महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सधैँ नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेस्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरूलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैँसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले अरेबिका कफीका विभिन्न फ्रेन्चाइजहरू दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे राधे भक्तपुर, यू.एन. पार्क ललितपुर, मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी ललितपुरले प्रदान गर्ने सेवाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत सम्म छुट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।
त्यसै गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरी आइटम बाहेकका सेवाहरूमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरूले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न समेत सक्नेछन् ।
सिटिजन लाइफ जाजरकोट शाखाद्वारा ६ लाख २० हजारको बीमा दावी भुक्तानी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको जाजरकोट शाखा कार्यालयले ६ लाख रुपैयाँबढीको बीमा दावी भुक्तानी गरेको हो ।
कम्पनीले नलगाड नगरपालिका वडा नम्बर १ कल्पतका प्रकाश पुन लाई जाजरकोटका शाखा प्रमुख गोविन्द बहादुर बुढाले मृत्यु दावी बापत ६ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । नलगाड नगरपालिका १ को वडा कार्यालयमा एक कार्यक्रमकाबीच स्वर्गीय प्रकाश पुनकी श्रीमती खिमा कुमारी पुनलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
बीमित स्वर्गिय प्रकाश पुनले २०८१ साल असार ३१ गते छोरा बिश्व प्रकाश पुनको नाममा बिमाङक रकम पाँच लाख ७० हजार राखी १८ वर्ष अवधिको बार्षिक ३९ हजार ३ सय रुपैयाँ प्रिमियम तिरी सिटिजन बाल भबिस्य प्लस बीमा गरेका थिए । उनले बीमा गरेको १ वर्ष नपुग्दै २०८२ सालको असार ०३ गते निजको मृत्यु भएको थियो ।
सर्वाधिक सुबिधा भएको सिटिजन लाइफको बाल भविष्य प्लस बीमा योजना अनतर्गत हाल बीमाङक रकम ५ लाख ७० हजार रुपैयाँ र काजकिरिया खर्च ५० हजारसहित ६ लाख २० हजार रुपैयाँ बराबरको बीमा दावी बीमितका आफन्तले प्राप्त गरेका छन् । मृत्यु दावी रकम प्राप्त गरेपछि मृतकको श्रीमती खिमा कुमारी पुनले अब आफू र यो नाबालक छोराको लागि बाच्ने आधार यहि बीमा भएको कुरा ब्यक्त गरिन् ।
कम्पनीको जाजरकोट शाखा प्रमुख गोबिन्द बहादुर बुढाले कार्यक्रमकाबीच बीमाको आवश्यकता औचित्य र महत्वपूर्ण स्पष्ट पार्दै यस्ता दुरदराजका बस्तीहरुमा बीमाको आवश्यकता अझै बढी भएको र सबैले आफ्नो अवस्था अनुसार बीमा गर्नुपर्ने कुरा राख्दै सिटिजन लाइफ बिकट गाउँ देखि सहरसम्म बीमितहरुबीचमा सेवा पुर्याइ रहेको कुरा जानकारी गराएका छन् ।
गरिमा विकास बैंक १९औं वर्षमा प्रवेश
गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनादेखि निरन्तर यात्रा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो विकास, सेवा विस्तार र निरन्तर सहयोग र अमूल्य सुझाव प्रदान गर्ने सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। बैंकले स्थापनाको प्रारम्भिक दिनदेखि नै ग्राहक र समाजको विश्वास जित्ने उद्देश्य राख्दै विभिन्न चुनौतीहरूको सामना गर्दै आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै आएको छ।
गरिमा विकास बैंक लिमिटेड, जसले पहिले वलिङ, स्याङ्जामा मुख्यालय राखेको थियो । १८ कार्तिक २०६४ मा आफ्नो व्यावसायिक कारोबार सुरु गरेको थियो र ७ माघ २०६४ मा औपचारिक उद्घाटन गरिएको थियो। प्रारम्भमा बैंकले २ करोड ६५ लाख रुपैयाँ मात्र पूँजीसहित स्याङ्जा, पाल्पा र कास्की जिल्लामा आफ्नो सेवा वितरण गर्दै क्षेत्रीय स्तरको विकास बैंकको रूपमा काम सुरु गरेको थियो। सीमित पूँजी र व्यापार क्षेत्रका बाबजुद पनि बैंकले उच्च सेवा गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्नो यात्रा अघि बढाएको थियो।
२० चैत २०६८ मा बैंकको व्यापार विस्तार क्षेत्र १० जिल्लामा पुग्दै, यसले आफ्नो सेवा पहुँच व्यापक बनाउने महत्वपूर्ण कदम चाल्यो। यसरी बैंकले व्यवसायिक दृष्टिले सीमित क्षेत्रमा सञ्चालन गर्ने चुनौतीलाई पार गर्दै नयाँ बजारमा प्रवेश गरेको थियो। ‘सबैका लागि पहुँच’ को मूलमन्त्रसहित बैंकले प्रारम्भिक बाधाहरू पार गर्दै राष्ट्रिय स्तरको विकास बैंक बन्ने दिशामा अग्रसर रह्यो।
बैंकले आफ्नो पूँजी आधार बलियो बनाउन र सेवा विस्तारलाई द्रुत बनाउने उद्देश्यले क्रमशः पूर्व नीलगिरी विकास बैंक लिमिटेडसँग २९ असार २०७२ र पूर्व सुबेक्श्य विकास बैंक लिमिटेडसँग ४ अस्विन २०७३ मा मर्जर सम्पन्न गर्यो। यी मर्जरहरूले बैंकको पूँजीमा वृद्धि ल्याए मात्र नभई शाखा विस्तार र सञ्चालन सुधारमा पनि महत्वपूर्ण योगदान पुर्याए। यसै क्रममा २८ कार्तिक २०७८ मा सहारा विकास बैंक लिमिटेडको अधिग्रहणले बैंकको उपस्थिति प्रदेश २ मा थप सुदृढ बनाएको छ। यसरी गरिमा विकास बैंकले आफ्नो क्षमता बढाउँदै ग्राहकहरूको सेवा पहुँच व्यापक बनाएको छ।
हाल बैंकको मुख्य कार्यालय काठमाडौं ०२, लाजिम्पाटमा रहेको छ र यसका १२६ शाखाले ग्राहकलाई सहज पहुँचको सुनिश्चितता प्रदान गरिरहेका छन्। यसले बैंकको सेवा वितरणमा आधुनिक प्रविधि र व्यावसायिक दक्षताको प्रयोग गर्दै देशभर समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता देखाउँछ। बैंकले ग्राहकलाई वित्तीय पहुँच मात्र नभई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्राथमिकता दिनेको अभ्यास गर्दै आएको छ।
पूर्व प्रधानमन्त्री प्रचण्डको बैंक खाता एभरेष्ट बैंकमा, छानविन समितिलाई बैंकले दिएन कारोबार विवरण
जेनजी आन्दोलनको क्रममा भएको दमनका सम्बन्धमा छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिलाई एभरेष्ट बैंकले पूर्व प्रधानमन्त्री प्रचण्डको खाता विवरण दिन अस्वीकार गरेको पाइएको छ ।
पूर्व प्रधानमन्त्री प्रचण्डको नाममा एभरेष्ट बैंकमा करिब १४ बर्षअघि एभरेष्ट बैंकमा खाता खोलिएको थियो । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा रहेको ….७१९ नम्बरको बैंक खाताबारे बैंकले केन्द्रीय बैकलाई खाता रहेको भन्ने सम्मको विवरण दिएपनि बैंकमा प्रचण्डले गरेको कारोबार विवरणसहितको तथ्याङ्क भने नदिएको उच्चस्तरीय स्रोतले जानकारी दिएको छ ।
बीमापोष्टलाई प्राप्त सूचना अनुसार पूर्व प्रधानमन्त्री प्रचण्डले उक्त बैंक खातामा धेरै रकम भने कारोबार गर्ने गरेका छैनन् । पछिल्लो समय उक्त खातामा पाँच हजार भन्दा न्यून ब्यालेन्स रहेको बताइएको छ ।
उता, एभरेष्ट बैंकका सूचना अधिकारी केशव पौडेलले भने नेपाल राष्ट्र बैंकले औपचारिक रुपमा पत्राचार भएको अवस्थामा बैंकले कारोबार विवरण दिनै पर्ने कानुनी अवस्था रहेकोले यसबारे शंका नगर्न आग्रह गरेका छन् ।
उता, राष्ट्र बैंकले स्रोतले हाल छानविन समितिलाई पूर्व प्रधानमन्त्रीहरुको कारोबार विवरण पेश नगरिएको र कुन कुन नेताको कुन कुन बैंक खाता रहेको छ भन्ने सम्मको मात्रै जानकारी मात्रै दिएको जनाएको छ ।
सरकारले गठन गरेको छानविन समितिलाई कारोबार विवरण नदिने सम्बन्धमा केन्द्रीय बैंकले समेत बैंकहरुलाई प्रोत्साहन गर्दै आएको पाइएको छ ।
एनआईसी एशिया ग्राहकले किरोप्याट्रिक एण्ड म्यानुएल थेरापीमा छुट पाउने
एनआईसी एशिया बैंकका ग्राहकले किरोप्याट्रिक एण्ड म्यानुएल थेरापी सेन्टरबाट विशेष छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको सेन्टरका शाखाहरूबाट डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।
सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
मोफसलमा जन्मेर राजधानी छिरेको सांग्रिला
कुनै समय ७ दर्जनभन्दा बढी रहेका विकास बैंकहरु अहिले डेढ दर्जन पनि छैनन् । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर तथा प्राप्तिको नीतिपछि स्वत मर्जरमा गए भने कुनै विकास बैंकहरुले राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी पुर्याउनका लागि संस्थाहरु एक आपसमा गाभिए । केही संस्था वाणिज्य बैंकहरुमा पनि गाभिए । जसले गर्दा अहिले विकास बैंकहरुको संख्या घटेर १७ वटामा सिमित भएका छन्। त्यहि १७ वटा विकास बैंकमध्येको एक हो, सांग्रिला डेभलपमेन्ट बैंक । २०६४ साल भदौ ९ गतेदेखि पोखराबाट सञ्चालनमा आएको सांग्रिला र नेपालगञ्जबाट २०६१ साल कात्तिक १३ गतेदेखि सञ्चालनमा आएको बागेश्वरी डेभलपमेन्ट बैंक मिलेर राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सांग्रिला डेभलपमेन्ट बैंक बनेको हो ।
यी दुई बैंक एक आपसमा मर्जर भएर २०७१ असार ३१ गते एकिकृत कारोबार सुरु गरेका थिए । क्षेत्रीयस्तरका दुई विकास बैंकहरु मर्जर हुादा चुक्ता पुँजी ६४ करोड रुपैयाँ मात्रै थियो । क्षेत्रीयस्तरका दुई विकास बैंकहरु मर्जरपछि राष्ट्रियस्तरको विकास बैंकको रुपमा स्तरोन्नति भएर काठमाडौंमा केन्द्रीय कार्यालय सारेसँगै देशभर आफ्नो जरा फैलाउँदै लग्यो । र, अहिले देशको एक सबल विकास बैंकको रुपमा स्थापित भएको छ । हाल राष्ट्रियस्तरको कार्यक्षेत्र रहेका ८ वटा मात्रै विकास बैंक छन्, जसमध्येको एक हो सांग्रिला डेभलपमेन्ट बैंक । पुँजी वृद्धि र प्रतिस्पर्धाको होडमा साढे ६ दर्जन विकास बैंकहरुले आफ्नो अस्तित्व मेटाउँदै गर्दा सांग्रिला भने आफुलाई देशको एउटा बलियो विकास बैंकको रुपमा स्थापित गर्न सफल भएको छ ।
कोरोना महामारी र त्यसपछि सिर्जित संकटले अर्थतन्त्रसँगै बैंकिङ क्षेत्रलाई नराम्रोसँग प्रभावित गरिरहेको छ । यस्तो संकटपूर्ण अवस्थामा पनि बैंकले आफूलाई सन्तुलित भएर अघि बढाइरहेको छ । बैंकले हालै मात्र आफ्नो २० औं वार्षिककोत्सव मनायो ।
मध्यपश्चिमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रमा स्थापना भई वित्तीय क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको बागेश्वरी डेभलपमेन्ट बैंक र पोखराको न्यूरोडबाट सञ्चालनमा आएको सांग्रिला डेभलपमेन्ट बैंक एक आपसमा गाभिएर राष्ट्रिय पहिचाहन बनाएको सांग्रिला डेभलपमेन्ट बैंकले दुई दशक पार गरी तेस्रो दशकमा प्रवेश गरेको छ ।
बागेश्वरीसाँग बराबर हैसियतमा मर्जर भएर राष्ट्रियस्तरको बनेको सांग्रिलाले आफूलाई अझ बृहत् बनाउन २०७४ असार २० मा कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो । २०७१ असारमा मर्जर भएर राष्ट्रियस्तरको विकास बैंक बन्दै गर्दा करिब ६ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकको निक्षेप अहिले करिब ९ गुणाले बढेको छ ।
मर्जरपछि राष्ट्रियस्तरको भएर काठमाडौंमा केन्द्रीय कार्यालय ल्याएको १ वर्ष अर्थात् २०७२ असार मसान्तबाट २०८२ असार मसान्तमा आउँदा बैंकले सबै सूचकमा उल्लेख्य प्रगति गरेको छ । मर्जर हुँदा ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले मर्जरलगत्तै २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । २०७२ असार मसान्तमा ८८ करोड ९४ लाख ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेकोमा २०८२ असारमा आउँदा ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७२० रुपैयाँ पुगेको छ ।
बैंकले क्षेत्रीयस्तरको कसमस डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने बाहेक बोनस सेयर र हकप्रद सेयर मार्फत नै उक्त पुँजी पुर्याएको हो । २०७२ असारमा १४ जिल्लाको २७ शाखाबाट ८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी बैंकले ६ अर्ब ४४ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । २०८२ असारमा आउँदा बैंकको उपस्थिति ४६ जिल्लाको ८२ स्थानीय तहमा पुगेको छ । कुल १०९ वटा शाखा कार्यालय पुग्दा बैंकको कुल निक्षेप ५४ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कर्जा ४३ अर्ब १ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप र कर्जा मात्रै बढेको छैन । निक्षेपकर्ता र बैंकबाट ऋण लिने ऋणीको संख्या पनि सोही अनुपातमा बढेको छ । २०७२ असारमा १ लाख ३८ हजार ३५१ रहेको निक्षेप खाता २०८२ असारमा ५ लाख १९ हजार ७०१ पुगेको छ । त्यस्तै २०७२ असारमा ११ हजार ७४२ ऋण खाताबाट १० हजार ७२९ ऋणीले कर्जा लिएका थिए । २०८२ असारमा आउँदा बैंकको ऋणी ग्राहकको संख्या १७ हजार ५७ पुगेको छ भने ऋण खाता २४ हजार १३८ पुगेको छ । नेटवर्क र बैंककको वासलताको आधारमा ऋण लिने ग्राहक भने बढ्न सकेका छैनन् ।
बैंकको निक्षेप कर्जा र कुल सम्पत्ति मात्रै नभएर खुद ब्याज अम्दानी र नाफा पनि उल्लेख्य बढाएको छ । बैंकको कुल सम्पत्ति ९ अर्ब १६ करोड ७५ लाख ५५ हजार रुपैयाँबाट बढेर ६३ अर्ब ४१ करोड ८० लाख ३३ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ४१ करोड ५८ लाख ४१ लाख रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड ९ लाख ३ हजार रुपैयाँ र खुद नाफा १७ करोड ८० लाख ३१ हजारबाट बढेर ५३ करोड ७० लाख ९२ हजार रुपैयाँ पुगेको हो ।
हाल बैंकले ८६४ जनालाई रोजगारी दिएकोे छ । २०७२ असारमा बैंकमा कार्यरत कर्मचारीको संख्या २५५ थियो ।
बैंकले पछिल्ला वर्षहरुमा अझ धेरै र सुदृढ रुपमा बैंकिङ सेवालाई छिटो, छरितो र ग्राहकमुखी बनाउन विशिष्टीकृत सेवा प्रदान गरिरहेको छ । कर्जा प्रवाह, स्विकृति र कागजात व्यवस्थापन प्रक्रियालाई छिटो, छरितो, सहज, गुणस्तर कायम गर्न केन्द्रीय नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाएको जनाएको छ ।
कृषि, जलविद्युत, पर्यटन तथा अन्य क्षेत्रका ठूला परियोजनाहरुमा साझेदारीका रुपमा लगानी विस्तार गरिरहेको छ । बैंकले स्थायी प्रकृतिका न्युत लागतका निक्षेपहरुमा जोड दिँदै आफ्नो बैंकिङ व्यवसायलाई सन्तुलित बनाउन सफल भएको छ । कोभिड १९ पछिको संयमित अवस्थामा ऋणीहरुको हितलाई ध्यानमा राख्दै बैंकले सहिष्णु बैंकिङ कारोबारलाई प्राथमिकता दिँदै आएको छ ।
बैंकले मर्जरअघि र मर्जरपछि पनि अन्य बैंकहरुको तुलनामा राम्रै लाभांश दिँदै आएको छ । बैंकले १० वर्षयता हरेक वर्ष लाभांश दिँदै आएको छ । बैंकले नगदभन्दा पनि बोनस सेयरलाई नै बढी प्राथमिकता दिएको देखिन्छ । ३ करोड रुपैयाँ चुक्ता पुँजीसहित स्थापना भएको बैंकको अहिलेको चुक्ता पुँजी साढे ३ अर्ब रुपैयाँभन्दा माथि पुग्दै गर्दा क्षेत्रीयस्तरको ३ वटा बैंक एक आपसमा गाभिए । त्यस्तै २ पटक हकप्रद सेयर जारी गरेको थियो भने त्यसभन्दा बाहेक बोनस सेयरमार्फत् नै बैंकले पुँजी बढाएको हो ।
सेयर बजारमा लगानी बढाउने व्यवस्था गर्दै राष्ट्र बैंक
पर्याप्त तरलता रहेको अवस्थामा पनि कर्जाको माग बढ्न नसकेपछि नेपाल राष्ट्र बैंकले सेयर बजारमा लगानी बढाउने व्यवस्था गर्न लागेको छ। बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयर धितो कर्जा दिन पाउने र ६ महिनाभन्दा बढी अवधिका लागि सेयरमा लगानी गर्न पाउने व्यवस्था परिमार्जन गर्न लागिएको हो। राष्ट्र बैंकले ४० प्रतिशतसम्मको सीमा र ६ महिनाभन्दा बढी अवधि हटाउन लागेको छ।
अधिक तरलता र न्यून ब्याजदरको अवस्थामा पनि कर्जाको माग बढ्न नसकेका कारण बैंक तथा वित्तीय संस्थाहरूलाई लगानी बढाउनका लागि सहजीकरणस्वरुप कोर क्यापिटलको सीमा हटाउन लागेको राष्ट्र बैंक स्रोतले बतायो।
‘तरलता थुप्रिने र ब्याजदर घट्ने भइरहँदा पनि कर्जाको माग बढ्न सकेन। जसले गर्दा हामीले तरलता निरन्तर खिच्नु परिरहेको छ,’ राष्ट्र बैंकका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘ब्याजदर करिडोरको तल्लो सीमाभित्र राख्न साढे ८ खर्ब तरलता खिचिरहेका छौं। निक्षेप बढेर ब्याजदर घट्दै जाँदा त्यसको असर बैंक हुँदै सर्वसाधारण निक्षेपकर्तामा पर्छ। त्यसकारण बैंकहरूलाई लगानी गर्न सहज होस् भनेर कोर क्यापिटलको सीमा हटाउन लागेका छौं। सेयर र डिबेञ्चरमा लगानीको अवधि पनि खारेज गर्दैछौं।’
अहिले सूचीकृत कम्पनीको सेयर तथा डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले ६ महिनाभन्दा कम अवधिका लागि लगानी गर्न नपाउने व्यवस्था छ। तरलता थुप्रिएका कारण निरन्तर घटेको ब्याजदरले ऋणीलाई राहत पुगे पनि निक्षेपकर्ता प्रभावित हुन पुगेका छन्। गभर्नर डा. विश्व पौडेल बैंक तथा वित्तीय संस्थाले सेयरमा गर्ने लगानीलाई खुकुलो बनाउनुपर्ने पक्षमा रहेकाले ६ महिनाभन्दा बढी अवधिको लगाम हटाउन लागिएको हो।
‘गभर्नरज्यू पनि बैंकहरूलाई लगानीका लागि अवधि हटाउनु पर्छ भन्नेमा हुनुहुन्छ। अहिले एकाएक ऋणको माग भइहाल्ने अवस्था छैन। त्यसैले सेयर र डिबेञ्चरमा अवधि तोकेर लगानी गर्ने सीमा हटाउन लागेका हौं,’ स्रोतले भन्यो, ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत यो विषय सम्बोधन गरिनेछ। कोर क्यापिटलको ४० प्रतिशतको सीमा पुन पुनरवलोकन गरेर खुला छाड्ने कुरा भएको छ।’
अहिले बैंक तथा वित्तीय संस्थाहरूको कोर क्यापिटल ६ खर्ब ६९ अर्ब रुपैयाँ छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाहरूले सेयर तथा डिबेञ्चरमा २ खर्ब ६८ अर्ब रुपैयाँ लगानी गर्न सक्छन्। २०८२ असोजसम्म बैंकहरूले मार्जिन प्रकृतिको सेयर धितोमा १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन्। यसको मतलब बैंक तथा वित्तीय संस्थाहरूसँग अझै १ खर्ब २४ अर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमता छ।
कतिपय बैंकहरू भने कोर क्यापिटलको सीमा नजिक पुगेका छन्। कोर क्यापिटलको सीमा हटाउँदा सेयर बजारमा लगानी बढ्ने राष्ट्र बैंकको बुझाइ छ। यस्तै, लगानी अवधि हटाउँदा बैंकहरूले आफैं सेयरमा लगानी बढाउन सक्छन्। ब्रोकर कम्पनी र मर्चेन्ट बैंकरहरूले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरूको कोर क्यापिटलको ४० प्रतिशत मात्रै सेयर धितो कर्जा दिन पाउने र सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिका लागि मात्रै लगानी गर्न पाउने व्यवस्था खारेज गर्न माग गर्दै आएका थिए।
कोर क्यापिटलको ४० प्रतिशत मात्रै सेयर धितो कर्जा दिन पाउने व्यवस्था हटाए सीमा नजिक पुगेका बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर धितोमा कर्जा लगानी गर्न सहज हुनेछ।
एनएमबी बैंकको लाभांश घोषणा
एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत सेयर बोनस र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभांश प्रदान हुने बैंकले जनाएको छ । सो लाभांश नेपाल राष्ट्र बैंक तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २४० रुपैयाँ हाराहारीमा छ ।
गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेड २०८२’ सम्पन्न
गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा ‘गरिमा रोड रेड २०८२’ दौड प्रतियोगिता सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित सो प्रतियोगितामा खुला, कर्पोरेट तथा भेट्रान गरी तीन विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतिस्पर्धा सम्पन्न गरिएको हो ।
खुला तर्फ १० किमीको दौड बालुवाटारस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका–३ सम्म पुगेको र सोही मार्ग हुँदै पुनः बालुवाटारमै समापन गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान विधाको ५ किमी दुरीको प्रतियोगिता समेत बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारीसम्म गई पुनः बालुवाटारमै सम्पन्न गरिएको हो ।
२०७ जनाभन्दा बढी सहभागी रहेको खुला विधामा महिलातर्फ १० किमी दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन सन्तोषी श्रेष्ठ प्रथम बनेकी छिन् । पुरुषतर्फ २९ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले पहिलो स्थान हासिल गरेका छन् । पुरुष खुला विधाका सबै पुरस्कार तथा महिलातर्फ चार पुरस्कार नेपाल आर्मीका धावकहरूले जित्न सफल भएका छन् ।
खुला विधाका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पंचम स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान ५ किमी विधाका उत्कृष्ट पाँच धावकहरूलाई क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विकास बैंकका सञ्चालक, पूर्व सञ्चालक, सेयरधनी, स्थानीय निकायका प्रतिनिधि, संघ–संस्था, पत्रकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वागत मन्तव्य दिंदै प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रममा स्वास्थ्य–सचेतना र सामुदायिक सहभागिताबाट प्राप्त सकारात्मक प्रभावको बारेमा प्रकाश पारे । समापन सत्रमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई आगामी वर्षहरूमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी, मङ्सिर ७ गते बैंकले १९औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान तथा १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको छ ।
घुम्नका र रिफ्रेसमेन्टका लागी उत्कृष्ट गन्तव्य हो थुम्की रिसोर्ट
नेपालमै केही गर्नुपर्दछ । आफ्नै माटोलाई उर्वर बनाउनुपर्दछ । आफ्नै ठाउँमा केही गरेर युवालाई रोजगारी दिनुपर्दछ । उत्पादनमुलक बन्नुपर्दछ । यस्तै सोच र सपना धेरैको हुन्छ । त्यसैमध्येको एक नाम हो लक्ष्मण न्यौपाने । उदीयमान पर्यटन व्यवसायी जो सबैका अगाडि मिजासिलो स्वभाव प्रस्तुत गर्दछन् । न्यौपानेलाई आफ्नै गाउँ ठाउँमा केही गरौं भनेर धेरै पहिलेदेखि चलिरहेको हुटहुटी चलिरहेको थियो । त्यो साइत पनि जुर्दै गयो । परिस्थिति त्यतैतर्फ निर्माण हुँदै गएपछि न्यौपानेले आफ्ना सपना सुरु गर्छु भनेर लागे । त्यसपछि तीन दाजुभाई मिलेर सपना साकार पार्नेतर्फ अगाडि बढे र थुम्की रिसोर्ट अगाडि बढाउने निर्णय लिए । त्यसको नेतृत्व न्यौपानेले गरेका छन् । चार वर्ष अगाडि सुरु गरेको रिसोर्ट करिब एक वर्ष अगाडि सम्पूर्ण तयारी पुरा गरेर सञ्चालनमा रहेको छ । बिहान सनराइज हेरेर बेलुका सनसेटको बिदाई गर्न रिसोर्टबाट सकिन्छ । रिसोर्ट पारिवारिक जमघट, सेमिनार, अर्गानिक स्वादको विश्रामको लागि उत्कृष्ट गन्तव्य बनेको छ । यसै सन्दर्भमा प्रस्तुत छ उदीयमान पर्यटन व्यवसायी एवं थुम्की रिसोर्टका अध्यक्ष लक्ष्मण न्यौपानेसँगको कुराकानीको सम्पादित अंशः
थुम्की वास्तवमा कस्तो रिसोर्ट हो ? त्यहाँ कस्ता मानिसहरू जान सक्छन् र विशेषताहरु के छ ?
काठमाडौँबाट ३५ किलोमिटरको दूरीमा र बनेपाबाट पनि १३ किलोमिटर दक्षिणमा पर्दछ काभ्रेको बल्थली । त्यहीँ अवस्थित छ थुम्की रिसोर्ट । थुम्की अर्थात् डाँडको टुप्पोबाट बिहान र दिउँसोको समयमा हिमालय श्रृंखलाको दृष्यावलोकन, बिहान र साँझको समयमा सूर्याेदय र सूर्यातको दृष्यसहित उत्कृष्ट प्राकृतिक मनोरम दृष्यावलोकन गर्न सकिन्छ । यहाँ ठाउँ हेर्नका लागि मात्रै भएपनि मानिसहरू जाने गर्दछन् । त्यो नजिकै विश्वकै सबैभन्दा ठूलो त्रिशुल भएको लड्केश्वर मन्दिर पनि छ । त्यहाँ पनि धेरै मानिसहरू जाने गर्दछन् । गतवर्ष नेपालका राष्ट्रपति, राजा, काठमाडौँका मेयर लगायत राज्यका विभिन्न तहका उच्च पदस्थहरु पनि पुगेका थिए । हाइकिङका लागि महाभारत रेन्जकै अग्लो ठाउँ काभ्रेको सबैभन्दा अग्लो ठाउँ नारायणथान छ । त्यहाँ धेरै आन्तरिक र बाह्य पर्यटकहरू पुग्दछन् । त्यही बाटो भएर प्रकृतिसँग रमाउने मानिसहरू त्यहाँ जाने गर्दछन् । खानामा टिपिकल चिजहरु रहेका छन् । आफ्नै फार्महरूमा पालिएका लोकल (स्थानीय) खानाहरू, अर्गानिक खानाहरू रिसोर्टमा उपलब्ध छ । अहिले हामीले दिएको सेवाबाट ९५% भन्दा बढी मानिसहरू सन्तुष्ट नै भएर फर्किरहनु भएको छ । त्यहाँ मानिसहरूले पूर्णरूपमा मनोरञ्जन गर्ने, रिफ्रेसमेन्ट हुने गर्दछन् । मेडिटेसन योगा, ध्यानका लागि धार्मिक पर्यटनका लागि पनि यो ठाउँ प्रसिद्ध छ । नजिकै नमोबुद्ध रहेको छ । हाइकिङको लागि जान सकिने ठाउँ हो त्यो ।
हाइकिङका लागि महाभारत रेन्जकै अग्लो ठाउँ काभ्रेको सबैभन्दा अग्लो ठाउँ नारायणथान छ । त्यहाँ धेरै आन्तरिक र बाह्य पर्यटकहरू पुग्दछन् । त्यही बाटो भएर प्रकृतिसँग रमाउने मानिसहरू त्यहाँ जाने गर्दछन् । खानामा टिपिकल चिजहरु रहेका छन् ।
रिसोर्टले कति मानिस राख्न सक्ने क्षमता छ ? सभा, सम्मेलन सेमिनार गर्न सकिन्छ ?
रिसोर्टमा अहिले दुईवटा हलहरू छन् । एउटामा ५० र अर्कोमा ७० जना बसेर कार्यक्रम गर्न सकिन्छ । रिसोर्टले एक रातका लागि ६० जनासम्म राख्न सक्दछ । त्यो क्षमता छ । यसरी भन्दा ७० जनासम्म एउटै हलमा राखेर कार्यक्रम गर्न सकिन्छ । आवश्यक पर्दा टेन्ट सर्भिस गरेर समेत पाहुनाहरूलाई राख्न सकिन्छ । त्यहाँ पुग्नेहरुका लागि बिहान खेलकुद गर्ने चौर छ । फुटबल खेल्न सकिन्छ । विशेषगरी स्कुलका भाइबहिनीहरू त्यहाँ जाने गर्दछन् । उहाँहरूको कार्यक्रम गर्न सकिन्छ । अफिसियल कार्यक्रमहरू गर्न सकिनेछ । सभा, सम्मेलन गर्न सकिनेछ । त्यसैगरी विदेशी पर्यटकहरू पनि गइरहेका छन् । वरिपरि हिमाल देखिन्छ र त्यो ठाउँ हिमालको काख जस्तै देखिन्छ । डाँडाको टुप्पो काहीँ कतैबाट छेकिँदैन । सनराइज र सनसेटको मनोरम दृश्य देख्न सकिनेछ । रिसोर्टमा बिहान सनराइज हेरेर बेलुका सनसेटको बिदाई समेत गर्न सकिन्छ ।

नाम थुम्की पनि त्यसै भएर राखिएको हो ?
थुम्की भनेको आफैंमा एउटा डाँडाको टुप्पो हो । त्यो ठाउँको पुरानो नाम नै थुम्की हो । त्यो गाउँको पुरानो नाम नै थुम्की हो । आफ्नै गाउँको नाममा प्रचार गरौँ न किन यो विदेशी विभिन्न नाम लिइरहनु भनेर हामीले थुम्की नाम राखेर सुरु गरिएको हो । हामीलाई यही नाम नै बढी प्यारो लाग्दछ ।
विशेषगरी स्कुलका भाइबहिनीहरू त्यहाँ जाने गर्दछन् । उहाँहरूको कार्यक्रम गर्न सकिन्छ । अफिसियल कार्यक्रमहरू गर्न सकिनेछ । सभा, सम्मेलन गर्न सकिनेछ । त्यसैगरी विदेशी पर्यटकहरू पनि गइरहेका छन् । वरिपरि हिमाल देखिन्छ र त्यो ठाउँ हिमालको काख जस्तै देखिन्छ ।
अर्गानिक खाना पाइने भनिएको छ, के–कस्ता परिकार पाईन्छ ?
रिसोर्टमा नेपाली अर्गानिक खानाको स्वादमार्फत मज्जा लिन पाइनेछ । त्यहाँ इटालियन अन्य कन्टिनेन्टल, चाइनिज, इटालियन सबै देशका खानाहरू पाइन्छन् । विशेषगरी हाम्रो जोड चाहिँ त्यहीँको नेपाली खानामा रहेको छ । अर्को प्याकेट मसलाहरू हामी प्रयोग गर्दैनौँ । पिरोमा अकबरे खुर्सानी मात्रै प्रयोग गरिन्छ । तेलमा तोरीको तेल मात्रै प्रयोग गरिन्छ । अजिना मोटो लगायत कुनै पनि प्याकेट मसला हामी कहाँ जाँदैन । त्यहाँ लोकल कुखुराहरू पाइन्छ । त्यहाँ कालिज फर्म छ । बदेल लगायत खान पाइन्छ । बिहानको सुरुवात नै कोदो, फापरको परिकारबाट हुन्छ । त्योसँगै फलफुल पनि राखिन्छ । ब्रेकफास्ट त्यसरी सुरु हुन्छ । हामीले पर्यटकको आवश्यकता अनुसार पाउरोटी पनि दिनुपर्ने हुनसक्छ । तर हाम्रो रिसोर्टमा एक दुई प्रतिशतले मात्र पाउरोटी खान्छन् । हामीले दिएको कोदो फापरका परिकार र फलफुलमा नै पाहुनाहरू सन्तुष्ट हुने गर्दछन् । अरु परिकारहरू चाहनुहुन्न । पारिवारिकरुपमा त्यहाँ जान सकिनेछ । पारिवारिक रूपमा जान कोही चाहन्छन् भने हामीले नै काठमाडौँबाट त्यहाँ जाने व्यवस्था गरिदिनेछौँ । लैजाने र ल्याउने दुवै व्यवस्था हुने गर्दछ । त्यस्तै अफिसियल ग्रुपहरू जान सक्दछन् । मिटिङहरूको लागि मानिसहरु जान सक्दछन् । विभिन्न ग्रुपहरू जान सक्दछन् । विभिन्न कार्यक्रमको लागि रिसोर्टलाई गन्तव्य बनाएर जान सकिनेछ ।

यदि कोही जान चाहे भने कसरी सेवा दिनुहुन्छ ?
सामान्य रिसोर्ट सरहकै दरमा हामीले सेवा दिने गर्दछौँ । धुलिखेल नगरकोट रेन्जकै सेवा सुविधा र दर हुने गर्दछ । थप अरु कुनै महँगो छैन । धुलिखेलतिरभन्दा अझै सस्तो छ भन्ने हाम्रो दाबी छ ।
पर्यटक आगन्तुकको प्रतिक्रिया के छ ?
लोकेशन अर्थात् स्थानको हिसाबले हामी एकदमै राम्रो स्थानमा छौं । केही विदेशी पर्यटकले समय समयमा प्रतिक्रिया पनि दिने गर्दछन् । कतिपयले त संसार धेरै घुमियो तर यहाँ आउँदा जति आनन्द हामीलाई काहीँ पनि भएन भन्ने प्रतिक्रिया पनि पाइने गरिएको छ । त्यो हाम्रो लागि गौरवको कुरा हो । खुसीको कुरा हो । सबैलाई प्रकृति र सबै ठाउँ मनपर्छ भन्ने पनि हुँदैन । त्यहाँ पुगेका ९५ प्रतिशतभन्दा बढी पर्यटकहरू चाहीँ खुसी नै भएर फर्किने गरेका छन् ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
विशेषगरी पर्यटन क्षेत्र त्यसमा पनि होटलहरुमा रिफ्रेसमेन्टको लागि जाने हो । हामी हप्ता, महिना, वर्षौंभरि काम गर्छौं । त्यसक्रममा हामीमा भएका तनावहरू बिसाउनको लागि, घुम्नका लागि र विभिन्न स्थानमा जाने गर्दछौँ । त्यस्तै एक उत्कृष्ट गन्तव्य हो थुम्की रिसोर्ट । त्यहाँ गएर रिफ्रेसमेन्ट भएर आउने हो । परिवारसँग रमाउन जाने हो । साथीभाइहरूसँग रमाउन जाने हो । त्यहाँ गएर पूर्णरूपमा रमाएर रिचार्ज भएर काठमाडौँ वा आफ्नो गन्तव्यमा फर्किने हो । त्यो वातावरण थुम्की रिसोर्टबाट बन्नेछ । त्यसका लागि थुम्की रिसोर्टमा आउन म सबैलाई आह्वान गर्दछु । (न्यौपाने आर्थिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्ति हुन् ।)


१० ठूला वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण कार्य अन्तिम चरणमा
नेपालका १० वटा ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । उनीहरुको लोन पोर्टफोलियो रिभ्यु गर्न बंगलादेशी अडिटरको टिम नेपालमा आएको थियो । उक्त टोलीबाट नेपालका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि स्थलगत सुपरीवेक्षण भइरहेको छ । बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीका लेखापरीक्षकसहितको टोलीले काम गरिरहेको छ । टोलीमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सहभागि रहेका छन् । टोलीले बैंकका कर्जा फाइलहरू, कोर बैंकिङ सिस्टम, परियोजना लगानीको अवस्था र कर्जा भुक्तानी प्रक्रियाको विस्तृत अध्ययन गरीरहेको छ ।
गत चैतको वासलताका आधारमा धेरै कर्जा लगानी भएका ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक गरी १० वटा बैंक परीक्षणको दायरामा छन् । यो परीक्षण अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको विस्तारित कर्जा सुविधाको सर्तअनुसार भइरहेको हो । नेपाल राष्ट्र बैंकले खरिद प्रक्रियामार्फत बंगलादेशी फर्मलाई छनोट गरेको हो ।राष्ट्र बैंक स्रोतका अनुसार संयुक्त टोलीले सबै बैंकमा साढे दुई दर्जन सूचकका आधारमा सम्पत्तिको गुणस्तर मूल्यांकन गरीरहेको छ । कर्जाको सदुपयोग, ऋणीको परियोजनाको अवस्था, र कर्जा भुक्तानी प्रणालीको पनि परीक्षण भइरहेको छ ।
ठिकठाक अवस्थामा जीवन बिमा कम्पनी, एकपछि अर्को दबाबको रिफ्लेक्सन निर्जीवनको वित्तीय विवरणमा
घट्दो ब्याजदरको प्रभाव देखिएपनि निर्जीवन बिमा कम्पनीको तुलनामा जीवन बिमा कम्पनीको नाफा ठिकठाक अवस्थामा देखिन्छ । बिमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बिमा कम्पनीको नाफामा सामान्य वृद्धि भए पनि निर्जीवन बिमा कम्पनीहरु भने नोक्सानीमा धकेलिएका छन् । समीक्षा अवधिमा १४ वटा जीवन बिमा कम्पनीले कुल १ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा भने जीवन बिमा कम्पनीले कुल १ अर्ब ९२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
समिक्षा अवधिमा १० जीवन बिमा कम्पनीको नाफा बढ्दा तीन वटा कम्पनीको भने खुम्चिएको छ । यस अवधिमा सर्वाधिक नाफा गरेको रिलायबल नेपाल लाइफले २५ करोड ८५ लाख रुपैयाँ कमाएको छ । जबकि, अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
गत वर्षको पहिलो त्रैमासमा १६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको सन नेपाल लाइफले चालु आवको सोही अवधिमा ४४.०२ प्रतिशतले बढाउँदै २३ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवमा २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको नेपाल लाइफले ४.९४ प्रतिशतको नाफा वृद्धि गर्दै कुल २१ करोड ५५ लाख रुपैयाँ कमाएको छ । यसका अलावा आइएमई लाइफले १५ करोड ८३ लाख र एसियन लाइफले १५ करोड २५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
हिमालयन लाइफ, प्रभु महालक्ष्मी लाइफ र राष्ट्रिय जीवन बिमा कम्पनीको नाफा भने संकुचित बनेको छ । खासगरी, लामो समयदेखि बैंकको ब्याजदर न्यून रहँदा त्यसको प्रभाव जीवन बिमा कम्पनीको वित्तीय विवरणमा देखिएको हो । बिमा कम्पनीको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थामा केन्द्रीत हुँदै आएकाले ब्याजदर घटेसँगै त्यसको प्रभाव बिमा कम्पनीको नाफामा पर्दै आएको छ । धेरैजसो जीवन बिमा कम्पनीले सामान्य रुपमा भएपनि नाफा बढाउँदै गर्दा अधिकांश निर्जीवन बिमा कम्पनी भने नोक्सानीमा धकेलिएका छन् । निर्जीवन बिमा कम्पनीमा प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीको नाफा ऋणात्मक देखिएको छ ।
समिक्षा अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीले गत आवको पहिलो त्रैमासको तुलनामा १२ प्रतिशतले नाफा वृद्धि गर्दै ६ करोड ३१ लाख रुपैयाँ कमाएको छ । यसका अलावा गत आवको पहिलो त्रैमासमा १८ करोड ३ लाख घाटा बेहोरेको नेशनल इन्स्योरेन्सले ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । प्रकाशित वित्तीय विवरणअनुसार गत आवको पहिलो त्रैमासमा १५ करोड ६५ लाख रुपैयाँ कमाएको राष्ट्रिय बीमा कम्पनीले चालु आवको सोही अवधिमा ९ करोड ९५ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
गत आवको असोजसम्म ११ करोड ५२ लाख नाफा कमाएको शिखर इन्स्योरेन्सले चालु आवको सोही अवधिमा भने १५ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत आवको पहिलो त्रैमासमा ७ करोड ४ लाख नाफा कमाएको नेको इन्स्योरेन्सले चालु आवको सोही अवधिमा ८ करोड ३१ लाख रुपैयाँ घाटा बेहोरेको छ भने ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आवमा १० करोड ९३ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
गत आवको सोही अवधिमा ६ करोड ४० लाख नाफा कमाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आवमा २९ करोड ८५ लाख रुपैयाँ घाटा बेहोर्दा गत आवमा ६ करोड १० लाख नाफा कमाएको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स चालु आवमा २० करोड ७६ लाख रुपैयाँ संकुचनमा गएको छ । एकातर्फ, बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदर न्यून हुँदा प्रतिफल कम प्राप्त गरिरहेका निर्जीवन बिमा कम्पनीले जेनजी प्रदर्शन, बाढी पहिरो लगायतबाट भएको क्षतिको दाबी भुक्तानी ठूलो मात्रामा गर्नुपर्दा नाफामा त्यसको असर देखिएको हो ।












