जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बीमा दाबी द्रुत गतिमा गर्दै शिखर इन्स्योरेन्स, छोटो समयमा ३० करोड भुक्तानी

जेन जी आन्दोलनका कारण शिखर इन्स्योरेन्सका विमितहरुको सम्पत्तिमा भएको क्षतिहरुको बीमा दाबी फछ्यौट गर्न शिखर इन्स्योरेन्सले आफ्नो प्रतिवद्धता अनुरुप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बीमा दाबी भुक्तानी गर्दै आएको छ । भदौ २३ र २४ मा भएको क्षतिहरु मध्ये कम्पनीबाट छोटो समयमै ४० भन्दा बढी विमितहरुलाई करिब ३० करोड रुपैयाँको दाबी भुक्तानी भएको हो ।

राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिवद्धता अनुरुप विमित ग्राहकहरुले भोग्नु परेको कठिन परिस्थितिमा तत्काल राहत पुऱ्याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी सूचनामा भनेको छ, ‘दाबी प्रकयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रकृया, डिजिटल सेवाका साथै दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएका छौं भने कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मुल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका छौं । शिखर इन्स्योरेन्सले विगतमा २०७२ को भुकम्प तथा गत वर्ष परेको बाढीका कारण सृजित बीमा दाबीको समेत पारदर्शी र द्रुत गतिमा बीमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी पहिचान स्थापित गर्न सफल रहँदै आएका छौं ।’

आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन कम्पनी निरन्तर कटिवद्ध रहेको जनाएको छ । कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको हो ।

लक्ष्मी सनराइजको अगुवाइमा दूधकोशी–२ जलविद्युत आयोजनामा १५ अर्बको लगानी सम्झौता

लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्था र दूधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच ७० मेगावाट क्षमताको दूधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सोलुखुम्बु जिल्लाको दूधकोशी नदीमा निर्माण हुने अर्धजलासय प्रकृतिको यस आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ। यो महत्वपूर्ण सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दूधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनाले ७ असोज २०७७ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति प्राप्त गरिसकेको छ भने ६ मंसिर २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत सम्पन्न गरिसकेको छ ।

यस कम्पनीका मुख्य प्रवर्द्धकमा आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।

परियोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा रहेको सहवित्तीयकरणमा सहभागी बैंकहरूले कुल परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी ३० प्रतिशत रकम भने कम्पनीका संस्थापकहरूबाट जुटाइनेछ ।

यस सहवित्तीयकरणमा एभरेष्ट बैंक लिमिटेड सह-अगुवा बैंकको रूपमा र सानिमा बैंक लिमिटेड सदस्य बैंकको रूपमा रहेका छन् । कूल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रुपैयाँ रहने छ ।

यस आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । यसले देशकै ठूला स्वतन्त्र ऊर्जा उत्पादकहरूमध्ये एकको रूपमा यस आयोजनालाई स्थापित गर्नेछ ।

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान पानी प्युरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यो सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीहरू लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीहरूका लागि यो सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बताए । बैंकको यस परोपकारी कार्यको लागि अस्पतालले धन्यवाद ज्ञापन गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा मातृका आँखा उपचार केन्द्रले निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्ने

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रमको सम्झौता भएकाे छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको हो ।

यस सम्झौता अनुसार, मातृका आँखा उपचार केन्द्रले आँखा जाँच, भिजन स्क्रिनिङ, उपचार तथा विशेषज्ञ टोलीमार्फत निःशुल्क मोतिबिन्दु शल्यक्रिया उपलब्ध गराउनेछ। यस क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आवश्यक औषधि, इन्ट्राअक्युलर लेन्स, एनेस्थेटिक औषधि तथा शल्यक्रिया–पूर्वका आवश्यक परीक्षणहरू पनि निःशुल्क उपलब्ध गराइनेछ।

यसैगरी, काठमाडौं महानगरपालिका वडा नं १८, मार्फत छानिएका ५० जना बिरामीहरूको मोतिबिन्दु शल्यक्रिया असोज २४ गते मातृका आँखा उपचार केन्द्र, पुरानो बानेश्वरमा सञ्चालन गरिनेछ।

सम्झौता कार्यक्रमको क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, कार्यकारी व्यवस्थापन समुहका कर्मचारी तथा मातृका आँखा उपचार केन्द्रका अध्यक्ष सुरज श्रेष्ठ र प्रशासकीय अधिकृत कल्याण ढुंगानाको उपस्थिति रहेको थियो।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस सम्झौता मार्फत समुदायमा स्वास्थ्य सुरक्षाको पहुँच विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

समुदायलाई प्रत्यक्ष लाभ हुने खालका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिइने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ।

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् ।

यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम् ६ महिना देखि अधिकतम् २ वर्ष सम्मको लक्ष्य राख्नुपर्ने हुन्छ । ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति व्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पुरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् । मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै ग्राहकले आफुले इच्छाईएको रकम समेत ‘गोल बेस्ड सेभिङ्ग’ मा टप अप गर्न सक्नेछन् ।

उक्त योजनामा राउण्डअप सेभिङ्गको सुविधा पनि रहेको छ । राउण्डअप सेभिङ्ग अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् । यस राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्पहरु रहेका छन् । यस राउण्डअप सुविधा ग्राहकले आफनो आवश्यकता अनुरुप सक्रिय तथा निस्किृय गर्न सक्नेछन् । साथै विकल्पहरु पनि आवश्यकता अनुरुप परिवर्तन गर्न सक्नेछन् ।

नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनौट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।

फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।

प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनौट गरिएको छ भने २०० रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।

उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम् ब्याजदर प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले आफ्नो मोबाईल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत् सिधै बचत गर्न सक्नेछन् । साथै उक्त योजना आवद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नुहुनेछ । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाईल बैंकिङ्गबाट संचालन गर्न सकिनेछ ।

आफनो ‘गोल बेस्ड सेभिङ्ग’ को सम्पूर्ण कारोवारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत् हेर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा सम्मानित बैंक हो ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारण सभाबाट ८ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे बैंक लिमिटेडको २७ औँं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १० गते शुक्रबार होटल पोखरामा सम्पन्न सभाले बैंकको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्तापूँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । माछापुच्छ«े बंैक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले उक्त नगद लाभांश दशै अगाडी नै सम्बन्धित शेयरधनीको खातामा पठाइसक्ने छ ।

बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी १२ अर्व ८ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १६ रुपैंया २१ पैसा कायम गरेको थियो ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सिटिजन्स बैंककाे लाभांश घाेषणा, आफ्ना सेयरधनीलाई ७७ कराेड ७३ लाख रूपैयाँ बाँड्ने

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज (असोज १० गते शुक्रबार) बसेको ४९१ औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी रु. १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशतले हुने रु ७३ कराेड ८४ लाख ५० हजार ६४८.३० बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६ प्रतिशतले हुने रु ३ कराेड ८८ लाख ६५ हजार ८२३.५९ सहित जम्मा रु ७७ कराेड ७३ लाख १६ हजार ४७१.८९ लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ ।

२०६४ साल बैशाख ७ गतेबाट कारोवार सञ्चालन गरि विगत १९ वर्ष देखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ ।

आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको औषत लाभांश दर ११.८७ प्रतिशत रहेका छ भने, प्रस्तावित लाभांश सहित पछिल्लो १० वर्षको औषत लाभांश दर १०.५२ प्रतिशत रहेको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ , फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बीमा प्राधिकरणको नयाँ अध्यक्षमा शर्मा

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनियताको शथप लिएका छन् । शर्माले अर्थमन्त्री रामेश्वर खनाल समक्ष सपथ लिएका हुन् । उनले आजै (असोज १० गते शुक्रबार) सपथ लिएका हुन् ।

उनी गत बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयानुसार प्राधिकरणको अध्यक्ष नियुक्ति भएका थिए । नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्नेछन् ।

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो । युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठमा धेरै सार्वजनिक सम्पत्तिसंगै उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनी भएको उल्लेख गर्दै महासंघले आमसर्वसाधारण तथा उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सो सुनिश्चितता आवश्यक भएकोमा जोड दिएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितता र दोषीमाथि कडा भन्दा कडा कारवाहीका लागि मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । उहाँले आन्दोलनका क्रममा भएको आक्रमण तथा तोडफोडले उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै करिब ८० अर्ब रुपैया बराबरको क्षति भएको जानकारी दिनुभयो । “देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ सरकारसंग समन्वय एवं सहकार्य गर्न तयार छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रको आवश्यकता र निर्वाध काम गर्न पाउने सुनिश्चितता आवश्यक छ । ” अध्यक्ष ढकालले भन्नु भयो ।

उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हाले ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको सदाशयता र सहयोगमा देखिएको तत्परता सकारात्मक भएको बताउनु भयो । उहाँले फरक परिस्थतीमा वर्तमान सरकार गठन भएपनि आम सर्वसाधारण र व्यवसायिक सुरक्षाको लागि सरकार गम्भीर रहेको बताउनु भयो । मन्त्री सिन्हाले मुलुकको उद्योग व्यवसायको पुनरोत्थान र सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनका क्रममा निजी क्षेत्र माथी प्रहार हुने गरेकोले निजी क्षेत्रलाई हेर्ने दृष्किोण परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो । यस्तै उहाँले पुर्ननिर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग एवं प्रयोग गर्नुपर्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल सन २०२६ नोभेम्बरमा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने हँुदा अहिलेको परस्थितीमा स्तरोन्नतिको निर्णय रोक्न सरकरले संयुक्त राष्ट संघ समक्ष आग्रह गर्नु पर्ने सुझाव दिनुभयो ।

यस्तै उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आमरुपमा कानूनी राज्यको प्रत्याभूति दिनु अहिलेको प्राथमिकता रहेको बताउनुभयो । उहाँहरुले युवा (जेन जी) पुस्ताको आन्दोलन र चाहना बमोजिम भ्रष्टाचारमुक्त समाज निर्माण गरि सबै तहमा शुसासनको जग बसाल्नु आजको आवश्यक्ता भएको उल्लेख गर्दै आम नागरिकले वर्तमान सरकारबाट त्यो अपेक्षा गरेको धारणा राख्नु भयो ।

बडा दशैंको उपहार’का नाममा ठगी धन्दा

नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलिरहेको भ्रमपूर्ण सूचना सम्बन्धमा सचेत गराएको छ। बैंकका अनुसार केही नक्कली प्लेटफर्महरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कारजस्ता झूटा आर्थिक लाभको आशामा ठगी वा फिसिङ गर्ने उद्देश्यका सूचना प्रचार गर्दै आएका छन्।

बैंकले ग्राहकहरूलाई यस्तो सूचना वा वेबसाइटमा विश्वास नगर्न अनुरोध गर्दै कुनै पनि जानकारीको लागि केवल आधिकारिक वेबसाइट www.nabilbank.com र nbank.nabilbank.com मा मात्र भरोसा गर्न आग्रह गरेको छ।

अत्यावश्यक परेमा बैंकको ग्राहक सेवा केन्द्र ०१-५९७००१५ वा [email protected] मा सम्पर्क गर्न सकिने जानकारी पनि बैंकले दिएको छ।

पछिल्लो समय समाजिक सञ्जालमा नबिल बैंकको नाम प्रयोग गरी बडा दशैंको उपहार भन्दै लिङ्क शेयर भइरहेको देखिएको छ । जसमा क्लिक गर्दा ग्राहकका बैंक खाता लगायतका गोप्य सामाग्री असुरक्षीत हुन सक्छन् ।



‘सेवाग्राहीसँग घुस माग्नेको जानकारी दिनू, तत्काल कारवाही हुन्छ’

प्रधानमन्त्री शुशीला कार्कीले सेवाग्राहीसँग घुस माग्ने कर्मचारीलाई तत्काल कारवाही हुने बताएकी छन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सेवा प्रवाहको क्रममा घुस माग्ने, ढिलासुस्ती तथा अनेक प्रक्रिया देखाएर पन्छिने कर्मचारीको जानकारी दिन अनुरोध गरेकी हुन् । उनले प्रधानमन्त्री कार्यालयको हटलाइन नम्बरमा सम्पर्क गरेर जानकारी दिन र त्यस्तो कर्मचारीलाई तत्काल कारवाही हुने प्रतिबद्धता गरेकी हुन् ।

सन्तोष राठी: क्रिकेटरदेखि एनआईसी एशिया बैंकका कामु सीईओसम्म

विराटनगरको मारवाडी समुदायका प्राय: सवै युवा पुस्ता उद्योग र व्यापारमा संलग्न छन् । उनीहरु उद्योग र व्यवसायमा नयाँ प्रविधिको खोजी गरिरहेका छन् । तर, त्यही समुदायका सन्तोष राठी भने पुर्खाले गर्दै आएको उद्योग व्यवसाय छाडेर बैंकको जागिर तर्फ लागे । उनी यसबेला एनआईसी एशिया बैंकको कामु सीईओ बनेका छन् ।

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले दिएको राजीनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले गत साता कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । २०७९ मा दोस्रो कार्यलकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका न्यौपानेले कार्यकाल सकिनुभन्दा एक वर्षअघि नै राजिनामा दिएसँगै राठीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत राठीलाई बैंकले सीईओ नियुक्त नहुँदासम्म कामु सीईओको जिम्मेवारी दिएको हो । राठीलाई नै बैंकले सीईओ नियुक्त पनि गर्न सक्नेछ ।

सन्तोष विराटनगरको मारवाडी समुदायमा सामान्य परिवारका प्रतिनिधि हुन् । उनका बुबा शंकर भन्सार एजेन्ट थिए । उनका दाजु प्रदिप कपडाका व्यापारी हुन् । सन्तोष न त बुबासँगै भन्सार एजेन्टको काम सिक्न हिँडे न त दाजुसँग कपडाको व्यापार गर्न मिटर समाउन विराटनगरको मेन बजारमा रहेको पसल पुगे ।

उनका दाजु प्रदिपको अहिले पनि विराटनगरमा जय शंकर जेनेरल स्टोर र भारतको जोगबनीमा कपडाको नारायण स्टोर छ ।

बुवा र दाजुको पेसातर्फ सन्तोष आर्कषित भएनन् । उनलाई पढ्ने र क्रिकेटर बन्ने हुटहुटी चल्यो । त्यसैक्रममा उनी २०४८ साल तिर विराटनगरको युथ क्रिकेट क्लबमा छिरे । त्यही क्लबमा रहेर एक दशकसम्म क्रिकेट खेल्दा उनी राष्ट्रिय टोलीमा समावेश भए । अलराउण्डर सन्तोष ओपनर फाष्ट बलर र ब्याटिङ गर्थे । उनी भन्छन्, ‘क्रिकेट मेरो प्यासन थियो ।’

२०४८ सालमा धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामा उनले पूर्वाञ्चलवाट डेब्यू गरे । त्यसपछि उनले एक दशकसम्म राष्ट्रिय क्रिकेट खेले । त्यसबखत उनी क्लब स्तरीय म्याच खेल्न पाकिस्तानको कराँची, भारतको बंगलोर, दिल्ली, रायपुर र इन्दोरसम्म पुगे ।

यहाँको अरनिको बोडिङ स्कुलवाट एसएलसी, देवकोटा उच्च माविवाट प्लस टु, कोशी कलेजबाट व्यवस्थापनमा स्नातक र यहीको डिग्री कलेजबाट स्नातकोत्तर उत्तीर्ण गरेका सन्तोश क्रिकेट खेलसँगै यहीको कोशी र मेरिल्याण्ड कलेजमा पढाउथे पनि ।

क्रिकेट खेल्ने र कलेज पढाउने सिलसिलामा सन्तोषलाई बैंकमा जागिर खाने नयाँ हुटहुटी चल्यो । परिवारका सबै सदस्यले उनलाई जागिर नखाई उद्योग खोल्ने वा व्यापार गर्न सुझाए । परिवारका कान्छ र प्याउला अनि दृण स्वभावका सन्तोष परिवारको सुझाव नमानी बैंकको जागीर खोज्न भौतारिए ।

त्यसैक्रममा उनी सन् २००३ मा कुमारी बैंकको सहायक सुपर भाइजरमा नियुक्त भए । उनले त्यहाँ चारवर्ष अनुभव बटुले । त्यसपछि उनी बैंक अफ एशियामा सिनियर अफिसरमा नियुक्त हुँदै ब्राञ्च म्यानेजर भए ।

त्यसैबेला बैंक अफ एशिया र नेपाल इन्ड्रष्टेरियल कर्मशीयल बैंक मर्ज भएपछि एनआईसी एशिया बैंक बन्यो । सन्तोष त्यो बैंकको विराटनगर शाखाको पहिलो म्यानेजर बन्दै अहिले यही बैंकको कामु सीईओ छन् । उनी भन्छन्, ‘पूर्खाले गर्दै आएको पेशा छाडेर आफनो बेग्लै परिचय बनाउने लक्ष्य थियो, अहिले त्यसकै लागि संघर्ष गरिरहेको छु।’