सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ। बैंकले कर प्रयोजनसहित १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ लाभांश बाँड्नेछ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर सानिमाको साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश रकम पाउनेछन्।
सुरक्षाकर्मीको निगरानीमा पूर्व प्रधानमन्त्री ओलीदेखि सचिवसम्म
जेनजी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिनका लागि गठित जाँचबुझ आयोगले पाँच जनालाई उपत्यका छाड्न रोक्न सिफारिस गरेसँगै सुरक्षाकर्मीले उनीहरुमाथि निगरानी बढाएको छ। आइतबार बसेको आयोगको बैठकले छानबिनको दायरामा रहेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमासमेत रोक लगाउन सरकारलाई पत्र लेखेको थियो।
आयोगले सिफारिस गरे पनि सरकारले भने यसबारेमा हालसम्म कुनै निर्णय गरेको छैन। सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारेमा दसैं बिदापछि निर्णय हुन सक्ने संकेत गरेका छन्। ‘आइतबार मन्त्रिपरिषद्को बैठकमा राहदानी रोक्का सम्बन्धी कुनै निर्णय भएको छैन,’ मन्त्री खरेलले भने।
आयोगले ओली र लेखकसँगै तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान नदिन भनेको हो। सँगै, उनीहरुलाई काठमाडौं उपत्यका छाड्न नदिन पनि भनिएको छ।
आयोगले बयानका लागि उनीहरुसँग सोधपुछ गर्नुपर्ने जिकिर गर्दै यस्तो सिफारिस गरेको हो। गृह मन्त्रालयले भने प्रहरीलाई उल्लेखित ५ व्यक्तिमाथि निगारनी राख्न निर्देशन दिएको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले बर्बर दमन गरेको थियो। प्रदर्शनकारीमाथि अत्याधुनिक हतियारबाट अन्धाधुन्ध गोली चलाइएको थियो। जसका कारण १९ जनाको त्यही दिन मृत्यु भएको थियो भने ३०० भन्दा बढी गोली लागेर घाइते भएका थिए।
प्रहरी दमनको विरोधमा २४ गते कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनी मच्चिएको थियो। सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। दुई दिनको घटनामा ६ दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्। कैयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। सोमबार थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
त्यसैले ओलीदेखि संलग्न सबैलाई अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। आयोगले सिफारिस गरे पनि हाल प्रहरीकोमा भने त्यस प्रकारको कुनै सूचना पुगेको छैन।
‘अहिलेसम्म कुनै औपचारीक पत्र आएको छैन। तर, हामीले मौखिक आधारमा निगरानी भने गरेका छौं,’एक उच्च प्रहरी अधिकृले भने।
प्रदर्शनकारीहरु आगो लगाउन बालुवाटार पुगेपछि तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टरबाट निस्किएका थिए। तत्कालीन गृहमन्त्री लेखकले भने २३ गते बेलुका नै राजीनामा दिएका थिए। ओली हाल भक्तपुरको गुण्डू क्षेत्रमा बस्दै आएका छन्। तत्कालीन गृहमन्त्री भने मातृ शोकमा छन्।
त्यतिखेरका गृहसचिव रहेका दुवाडीलाई नयाँ सरकारले असोज ५ गते सरुवा गरिसकेको छ। यस्तै, काठमाडौंका तत्कालीन सीडीओ रिजाल पनि सरुवामा परेका छन्।
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख थापाले भने अवकाश पाइसकेका छन्। उनले भदौ २९ गते अवकाश पाएका थिए।
निजी क्षेत्रलाई देर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भएपनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनु भयो । आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुभ्mन नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उहाँले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गर्नु भयो ।
निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको उहाँले बताउनु भयो अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन गरिएको जानकारी दिनुभयो । “हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तीको सामना गर्दै यो अवस्थामा आइपुगेका हौं । भाद्र २३ र २४ गतेपछिको जेनजी आन्दालदन पछि सरकारी तथा निजी सम्मपतीमा ठूलो क्षति पुगेको छ । हामी सामु यो अवस्थाबाट माथि उठ्नु पर्ने चुनौती छ । ” उहाँले भन्नु भयो ।
यद्यपी वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासंघले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसंगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा राख्नुभयो ।
महासंका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरुमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु पर्ने बताउनु भयो । उहाँले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तरराष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने बताउनु भयो । महासंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यक्ता भएको बताउनु भयो ।
महासंघका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि सरकारले निजी क्षेत्रसंग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नु पर्ने बताउनु भयो । सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले सधैं खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका वियषमा पैरवी गर्दै आएको बताउनु भयो । महासंघ र सेजनबीच लामो समय देखि सहकार्य रहँँदै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत सो सहकार्यको निरन्तरतामा जोड दिनुभयो । महासंघले बदलिँदो पछिल्लो राजनीतिक परिीसथतीमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासंघले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन आग्रह समेत गरेको छ ।
लक्ष्मी सनराइज बैंकले अनलाइन ठगीबाट सचेत रहन आग्रह
लक्ष्मी सनराइज बैंक लिमिटेडले अनलाइन ठगीबारे आवश्यक चेतावनी जारी गरेको छ। बैंकका अनुसार हाल विभिन्न सामाजिक सञ्जाल तथा व्हाट्सएप र भाइबर जस्ता मेसेजिङ एपमार्फत नेपाली जनताका लागि नयाँ प्रधानमन्त्रीको ३० हजार रुपैयाँको प्रशंसा कोष जस्ता हानिकारक लिंकहरू फैलिइरहेका छन्।
ती लिंकहरूमा क्लिक गर्दा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग ह्याक हुन सक्ने खतरा हुने बैंकले जनाएको छ। साथै सामाजिक सञ्जालका पासवर्ड तथा व्यक्तिगत विवरण जोखिममा पर्न सक्ने बताइएको छ। यसले व्यक्तिहरूको वित्तीय र व्यक्तिगत सुरक्षामा सीधा असर पार्न सक्छ।
यसकारण, बैंकले यस्ता मेसेजहरू प्राप्त भएमा ती लिंकहरूमा कहिल्यै क्लिक नगर्न र मेसेजहरू डिलिट गर्न आग्रह गरेको छ। यस्ता ठगी प्रयासहरूबाट आफूलाई मात्र नभई अरूलाई पनि सचेत गराउनुपर्ने जोड दिइएको छ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले ग्राहक तथा सर्वसाधारणसँग आफ्नो वित्तीय जानकारी सुरक्षित राख्न सतर्क रहन र अनावश्यक लिंकमा क्लिक नगर्न विशेष आग्रह गरेको छ ।

व्यवसायीको मनोबल उकास्न कर्जा पुनर्संरचनादेखि कम ब्याजदरमा ऋण सुविधा : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियत प्रदान गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको अन्तर्क्रियामा उनले जेनजीको आन्दोलनका क्रममा भएको आगजनीले निजी क्षेत्रको मनोबल कमजोर बनेकाले कर्जा पुनर्संरचना/पुनर्तालिकिकरण र सहुलियत दरमा कर्जा प्रवाहका कार्यक्रम ल्याइने बताए।
‘जेनजीको प्रदर्शनपछि अब अर्थतन्त्र मन्दीमा जाने हो कि? मूल्यवृद्धि बढ्ने हो कि? भन्ने आशंका पैदा भइरहेका छन्। तर, क्षतिपछिको समग्र अवस्था हेर्दा लक्षित सीमाभन्दा माथि मूल्यवृद्धि जाने देखिंदैन,’ खरेलले भने, ‘विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त छ। बाह्य क्षेत्रमा असर नगरेसम्म रेमिटेन्समा पनि प्रभाव पर्ने देखिंदैन।’ उनले बैंकहरुसँग तत्काल खर्च गर्न सकिने ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको र ब्याजदर पनि सहज अवस्थामा रहेकाले भौतिक संरचना पुनर्निर्माणमा समस्या नहुने बताए।
‘अबको मुख्य विषय भनेको निजी क्षेत्रको मनोबल कसरी माथि उकास्न सकिन्छ भन्ने हो। तरलता पर्याप्त छ। ब्याज पनि न्यून छ। लगानी गर्दा प्रतिफल प्राप्त गर्न सकिने वातावरण भएकाले हामी धेरै समस्यामा छैनौं,’ खरेलले भने। उनले वित्तीय स्थिति सहज अवस्थामा रहेकाले चालु आर्थिक वर्ष साढे पाँच देखि ६ प्रतिशतसम्मको आर्थिक वृृद्धिदर हासिल गर्न समस्या नहुने दाबी गरे।
बुधबारदेखि भन्सारमा सन्दर्भ मूल्य हट्दै
सरकारले वस्तु आयातमा सन्दर्भ मूल्यका आधारमा लिँदै आएको भन्सार परिवर्तन गरी वास्तविक बिजकका आधारमा भन्सार लिने प्रणाली सुरु गर्न लागेको छ । त्यसका लागि भन्सार विभागले अनलाइन भ्यालुएसन डेटाबेस नामक अनलाइन प्रणाली बुधारदेखि पाइलटिङका रूपमा कार्यान्वयनमा ल्याउने छ ।
विराटनगरबाट यो डेटाबेस कार्यान्वयनमा ल्याउने र त्यहाँको अनुभवका आधारमा देशका सबै भन्सारमा लागु गर्दै जाने भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले अनलाइनखबरलाई बताए । अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल बुधबार विराटनगर गएर अनलाइन मूल्यांकन डेटाबेस सुरुवात गर्ने छन् । अनलाइन भ्यालुएसन डेटाबेस प्रणाली भनेको आयातित वस्तुको भन्सार मूल्य घोषणा सम्बन्धी तथ्यांक संकलन, स्टोर र विश्लेषण गर्ने प्रणाली हो, जसले भन्सार कार्यालयलाई त्यस्ता वस्तुको कम मूल्यांकन हुने जोखिम घटाउन सहयोग गर्छ ।
अनलाइन भ्यालुएसन डेटाबेस संसारभरि नै भन्सार क्लियरेन्समा प्रयोग हुँदै आएको आशिकुडा प्रणालीमा आबद्ध हुने र यसले कुनै पनि वस्तुको ९० दिनको मूल्य गणना गरी आयातित वस्तुको वास्तविक मूल्य देखाउने उनले बताए । ‘आयातकर्ताले वस्तु आयात गर्दा आफूले तिरेको मूल्य घोषणा गरेको हुन्छ, त्यो ठिक हो कि होइन भन्ने पनि अनलाइन भ्यालुएसन डेटाबेसले गर्छ,’ उनले भने । अनलाइन भ्यालुएसन डेटाबेस लागु भएपछि अहिलेको सन्दर्भ मूल्य प्रणाली खारेज हुँदै जाने छ ।
‘यो प्रणाली लागु भएपछि प्रणालीमा देशैभरिको मूल्य अपडेट हुने भयो, अन्तर्राष्ट्रिय बजारमा कुनै वस्तुको भन्सार मूल्य कति छ भन्ने सूचना पनि हुने भयो,’ विभागका महानिर्देशक भण्डारीले भने, ‘त्यसो हुँदा भन्सारमा यथार्थ मूल्य जानकारीमा आई न्यून तथा अधिक बिजकीकरणको समस्या हल हुनेछ । यसले आयातकर्ता तथा भन्सार अधिकृत दुवैलाई सहज हुनेछ ।’
भन्सारमा २०६४ सालदेखि नै सन्दर्भ मूल्यको चलन भए पनि २०७५ मा ‘भन्सार मूल्यांकन निर्देशिका’ मार्फत यसलाई अनिवार्य जस्तै गरी लागु गरियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको पहलमा यो लागु भएको थियो । त्यसअघि सामान्य सन्दर्भ मूल्यका आधारमा भन्सार लिने गरिएकोमा खतिवडाले देशभरि यसलाई अनिवार्य लागु गरेका थिए । तर, यसो गर्दा अद्यावधिक कारोबार मूल्य अभावमा कुनै सामानको वास्तविक मूल्यभन्दा सन्दर्भ मूल्य बढी हुने, कुनैको कम हुने समस्या थियो । आयातकर्ताले आयात गर्दा तिरेको मूल्य एकातिर हुने एवं सन्दर्भ मूल्य अर्कातिर हुने भएपछि त्यसबाट आयातकर्ताले सास्ती बेहोर्नुपरेको थियो ।
त्यतिमात्र नभई, वास्तविक मूल्यका आधारमा होइन कि सन्दर्भ मूल्यका आधारमा आयातकर्ताले बिजक बनाउन लगाइ पूँजी पलायन समेत हुने गरेको गुनासो आउने गरेको थियो । सरकारले सन्दर्भ मूल्य लागु गरेदेखि नै यो खारेज हुनुपर्ने माग व्यवसायीले राख्दै आएका थिए । त्यसले व्यवसायीलाई अनावश्यक प्रशासनिक झन्झट थपेको, सन्दर्भ मूल्य यथार्थपरक हुन नसकेको लगायत कारण यो खारेजीको माग राखेका थिए ।
नयाँ अनलाइन डेटाबेस प्रणाली लागु गरेपछि त्यसले आयातकर्ताको मनोबल बढाउने पनि व्यवसायीले अपेक्षा गरेका छन् । चालु आर्थिक वर्षको बजेटमा समेत सन्दर्भ मूल्य हटाएर यथार्थ मूल्यांकन प्रणाली सुरु गर्ने व्यवस्था गरिएको छ ।
विगतदेखि नै सरकारले सन्दर्भ मूल्य हटाएर यथार्थ मूल्यांकनका आधारमा भन्सार लिने प्रणाली लागु गर्न खोजे पनि अर्थमन्त्री रामेश्वर खनाल बने लगत्तै यसलाई तीव्रता दिएका थिए ।
ट्रस्टेड ट्रेडर सूची पनि बनाइने
अर्थमन्त्री रामेश्वर खनालले राम्रा आयातकर्तालाई छानेर विश्वासिला व्यापारी (ट्रस्टेड ट्रेडर) सूची पनि बनाउन लागेका छन् । विभिन्न मापदण्डका आधारमा त्यस्ता व्यापारी छनोट गरिने भन्सार विभागका महानिर्देशक भण्डारीले बताए । ‘सरकारको तिर्न बुझाउन बाँकी नभएको, समयमै राजस्व दाखिला गरेको लगायत सूचकका आधारमा ट्रस्टेड ट्रेडरको सूची बन्छ,’ उनले भने, ‘यस्तो सूचीमा पर्ने व्यवसायीलाई आयात गर्दा भन्सारमा सहज बनाइनुका साथै अन्य सुविधा पनि प्रदान गरिन्छ ।’
यस्ता व्यापारीले आयात गरेको सामानको भन्सार जाँचपास सहज हुने, कारोबारस्थलमा कुनै कागजात नपुगे पनि सामान क्लियर गरिदिने र पछि कागज ल्याउन पाउने व्यवस्था गर्ने लगायत सुविधा उनीहरूलाई दिइने उनले बताए । यस्तो व्यवसायीको सूचीमा पर्नेले अन्तर्राष्ट्रिय पहिचान पनि पाउने उनले बताए
राजस्व सचिव घिमिरेको शंकास्पद भूमिकाप्रति अर्थमन्त्री पहिला नै थिए अलर्ट
अनुभवको फर्जी कागजपत्र पेस गरेर अध्यक्ष बनेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको आदेश भन्दै भदौ ३१ गते कार्यालय पुगे। अदालतको आदेश भन्दै अर्को फर्जी काम गरेर कार्यालय पुगेको जानकारी केही समयमै अर्थमन्त्री रामेश्वर खनालले पाए। अर्थ मन्त्रालय स्रोतका अनुसार खनालले तत्कालै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव सेवन्तक पोखरेललाई बोलाएर कुनै पनि हालतमा ओझालाई छिर्न नदिन निर्देशन दिए।
सर्वोच्चले उनलाई बर्खास्त गर्ने निर्णयलाई यथास्थितिमा राख्नु मात्रै भनेको छ। भदौ २ गते उनी बर्खास्त भएका थिए। त्यसअघि साउन ३० गते उनी निलम्बनमा परेका थिए। निलम्बन यथावत रहेको अवस्थामा ओझाले जबर्जस्ती हाजिर गरेको विषयमा अर्थमन्त्री खनालले सोधखोज गर्न थाले। स्रोतका अनुसार राजस्व सचिव दिनेश घिमिरेको योजनामा ओझा प्राधिकरण गएको सूचना मन्त्रालयभित्रैबाट खनालले पाए।
यो सूचनापछि खनालले घिमिरेलाई बोलाएर हप्काएको स्रोतले बतायो। राजस्व सचिव घिमिरेले मन्त्रालयमा गरिरहेको गतिविधिका बारेमा खनाल जानकार नै थिए। त्यसमा पनि अनुभवको फर्जी कागजपत्र पेस गरेर बर्खास्तगीमा परेका ओझालाई कार्यालय जाने वातावरण तयार गर्न लगाएपछि खनाल घिमिरेलाई तत्कालै सरुवा गर्ने मनस्थितिमा पुगेका थिए।
स्रोतका अनुसार घिमिरेले यसअघि पनि ओझालाई जोगाउन अन्तिम समयसम्म कसरत गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रारम्भिक अनुसन्धानमै ओझालाई फर्जी अनुभवका आधारमा नियुक्ति दिइएको देख्यो। त्यसपछि प्रमुख आयुक्त प्रेमकुमार राईले मुख्यसचिव एकनारायण अर्याललाई बोलाएर ओझालाई राजीनामा गराउन भने। राईले अन्यथा फर्जी अनुभव भएका ओझालाई नियुक्ति दिने प्रक्रियामा संलग्न सबैलाई कारवाहीको भागिदार बनाउने चेतावनी दिए। त्यसपछि मुख्यसचिव अर्यालले साउन तेस्रो साता ओझालाई राजीनामा दिन आग्रह गरे।
तर, ओझाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी भएको भन्दै राजीनामा दिन अस्वीकार गरे। ओझाले राजीनामा दिन नमानेपछि मुख्यसचिव अर्यालले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई न्यायिक आयोग गठन गरेर बर्खास्त गर्नुपर्ने सुझाव दिए।सुरुमा पौडेलले समेत ओझालाई राजीनामा दिन सुझाए। तर, ओझा टसमस भएनन्। त्यसपछि पौडेलले न्यायिक आयोग गठनको प्रस्ताव तयार पार्न निर्देशन दिए। निर्देशन अनुसार राजस्व सचिव घिमिरेले प्रस्ताव तयार पार्नुपर्ने थियो। घिमिरेले प्रस्ताव नै तयार पारेनन्। स्रोतका अनुसार घिमिरेले अस्वीकार गरेपछि अर्थसचिव घनश्याम उपाध्यायले प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पठाएका थिए।
घिमिरेको गतिविधि नै शंकास्पद
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि पोहोर असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्री बने। ओलीको सारथिको रुपमा अर्थमन्त्रीको बागडोर सम्हाल्न आइपुगे विष्णु पौडेल। पौडेलले डा. रामप्रसाद घिमिरेलाई अर्थसचिव बनाउँदै राजस्व सचिवमा दिनेश घिमिरेलाई ल्याए।
दिनेश यसअघि वाणिज्य तथा आपूर्ति सचिव थिए। स्रोतका अनुसार त्यो बेलामा घिमिरे राजस्व सचिवमा आउनुमा विवादास्पद व्यापारी दीपक भट्टको हात थियो। भट्टले नयाँ स्टक एक्सचेन्ज र आफ्नो समूहका व्यापारीको स्वार्थ पूरा गर्नका लागि घिमिरेलाई राजस्व सचिव बनाउन लगाएका थिए। स्रोतका अनुसार घिमिरेलाई वाणिज्य मन्त्रालयमा ल्याउनमा पनि उनै भट्टको हात थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग निकट रहेका भट्टले त्यो सम्बन्ध प्रयोग गरी घिमिरेलाई वाणिज्य मन्त्रालयमा लान भूमिका खेलेका थिए।
ओली र पौडेललाई समेत घुमाउन सक्ने भट्टको सहयोगमा अर्थ मन्त्रालय छिरेका घिमिरे शक्तिशाली थिए। घिमिरेको प्रवेशसँगै अर्थ मन्त्रालय ध्रुवीकरण भयो। मन्त्रालयभित्र भट्ट सरकार र नेपाल सरकार भन्ने भाष्य निर्माण भएको थियो। त्यहाँ तत्कालीन अर्थमन्त्री पौडेलको होइन, विचौलिया भट्टको निर्देशन चल्थ्यो। घिमिरे लगायतको टिमले भट्टको निर्देशन अनुसार काम गर्थ्यो। पौडेल बिचौलिया सामू कतिसम्म निरीह थिए भन्ने एउटा उदाहरण काफी छ।
पौडेलले नेपाल रिइन्स्योरेन्समा महेश बराललाई संचालक बनाएर पठाए। संचालक बनाएपछि पौडेलले बराललाई भनेका थिए-‘हकप्रद निष्कासन गर्ने समय एक वर्ष पछि सार्ने निर्णय गर्नू।’ तर, उनले त्यो निर्देशनलाई लत्याएर हकप्रद सेयर निष्कासनको निर्णय गरे। बिचौलिया समूहलाई पक्षपोषण गर्ने बरालले गरेको निर्णयबाट पौडेल खुशी थिएनन्।
पौडेलले बराललाई अर्थबाट सरुवा गर्न सामान्य प्रशासनमन्त्रीसँग कुरा गरे। बराललाई सरुवा गर्न कुराकानी गरेको केही घण्टामै उनै पौडेलले अहिले केही नगरौं भन्ने जानकारी अर्थ मन्त्रालयका उच्च अधिकारीलाई गराए। अर्थभित्र चलेको यो सबै भाष्यका बारेमा मुख्यसचिव अर्याल पनि जानकार थिए। ‘हामीलाई काम गर्न गाह्रो भयो। जथाभावी रुपमा निर्णय भइरहेको छ। अर्थमन्त्री पनि निरीह नै देख्छु,’ मुख्य सचिव अर्याललाई एक सहसचिवले गएर ब्रिफिङ गरेका थिए।
अर्थ मन्त्रालयभित्रका राम्रा सहसचिवले भट्टमार्फत भइरहेको कामकारबाहीको सबै सूचना अर्याललाई दिएका थिए। यही सूचना अख्तियार प्रमुख राईलाई समेत दिइएको थियो। अर्थभित्र बिचौलियाको निर्देशन अनुसार भइरहेको कामकारबाहीमा घिमिरेले नेतृत्वकर्ताको भूमिका निर्वाह गरेको सूचना उनीहरुले पाएका थिए। स्रोतका अनुसार बिचौलियाको रजगजमा ओलीको साथ र पौडेलको समर्थन तथा निरीहपनले शासन व्यवस्थामा नै हमला भएको उनीहरुको बुझाई थियो।
धितोपत्र बोर्डका कामकारबाही ठप्प
सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले खाइपाइ आएको सेवा सुविधा कटौती भएको विरोधमा कामकारबाही ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् ।
बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा कार्यकारी निर्देशकको सवारीसाधन नियन्त्रणमा लिई उनीहरुले सबै काम ठप्प पारेका हुन् । ‘खाइपाइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी यसअघि मन्त्रीस्तरीय जुन निर्णय भएको छ, त्यो तत्काल खारेज नगरेसम्म हाम्रो विरोध कायम रहन्छ’ युनियनका एक कर्मचारीले भने ।
आज दिउँसो केही बेर बोर्ड परिसरमा उनीहरूले सरकार र अध्यक्ष श्रेष्ठविरुद्ध नाराबाजी समेत गरे । हाल कार्यरत र पेन्सन पाकेका कर्मचारीले बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट छुट्टाछुट्टै सेवासुविधा पाउँदै आएका छन् ।
तर हालै मन्त्रीस्तरीय निर्णयबाट सेवा सुविधा पाउने सम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गर्न निर्देशन दिइएको छ । त्यति मात्रै नभइ यसअघि लिइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी निर्णय भएको छ ।
लिँदै आएको सुविधा कटौती हुने र थप भुक्तानी समेत गर्नुपर्ने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बोर्ड अध्यक्ष श्रेष्ठलाई यो निर्णय तत्काल फिर्ता गर्न/गराउन वा राजीनामा दिन भन्दै उनीहरुले दवाव दिएका छन् ।
यस्तो छ मन्त्रालयको निर्णय
एनआईसी एशियाका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
कामना सेवाका कर्मचारी तथा ग्राहकलाई नमस्ते पब्लिक हस्पिटलमा २० प्रतिशतसम्म छुट
कामना सेवा विकास बैंकले झापा, दमक स्थित नमस्ते पब्लिक हस्पिटल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त नमस्ते पब्लिक हस्पिटलमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेशका प्रमुख खिमलाल भुसाल र नमस्ते पब्लिक हस्पिटलका तर्फबाट अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गरे ।
एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट
चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा उपलब्ध हुने छ र यो छुट चाडपर्वको समयमा मात्र लागु हुनेछ, यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ । छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ ।
एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवद्र्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ । साथै, बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ ।
दशैं योजनाः सामसङ ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ अब एकदमै सस्तो मूल्यमा
यस दशैंमा, सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ। अब आफ्ना प्रियजनहरूलाई नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा उपहार दिएर यो पर्व मनाउन सक्न सक्ने कम्पनीले जनाएकाे छ। सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङले दशैंमा केवल विशेष मूल्य मात्र प्रदान नगरेकाे भन्दै अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव गरी आफ्ना प्रियजनहरूसँग माया बाँड्न र यो पर्वको खुशीयाली बाँड्न पनि यो विशेष अफर ल्याउको बताए ।
यस दशैंमा ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सी ए को क्षमता पत्ता लगाउनुको साथै ५०,००० सम्मको क्यासबेक पाउन सक्छन् । यसअघि २,२९,९९९ रूपैयाँमा पाइने जी फोल्ड ६ (१२+५१२ जीबी) अहिले १,७९,९९९ रूपैयाँमा पाउन सक्ने छन् भने यसमा ५०,००० सम्म क्यासब्याक समेत पाइने छ । यस्तै यसअघि २,१४,९९९ रूपैयाँमा पाइने जी फोल्ड६ (१२+२५६ जीबी) अहिले १,६४,९९९ रूपैयाँमा पाउन सक्ने छन् भने यसमा पनि ५०,००० सम्म क्यासब्याक समेत पाइने छ । यस्तै सअघि १,३९,९९९ रूपैयाँमा पाइने जी फ्लिप६ (१२+२५६ जीबी) अहिले ९९,९९९ रूपैयाँमा पाउन सक्ने छन् भने यसमा पनि ४०,००० सम्म क्यासब्याक समेत पाइने छ ।
यसको अतिरिक्त, नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत् यी अत्याधुनिक स्मार्टफोनहरू ०५ ब्याजमा सजिलो ईएमआईमा पाउन सक्नुहुन्छ, जसमा अब पूर्ण मन शान्तिका लागि १८ महिनाको यन्त्र बीमा पनि समावेश छ। यस प्रक्रियामा कुनै कठिनता छैन र केवल तपाईंको नागरिकताको प्रमाणपत्र आवश्यक पर्छ।












