धित व्यक्तिहरूले सक्रियता लिएर यथाशीघ्र समाधान गर्नुपर्छ । ठूला समस्याहरूबारे समयमै हामीलाई जानकारी गराउनुपर्छ  । विकास परियोजनाहरूमा अनावश्यक व्यवधान सिर्जना गर्नुहुन्न । स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रमा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्न, सहजीकरण गर्न र आइपर्ने व्यवधानहरू समाधान गर्न सहयोग गर्नुपर्छ ।

आन्तरिक स्रोतबाट अगाडि बढाइएका विकास आयोजना र दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा समेत गति देखिएको छैन रु त्यसलाई अगाडि बढाउनेतर्फ यहाँले के त्यस्ता योजना ल्याउँदै हुनुहुन्छ ?

तिनै समस्याहरू दातृ निकायको सहयोगमा सञ्चालित आयोजनाहरूमा पनि देखिन्छन् । यिनीहरूको कार्यान्वयनको गति बढाउन समस्याको चुरो कहाँ छ भनी पत्ता लगाउने र त्यसको समाधान गर्ने हो । सम्बन्धित सबै सरोकारवालाहरूलाई आयोजना परियोजना कार्यान्वयनमा ध्यान दिएर लाग्न अनुरोध पनि गर्दछु । देशको विकासको काम सबैको जिम्मेवारी र दायित्व हो ।

निजी क्षेत्रले करका विषयमा सधैँ गुनासो गरेको सुनिन्छ ? यसमा खास रुपमा समस्या कहाँ हो भन्ने ठान्नुहुन्छ ? समस्या समाधानका लागि के छन् तपाईँसँग कार्ययोजना ?

निजी क्षेत्रले तिरेको करबाट राज्य सञ्चालित भई राज्यका सेवाहरू जनतालाई प्रभाव गर्ने हो । सरकारले सार्वजनिक सेवाहरू प्रवाह गर्न र भौतिक पूर्वाधार निर्माणका लागि चाहिने प्रमुख वित्तीय स्रोत नै कर हो । कर तिर्नु हाम्रै आफ्नै विकासको लागि हो भने सोच्नुपर्ने हुन्छ  तर सही आर्थिक क्रियाकलापलाई नकारात्मक असर पर्ने गरी कर लगाउनु हुँदैन भने मान्यता राख्दछु । करबाट उठाएको रकमको सही, मितव्ययी र पारदर्शी प्रयोग गर्न हामी प्रतिबद्ध छौंँ । कर नीति लगानी प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सहयोगी हुनुपर्छ । यदि अहिले भएको कर व्यवस्थाका सम्बन्धमा केही समस्या छन् भने निजी क्षेत्रसंँग छलफल गर्न सकिन्छ । हामी निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैनौं । प्रोत्साहन र सहयोग गरेर नै जान्छौंँ  तर इमान्दारीपूर्वक कर तिरेर सहयोग गर्न पनि म सम्बन्धित सबै पक्षलाई अनुरोध गर्छु ।

सरकारका तर्फबाट बजेटमा स्पष्ट रुपमा नै सम्बोधन भए पनि निजी क्षेत्रले अझै पनि कोरोना प्रभावित क्षेत्रका लागि उद्दीपन (स्टिमुलस) योजना खै त भनिरहेका छन् । थप के योजना छ ?

बजेटमा निजी क्षेत्रलाई पुनरुत्थान गर्नका लागि केही खास प्रावधान राखिएका छन् । विद्युत महसुलमा छुट, सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउन ब्याज अनुदानका लागि बजेट व्यवस्था, एक खर्ब रुपियाँको पुनर्कर्जा कोषको व्यवस्था, कोभिड– १९ पीडित व्यवसायका लागि ५० अर्बको व्यवसाय सञ्चालन कोष, लघु, साना र मझौला उद्योगहरूका लागि आयकरमा छुटको व्यवस्था गरिएको छ । यी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनले पनि धेरै सहयोग गर्नेछ । थप उद्दीपनका लागि सबै सरोकारवालाहरूसँंग छलफल गरी आवश्यकता परे थप व्यवस्था गरौंँला । यसका लागि निजी क्षेत्र र विज्ञहरूले पनि सुझावहरू उपलब्ध गराउनुपर्छ ।

अचेल सरकारले विपत्तिमा परेका नागरिकलाई उपचार गर्न चाहेन भन्ने जस्ता आरोप पनि यदाकदा सुनिन्छ । यसलाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ ?

सरकार कुनै पनि प्राकृतिक विपद्मा परेका नागरिकहरूलाई सहयोग गर्छ । म प्रष्टसँग भन्न चाहन्छु, कोरोना भाइरसको लक्षण देखा परेका नागरिकको स्वास्थ्य परीक्षण र उपचार सरकारको सर्वोच्च प्राथमिकतामा छ । त्यसको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिन्छ । व्यावहारिक रुपमा केही समस्या देखा परेका हुन सक्छन्, बुझाइमा पनि केही समस्याहरू हुन सक्छन् । तिनलाई समाधान गर्दै बुझाउँदै अघि बढ्छौंँ ।

अहिले कोभिड– १९ ले सिर्जित समस्या हामीलाई नौलो भएको र व्यवस्थापकीय क्षमतालाई चुनौती दिने तहको भएकाले समस्याहरु देखा परेका हुन् । विपतका बेला त्यो स्वाभाविक पनि हो तर केन्द्र, प्रदेश र स्थानीय सरकारले विभिन्न कामहरु गरेका छन् । केही ठाउँमा उदाहरणीय कार्य पनि भएका छन् । हामी विगतको समीक्षा गर्दै थप योजना तथा कार्यक्रमहरु ल्याएर अघि बढ्छौंँ ।  लोकतान्त्रिक पद्धतिमा सरकारका नीति तथा कार्यक्रम र विभिन्न निकायका निर्णयहरुमा बहस, छलफल, आलोचना र टीकाटिप्पणी हुनु स्वाभाविकै हो । म यसलाई सकारात्मक रुपमा लिन्छु । ठीकलाई ठीक, बेठीकलाई बेठीक भनिदिने र विनापूर्वाग्रह गरिने आलोचनाहरूले हामीलाई काम गर्न सहयोग र प्रोत्साहन गर्छ । सङ्कटका बेला धैर्यपूर्वक काम गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको संस्कार रहँदै आएको छ । हामीले भूकम्पले सिर्जित समस्यालाई पार लगायौं । जनताको साथ र सहयोगमै हामी कोरोना भाइरसबाट सिर्जित समस्याहरुलाई पनि समाधान गर्छौँ । यसका लागि सरकार नागरिकहरूसँग एक आपसमा सहकार्य गरेर अघि बढ्छ ।

प्रसारण लाइन तथा पूर्वाधारको क्षेत्रमा जोडिएको अमेरिकी सहयोग कार्यक्रम एमसिसी पूर्वअर्थमन्त्रीले होल्डमा रहेको बताउनुभएकोे थियो । सो परियोजना कसरी अगाडि बढ्ला ?

यो विषय सम्मानित संसद्मा प्रवेश भइसकेको छ । हामी पर्याप्त छलफलका साथ उचित निर्णयमा पुग्छौंँ । संसद्ले गर्ने निर्णयलाई सरकारले हार्दिकपूर्वक ग्रहण गर्छ ।

आगामी आर्थिक वर्षको बजेट बनाउने कामसमेत शुरु भयो होला । आगामी वर्षको बजेटको भ्रुण कस्तो छ  ?

आगामी वर्षको बजेटले कोभिड– १९  ले पारेको प्रभावलाई निस्तेज पारी पुनः आर्थिक वृद्धिदर बढाउने, गरीबी निवारण गर्ने र समन्यायिक र सन्तुलित विकासलाई जोड दिने गरी अगाडि बढ्न लागेको छु ।  हामी अहिले कोभिड– १९ को प्रकोपका बीचमा छौँ । यसले विश्वका सबै देशहरुलाई असर पारेको छ र चुनौतीहरु सिर्जना गरेको छ ।

खोप नआउञ्जेल यो रोग हामीसँगै रहन सक्छ ।  त्यसैले हामी सबैले स्वास्थ्य मापदण्ड अपनाएर आर्थिक गतिविधिमा संलग्न हुनुपर्छ । साथै प्रदेश सरकार र स्थानीय तहहरूले पनि कोभिड– १९ बाट प्रभावित  जनता र व्यवसायहरूको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न आआफ्ना क्षेत्रबाट थप प्रयासहरू गर्नु जरुरी छ । अर्थ मन्त्रालयले के सहयोग गर्नुपर्छ, त्यसबारे जानकारी र सुझावहरूको अपेक्षा गरेको छु । हामी सबै एक जुट भएर लाग्यौँ भने कोराना महामारीलाई परास्त गर्न र समृद्धिको यात्रालाई गति दिन सक्नेछौं ।

आइफोन १२ र १२ प्रोः क्यामराका लागि उत्कृष्ट

विश्वकै राम्रो मोवाइल कुन हो ? भन्ने प्रश्न उब्जिनासाथ सबैको सोचाई आइहाल्छ- एप्पल कम्पनीद्धारा उत्पादित आइफोन ।

उत्कृष्ट मोवाइल उत्पादक कम्पनी बनेको एप्पलले विभिन्न मोडलका मोवाइलहरु बजारमा ल्याइरहेको छ । त्यसमध्येका २ मोडल हुन् आइफोन १२ र आइफोन १२ प्रो ।

पछिल्लो समय निकै चर्चामा रहेका यी २ मोडल कस्ता छन् ? यी २ मोडलमा खास कस्ता भिन्नता छन् । र, पहिलाका मोडलहरुमाभन्दा यीनमा कस्ता परिवर्तन भएका छन् ? यो मोवाइल पारखीहरुका लागि निकै चासोको विषय हो ।

एप्पलले उत्पादन गरेका यी २ मोवाइलहरुमा कस्ता परिवर्तन भएका छन् । र, कति उपयोगी छन् भन्ने कुरा कुन नजरले हेरिन्छ भन्नेमा भर पर्छ । हेर्ने नजर अनुसार यसमा मूख्य र सामान्य अपग्रेड गरिएको छ ।

रात्रीकाली फोटोग्राफी, भिडियोग्राफीमा विशेष रुची राख्नेहरुका लागि र फाइभजीमा रमाउनेहरुका लागि यी २ मोवाइलमा निकै सुधार गरिएको छ ।

तर साधारण उपभोक्ता जसको बानी विशेषत टेक्स्टिङ, बेभ सर्फ, इन्स्टा स्क्रोल र विरलै फोटो खिच्नमा मात्रै सिमित छ– उनीहरुका लागि यी मोवाइलहरु केबल आइफोन ११ जस्तै लाग्नसक्छ ।
झट्ट हेर्दा यसमा उल्लेखनीय सुधार केहि देखिँदैन । जसरी आइफोन ७ बाट आइफोन एक्स आउदा होम बटन नै हटेको थियो वा एक्सएसबाट ११ मोडलमा जाँदा अल्ट्रा वाइड एंगल क्यामरा राखिएको थियो ।

गत वर्ष सार्वजनिक भएका आइफोन ११ र आइफोन ११ प्रोबीच निकै धेरै भिन्नताहरु थिए । तर आइफोन १२ र १२ प्रोमा त्यत्ति धेरै उल्लेखनीय भिन्नताहरु छैनन । यो वर्ष सार्वजनिक भएका चारवटा आइफोन १२ मोडलका मोवाइहरुमा नयाँ बक्सियर डिजाइन राखिएको जसको चारै तिर पुर्णतया फ्ल्याट रहेको छ ।

आइफोन ४ वा ५ चलाएका उपभोक्ताले आइफोन १२ सिरिज चलाउँदा फरक अनुभूति मज्जाले गर्न सक्छन् । पछिल्ला केही मोडलहरुमा राखिएको सफ्ट राउन्ड एजभन्दा अहिलेका मोडलमा राखिएको हार्ड कर्नर सहितको बक्सियर डिजाइन निकै म्याचुअर र स्टाइलिस देखिन्छ ।

गत वर्ष बजारमा आएका आइफोन ११ र ११ प्रोमा विभिन्न स्क्रिन प्रविधि र स्क्रिन साइज रहेका थिए । तर यो वर्ष आइफोन १२ र १२ प्रो दुबैमा ओएलइडी प्यानल्स फिट गरिएको छ जसलाई एप्पलले सुपर रेटिना एक्सडिआर नाम दिएको छ । यी दुबै फोनको स्क्रिी साइज पनि समान ६.१ इन्च रहेको छ । अगाडीबाट हेर्दा कुन मोवाइल कुन मोडल हो भनेर खुट्याउन गाह्रो हुन्छ ।

तर यी दुई मोवाइलमा केहि फरक भने अवश्य छन् । आइफोन १२ मा एक जोडी १२ मेगापिक्सलको मेन र अल्ट्रावाइड क्यामरा रहेका छन् जबकी १२ प्रोमा आइफोन १२ मा रहेका क्यामराका साथै लिडार अर्थात् लाइट, इमेज डिटेक्सन र रेन्जिङ सेन्सर रहेको छ ।

पछिल्लो मोवाइल साधारणतया हाम्रो वरीपरिलाई म्याप गर्ने राडारजस्तै छ । आइफोन १२ प्रो को च्यासिस स्टेनलेस स्टिलबाट क्राफ्ट गरिएको छ भने आइफोन १२ को फ्रेम आल्मुनियमबाट बनेको छ ।

आल्मुनियमभन्दा स्टेनलेस स्टिल बलियो हुनाले आइफोन १२ प्रो खसेर फुट्ने सम्भावना कम हुन्छ । यही फ्रेम र क्यामरामा भएको भिन्नताका कारण आइफोन १२को तौल १६२ ग्राम छ भने प्रोको तौल १८४ ग्राम छ ।

क्यामरा

मोवाइल प्रयोगकर्ताहरुले मोवाइल हेर्दा सबैभन्दा पहिला ध्यान जाने विशेषताहरुमध्येको एक हो क्यामरा । फोटो र भिडियोका लागि प्रयोग हुने क्यामरामा कुन कुन विशेषता छन् त्यसले विशेष अर्थ राख्छ ।

आइफोन १२ सिरिज मोवाइलहरु एचडिआर प्रविधिमा आधारित डल्बी भिजनमा भिडियो खिच्ने विश्वकै पहिलोे मोवाइल डिभाइसहरु हुन् । एचडिआर अर्थात् हाई डाइनामिक रेञ्ज प्रविधिमा आधारित यो प्रविधि हलिउड स्टुडियो र माइक्रोसफ्टको नेक्ट जेनेरेसन गेमिङ कन्सोल्सहरुले प्रयोग गर्छन ।

डल्बी भिजनले भिजुअल मेटाडेटालाई डाइनामिकल्ली एडजस्ट गर्छ जसले गर्दा प्रत्येक सिन अप्टिमाइज गर्न निकै सजिलो हुन्छ ।

आइफोन १२ सिरिजले डल्बी भिजनमा भिडियो खिच्दा मेटाडाटा एजजस्ट त हुन्छन् नै । यसका अलावा प्रयोगकर्ताहरुले डल्बी भिजन क्लिप आइफोनको आफ्नै फोटो एपमा सम्पादन गर्न सक्छन् । क्लिप लोड गर्न कुनै झन्झट छैन । र, ह्याङ हुने समस्या पनि छैन ।

तर सामान्य डल्बी भिजनभन्दा आइफोन १२ मा राखिएको डल्बी भिजनमा केहि फरक छ । आइफोन १२ मा लिइने फुटेजले स्पेशल कोडेक्स प्रयोग गर्ने भएकाले कतिपय स्मार्ट टिभिहरुमा उपयुक्त नहुन सक्छ ।

तर पछिल्ला एप्पल डिभाइसहरुमा भने कुनै समस्याविनै भिडियो चल्छन् । अहिले तत्काल डल्बी भिजन आइफोन १२ क्लिप कुनै थड पार्टी भिडियो सफ्टवयरमा अपलोड गरेमा राम्रोसँग देखाउँदैन । एप्पलका उत्पादनहरुमा भने एप्पल स्पेसिफिक फम्र्याट हुने भएकाले समस्या आएको छैन ।

स्टील क्यामरा पनि किनै राम्रो रहेको छ । आइफोन १२ र १२ प्रोमा एप्पलले हाडवयरमा सुधार गरेको छ । यी दुबै मोडलमा केही ठुलो इमेज सेन्सर फिट गरिएको छ जसले २७ प्रतिशत धेरै लाइट लिन्छ । एप्पल स्ट्याण्डर्ड अनुसार यो सेन्सर ठुलो हो तर हुवाए, साओमी, सामसुङको तुलनामा सानो इमेज सेन्सर हो ।

एप्पलले सबै क्यामरामा नाइट मोड विशेषता थपेर फोटोग्राफी सेक्सनमा सुधार गरेको छ । गत वर्ष नाइट मोड मुख्य क्यामरामा मात्र उपलब्ध थियो । यो वर्ष लो–लाइट फोटोहरुमा अत्याधिक सुधार भएको छ ।

तर अध्याँरो ठाउँमा दिने लाइटका सन्दर्भमा हुवाएको पछिल्लो फोनले आइफोनलाई अझैपनि सजिलै पछि पारेको छ । आइफोन १२ प्रोमा १२ मेगापिक्सल, २ एक्स लसलेस जुमलेन्स छ जबकि हुवाएको फोनले १० एक्स लसलेस जुम गर्नसक्छ ।

निरन्तरताका सवालमा भने एप्पल अडिग रहेको छ । एन्ड्रोइड ब्राण्डका मुख्य क्यामरा र वाइड एंगल लेन्समा विभिन्न समयमा विभिन्न कलर टेम्प्रेचर देखिन्छन् तर आइफोन १२ सिरिजमा भने यो अटल रहेको छ ।

आइफोन १२ र १२ प्रोमा भएका क्यामराबीच भने नगन्य भिन्नता रहेका छन । प्रोमा विशेष गरी रातीमा केही राम्रो जुम सट रहेको छ भने अन्य विशेषताहरु उस्तै रहेका छन् ।

फाइभ जी

पछिल्लो समय निकै चासो पुर्वक हेरिएको विषय हो फाइभ जी नेटवर्क । विभिन्न मोवाइल कम्पनीले फाइभ जी नेटवर्क सपोर्ट गर्ने मोवाइलहरु बजारमा ल्याएका छन । त्यसमध्ये एप्पलले पनि विभिन्न मोडलमा फाइजी नेटवर्क विशेषता थप गरेको छ ।

तर अझै पनि विश्वका केही र मुख्य स्थानमा मात्र फाइजी नेटवर्क चल्छ । अमेरिकाको न्यूयोर्कस्थित मनहथान शहरमा समेत मानिसले फाइभ जी नेटवर्क चलाउन धेरै पर जानुपर्ने र एउटा कुनामा बसिरहनुपर्छ भनेर मजाक गरेका छन् ।

तर विभिन्न ठाउँमा गरिएको परीक्षण अनुसार आइफोन १२ एसमा फाइभजी नेटवर्क राम्रोसँग चलेको छ । एप्पलले पनि फाइजी थपेसँगै र अन्तर्राष्ट्रिय बजारमा पनि जाने भएकाले टेलिकमहरुलाई फाइभ जी सेवा छिटो उपलब्ध गराउन दबाब सिर्जना गर्नुपर्ने देखिन्छ ।

ब्याट्री र यसको कार्यसम्पादन

मोवाइल प्रयोगकर्ताको नजरमा पर्ने अर्को विशेषता हो ब्याट्री । तर विडम्बना फाइभ जी का कारण आइफोन १२ को ब्याट्रीको जिवनमा समस्या देखिएको छ । फाइजी नेटवर्कमा मोवाइल चलाउदा दिनभर पनि ब्याट्री टिक्दैन । तर फाइभजी अफ गरेर चलाउँदा भने ब्याट्री धेरै समयसम्म टिक्छ ।

ब्याट्री चार्ज गर्न भने निकै सजिलो छ । लाइटिनिङ केबल, क्वीआई वायरलेस चार्जिङ वा आइफोन १२ सिरिजसँगै सार्वजनिक भएको म्यागसेफ चार्जिङबाट पनि चार्ज गर्न सकिन्छ ।

तर चीनका एन्ड्रोइड ब्राण्डहरुको तुलनामा आइफोन चार्ज भने निकै धेरै ढिलो हुन्छन । उदाहरणका लागि म्यागसेफ चार्जरले आइफोन एक घण्टामा ६० प्रतिशत चार्ज हुन्छ भने साओमी एमआइए १० अल्ट्रा १२ मिनटमाम ६० प्रतिशत चार्ज हुन्छ ।

एप्स चलाउने, गेम खेल्ने र भिडियो हेर्ने सन्दर्भमा भने आइफोन १२ र १२ प्रोबीचमा उल्लेखनीय भिन्नताहरु छैनन । आइफोन १२ र १२ प्रो उत्कृष्ट फोन अन्तर्गत पर्छन्, जुन चलाउन निकै सजिला छन् । भिडियो सुट गर्ने र रातीमा फोटो खिच्नेहरुका लागि यी फोनमा भएका सुधार निकै लाभदायक छन् ।

तर आइफोन ११ चलाइरहेका र भिडियो÷फोटोमा त्यति धेरै रुचि नहुने प्रयोगकर्ताहरु भने आइफोन १२ वा १२ प्रो किन्न हतार गर्नुपर्ने देखिँदैन किनकी यी २ फोनमा भएका उल्लेखनीय परिवर्तन भनेका क्यामरा नै हुन् ।

तर अलि पुराना आइफोन मोडलहरु चलाइरहेकाहरुले आइफोन १२ वा १२ प्रो प्रयोग गर्दा भने धरै परिवर्तनहरु अनुभुत गर्न सक्छन् । (फोर्ब्सको सहयोगमा)

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ डिम्याटमा

सानिमा जनरल इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा देखिएको छ । सानिमा जनरल इन्स्योरेन्समा २ लाख ७३ हजार लगानीकर्ताले दश कित्ताको दरले शेयर प्राप्त गरेका थिए । SGI संकेतबाट मेरो शेयरमा सानिमा जनरल इन्स्योरेन्सको शेयर देखिएको हो। आईपीओ यही असोज २१ गते देखि असोज २५ गते सम्म खुलेको थियो ।

जुम्लामा पनि डिजिटल कर प्रणाली

जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो ।

पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागु गरिएको उनले बताए । सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार क्षेत्र छुटयाइएको छ । व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रुपैया कर तोकिएको उनले बताए ।

यो प्रणाली सात वटै वडामा लागू भएको छ । यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सुचना प्राविधिक अधिकृत रावतले बताए।

अबको १ महिनामा ‘किसान क्रेडिट कार्ड’ वितरण, कार्डमा चिप्स होइन क्यूआर कोड हुने

चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ को तयारी अन्तिम चरणमा पुगेको छ । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षको काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
कार्ड छाप्न प्रक्रिया अघि बढाएको र कार्यविधि तयार भएपछि किसान क्रेडिट कार्ड वितरण प्रक्रिया अघि बढ्ने कृषि विकास बैंकका प्रवक्ता एवम् कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए । ‘यदि कोभिडको महामारी नबढेको भए अहिलेसम्म कार्ड वितरण प्रक्रिया अघि बढी सक्ने थियो,’ उनले भने ‘हाम्रो तयारी अबको १ महिनामा किसानलाई सो कार्ड वितरण गर्ने हो ।’

कोभिडले अबका दिनमा लिने प्रकोपलाई हेरेर कार्ड वितरण प्रक्रिया अघि बढाउने बैंकले तयारी गरेको छ । ‘यति उति भन्दा पनि बजार माग र आवश्यकता अनुसार हामी यो कार्डको व्यवस्थापन गर्छौ,’ उनले थपे ‘कार्यविधि तयार गरेर किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्ने योजना कृषि विकास बैंकले बनाएको छ ।’ स्थिति अनुकूल हुनु पर्यो, यदि कोभिडको प्रकोप नबढेको भए हामीले यति खेरा किसान क्रेडिट कार्ड वितरण गरिसक्ने थियौं ।’

किसानलाई वितरण गर्न लागिएको क्रेडिट कार्ड सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा भएपनि क्यूआर कोडमा आधारित हुने हुनेछ । एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछ । साथै बैंकले नगद भुक्तानी प्रदायक गाउँ स्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएका बेला नगद लिनसक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुने प्रवक्ता पौडेलको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत व्यवसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाउनेका लागि सो कार्डको व्यवस्था गर्ने उद्देश्य सहित कृषि विकास बैकलाई सो कार्य सुम्पिएको हो । सो व्यवस्था बमोजिम कृषि विकास बैंकले सो कार्य अघि बढाएको हो ।

कार्यविधिमार्फत क्रेडिट कार्ड कसरी सञ्चालन गर्ने, कस्ता ग्राहकलाई दिने, ग्राहक पहिचान कसरी गर्ने, खाता भएकालाई मात्रै दिने कि नभएकालाई पनि दिनेलगायतका विषयमा आवश्यक व्यवस्था गरिएपछि सुरु गर्न लागिएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले पनि आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गर्ने भनिएको छ । कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैैंकले कृषि विकास बैंकलाई सुम्पेको छ ।

किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैंकसम्म पुग्नुपर्दैन ।  हरेक गाउँमा पैसा होल्ड गर्ने तथा पैसा खेलाउने मान्छेलाई बैंकले भुक्तानी प्रदायक तोक्ने भएका कारण बैंकभन्दा टाढा हुँदा पनि कृषकले आफ्नो कृषि कार्य सहजै अगाडि बढाउने सक्नेछन् ।

किसान क्रेडिट कार्डले किसानलाई उत्पादन, पुँजी र बीउ तथा उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृंखला निर्माण हुने बैंकले जनाएको छ । बैंकले निर्माण गरिरहेको सफ्टवेयरमा किसानले लिएको ऋण, सरकारबाट पाएको अनुदान, आफ्नो कृषि उत्पादनको अवस्था, कृषि औजार उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेतको सूचना समेत प्राप्त गर्नसक्ने  छनु्  । कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सुविधासहितको सफ्टवेयर नै किसान क्रेडिट कार्डको विशेषता भएको होे ।

कृषि विकास बैंकबाट कृषि कर्जा लिएपछि ऋणको प्रकृतिअनुसार केही रकम किसानले पहिल्यै लैजान्छन् । त्यसपछि कृषि कर्मको अर्को चरणका लागि चाहिने पैसा लिन किसान चेक बोकेर पुनः बैंकको शाखासम्म पुग्नुपर्ने झन्झटबाट क्रेडिट कार्ड बोक्ने किसान मुक्त हुने छन् ।

क्रेडिट कार्डवाहेक कृषकलाई पैसा चाहिएको सूचना बैंकले पाएपछि आफूले तोकेको भुक्तानी प्रयोगकर्तालाई एकपटकका लागि प्रयोग हुने युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ र सोही आधारमा भुक्तानी प्रदायकले किसानलाई रकम उपलब्ध गराउने छ ।

निजी बैंक सरकारीभन्दा अगाडि 

किसानको समृद्धि तथा व्यवसायिक किसानलाई प्राथमिकतामा रोखेर पछिल्लो समय निजी बैंकहरूले पनि किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याउन थालेका छन् । केही समय अगाडि सिभिल बैंकले ‘किसान समृद्धि कार्ड’को सुविधा सञ्चालनमा ल्याएको छ भने मेगा बैंकले व्यवसायिक किसानलाई प्राथमिकतामा राखेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ ।

सरकारको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरूप सम्पूर्ण कृषकको समृद्धिका लागि बैंकहरूले क्रेडिट कार्ड सेवाको सुरुवात गरेका हुन् । कुनै पनि कृषि पेशामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रूपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाका थप रकम पनि सहजै झिक्न सकिने व्यवस्था सहित बैंकहरूले सो सेवा शुरु गरेका हुन्

एभरेष्ट बैंकले निकाल्यो आफ्ना ग्राहकलाई यस्तो सूचना (सूचनासहित)

एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि अत्यन्त जरूरी सूचना प्रकाशन गरेको छ । बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको स्थापना दिवसमा आमा घरलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको १६औं वाषिर्कोत्सवको अवसरमा आमा घरलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, काठमाडौ, रविभवनस्थित आमाको घरलाई आर्थिक सहयोग गरेको हो ।

उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रति वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट  आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

पेन्सन खातावालाले मंसिरसम्म बैंक खाता नवीकरण गर्नु नपर्ने, नियमित पैसा पठाउन बैंकलाई आग्रह

सरकारले निवृत्तिभरण (पेन्सन) खाता आगामी मंसिर महिनासम्म नवीकरण गर्नु नपर्ने बनाएको छ। प्रत्येक ६/६ महिनामा अद्यावधिक गर्नुपर्ने खाता केही समयका लागि नवीकरण गर्नु नपर्ने बनाएको हो।

खाता नवीकरण नभएका पेन्सनरहरुलाई पनि नियमित रकम जम्मा गरिदिन सम्पूर्ण बैंकहरुलाई महालेखा नियन्त्रकको कार्यालयले आग्रह गरेको छ। कार्यालयले कोभिड महामारीको कारण बैंकमा भिडभाड हुने भन्दै पुरानै खातामा रकम जम्मा गर्न आग्रह गरेको हो।

अब पेन्सन लिने व्यक्तिहरुले मंसिर मसान्तसम्म नवीकरण नगरी पेन्सन लिन सक्नेछन्। सरकारको संचितकोषबाट स्वीकृत बजेटको परिधिभित्र रहेर सरकारी सेवाबाट निवृत्त भइ पेन्सन लिइरहेका व्यक्ति आफैं बैंकमा उपस्थित भई बैंक खाता सक्रिया गर्नुपर्ने व्यवस्था छ।

यसअघि सरकारले पेन्सन वितरणको समयमा पनि थोरै परिमार्जन गरेको थियो। बैंकहरुले पहिले पेन्सनरको खातामा रकम जम्मा गरिदिएर शोधभर्ना लिने गरेकोमा अहिले सरकारले बैंकलाई रकम उपलब्ध गराएपछि मात्र पेन्सन वापतको रकम जम्मा गरेको छ।

यो व्यवस्थाले साबिकको अग्रिम पेन्सन लिने प्रणालीलाई परिमार्जन गरी महिना बितेपछि मात्रै रकम सेवाग्राहीले पाउँदै आएका छन्।

https://bizmandu.com/assets/upload/images/Capture(743).JPG

एनआइसी एशिया म्युचुअल फण्डका दुवै योजना नाफामा, असोजमा जलविद्युत्तको सेयर बिक्री

एनआइसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र एनआइसी एशिया ग्रोथ फण्ड दुवै नाफामा छन्। अपरिष्कृत मासिक वित्तीय विवरणअनुसार असोज मसान्तमा दुवै योजनाको नाफा भदौको तुलनामा बढेको हो।

ब्यालेन्स्ड फण्डको नाफा भदौको तुलनामा २० प्रतिशत बढेको छ भने ग्रोथ फण्डको नाफा १७.८७ प्रतिशत बढेको छ। ब्यालेन्स्ड फण्डले असोजमा आफूसँग भएको साञ्जेन र रसुवागढी जलविद्युतको सेयरबाट केही सेयर बेचेर ६ कम्पनीको सेयर थप खरीद गरेको छ। योजनाले साञ्जेन जलविद्युतको ३ हजार कित्ता र रसुवागढीको १ हजार २६ कित्ता सेयर बिक्री गरेको छ। योजनासँग साञ्जेनको ३ हजार कित्ता र रसुवागढीको २९ हजार ९९७ कित्ता बाँकी छ।

असोजमा ग्लोबल आइएमई जनरल इन्स्योरेन्स, नेपाल बैंक, हिमालयन बैंक ,स्वावलम्बन लघुवित्त र समाज लघुवित्तको सेयर खरिद गरेको छ। योजनाको पोर्टफोलियोमा सबैभन्दा बढी हिस्सा नबिल बैंकको करिब ९ प्रतिशत रहेको छ। योजनासँग नबिल बैंकको ४५ हजार ३५७ कित्ता सेयर असोज मसान्तसम्म कायम रहेको छ। त्यसैगरी, नेपाल बैंकको ९० हजार ४९९ कित्ता सेयर छ।

योजनाले सेयर बजारमा सूचीकृत रहेका १२ उपसमूहमध्ये ९ वटा सेक्टरका ५८ वटा कम्पनी लगानी गरेको छ। योजनासँग यी कम्पनीका १३ लाख ७१ हजार १९६ कित्ता सेयर छ। असोज मसान्तसम्म सूचीकृत सेयरमा योजनाको ४८ करोड ८२ लाख लगानी रहेको विवरणमा देखिएको छ। योजनाको बैंक मौज्दातको रकम भदौको तुलनामा घटेको छ।

योजनाले भदौमा १७ करोड ६ लाख बैंकमा मौज्दात राखेको थियो भने असोजमा १५ करोड ५४ लाख १२ हजार राखेको छ। योजनाले बैंकमा भएको रकम निकालेर सेयरमा लगानी बढाएको देखिन्छ। योजनाको असोज मसान्तमा प्रति इकाई खुद सम्पत्ति मूल्य(एनएभि) ११.२ रुपैयाँ पुगेको छ। योजनाले असोज मसान्तमा ८ करोड ७५ लाख ५८ हजार नाफा गरेको छ। भदौमा यस्तो नाफा ७ करोड २५ लाख थियो।

एनआइसी एशिया ग्रोथ फण्डले असोज मसान्तसम्ममा १४ करोड ३८ लाख ६० हजार नाफा गरेको छ। योजनाले भदौ मसान्तसम्मा १२ करोड २० लाख नाफा गरेको थियो। नाफा बढेसँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य(एनएभि) बढेर ११.७४ रुपैयाँ पुगेको छ। योजनाले धितोपत्रमा सूचीकृत भएका कम्पनीहरुमा ७० करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ।

योजनाले असोजमा आफूसँग भएको ६ जलविद्युत कम्पनीका केही कित्ता सेयर बिक्री गरी सात कम्पनीमा थप लगानी बढाएको छ।आँखुखोला, युनिभर्सल पावर, रसुवागढी, साञ्जेन, जोशी, कालिका पावर जलविद्युत कम्पनीको लगानी गरेको मध्ये केही कित्ता सेयर बिक्री गरेको छ।

उक्त सेयर बिक्री गरी योजनाले ग्लोबल आइएमई, जनरल इन्स्योरेन्स, नेपाल बैंक, एनएलजी इन्स्योरेन्स, स्वावलम्बन लघुवित्त, हिमालयन बैंक र समाज लघुवित्तमा लगानी बढाएको छ। योजनाको पोर्टफोलियोमा सबैभन्दा बढी हिस्सा नबिल बैंकको ५.५८ प्रतिशत छ। योजनासँग नबिल बैंकको ४५ हजार ७९५ कित्ता सेयर छ भने एनएमबि बैंकको ७७ हजार ७६३ कित्ता छ ।

सिद्धार्थ बैंकको क्रेडिट कार्ड अनलाईनबाटै

सिद्घार्थ बैंकले क्रेडिट कार्डको आवेदन अनलाईनबाटै दिन सकिने व्यवस्था गरेको छ । बैंकले कार्तिक १३ गतेदेखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको हो ।

यससंगै क्रेडिट कार्डका लागि भौतिक रुपमा बैंककसम्म नपुगि घरैबाट आवेदन दिन सकिन्छ । जसका लागि बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी आवेदन दिन सकिने छ । आवेदन दिएपश्चात स्वीकृत गर्नुपूर्व बैैंकले आवश्यक ठानेमा ग्राहकलाई सम्पर्क गर्ने जनाएको छ । साथै, कार्ड तयार भईसकेपश्चात आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड लिन सकिने छ ।

बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैंकद्वारा अपनाइएको यस कदमले ग्राहकहरुको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।