जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

कुमारी बैंक र देवः विकास बैंक एकअर्कामा गाभिदै, एकीकृत कारोबार जेठ १९ गते

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्न लागेको छ । देवः विकास बैंकको शून्य दशमलब ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ती गर्न लागेको हो ।

हाल देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुमारी बैंकको  ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको छ । देवः विकास बैंकले भने प्राप्ती सम्बन्धी प्रस्तावसँगै गत आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सहित विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले प्रस्ताव गरेको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर समेत सभाले पारित गर्नेछ । देवः विकास बैंकले भने वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीको खुद नाफा ३ करोड माथि

जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७८ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा इन्स्योरेन्सले ९ करोड ७४ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ५ करोड ८७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट एक करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ७६ लाख, बीमा कोषमा ४ करोड ११ लाख र महाविपत्ती जगेडा कोषमा ४२ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा इन्स्योरेन्सले कुल ४० हजार ६५७ बीमालेख जारी गरी ४१ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको २ हजार ४५८ वटा बीमालेख नविकरण भएका छन् ।

कम्पनीले कुल ५८३ दाबी बापत ८ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७४५ दाबी बापतको ११ करोड ८१ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८४ पैसा रहेको छ ।

एक वर्षभन्दा बढी समय सेयर राखे कम करको प्रस्ताव

खरिद गरेपछि एक वर्ष वा सोभन्दा बढी समयसम्म बिक्री नगर्ने लगानीकर्तालाई भारी कर छुट दिन धितोपत्र बोर्डले सरकारसमक्ष प्रस्ताव गरेको छ । सेयर बजारमा अल्पकालीन लगानीकर्ता हाबी हुन थालेकाले सट्टेबाजी कारोबार बढेको र बजारमा तीव्र उतारचढाव आएको निष्कर्षका आधारमा बोर्डले दीर्घकालीन लगानीकर्तालाई पुँजीगत लाभकरमा छुट दिन प्रस्ताव गरेको हो ।

आगामी आवको बजेटमा सुझाव दिने क्रममा बोर्डले १२ महिना वा त्योभन्दा बढी समय सेयर बिक्री नगर्ने (होल्डिङ गर्ने) लगानीकर्तालाई दीर्घकालीन र एक वर्षभन्दा कम समयमा सेयर बेच्नेलाई अल्पकालीन भनी वर्गीकरण गर्नसमेत सुझाएको छ । ‘अल्पकालीन लगानीकर्ताबाट ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताबाट १ प्रतिशत मात्र पुँजीगत लाभकर उठाउन सुझाव दिइएको छ,’ बोर्ड स्रोतले भन्यो । लगानीकर्तालाई लामो समय सेयर होल्डिङ गर्न प्रोत्साहन गर्ने उद्देश्यले कम पुँजीगत कर प्रस्ताव गरिएको स्रोतको भनाइ छ । ‘बजारमा दीर्घकालीन प्रवृत्ति भएका लगानीकर्ता कम भए,’ स्रोतले भन्यो, ‘आजको भोलि सेयर बेच्ने प्रवृत्तिले बजार स्थिर हुन सकेन ।’

धितोपत्र बोर्डले सुझाएअनुसार लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन भरेर वर्गीकरण गरी फरकफरक लाभकरको व्यवस्था भए पुँजीगत लाभकर गणना गर्ने विद्यमान कारोबार प्रणाली (सिस्टम) मा परिमार्जन गर्नुपर्छ । हालको व्यवस्था अनुसार व्यक्तिगत सेयर लगानीकर्ताले कारोबारमा भएको लाभको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । अघिल्लो वर्ष साढे ७ प्रतिशत रहेको उक्त दर कम गरी चालू आवको बजेटमार्फत सरकारले ५ प्रतिशतमा झारेको हो । संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

अहिले पुँजीगत लाभकर गणना हुँदै आएको सिस्टमले लगानीकर्ताले खरिद गरेको सेयर एक वर्षभन्दा कमको वा बढीको भनेर छुट्याउन नसक्ने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । उदाहरणका लागि कुनै व्यक्तिसँग धेरै वर्ष पहिलेदेखि एक कम्पनीको ५ हजार कित्ता सेयर छ । अहिले उसले सोही कम्पनीको थप १ हजार कित्ता सेयर खरिद गर्‍यो । ऊसँग उक्त कम्पनीको ६ हजार कित्ता सेयर भयो । त्यसपछि त्यो व्यक्तिले २ हजार कित्ता सेयर बिक्री गर्‍यो । बिक्री भएको २ हजार कित्तामा एक हजार तत्काल खरिद गरिएको वा पुरानो हो भनेर विद्यामान कारोबार प्रणालीले छुट्याउन सक्दैन । त्यसैले अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याउने आधारसहितको स्पष्ट नीतिगत व्यवस्था पनि गर्नुपर्ने सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

अहिले भारित औसतका आधारमा पुँजीगत लाभकर गणना हुँदै आएकाले अल्पकालीन र दीर्घकालीन भनी छुट्याउन नसकिने बताइएको छ । सेयरमा पुँजीगत लाभकरसम्बन्धी विवाद पुरानै हो । गत वर्षदेखि सरकारले उक्त विवाद टुंग्याएको हो । अहिले लगानीकर्ताले आफूले सेयर बिक्री गर्दा खरिद मूल्य पेस गर्न सक्नुपर्छ । त्यो मूल्य पेस हुन नसके प्रतिसेयर अंकित मूल्य एक सयका दरले भारित औसत लाभकर गणना गर्नुपर्छ । गत साउनदेखि यस्तो व्यवस्था लागू भएको हो ।यो व्यवस्थाले लगानीकर्तासँग आफूले किनेको सेयरको बिल वा खरिद मूल्य थाहा नभएका अवस्थामा मात्र औसत पुँजीगत लाभकर गणना गर्न अप्ठ्यारो हुने हो । उनीहरूले जति मूल्यमा सेयर खरिद गरे पनि त्यसको प्रमाण नभएपछि अंकित मूल्य एक सयलाई नै आधार मान्नुपर्छ । जो लगानीकर्तासँग आफूले किनेको सेयरको खरिद मूल्य छ, उनीहरूलाई लाभकर गणनामा समस्या हुँदैन । अब अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा वर्गीकरण गरे हालको व्यवस्था पनि परिमार्जन गर्नुपर्ने जानकारहरु बताउँछन् ।

इन्फिनिटी लघुवित्तको नाफा ६६.७६ % बढ्यो

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षभन्दा ६६ दशमलव ७५ प्रतिशतले बढी नाफा कमाएको छ ।

त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गर्दै कम्पनीले यस वर्ष रू. ३ करोड ६५ लाख ८० हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको त्रैमासिक अवधिसम्म रू. २ करोड १९ लाख ३६ हजार थियो ।

गत वर्षको जेठमा सर्वसाधारणलाई आईपीओ जारी गरेको  उक्त कम्पनीको चुक्तापूँजी हाल रू. २२ करोड ८१ लाख ४० हजार छ । यस वर्ष कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा १५१ प्रतिशत बढी अर्थात् रू. ६ करोड ८२ लाख २२ हजार कायम छ । यस वर्ष रू. १ अर्ब ५ करोड ३६ लाख विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापट लिएको उक्त कम्पनीले गत वर्षभन्दा करीब ४५ प्रतिशत बढी  अर्थात् रू. १ अर्ब ९४ करोड ३७ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ ।

उक्त कम्पनीले निक्षेप संकलन भने गत वर्षभन्दा यस वर्ष ४० दशमलव ७९ प्रतिशत बढी अर्थात् रू. ६४ करोड ३१ लाख २ हजार गरेको छ  । गत वर्ष १ दशमलव शून्य १ प्रतिशत रहेको उक्त कम्पनीको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ६९ प्रतिशत पुगेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २१ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ९० छ ।

हिमालयन बैंकको खुद नाफा २ अर्बभन्दा बढी

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकहरुमा सुधार भएको देखिएको छ।

चालु आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ३० करोड ३० लाख रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै निष्क्रिय कर्जामा पनि सुधार हुँदा खुद नाफा बढ्न पुगेको देखिन्छ।

चालु आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ८ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७ करोड ९० लाख रुपैयाँ बढी हो भने सञ्चालन मुनाफा २२ करोड १० लाख रुपैयाँ बढी हो।

इम्पेरिमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद ब्याज आम्दानी भन्दा सञ्चालन मुनाफा वृद्धिदर बढी देखिएको हो। गत आवको चैत मसान्तसम्ममा २३ करोड रहेको इम्पेरिमेन्ट चार्ज चालु आवको सोही अवधिसम्ममा १४ करोड रिभर्स भएको छ। यसले बैंकको सञ्चालन मुनाफा तथा खुद नाफा बढ्न टेवा दिएको छ।

चैत मसान्तसम्ममा १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशत रहेको छ। यो गत आवको यसै अवधिको तुलनामा ०.२० प्रतिशतविन्दु कम हो।

बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको छ। ९ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा कायम भएको छ। यो गत आवको सोही अवधिको तुलनामा १ रुपैयाँ ४४ पैसा बढी हो। बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ ।

सेन्चुरी बैंकको नाफा ९१ करोड ५७ लाख

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ९१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आवको सोही अवधिको तुलनामा ३० करोढ ५१ लाख रुपैयाँ अर्थात ४९.९५ प्रतिशत बढी हो। गत आवको यसै अवधिसम्ममा बैंकले ६१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि बढ्न पुगेको हो।

सो अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा २७ करोड ९८ लाख रुपैयाँ बढी हो। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ३९ करोड ५८ लाख रुपैयाँ बढी हो।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आवको चैत मसान्तमा ९ रुपैयाँ ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा बढेर १४ रुपैयाँ ५१ पैसा पुगेको छ।

८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ६६ करोड ७९ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ४३ लाख रुपैयाँ रहेको छ। बैंकको वितरण योग्य मुनाफा १३ करोड ४१ लाख रुपैयाँ रहेको छ।

बैंकको मूल्य आम्दानी अनुपात १०.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ७२ पैसा रहेको छ

बन्दाबन्दीमा रोकिएन पोखरा विमानस्थलको काम

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेको छ । कोरोनाको यस कहरले सङ्घ, प्रदेश तथा स्थानीय सरकारका पूर्वाधार निर्माणका आयोजनासमेत प्रत्यक्षरुपमा प्रभावित भएका छन् । काममा आंशिक प्रभाव पारे पनि पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भने यो विषम परिस्थितिमा पनि जारी नै छ ।

पर्यटनको राजधानी शहर पोखरालाई विश्वका अन्य शहरसँग सिधा हवाई सम्पर्क जोड्ने लक्ष्यसहित निर्माणाधीन विमानस्थलमा अहिले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानदिँदै आवश्यक सम्पूर्ण सुरक्षाका उपाय अवलम्बन गरी जोखिम रोकथामसहित काम अघि बढाइएको हो ।

नेपाल सरकारले देशव्यापी आह्वान गरेको हालको बन्दाबन्दीका अवस्थामा समेत विमानस्थलको निर्माणमा १०० नेपाली र २५० चिनियाँ गरी ३५० जना कामदार दैनिक काममा खटिएका छन् । यसअघि विमानस्थल निर्माणमा २६२ नेपाली खटिएकामा १६२ जना मजदुर लकडाउनको एक÷दुई दिनअघि घर फर्किएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चीनको चाइना सिएएमसी इन्जिनीयरिङ कम्पनीबीच सन् २०१४ मा पोखरा विमानस्थल निर्माणको सम्झौता भएको थियो । रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७४ असार मसान्तदेखि विमानस्थलको काम शुरु भएको थियो ।

सम्झौताअनुसार इपिस (इन्जिनीयरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकायो) मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौतामा भएको थियो । निर्माणाधीन आयोजनाको हालसम्म धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर गरी ५७ प्रतिशत काम सम्पन्न भइसकेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताउनुभयो ।

उहाँका अनुसार मुख्यगरी अहिलेसम्म दुई हजार ५०० मिटर लामो र ४५ मिटर चौडाइको धावनमार्ग (रनवे) तयार भएको छ । नेपालमै पहिलो पटक ढलान प्रविधिबाट निर्माण गरिएको सो रनवेमा अहिले पनि आपत्कालीन अवस्थामा विमानलाई अवतरण गराउन सकिने बताइन्छ । रनवेसँगै, ह्याङ्गर, पार्किङ, ट्याक्सी वे तथा ड्रेनका काम सकिएको बताउँदै उहाँले विमानस्थलमा निर्माण गरिने विभिन्न १४ वटा भवनमध्ये हालसम्म अधिकांश भवनको ‘सिभिल वर्क’ को काम सम्पन्न भएको जानकारी दिनुभयो ।

विमानस्थलमा आइसोलेडेट पार्किङको ‘सववेश’ तथा भित्री पहुँचमार्ग निर्माण, सिँचाइका नाला निर्माण तथा सबै भवनको छाना छाउने काम र ‘हाइ मास्ट फ्लड लाइट’ र ट्रान्सफर्मर बक्स जडान सकिएको छ । विमानस्थलबाट बाहिर निस्कने प्रमुख सडक, कार पार्किङ र टर्मिनल भवनको वरिपरिको सडक पक्की गर्ने काम सकिएको छ ।

त्यसैगरी मुख्य टर्मिनल भवनमा स्टिल संरचनाको काम भइरहेको तथा अन्य भवनमा डेकोरेशन, फिनिसिङ र विद्युतीकरणको काम भइरहेको छ । पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरु मात्र अवतरण गर्न मिल्ने बताइएको छ । “अहिलेको विषम् परिस्थितिमा सुरक्षाका लागि एयरपोर्टलाई सम्पूर्ण हिसाबले वन्द गरेर निर्माण कार्य अघि बढाइरहेका छौँ”, आयोजना प्रमुख मुनकर्मीले भन्नुभयो, “लकडाउनका अवधिमा एक दिन पनि काम रोकिने अवस्था आएको छैन ।” उहाँले टर्मिनल भवन, एटिसी टावर तथा ह्याङ्गरलगायतका सबै १४ वटा भवनको कङ्क्रिट, स्टिल र स्ट्रक्चर तथा छाना छाउने काम तथा सबै भवनको रुफ स्लाबमा वाटर प्रुफिङको कामसमेत सकिएको जानकारी दिनुभयो ।

आयोजनाको सिभिलतर्फको अधिकांश काम सकिएकाले डेकोरेशन र अन्य उपकरण जडानलगायत काम बाँकी रहेको बताइन्छ । यसअघि विमानस्थल तोकिएको मितिभन्दा ६ महिनाअगावै निर्माण गरिसक्ने तयारी गरिएकामा जारी लकडाउनका कारणले काममा आंशिक प्रभाव परेको छ । धावनमार्गको ढलानपछि अङ्ग्रेजी नयाँ वर्ष मनाउन चीन गएका ४० जना चिनियाँ कामदार घर निर्माणस्थलमा फर्किन नसक्दासमेत मुख्य गरी पहुँचमार्ग, कार पार्किङलगायतको निर्माण कार्यमा असर परेको थियो । लकडाउनअघि पोखरा आएका चिनियाँ मजदुरले आफ्नो देशबाट स्वास्थ्य जाँचको सर्टिफिकेट तथा आयोजनामा फर्किएपछि समेत १४ दिन क्वारेन्टाइन बसेर स्वास्थ्य परीक्षणपछि उनीहरु काममा फर्किएका थिए ।

आयोजना निर्माणका लागि चीनबाट आउनुपर्ने सामग्री हाल कलकत्ता बन्दरगाहा तथा नेपाल÷चीन सीमा केरुङ तथा केही सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा रोकिँदा काम प्रभावित हुने अवस्था आएको आयोजना प्रमुख मुनकर्मी बताउनुहुन्छ । हाल निर्माणस्थलमा डेढ महिनालाई पुग्ने गरी सिमेन्टलगायत निर्माण सामग्री मौज्दात रहेको र सोही सामग्रीले हाल काम भइरहे पनि रोकिएका सामग्री नेपाल ल्याउन नसकेको खण्डमा विमानस्थलको काम रोकिने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

“यस आयोजनालाई निर्धारित समयभन्दा ६ महिनाअघि सम्पन्न गर्नेगरी हामीले कामको गति बढाएका थियौँ, तर अहिलेको अवस्थाले काम प्रभावित बनेको छ । अब हाम्रो प्रयास तोकिएको समयसीमाभित्रमा नै सम्पन्न गर्ने गरी लागेका छौँ, त्यहीअनुसार निर्माण कम्पनीलाई निर्देशन दिइएको छ ।” आयोजना प्रमुख मुनकर्मीले भन्नुभयो । विमानस्थलको अधिकांश सिभिलतर्फको काम सकिएको तथा डिजाइन र डेकोरेशनको काम बाँकी रहेकाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न सकिने आयोजनाको लक्ष्य रहेको छ ।

पछिल्लो पटक विमानस्थलका लागि अपुग थप १०४ रोपनी जमिन अधिग्रहणको तयारी गरिएको छ । जहाज अवतरणको सही दिशानिर्देशका लागि र कम ‘भिजिविलिटी’ मासमेत अवतरणमा सघाउ पु¥याउन अत्यावश्यक उपकरण राख्ने प्रयोजनका लागि थप जग्गा आवश्यक परेको बताइन्छ । विमानस्थल निर्माणका लागि साविक छिनेडाँडा हाल पोखरा–१४ मा विसं २०३२ मा तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । आयोजनाको काम शुरु भएसँगै पहिलो चरणमा ५२१ रोपनी जमिन अधिग्रहण गरिएकामा पछिल्लोपटक थप १०४ रोपनी जमिन अधिग्रहण गर्न लागिएसँगै विमानस्थलले कूल तीन हजार ७२५ रोपनी क्षेत्रफल ओगट्ने छ ।

वर्षाैंसम्म चर्चामा रहँदै आए पनि लामो समय विमानस्थल निर्माणको काम अघि बढ्न सकेन । चार दशकसम्मसमेत काम शुरु नभएपछि पोखरेलीले निर्माण शुरु गर्न पटक÷पटक सरकारलाई दबाब दिएकामा विसं २०७४ असार मसान्तमा आएर बल्ल निर्माण कार्य शुरु भएको हो । विसं २०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु उपस्थिति भएर विमानस्थल निर्माण कार्यको सामूहिक शिलान्यास गर्नुभएको थियो ।

विमानस्थलको काम निर्धारित समयसीमाभित्र सम्पन्न गर्नका लागि मुख्यगरी अहिलेको लडकाउन चुनौती रहेको आयोजनाले जनाएको छ । चीनबाट भारतको बाटो हुँदै आउनुपर्ने अधिकांश उपकरण तथा निर्माण सामग्री समयमै आपूर्ति गर्न नसकेको खण्डमा निर्माण कार्य प्रभावित हुने मुनकर्मीले बताउनुभयो ।

त्यसैगरी विमानस्थलको पूर्व दक्षिणतर्फको रिठेपानी डाँडा कटिङका लागि स्थानीयवासीले अग्रसरता देखाए पनि हालसम्म काम अघि नबढेकाले आयोजनाले पहल गर्ने उहाँको भनाइ छ । विमान अवतरणका लागि सो डाँडा बाधक रहेकाले कम्तीमा २५ मिटर कटान गर्नु आवश्यक रहेकाले त्यसका लागि नापी विभाग र वन कार्यालयसँग समन्वय भइरहेको बताइन्छ । “आयोजना निर्धारित समयभित्र सम्पन्न गर्नका लागि अहिलेको मुख्य चुनौती आवश्यक निर्माण सामग्रीको आपूर्ति नै रहेको छ । अहिले रोकिएका सामान लामो समय ल्याउन नसकिएमा समग्र आयोजना प्रभावित हुन सक्छ”, मुनकर्मीले भन्नुभयो ।

पर्यटकीय शहर पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको सो आयोजना निर्धारित समयभित्र सम्पन्न गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले समेत निरन्तर चासो दिँदै आएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समेत गौरवका रुपमा रहेको विमानस्थल समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । जारी बन्दाबन्दीमा समेत निर्माण कार्य निरन्तर भइरहेकाले आगामी दिनमा समेत यसलाई सञ्चालन गर्न स्थानीयस्तरमा निर्माण सामग्री अभाव हुन नदिइने र भारत तथा चीनमा रोकिएका उपकरणलगायत निर्माण सामग्री ल्याउनका लागि सङ्घीय सरकारसँग पहल गरिने उहाँले जानकारी दिनुभयो ।

“विमानस्थल हाम्रो गौरव हो, निर्धारित समयसीमाभित्र सम्पूर्ण काम सम्पन्न गरेर पर्यटकीय शहर पोखरालाई अन्तर्राष्ट्रिय सिटीका रुपमा विकास गर्नका लागि आवश्यक सबैखालको सहयोग गर्न सरकार तत्पर छ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो । कठिन अवस्थामा समेत विमानस्थल निर्माण कार्यले निरन्तरता पाएकामा यहाँका पर्यटन व्यवसायीसमेत उत्साहित छन् । विमानस्थल यहाँको पर्यटन प्रवद्र्धनको आधारशीलाका रुपमा व्यवसायीले लिएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल यसवर्ष मुख्य पर्यटकीय याममा कोरोनाले गर्दा पर्यटन व्यवसाय मारमा परे पनि आगामी दिनमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय शहरसँग पोखराको सम्पर्क विस्तारले पर्यटन व्यवसाय फस्टाउनेमा आशावादी हुनुहुन्छ । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायको आधारशीलाका रुपमा रहेको विमानस्थल तोकिएको समयभित्र सम्पन्न गरी सञ्चालन गर्न सरकारले विशेष ध्यान दिनुपर्छ, निर्माणका क्रममा आउने चुनौतीलाई सरकारले समाधान गरी सहज बनाउनु आवश्यक छ ।”

प्रभु बैंकद्वारा सञ्चारकर्मीलाई प्रेस ज्याकेट

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आइतबार बागलुङका पत्रकारलाई प्रेस ज्याकेट प्रदान गर्दै । शेरचनले पत्रकार महासङ्घ बागलुङ शाखालाई ५० थान प्रेस ज्याकेट, २०० थान सर्जिकल मास्क र १५ लिटर स्यानिटाइजर सहयोग गर्नुभएको छ ।

एन आई सी एशिया क्यापिटलका ग्राहकहरुलाई क्यापिटलले लिने सेवा शुल्कमा भारी छुट

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले मिति २०७७ साल जेठ ५ गतेसम्म बन्द बन्दी कायम गरेको तथा नेपाल धितोपत्र बोर्डको मिति २०७६/०१/२६ गतेको प्रेश विज्ञप्ति अनुसार मिति २०७६/०१/३० गतेदेखि धितोपत्रको कारोवार खुल्ला गर्ने निर्णय गरेको र कारोवार भएको धितोपत्रहरु अनिवार्य रुपमा EDIS मार्फत राफसाफ गर्ने व्यवस्था मिलाउन निर्देशन भएको व्यहोरा जानकारी गराउदै यस क्यापिटल तथा एन आई सी एशिया बैंक लिमिटेड बाट हितग्राही खाता खोली हाल सम्म पनि मेरो शेयर खाता नलिनु भएका हितग्राहीहरुले एन आई सी एशिया क्यापिटल लिमिटेडको यो लिंक https://nicasiacapital.com/forms-downloads मार्फत मेरो शेयर रजिष्ट्रेसन आवेदन फारम प्राप्त गर्न सकिने छ ।

यथार्थमा आधारित बजेट ल्याउन सांसदको माग

कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको, रोजगारीको अवसर गुमेको तथा वैदेशिक रोजगारीमा गएका समेत घर फर्कने वातावरण नभएकाले समग्र अवस्थालाई ध्यान दिइ आगामी आर्थिक वर्षको बजेट ल्याउन सांसदहरुले माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै सांसदहरुले यथार्थमा आधारित बजेट अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । कृषिमा आत्मनिर्भर हुने वातावरण कोरोनाले तयार पारेको भन्दै उहाँहरुले साना तथा मझौला उद्योगको प्रवद्र्धन, भौतिक पूर्वाधारको विकास तथा स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखी विपद्सँग जुध्ने कार्यक्रम जरुरी रहेको उहाँहरुको भनाइ थियो ।

सांसद परशुराम मेघी गुरुङले बजेट जनताको जीविकासँग जोडिएको कानून र राजनीतिक दस्तावेज पनि भएकाले यसलाई प्रभावकारी कार्यान्वयन हुने गरी विषयवस्तु समेटिनुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलसँग आगामी बजेटमा समटेनिुपर्ने विषयबारे सरकारले लिखितरूपमै धारणा माग्नुपर्नेमा पनि ध्यानाकर्षण गराउनुभयो । विगतको अभ्यासमा बजेटमा राम्रा कुरा समावेश भए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको भन्दै आगामी बजेट महत्वाकाङ्क्षीभन्दा पनि कार्यान्वयनमुखी हुनुपर्ने बताउनुभयो ।

सांसद रमेशजङ्ग रायमाझीले कोभिड–१९ को महामारीपछिको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने गरी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो । पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवका आयोजनालाई शीघ्र सम्पन्न गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद दिलकुमारी रावलले बजेटमा कृषि उत्पादनलाई प्रोत्साह गर्दै व्यवस्थित शहरीकरण, भूमि व्यवस्थापन र उपभोगसम्बन्धी विषयलाई समेटिनुपर्ने बताउनुभयो । उहाँले कोभिडका कारण थलिएको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने, आन्तरिक पर्यटन विकासका कार्यक्रम प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।

सांसद कोमल वलीले अर्थतन्त्रलाई जीवन दिन, कृषि उत्पादन, पर्यटन उद्योगको पुनरुत्थान तथा उत्पादनशील क्षेत्रमा रोजगारी सिर्जना गर्ने किसिमका कार्यक्रम बजेट तथा नीति कार्यक्रममा सुुनिश्चित हुनुपर्ने धाणा राख्नुभयो । सांसद शेरबहादुर कुँवरले कोभिडको महामारीबाट कसरी मुलुकलाई मुक्त गरी जनतालाई सुरक्षित तुल्याउने भन्नेतर्फ बजेटमा आवश्यक कार्यक्रम समेटिनुपर्ने बताउनुभयो । उहाँले आर्थिकरूपमा कमजोर बनेको मुलुकको पर्यटन क्षेत्रलाई उकास्ने गरी नयाँ कार्यक्रम ल्याउन सुझाउनुभयो ।

सांसद तारादेवी भट्टले कोभिडका कारण धराशायी अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र उत्पादन क्षेत्रमा रोजगारी सिर्जना हुनेजस्ता विषयलाई बजेटमा समेट्न ध्यानाकर्षण गराउनुभयो । सांसद खिमकुमार विकले आगामी बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकामा राख्न तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । सांसद देवेन्द्र दाहालले कोभिड¬–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बोधन गर्ने गरी बजेट आउनुपर्ने बताउनुभयो ।

सांसद रामनारायण बिडारीले श्रमजीवी वर्ग, किसानको जीवनलाई सुखीमय बनाउने बजेट ल्याउन माग गर्नुभयो । रोजगारी सिर्जना, कृषिजन्य, दुग्धजन्य तथा मासुजन्य वस्तुको उत्पादन, साना तथा घरेलु उद्योगलाई अनुदान दिने नीति ल्याउन माग गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २९ गते बिहान ११ बजे बस्ने छ ।

मुक्तिनाथ विकास बैंकद्धारा लकडाउनमा राहत सहयोग

नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न, दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गदै आइरहेको छ । बैंकको शाखा कार्यालय घोराहीले घोराही उप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनत कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी, बैंकले धनगढी उप–महानगरपालिका – ०४ मा पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका धनगढी शाखाका शाखा प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका – ०४ का प्रमुख पदमराज सापकोटा र सुन्दर सुदुरपश्चिम यातायात प्रा.लिका प्रमुख दिपक थापालाई हस्तान्तरण गर्नुभएको थियो ।
साथै, बैंकले नार्गाजुन – ०४, काठमाडौंको शक्ति कुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका शाखा प्रमुख विजय उप्रेतीले शक्ति

कुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनु भएको छ ।

आजदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’

आजदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरिएको छ । आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइने भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य विभागका पदाधिकारीहरूको हिजोको संयुक्त छलफलले आजदेखि सवारीसाधन सञ्चालनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार निर्माण सामाग्री बोकेका ठूला सवारीसाधन उपत्यका भित्र राति ८-६ बजेसम्म  प्रवेश गरिसक्नुपर्ने समय तोकिएको छ। अन्य समयमा सञ्चालनमा रोक लगाउने निर्णय भएको छ।

एक तिहाइ कर्मचारीको मात्रै उपस्थिति हुने गरी सञ्चालन गर्न भनेका कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेभित्रमा कार्यालयमा पुगिसक्नुपर्ने एसएसपी ढकालले जानकारी दिए।

उनले बैंक, वित्तीय संस्थाका कर्मचारीहरू फर्किँदा दिउँसो साढे ३ देखि साढे ५ बजे सम्म फर्किसक्नुपर्छ बताए । सरकारी कार्यालयको हकमा भने बेलुका ५ देखि ६ बजेको समय निर्धारण गरिएको छ।

तरकारी, फलफूल, खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सवारीसाधन बिहान १० बजेसम्ममात्रै सञ्चालन हुन पाउने छन्। पानी, स्वास्थ्यसम्बन्धी अत्यावश्यक क्षेत्रका सवारीसाधनका हकमा भने समय निर्धारण गरिएको छैन