एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । इएनटी र जेनरल सर्भिस अन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इनभेष्टिगेशनमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, आँखा उपचार गर्दा ओपीडी जेनरलमा २० प्रतिशत, अपरेशन चार्ज, सर्जरी प्याकेज तथा इनभेष्टिगेशनमा ५ प्रतिशत, ल्याब्रोटरीमा १० प्रतिशत र अप्टिकल प्रोडक्ट मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
मेट लाइफ नेपालले गर्यो राष्ट्रिय क्रिकेट खेलाडीको बीमा नविकरण
मेट लाइफ नेपालले राष्ट्रिय क्रिकेट खेलाडीहरूको बीमा नविकरण गराएको छ । एक वर्षसम्म खेलाडीहरुको बीमाकर्ता र गौरवका साझेदार रहेको मेटलाइफ नेपालले फेरि यसपटक पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो प्रतिबद्धता नवीकरण गरेको छ । जसले लाखौँ नेपालीको आशा र गर्व बोकेर खेल्ने खेलाडीहरूलाई निरन्तर सुरक्षा प्रदान गर्नेछ ।
यस नवीकरणसहितको साझेदारीले पुरुष र महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू तथा क्यानलाई आर्थिक सुरक्षा र सहयोगको पहुँच निरन्तर दिलाउनेछ । जसले उनीहरूलाई खेल, प्रदर्शन र देशलाई एकतामा बाँध्ने क्षणहरूमा पूर्ण रूपमा केन्द्रित रहन सहयोग गर्नेछ ।
यो सुरक्षा प्रतिवद्धता नेपालका लागि विशेष गर्वको क्षणमा आएको हो — किनकि नेपालको राष्ट्रिय क्रिकेट टोलीले आइ सी सी टि २० विश्वकपका लागि योग्यता हासिल गरेको छ । जसले देशको खेलकुद यात्रामा अर्को ऐतिहासिक उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाहरूको तयारीमा रहेका खेलाडीहरूको आत्मविश्वासलाई मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ ।
“मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ,” पूर्व कप्तान तथा क्रिकेट संघका सचिव पारस खड्काले भने, “हाम्रा खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौं ।”
मेटलाइफ नेपालका जनरल म्यानेजर, निर्मल काजी श्रेष्ठले भने, क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन्। उनीहरूले प्रत्येक प्रदर्शनमार्फत राष्ट्रलाई प्रेरित गर्दा, हामी उनीहरूको सुरक्षामा निरन्तर साथ दिन पाउँदा गर्वान्वित छौं । टोलीले आगामी ठूला प्रतियोगिताको तयारी गर्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको भरोसायोग्य सुरक्षा कवच बनेर साथमा उभिएको छ — जसले हाम्रा राष्ट्रिय हिरोहरूलाई हरेक चुनौती सामना गर्न साहस र आत्मविश्वास प्रदान गर्दछ। किनभने जब हाम्रा खेलाडीहरू निडर भएर खेल्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ । ”
१२ अर्ब ८४ करोडको नार खोला जलविद्युतका लागि जुट्यो लगानी, कुमारीको नेतृत्वमा ४ बैंकको सहकार्य
कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोेको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन् ।
मनाङ्ग स्थित नार्पा भूमि र नासोँ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी नार खोला हाइड्रो इनर्जी प्रा.लि.ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ । नेपाल विद्युत प्राधिकरणसँग यस अघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजना, कुमारी बैंकको अगुवाई तथा नेपाल एसबिआई बैंकको सह–अगुवाईमा कृषि विकास बैंक, एन आइ सी एसिया बैंक र मुक्तिनाथ विकास बैंक सदस्य बैंकको रुपमा लगानी गर्ने गरी वित्तिय व्यवस्थापन टुङ्गिएर सोमबार हस्ताक्षर भएको हो ।
नार खोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ । आयोजनाको बाँध तथा हेडवर्कका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने, उक्त बाँधस्थलबाट नार्पा भुमि र नासोँ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि नासोँ गाउँपालिकामा रहको विद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङ्गस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ ।
कुल लागत १२ अर्ब ८४ करोड रहेको यस आयोजनामा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ, जस मध्य सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण
सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ ।
मंसिर १५ गते आयोजित बेग्ला बेग्लै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
दुबै कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा हस्तान्तरण गरेकी हुन् ।
सूर्योदय नगरपालिकाका बाढी पहिरो प्रभावितका लागि बैंकका तर्फबाट ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा तथा इलाम नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि बैंकका तर्फबाट १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा गरिए अनुसार न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपालपे कार्ड सञ्चालनका लागि समझदारी
एनआईसी एशिया बैंक र राष्ट्रिय भुक्तानी प्रणाली (एनसीएचएल) बीच नेपालपे कार्डको सेवा विस्तार तथा प्रवर्द्धनका लागि समझदारी भएको छ । सम्झौतापछि एनआईसी एशिया बैंकले नेपालपे कार्ड सेवालाई अझ प्रभावकारी रूपमा ग्राहकसम्म पुर्याउने भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकले एनसीएचएलद्वारा सञ्चालित राष्ट्रिय कार्ड स्विच (एनपीएस–एनसीएस) मार्फत घरेलु कार्ड योजनाअन्तर्गत नेपालपे कार्डको निरन्तर सेवा प्रदान गर्नेछ ।
यसले देशभरका एटीएम, पोस, मोबाइल तथा अन्य भुक्तानी प्रणालीमार्फत डिजिटल कारोबारलाई सहज बनाउने लक्ष्य लिएको बैंकले जनाएको छ ।
नेपालपे कार्डमार्फत कार्डधारकले देशभित्रका विभिन्न सेवा प्रदायक, व्यापारी, एटीएम तथा पोस नेटवर्कबाट सरल र सुरक्षित डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै, डिजिटल भुक्तानी प्रणालीलाई एकीकृत र प्रभावकारी बनाउँदै राष्ट्रव्यापी नगदविहीन कारोबार प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।
समझदारीपछि दुवै संस्थाले राष्ट्रिय भुक्तानी स्विचको दायरा विस्तार गर्दै ग्राहकमैत्री र सुरक्षित भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।
उच्च पदस्थहरु पक्राउ पर्दा पनि प्रभु बैंकप्रति ग्राहकको विश्वास उस्तै, ‘कारोबार नर्मल छ
उच्च पदस्थहरु पक्राउ पर्दा पनि प्रभु बैंकप्रति ग्राहकको विश्वास भने नघटेको पाइएको छ । बैंकिङ कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले बैंकका उच्च पदस्थहरुलाई पक्राउ गर्दा पनि बैंकप्रति ग्राहकको विश्वास भने उस्तै रहेको पाइएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदस्थ कर्मचारी पक्राउ गर्दासमेत बैंकप्रति ग्राहकको विश्वास नघटेको बैंककै कर्मचारीहरुले दाबी गरेका छन् ।
‘सिइओ सरसहित उच्च पदस्थ कर्मचारी पक्राउ पर्दा सुरुमा हामी नै डराएका थियौँ । बैंकप्रति ग्राहकको विश्वास घट्ने हो कि भन्ने चिन्ता थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका एक उच्च अधिकारीले भने, ‘तर परिस्थिति सोचेको भन्दा फरक भइदियो । बैंकप्रति ग्राहकको विश्वास उस्तै छ । घटेको छैन ।’
ती अधिकारीका अनुसार बैंकमा कारोबार पनि सामान्य नै छ । अर्कोतर्फ सामान्यतः बैंकको नेतृत्वमाथि प्रश्न उठेका बेला ग्राहकको विश्वास गुम्दा विथड्र गर्नेहरु बढ्ने गरे पनि प्रभु बैंकको केसमा त्यस्तो नभएको ती अधिकारीको दाबी छ । ‘बैंकको कारोबारमा कुनै फरक छैन । सबै कुरा नर्मल चलिरहेको छ ।’, उनले भने, ‘विथड्र पनि एब्नर्मल छैन । सबै नियमितजस्तै छ ।’
मंसिर १४ गते सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ), बैंकका डेपुटी सिइओ मणिराम पोखरेल, बैंकका कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो । यो समाचार तयार गर्दासम्म उनीहरु सीआईबीकै हिरासतमा छन् । हाल बैंकले निरज लम्साललाई बैंकको कार्यवाहक सिइओ जिम्मा दिएको छ ।
यस्तो आयो मौद्रिक नीतिको समीक्षा
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मङ्सिर १५ गते सोमबार समीक्षा सार्वजनिक गरेको हो ।
महानगरपालिका भित्र बैंकका शाखा घट्ने संकेत
अबका दिनमा महानगरपालीका क्षेत्रभित्र बैंकवित्तका शाखाहरु कटौती हुने भएका छन् । बढ्दो डिजिटलाइजेशनका कारण शहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आफूलाई आबश्यक पर्नेगरी बेंकका शाखा बन्द गर्न वा मर्ज गर्न पाउने भएका हुन् ।
केन्द्रीय बैंकले चालु आबको मौद्रिक नीति समिक्षामा यो कुरालाई सुविधा दिएको छ । देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु एकीकरण वा समायोजन गर्न सक्ने कुरालाई मौद्रिक नीति समिक्षामा उल्लेख गरिएको छ ।
नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुननिर्माण कोषमा एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनीका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।
उक्त हस्तान्तरण समारोह समारोहमा बोल्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । जेनजी प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।
आगामी दिनमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे। नेपाल सरकारले आर्थिक सामाजिक भौतिक रूपान्तरणका लागि सञ्चालनमा ल्याउने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गर्दिनका निम्ति समेत आग्रह गरेका थिए ।
अर्थमन्त्री खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पुर्याउने र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको बताए ।
कर्जा लगानीलाई प्रोत्साहन गर्ने गभर्नरको नीति, समीक्षामार्फत घटाए स्थायी तरलता सुविधा दर
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा लगानी गर्न प्रोत्साहन गर्ने गरी मौद्रिक नीतिको समीक्षा गरेको छ। राष्ट्र बैंकले सोमबार पहिलो त्रैमासको समीक्षामार्फत नीतिगत दर घटाएर कर्जा बढाउने नीति लिएको हो।
राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाइ ५.७५ र नीतिगत दरलाई ४.५० बाट घटाइ ४.२५ प्रतिशत बनाएको छ। ब्याजदर करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशतमा यथावत् राखिएको छ।
ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर र नीतिगत दरलाई घटाएर राष्ट्र बैंकले स्थायित्व कायम गर्न खोजेको छ। ब्याजदर करिडोरको माथिल्लो सीमा र तल्लो सीमाको अन्तर कम हुनुलाई राम्रो मानिन्छ। तल्लो सीमा यथावत राखिएका कारण निक्षेपको ब्याजदर भने घट्ने छैन।
मुद्दती निक्षेपको ब्याज दरमा संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत सरह नै कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि व्यक्तिगतको तुलनामा संस्थागत निक्षेपकर्ताले पाउने ब्याजदर १ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था थियो।
राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाइदिएको छ। ५० लाखबाट एक करोड रुपैयाँ पुर्याइएको हो।
ग्रामीण क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले लघुवित्तको कर्जा दिन पाउने सीमा बढाइएको छ। ७ लाखको सीमालाई राष्ट्र बैंकले १५ लाख पुर्याएको हो। यसले कर्जा विस्तार हुने अपेक्षा छ। लघुवित्तका ऋणीलाई कर्जा पुनर्संरचनाको सुविधा पनि दिइएको छ।
लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेसनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले मौद्रिक नीतिको समीक्षामा गरिएको व्यवस्थाले साना तथा मझौला उद्यममा कर्जा लगानी बढाउन सहयोग पुग्ने बताए।
‘सात लाखको सीमाका कारण हामीलाई व्यवसाय विस्तार गर्न समस्या परेको थियो। त्यही कारण हामीले सीमा बढाउन राष्ट्र बैंकलाई आग्रह गरेका थियौं। मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले हाम्रो माग सम्बोधन गरेको छ,’ यादवले भने, ‘मौद्रिक नीतिमा गरिएको नयाँ व्यवस्थाले हामीलाई व्यवसाय बढाउन सहज हुनेछ।’
चालु आर्थिक वर्ष कर्जा लगानी १२ प्रतिशतले बढ्ने लक्ष्य रहेकामा मंसिर पहिलो सातासम्म वृद्धिदर १ प्रतिशत पनि छैन। यो आर्थिक वर्ष अहिलेसम्म जम्मा ४९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।
बाढी पहिरोबाट प्रभावित इलाम लगायत जिल्लाका उद्यमी व्यवसायीका लागि १० प्रतिशत ब्याज असुल गरी एक पटकका लागि कर्जाको पुनर्संरचना एवम् पुनर्तालिकीकरणको सुविधा दिइएको छ।
बढ्दो डिजिटाइटेजसनलाई मध्यनजर गर्दै बैंकको सञ्चालन खर्च घटाउन नगरपालिकामा रहेका शाखा समायोजन तथा एकीकरण गर्न दिने व्यवस्था मिलाइने मौद्रिक समीक्षामा उल्लेख छ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था भने यथावत राखेको छ।
कामना सेवा विकास बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति
कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति पाएको छ। बैंकले सेबोनबाट ३५ करोड रुपैयाँको ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाएको छ।
बैंकले आफ्नो १८औं वार्षिक साधारण सभाबाट पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर अंकित मूल्य १०० रुपैयाँका दरले ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो। कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ९ प्रतिशत लाभांश पाउनेछन्।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेपछि पुँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढेर व्यवसाय विस्तार गर्न सहज हुने बैंकले जनाएको छ। यसअघि मंसिर ५ गते नबिल बैंकले ५ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न अनुमति पाएको थियो।
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको छ।
यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ












