जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एक वर्षभन्दा बढी समय सेयर राखे कम करको प्रस्ताव

एक वर्षभन्दा बढी समय सेयर राखे कम करको प्रस्ताव

खरिद गरेपछि एक वर्ष वा सोभन्दा बढी समयसम्म बिक्री नगर्ने लगानीकर्तालाई भारी कर छुट दिन धितोपत्र बोर्डले सरकारसमक्ष प्रस्ताव गरेको छ । सेयर बजारमा अल्पकालीन लगानीकर्ता हाबी हुन थालेकाले सट्टेबाजी कारोबार बढेको र बजारमा तीव्र उतारचढाव आएको निष्कर्षका आधारमा बोर्डले दीर्घकालीन लगानीकर्तालाई पुँजीगत लाभकरमा छुट दिन प्रस्ताव गरेको हो ।

आगामी आवको बजेटमा सुझाव दिने क्रममा बोर्डले १२ महिना वा त्योभन्दा बढी समय सेयर बिक्री नगर्ने (होल्डिङ गर्ने) लगानीकर्तालाई दीर्घकालीन र एक वर्षभन्दा कम समयमा सेयर बेच्नेलाई अल्पकालीन भनी वर्गीकरण गर्नसमेत सुझाएको छ । ‘अल्पकालीन लगानीकर्ताबाट ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताबाट १ प्रतिशत मात्र पुँजीगत लाभकर उठाउन सुझाव दिइएको छ,’ बोर्ड स्रोतले भन्यो । लगानीकर्तालाई लामो समय सेयर होल्डिङ गर्न प्रोत्साहन गर्ने उद्देश्यले कम पुँजीगत कर प्रस्ताव गरिएको स्रोतको भनाइ छ । ‘बजारमा दीर्घकालीन प्रवृत्ति भएका लगानीकर्ता कम भए,’ स्रोतले भन्यो, ‘आजको भोलि सेयर बेच्ने प्रवृत्तिले बजार स्थिर हुन सकेन ।’

धितोपत्र बोर्डले सुझाएअनुसार लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन भरेर वर्गीकरण गरी फरकफरक लाभकरको व्यवस्था भए पुँजीगत लाभकर गणना गर्ने विद्यमान कारोबार प्रणाली (सिस्टम) मा परिमार्जन गर्नुपर्छ । हालको व्यवस्था अनुसार व्यक्तिगत सेयर लगानीकर्ताले कारोबारमा भएको लाभको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । अघिल्लो वर्ष साढे ७ प्रतिशत रहेको उक्त दर कम गरी चालू आवको बजेटमार्फत सरकारले ५ प्रतिशतमा झारेको हो । संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

अहिले पुँजीगत लाभकर गणना हुँदै आएको सिस्टमले लगानीकर्ताले खरिद गरेको सेयर एक वर्षभन्दा कमको वा बढीको भनेर छुट्याउन नसक्ने सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । उदाहरणका लागि कुनै व्यक्तिसँग धेरै वर्ष पहिलेदेखि एक कम्पनीको ५ हजार कित्ता सेयर छ । अहिले उसले सोही कम्पनीको थप १ हजार कित्ता सेयर खरिद गर्‍यो । ऊसँग उक्त कम्पनीको ६ हजार कित्ता सेयर भयो । त्यसपछि त्यो व्यक्तिले २ हजार कित्ता सेयर बिक्री गर्‍यो । बिक्री भएको २ हजार कित्तामा एक हजार तत्काल खरिद गरिएको वा पुरानो हो भनेर विद्यामान कारोबार प्रणालीले छुट्याउन सक्दैन । त्यसैले अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याउने आधारसहितको स्पष्ट नीतिगत व्यवस्था पनि गर्नुपर्ने सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

अहिले भारित औसतका आधारमा पुँजीगत लाभकर गणना हुँदै आएकाले अल्पकालीन र दीर्घकालीन भनी छुट्याउन नसकिने बताइएको छ । सेयरमा पुँजीगत लाभकरसम्बन्धी विवाद पुरानै हो । गत वर्षदेखि सरकारले उक्त विवाद टुंग्याएको हो । अहिले लगानीकर्ताले आफूले सेयर बिक्री गर्दा खरिद मूल्य पेस गर्न सक्नुपर्छ । त्यो मूल्य पेस हुन नसके प्रतिसेयर अंकित मूल्य एक सयका दरले भारित औसत लाभकर गणना गर्नुपर्छ । गत साउनदेखि यस्तो व्यवस्था लागू भएको हो ।यो व्यवस्थाले लगानीकर्तासँग आफूले किनेको सेयरको बिल वा खरिद मूल्य थाहा नभएका अवस्थामा मात्र औसत पुँजीगत लाभकर गणना गर्न अप्ठ्यारो हुने हो । उनीहरूले जति मूल्यमा सेयर खरिद गरे पनि त्यसको प्रमाण नभएपछि अंकित मूल्य एक सयलाई नै आधार मान्नुपर्छ । जो लगानीकर्तासँग आफूले किनेको सेयरको खरिद मूल्य छ, उनीहरूलाई लाभकर गणनामा समस्या हुँदैन । अब अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा वर्गीकरण गरे हालको व्यवस्था पनि परिमार्जन गर्नुपर्ने जानकारहरु बताउँछन् ।

9205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका