जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

सिद्धार्थ बैंक लिमिटेडले रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

हाल बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ । सीईओ पदावधि सकिन लागेका कारण बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको छ ।

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ ।

साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ । यो योजना मंसिर १५ देखि पौष २५ गतेसम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ ।

“बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौँ उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ”, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले बताए ।

बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ ।

बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

नेपाल एसबिआई बैंकद्वारा बिराटनगरको एक विद्यालयलाई २ लाख ५० हजार आर्थिक सहयोग प्रदान

नेपाल एसबिआई बैंक लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखाल स्थित विराट बहिरा मा.वि., परिसरमा डिप बोरिङ जडान गर्ने उदेश्यले रु. २.५० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

यस पहलले विद्यालयका विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरूलाई सहज खानेपानीको व्यवस्थापन हुने लक्ष्य बैंकले राखेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, मिना जोशी र प्रधानाध्यापक, मिनु अधिकारी दाहाललाई संयुक्त रुपमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, कोशी प्रदेश प्रमुख, श्रीधर अधिकारी र बैंक तथा विद्यालयका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत

सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको छ।

यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ ।

रमेश हमालको दुसित थानी रिसोर्टले एक वर्षमा कतिको गर्‍यो व्यापार ?

धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टले एकै वर्ष साढे १८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा १८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१४ मा ओमस्टोन होटल नाममा दर्ता भएको कम्पनीले धुलिखेलमा पाँच तारे रिसोर्ट सञ्चालन गर्दै आएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय ब्रान्ड दुसित थानीसँग व्यवस्थापनका लागि सम्झौता गरेको छ । धुलिखेलको रिसोर्ट सन् २०२३ को जुलाईबाट २८ वटा कोठाको सुविधासहित सञ्चालनमा ल्याएको थियो ।

कम्पनीले सन् २०२४ को अप्रिलबाट १८ वटा भिल्ला सञ्चालनमा ल्याएको थियो। साथै कम्पनीले सन् २०२५ को मार्चबाट भने ५४ वटा कोठा र १८ भिल्लाका साथ पूर्णक्षमतामा सञ्चालनमा ल्याएको थियो । कम्पनीले रिसोर्टमा ४ करोड ३० लाख रुपैयाँ खर्च गरेर लक्जरियस कोठाको निर्माण गरेको छ ।

सुरुमा कम्पनीले प्रतिकोठा निर्माणका लागि २ करोड ६० लाख रुपैयाँ अनुमान गरेको थियो । कम्पनीले प्रतिदिन कोठाको मूल्य १९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले प्राथमिक सेयर निष्काशन (आइपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीमा विष्णु मोर, राधिका भेजिटेबल आयाल, राजेन्द्रकुमार काब्रा, आशिषकुमार गोयल र रमेश हमालको स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी

नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरुलाई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न नयाँ निर्देशन जारी गरेको छ। प्राधिकरणको मंसिर १५ गते बसेको बैठकले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी गरेको हो ।

निर्देशनअनुसार जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरणको लागि बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) बमोजिम कम्तीमा एक प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्नेछ।

बीमा अभिकर्ताले आफ्नो व्यक्तिगत विवरण IRMIS प्रणालीमा स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्ने र इजाजतपत्र नवीकरणको लागि बीमा नियमावलीको अनुसूची ७ अनुसार नवीकरण दस्तुर एक हजार र नियमन दस्तुर ५०० गरी जम्मा एक हजार ५०० रुपैयाँ लाग्ने प्रावधान गरिएको छ।

यदि बीमा अभिकर्ताले इजाजतपत्रको अवधि भित्र नवीकरण गर्न सकेन भने, बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ अनुसार म्याद सकिएको तीन महिनाभित्र विलम्ब शुल्क एक हजार रुपैयाँ तिरेर निवेदन पेश गर्न सकिने व्यवस्था छ।

त्यस्तै, बीमा ऐन, २०७९ को दफा ९५ अनुसार, इजाजतपत्रको म्याद सकिएको तीन महिनाभित्र नवीकरणको लागि निवेदन पेश नगरेको खण्डमा बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुने प्रावधान छ।

मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई सर्कुलर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गर्दै व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढाउनेदेखि कर्जा पुनर्संरचनासम्मको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट एक करोड रुपैयाँ पुर्‍याएको थियो। अब बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत ओभरड्राफ्ट कर्जा १ करोडसम्म दिन पाउनेछन्।

त्यसैगरी, बाढी पहिरोबाट प्रभावित इलाम लगायत जिल्लाका उद्यमी व्यवसायीका लागि १० प्रतिशत ब्याज असुल गरी एक पटकका लागि कर्जाको पुनर्संरचना एवम् पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ।

यस्तो कर्जा पुनर्संरचना एवम् पुनर्तालिकीकरण २०८२ चैत मसान्तसम्म गरिसक्नु पर्नेछ। पुनर्संरचना एवम् पुनर्तालिकीकरण गर्दा जुन वर्गमा कर्जा छ त्यो वर्गमा कर्जा नोक्सानी गर्नुपर्नेछ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाइ ५.७५ र नीतिगत दरलाई ४.५० बाट घटाइ ४.२५ प्रतिशत बनाएको छ। ब्याजदर करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशतमा यथावत् राखिएको छ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर र नीतिगत दरलाई घटाएर राष्ट्र बैंकले स्थायित्व कायम गर्न खोजेको छ। ब्याजदर करिडोरको माथिल्लो सीमा र तल्लो सीमाको अन्तर कम हुनुलाई राम्रो मानिन्छ। तल्लो सीमा यथावत राखिएका कारण निक्षेपको ब्याजदर भने घट्ने छैन।

ग्रामीण क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले लघुवित्तले कर्जा दिन पाउने सीमा ७ लाखबाट १५ लाख रुपैयाँ पुर्‍याइएको छ। लघुवित्तका ऋणीलाई कर्जा पुनर्संरचनाको सुविधा पनि दिइएको छ।

माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

बैंकको ४६ लाख ४८ हजार ५४३ कित्ता सेयर थपिएको हो। माछापुच्छ्रे बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको गरेको छ।

सूचीकृत बोनस सेयर सेयरधनीले बुधबारदेखि कारोबारमा गर्न सक्नेछन्।

नाडालाई महासंघ बनाउने नाडा कार्यसमितिको निर्णय, पुस ९ गते साधारण सभा

अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमित बैठकले नाडालाई महासंघ बनाउने निर्णय गरेको छ।

नाडाको सोमबार बसेको २४ औं केन्द्रिय कार्यसमितिको बैठकले नाडालाई महासंघ बनाउने प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो। उक्त निर्णय गर्न नाडाका ८० प्रतिशत कार्यसमिति सदस्यहरु उपस्थित थिए।

नाडाको कार्यसिमित बैठकले नाडाको ४९ औं वार्षिक साधारण सभा पुस ९ गते गर्ने तय पनि गरेको छ।

यसअघि पनि नाडालाई महासंघ बनाउने प्रस्ताव गरेर विशेष साधारण सभा गर्ने मिति समेत तय भएको थियो। नाडाका अध्यक्ष करण चौधरी विपक्षीले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा निवेदन दिएपछि सो प्रक्रिया स्थगित भएको थियो। फेरि अहिले नाडाले भदौ १९ गते गरेको निर्णयलाई सोमबार फेरि कार्यान्वयनमा लग्ने निर्णय गरेको हो।

राजनीतिक र वैचारिक द्वन्दको सिकार सिइओ शेरचन

प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीईओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ सहित उच्च तहका ३ जना कर्मचारी गत आइतबार अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सीआईबीले पक्राउ गरेको थियो । बैंकका सीइओ अशोक शेरचन प्रहरीको राजनीति र आन्तरिक दाउपेचको सिकार भएको प्रभु बैंकको अध्यक्ष किशोरजंग कार्कीले दाबी गरेका छन् । बैंक सीइओ अशोक शेरचनले सफाई पाएर आउने बताएका छन् ।

बैंकले दिएका कर्जा, बैंकको उजुरी लगायतका विषयमा हरेक बर्ष अनुगमन राष्ट्र बैंकले गर्ने गर्दछ । प्रभु बैंकमा पनि गत बर्ष पनि यो अनुगमन भएको थियो ।

राष्ट्र बैंकका एक डिपुटी गभर्नरका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तियसंस्थाहरुको निरिक्षण निश्चित विषयमा अनुगमन हुन्छ । बैंकले दिएका कर्जा, बैंकको उजुरी लगायतका विषयमा हरेक बर्ष अनुगमन राष्ट्र बैंकले गर्ने गर्दछ । प्रभु बैंकमा पनि गत बर्ष पनि यो अनुगमन भएको थियो । सो क्रममा राष्ट्र बैंकले भेटाएको कतिपय कमीकाजोरी बारे प्रभु बैंकसँग प्रश्न गरेको थियो भने बैंकलाई निर्देशन पनि दिएको थियो । तर, सीआईबीले हेरेको अहिलेको फाइलमा राष्ट्र बैंकले त्यस्तो जटिल विषय औल्याएको थिएन ।

प्रभु बैंकका पूर्व अध्यक्ष देवी भट्टचनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको फाइलमा राष्ट्र बैंकले आवश्यक कागजात उपलब्ध गराएर अनुसन्धानमा सहयोग नै गरेको थियो ।

सामान्यतया, राष्ट्र बैंकले अनुसन्धानका क्रममा ‘क्रिमिनल केस’ देख्यो भने त्यसलाई अनुसन्धानका लागि सीआईबीमा पत्राचार गर्ने प्रचलन छ । तर, प्रभु बैंकको यो सर्न्दभमा यो लागु भएन । राष्ट्र बैंकका एक डिपुटी गभर्नरका अनुसार राष्ट्र बैंकले कुनै पनि किसिमका पत्र सीआईबीमा पठाएको छैन । प्रभु बैंकका पूर्व अध्यक्ष देवी भट्टचनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको फाइलमा राष्ट्र बैंकले आवश्यक कागजात उपलब्ध गराएर अनुसन्धानमा सहयोग नै गरेको थियो । तर एक्कासी, बैंकका सीइओ र डेपुटी सीइओलाई पक्राउ गरेर सीआईबीले थप अनुसन्धान गरिरहेको जानकारी दिएपछि यति बेला राष्ट्र बैंकको स्वायत्तता माथि पनि प्रश्न उठेको छ ।

२० वाणिज्य बैंकका सिइओहरुको संगठन नेपाल बैंकर्स एसोसियसन भने यस विषयमा मौन बनेको छ । यो खोजीकै विषय बनेको छ । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला र प्रभु बैंकका सिइओ अशोक शेरचन विच नेपाल बैंकर्स एसोसियनको अध्यक्ष को बन्ने भन्ने विषय देखि नै अध्यक्ष कोइराला र सिइओ शेरचन विच वैचारिक द्वन्द हुँदै आएकोले गर्दा यस विषयमा सिइओ शेरचनलाई अध्यक्ष कोइरालाले साथ नदिएको नेपाल बैंकर्स एसोसियसनका एक सदस्यले नाम नलेख्ने सर्तका पंक्तिकारसंग दाबी गरे ।

लक्ष्मी सनराइज बैंकको ‘ह्याजट्याग डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु

लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #डिजिटल डिसेम्बर २०२५ सुरु भएकाे छ । यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ ।

डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका उपभोक्ता-केन्द्रित अभियानहरूबाट यस वर्ष उद्यम -केन्द्रित डिजिटल रूपान्तरणतर्फ एक महत्वपूर्ण फड्को हो ।

नेपालको व्यापार प्रणालीमा लक्षित
डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्य लगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।

यो अभियान उद्यमीहरुलाई डिजिटल बैंकिंगका माध्यमहरूमा सक्रिय बनाउँदै उच्च-मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरणा गर्ने र API तथा होस्ट-टू-होस्ट कनेक्टिभिटी मार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न मिल्ने समाधानहरुका साथै भुक्तानी प्रकृयामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहने छ।

यस अन्तर्गत बैंकले निम्नबमोजिमका व्यवसायमैत्री डिजिटल सेवाहरुको प्रवर्द्धन गर्दैछ:
• इ-कमर्श व्यवसायका लागि निर्बाध भिसा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्ने माध्यम
• कर्पोरेट संघसंस्थाका कर्मचारीहरूको लागि अन कार्ड – भर्चुअल क्रेडिट कार्ड (ON Card) र भिसा क्रेडिट कार्ड सुविधा
• व्यवस्थित व्यापारिक कारोबारको लागि कर्पोरेटपे (CorporatePay) तथा राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण सेवा
• रियल टाइम भुक्तानीका अलर्टहरू सहित व्यापारिक भुक्तानी प्राप्तीको लागि लक्ष्मी वाणी (QR भ्वाइस बक्स)

यसमा सहभागी हुने उद्यमी तथा व्यवसायीहरुले डिसेम्बर महिनाभरी आफ्नो डिजिटल रूपान्तरण यात्रालाई थप लाभदायी बनाउन विशेष अनबोर्डिङ लाभ, छुट्, विशिष्टिकृत तथा अग्राधिकार सेवा प्राप्त गर्नेछन्।

नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउँदै
बैंकका डिजिटल च्यानल र रेमिट्यान्स प्रमुख सुमन प्रसाद गेलालका अनुसार डिजिटल डिसेम्बर २०२५ ले नेपालमा उद्यम भुक्तानी नवप्रवर्तनमा अग्रणी भूमिकामा रहने बैंकको प्रतिबद्धतालाई थप बल प्रदान गर्दछ।

डिजिटल पूर्वाधारलाइ कुशलतापूर्वक सञ्चालन गर्न व्यवसायहरूलाई सशक्त बनाउँदै थप पारदर्शी, सुरक्षित र उत्पादनमूलक अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको उनको विश्वास छ ।

यस पहलले डिजिटल बैंकिङमा लक्ष्मी सनराइज बैंकको नेतृत्वलाई सुदृढ बनाउँदै नेपाललाई डिजिटल मैत्री तथा डिजिटल-सक्षम व्यावसायिक वातावरण निर्माणको वृहत अभियान लाई समर्थन गर्दछ।