प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर सोमबारदेखि बिक्री खुला गरेको हो ।
यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी शेयरहरू आम सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड टेष्ट मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ । आवेदन बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।
सिटिजन लाइफ म्याग्दी शाखाद्वारा तातोपानी कुण्डमा सरसफाई तथा अन्य सामग्री वितरण
सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिकउत्सवको अवसरमा कम्पनीको म्याग्दी शाखाले विश्वको प्रसिद्ध प्राकृतिक उपचार केन्द्र बेनी नगरपालिका ४ तातोपानी कुण्डमा सरसफाई तथा अन्य सामग्री वितरण गरेको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्ष कृष्णबहादुर खड्का रहेका थिए । उक्त कार्यक्रमको सभापतित्व सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा प्रमुख भावना पौडेलले गरेकी थिइन् ।
सो कार्यक्रममा तातोपानी व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरू उपस्थिति भए । तातोपानी व्यवस्थापन समितिले सिटिजन लाइफको टिमलाई सम्मानसँगै मायाको चिनो हस्तान्तरण समेत गरेको छ ।
उक्त कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षले तातोपानी कुण्डको बारेमा विस्तृत रुपबाट जानकारी गराएका थिए ।
कम्पनीकी शाखा प्रमुख भावना पौडेलले सिटिजन लाइफको र कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन् ।
कार्यक्रममा सिटिजन लाइफ म्याग्दी शाखाको कर्मचारी र एजेन्सी म्यानेजरहरूको समेत उपस्थिति थियो। उक्त सरसफाई सामग्री वितरण कार्यक्रममा १२ हजार बराबरको कार्यक्रम हस्तान्तरण गरिएको थियो।

सामसङ नेपालले गर्यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत
सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोनहरू — ग्यालेक्सी जेड फोल्ड ७ — सार्वजनिक गर्दै नवप्रवर्तनको सीमालाई पुनः परिभाषित गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा, सामसङले गर्वका साथ यी नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको छ।
यस कार्यक्रमले सामसुङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको शक्तिशाली सहकार्यलाई चिन्हित गरेको छ, जसले परिवर्तनकारीहरूको अर्को पुस्तालाई प्रेरित गर्न प्रविधि, मिडिया र उद्यमशीलतालाई एकताबद्ध गरी व्यापार क्षेत्रमा नवीनतालाई अगाडि बढाउँदै, अत्याधुनिक प्रविधि र उद्यमशीलता बीचको एक अद्वितीय सहकार्यलाई चिन्हित गरेको छ। आफ्नो दूरदर्शी व्यावसायिक अन्तर्दृष्टिका लागि परिचित शार्कहरूले सामसङको अर्को पुस्ताको फोल्डेबलहरूलाई परिभाषित गर्ने क्रान्तिकारी डिजाइन, कार्यसम्पादन र एआई संचालित सुविधाहरूको अन्वेषण गरे।
यस कार्यक्रमले दुई अग्रगामी शक्तिहरू, अत्याधुनिक प्रविधि र साहसी उद्यमशीलता, बीचको अनौठो सहकार्यको प्रतीक प्रस्तुत गरेको छ। व्यापारिक दृष्टिकोणका लागि परिचित शार्कहरूले सामसङका नयाँ पुस्ताका फोल्डेबलहरूमा समावेश क्रान्तिकारी डिजाइन, प्रदर्शन, र एआई(समर्थित विशेषताहरूको अनुभव गरे।
यस अवसरमा बोल्दै, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ सधैं मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहँदै आएको छ, जुन शार्क ट्याङ्क नेपालको आत्मासँग गहिरो रूपमा मेल खान्छ। नयाँ ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक हुन् — उनीहरूका लागि बनेका छन् जो विचार र सिर्जनशीलताद्वारा नेतृत्व गर्छन्।”
ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्याउँछ र फोल्डेबल प्रविधिलाई झन् आकर्षक बनाएको छ। यसरी, सामसङले फेरि एकपटक नवप्रवर्तनमा आफ्नो अग्रणी स्थान सुदृढ गरेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको डिसीईओमा दीपक कुमार धूत नियुक्त
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपक कुमार धूत नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको असोज २८ मा बसेको ४२ औँ बैठकले धूतलाई कार्तिक २ गतेबाट लागू हुने गरी डिसीईओ पदमा नियुक्त गरेको हो । निवर्तमान नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण कम्पनीको सेवाबाट निवृत्त भएपछि कम्पनीले नायब महाप्रबन्धकको रुपमा कार्यरत दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।
उनी निर्जिवन बीमा क्षेत्रका एक कुशल व्यवसाय रणनीतिकार तथा निर्जिवन बीमाको प्राविधिक विषयमा विशेष दख्खल रहेको व्यक्ति हुन् । इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयबाट बजार व्यवस्थापन बिषयमा स्नातकोत्तर गरेका धूत,भारतीय बीमा संस्थानको फेलाे सदश्य रहिआएका छन् ।
३० वर्षदेखि नेपालको निर्जिवन बीमा क्षेत्रमा कार्यरत धूतले युएनडीपीबाट इन्क्लुसीभ इन्स्याेरेन्स सम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षकको उपाधि समेत प्राप्त गरेका छन् । नायव प्रमुख कार्यकारी अधिकृतको भुमिकाबाट कम्पनीले आफ्नो व्यवसायिक सफलता तथा कम्पनीको लक्ष्य प्राप्तीमा थप उर्जा मिल्ने अपेक्षा गरिएको छ ।
सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन
सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन् । कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो ।
कात्तिक २ गते सम्पन्न बैंकको २१औं साधारण सभाबाट चार वर्षका लागि सञ्चालकमा तुकप्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निवाचित भएका थिए । यस्तै सभाले बैंकको चालु आर्थिक वर्षको लेखा परीक्षण गर्न एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स लेखापरीक्षक नियुक्त गरेको छ।
दुई मन्त्रीले लिए शपथ
प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू डा. सुधा शर्मा र बब्लु गुप्ताले सपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा। सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।
खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको छ ।
नेपालमा जस्तो अवसर अन्त कहीँ देख्दिन : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताउनुभएको छ । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उहाँले भन्नुभयो “नेपालमा सम्भावना नै छैन, नेपालको पुँजीले केही हुँदैन, यहाँ व्यवसायको वातावरण नै छैन भन्ने जस्ता बनाएको मात्र सुन्छु, तर मैले भने नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन ।”
अध्यक्ष ढकालले नेपालमा अझै धेरै क्षेत्रहरु एक्स्प्लोर गर्न बाँकी रहेको प्रसंग उल्ले गर्दै भन्नुभयो “यहाँ त हामीले केही गरेकै छैनौँ । जतिधेरै एक्स्प्लोर गर्यो त्यति नै अवसरहरु भेटिन्छन् । ती अवसरहरुलाई सम्भव बनाउन हामी लाग्नुपर्ने अवस्था छ । त्यसैले प्रयास नै नगरी नेपालमा सम्भावना नै छैन भन्नु गलत हो ।”
नेपालमा लगानीका लागि वातावरण नै नभएको भन्ने गरिए पनि त्यो सत्य नभएको भन्दै नेपालमा वैदेशिक लगानीका लागि अमेरिकामा रहेका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “नेपाल उद्योग वाणिज्य महासंघको पहल र अगुवाईमा लगानीमैत्री वातावरणका लागि आवश्यक कम्तीमा पनि ३० वटा कानुन संशोधन गरिएको छ । सरकारले निजी क्षेत्रकै संलग्नतामा गठित अर्थतन्त्रको सुधार सम्बन्धी उच्चस्तरीय आयोगले दिएका सुझावहरुको कार्यान्वयन सुरु गरिएको । पछिल्लो समय नेपालमा लगानीका सम्भावनाहरुको खोजी स्वदेश तथा विदेशी लगानीकर्ताहरुले गरिरहेको अवस्था छ । त्यसैले लगानीको वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्दछ ।”
आफूहरुले नेपालमा लगानीको सम्भावना छ भन्ने कुरा प्रमाणित गर्न र डोमेस्टिक पुँजी परिचालन गरेर पनि ठूला लगानीहरु गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि स्वदेशी व्यवसायी तथा गैरआवासी नेपालीहरुको समेत संलग्नतामा हालसालै १० अर्ब रुपैयाँको नेपाल डेभ्लप्मेन्ट पब्लिक लिमिटेड (एनडिपी) स्थापना गरेर काम नै सुरु गरिएको जानकारी दिनुभयो ।
नेपालमा हुने वैदेशिक लगानीलाई थप प्रवर्धन गर्न तथा लगानीका लागि आवश्यक पर्न सक्ने समस्याको सहजीकरण गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले एफडिआइ हेल्प डेस्कको स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले नेपालमा लगानीका लागि आग्रह गर्नुभयो ।
यहाँले नेपालमा लगानीको वातावरण रहेको भनिरहँदा हालै भएको निजी क्षेत्रका व्यक्तिहरुका सार्वजनिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा समेत आक्रमण भएको सम्बन्धी एक प्रश्नमा उहाँले भन्नुभयो “निजी क्षेत्र जस्तो मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान तथा ८६ प्रतिशत रोजगारी दिएको क्षेत्रलाई यसरी हतोत्साही हुनेगरी भएको आक्रमणले राम्रो सन्देश नदिएको र यो एकदमै गलत काम भएको छ । ”
अध्यक्ष ढकालले निजी क्षेत्र नै मुलुकको आर्थिक विकासको मुख्य इञ्जिन हो भन्ने तथ्यलाई बिर्सिएर सामाजिक सञ्जाल एवं आम मानिसहरुमा व्यवसायीहरु भनेका नाफा मात्र कमाउने हुन् भन्ने जस्तो गलत भाष्य निर्माण गरिएकाले यस्तो गलत मानसिकतामा परिवर्तन जरुरी रहेको बताउनुुभयो ।
उहाँले भन्नुभयो “मुलुकको अर्थतन्त्रमा र प्रत्यक्ष रोजगारीमा यतिधेरै योगदान गरिरहेको निजी क्षेत्रप्रतिको सोच र आम धारणा अत्यन्तै गलत छ । चाहे राजनीतिक दलहरु हुन्, सरकार एवं कर्मचारीतन्त्र तथा आम मानिसमा नै यो धारणामा परिवर्तन नितान्त जरुरी छ । यदि त्यसो हुन सकेन भने आगामी दिनमा यस्ता दुर्घटनाहरु नरोकिन पनि सक्छन् ।”
गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने
गरिमा विकास बैंक मर्जर तथा एक्विजिसनमा जानृ भएको छ । मर्जर तथा एक्विजिसन प्रस्ताव र लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ ।
सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिन्धु विकास बैंकको ७ लाख १५ हजार कित्ता सेयर बिक्रीमा
सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
उक्त सेयर यसअघि बैंकका विद्यमान सेयरधनीहरूलाई बिक्रीमा राखेको थियो । तर, कुनै पनि सेयरधनीले आवेदन नदिएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
बैंकको उक्त सेयरमा योग्य इच्छुक जो कोही व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
नबिल बैंकले हटायो बचत खातामा दिइरहेको छुट सुविधा
नबिल बैंकले विभिन्न बचत खातामा दिइरहेको छुट सुविधाहरू हटाएको छ । बैंकले कात्तिक १ गतेबाट खोलिने नयाँ खाताहरूमा लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा र डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा हटाएको हो ।
बैंकका अनुसार लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा कात्तिक १ गतेबाट खोलिने नयाँ बचत खाताबाट हटाइएको छ ।
यस्तै, डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा भने नबिल प्रिमियम नारि बचत खाता, कर्मशील बचत खाता, जेन–एन अकाउन्ट, सेयरहोल्डरर्स सेभिङ्गस एकाउन्ट, प्रिमियम प्यारोल सेभिङ्गस एकाउन्ट, प्रिमियम रेमिट्यान्स सेभिङ्गस एकाउन्टबाट हटाइएको हो । छुट सुविधा हटाएसँगै अब बैंकको सेवा शुल्क सूची (एससीएस) अनुसार लागू हुनेछ ।
आईएमई लिमिटेडले नगद लाभांश वितरण गर्ने
आईएमई लिमिटेडले नगद लाभांश वितरण गर्ने भएको छ । नगद लाभांश पारित गर्न आईएमई लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २५ गते बिहान ९ बजे काठमाडौंमा २५ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, साहायक कम्पनी आईएमई खल्तीको आव २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्ने र चालु आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, सभाले सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सानेई ताकाइची
सानेई ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री चुनिएकी छन् । जापानी संसदका दुवै सदनमा भएको मतदानमा उनलाई बहुमत प्राप्त भएको हो ।
६४ वर्षीया ताकाइची दक्षिणपन्थी नेतृ हुन् । उनलाई जापानकी ‘आइरन लेडी’ भनेर पनि चिनिन्छ । जापानको प्रधानमन्त्री बन्ने यो उनको तेस्रो प्रयास हो ।
ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् । एलडीपीले पछिल्ला पाँच वर्षमा चौथोपटक नयाँ प्रधानमन्त्री चयन गरेको हो । पछिल्ला वर्षहरूमा यो पार्टी अनेक घोटालाका आरोपहरूमा घेरिएको थियो ।
सानेई ताकाइची जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी पनि हुन् । यसअघि उनी सरकारमा मन्त्रीको रूपमा काम गरिसकेकी छिन् । उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर पनि रहिसकेकी छिन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताकाइचीको प्रशंसा गर्दै उनलाई ‘अत्यन्त सम्मानित र बुद्धिमान नेतृ’ भनेका थिए ।
प्रधानमन्त्री बनेपछि ताकाइचीका अगाडि धेरै चुनौतीहरू रहनेछन् । जस्तै, सुस्त अर्थतन्त्रलाई गति दिनु, अमेरिका–जापान सम्बन्धमा देखिएको खटासलाई सुधार्नु, र विभाजित सत्तारूढ पार्टीलाई एकताबद्ध गर्नु ।













