जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, डेपुटी सिईओ निराजन कंडेललगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारहरूलाई हार्दिक बधाई दिँदै सानिमा रिलायन्सप्रति देखाइएको विश्वास र व्यवसाय वृद्धिमा पुर्याएको योगदानप्रति आभार प्रकट गरे । प्रमुख कार्यकारी अधिकृत पाण्डेले कम्पनीका मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारलाई निरन्तर प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने जानकारी गराए ।

त्यसैगरी, डेपुटी सीईओ कंडेलले सफल बीमा सल्लाहकार बन्न आवश्यक सीप र क्षमता विकासबारे सुझाव प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०८१/८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका सदस्यता लक्ष्य हासिल गर्न सफल सल्लाहकारहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार शिवानी थापा बस्न्यातले सञ्चालन गरेकी थिइन् भने गायिका समीक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालका प्रस्तुति साथै विभिन्न नृत्य कार्यक्रमले मनोरञ्जनात्मक रंग भरेका थिए ।

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

हिमालयन बैंकले चाबहिल शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई बालुवाटारमा सारेको हो । नयाँ शाखा एन एल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटारमा रहेको छ । नयाँ ठाउँबाट बिहीबारदेखि सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जनाइएको छ ।

शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशमशेर। राणाले बैंकका उच्चपदस्थ कर्मचारी तथा अन्य अतिथिहरूको उपस्थितिमा गरेका छन् ।

एससीटीको ‘स्मार्ट सेलिब्रेसन्स’ अफर सार्वजनिक, बिग मार्टमा १० प्रतिशत छुट

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दशैं, तिहार र छठ पर्व लक्षित गर्दै ‘स्मार्ट सेलिब्रेसन्स बाई एससीटी’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकले नेपालभरिका १ सय २० भन्दा बढी शाखा रहेको चेन स्टोर बिग मार्टमा एससीटी–युनियनपे कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

यस वर्ष घटस्थापना अर्थात् ६ असोजदेखि सुरु हुने यो अफर १० कात्तिकसम्म लागु हुनेछ । अफर अवधिभरि ग्राहकले बिग मार्टमा एससीटी–युनियनपे कार्ड प्रयोग गरी भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत तत्काल छुट प्राप्त गर्न सक्नेछन् ।

एक पटकको कारोबारमा अधिकतम १०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने छ । यो छुट प्राप्त गर्न ग्राहकले अनिवार्य एससीटी–युनियनपे कार्ड प्रयोग गरी प्वाइन्ट अफ सेल (पीओएस) मेसिन मार्फत भुक्तानी गर्नुपर्ने छ ।

एससीटीले यो अफर घटस्थापनादेखि छठसम्म बिग मार्टका सम्पूर्ण शाखामा लागु हुने जनाएको छ । यो पहलले कार्डको अधिकतम प्रयोगलाई प्रोत्साहन गर्नुका साथै नगद रहित कारोबारलाई बढावा दिने उद्देश्य राखेको छ ।

हाल एससीटीले २३ बैंक तथा वित्तीय संस्था र १ सयभन्दा बढी सहकारी संस्थामार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आइरहेको छ ।

एससीटी–युनियनपे कार्ड नभएका ग्राहकले पनि यस अफरमा सहभागी हुन आफ्नो नजिकको बैंक वा वित्तीय संस्थामा सम्पर्क गरी एससीटी–युनियनपे कार्ड प्राप्त गर्न सक्नेछन् ।

कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई इमेल

अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायमा कार्यरत कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ । अर्थमन्त्री रामेश्वर खनालको इमेल रामेश्वर एट एमओएफ डटजीओभी डटएनपी वा गुनासो एट एमओएफ डटजीओभी डटएनपीमा इमेल गरेर गुनासो टिपाउन सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

कर्मचारीले काम नगरेको, गर्नुपर्ने काम नगरेको वा अनुचित कामका लागि दबाब दिएमा समेत यस्तो गुनासो गर्न सकिने भएको छ । घुस वा रिसवत माग गर्दै काममा अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाइ भए सिधै अर्थमन्त्रीको इमेलमा पठाउन सकिने समेत अर्थले जनाएको छ ।

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट

सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।

पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।
निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

होन्डाको दशैं अफर : साप्ताहिक १ लाख नगद

नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएको छ ।

यस अफरअन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद रकम जित्ने अवसर पाउने छन् । साथै, ग्राहकले १० हजारसम्मको थप स्क्रयाच कुपन, १२ हजार ५०० बराबरको ५ वर्षसम्मको होन्डा फ्री एएमसी अफर, ६ वटा फ्री सर्भिसिङ, प्रो होन्डा इन्जिन आयल फ्री जस्ता थप तीन आकर्षक अफर पाउने छन् । यसमा भने ग्राहकले तीन मध्ये एउटा मात्रै अफर छान्न पाउने छन् ।

साथै, ग्राहकले ल्याएका जुनसुकै पुराना ब्रान्डका मोटरसाइकल वा स्कुटर होन्डाका जुनसुकै मोडलसँग एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले होन्डाका मोटरसाइकल तथा स्कुटरहरू किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ । ईएमआइमा मोटरसाइकल खरिद गर्दा सेलेक्टेड मोडलमा १ प्रतिशत मात्रै ब्याजदर लाग्ने कम्पनीले जनाएको छ ।

चाडबाड लक्षित यातायात व्यवस्थापनमा कुलमानको सक्रियता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक संचालनका लागि सक्रियता बढाएका छन्। कुलमानले यसबारे शनिबार सरोकारवालासँग विस्तृत छलफल गरेका छन्।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका अधिकारीहरू र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीहरूसँग लामो बैठक गरेका हुन्।

मन्त्री घिसिङले यात्रुहरूको सहजताका लागि २४ घण्टा नै सडक अवस्थाबारे जानकारी दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले यात्रुहरूको गुनासो सुन्ने र तत्कालै व्यवस्थापन गर्ने प्रणाली बनाउनुपर्नेमा पनि जोड दिए।

पहिरो वा अन्य कारणले सडक अवरुद्ध भएमा तुरुन्तै पुनर्स्थापना गर्ने प्रणाली अर्थात् ‘र्‍यापिड रिस्टोरेसन’ को व्यवस्था गर्न उनले निर्देशन दिएका छन्।

बैठकमा विभिन्न विषयमा महत्त्वपूर्ण निर्णय गरिएको छ। जसमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा-सिस्नेरी-सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइने र दशैंपछि सोही साधनलाई प्रवेश गर्न दिने व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय भएको छ।


त्यस्तै, सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइने भएको छ। उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रहरी गस्ती र प्रहरी संख्या थप गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने बैठकमा सहमति भएको छ।

यसैगरी, दशैं अवधिभर यात्रुबाहक सवारीलाई प्राथमिकता दिने उद्देश्यले बुटवल-नारायणगढ सडकको दाउन्ने खण्डमा १२ चक्के वा सोभन्दा माथिका सवारी साधन नचलाउने निर्णय भएको छ। खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर संचालन हुने व्यवस्था गर्ने निर्णय गरिएको छ।

सडक स्तरोन्नति र सुधारमा पनि जोड दिइने भएको छ। मुलुकभरका मुख्य सडकलाई चुस्त दुरुस्त राख्ने, पहिरोजन्य विपद व्यवस्थापनका लागि आवश्यक सामग्री र उपकरण उपलब्ध गराउने, बुटवल-नारायणगढ सडकको दाउन्ने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात संचालन गर्ने, नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो हटाएर तुरुन्तै सडक संचालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने सडक दशैंअघि नै संचालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ।

बैठकमा आम नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गर्ने र त्यसबारे सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको छ।

यस्तै, सार्वजनिक सवारीलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि वा निर्देशिका बनाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको छ। विभागले यसलाई चाँडै तयार गरी मन्त्रालयमा पेश गर्नुपर्नेछ।

कन्ट्रोल रुमको पनि व्यवस्था गरिने भएको छ। मुलुकभरका सडकको अवस्था र सुरक्षाबारे २४सै घण्टा निगरानी राख्ने गरी फोकल पर्सनसहितको व्यवस्था मिलाउन सडक विभागलाई निर्देशन दिइएको छ।

पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले कूल बिक्री रकमको १% सहयोग गर्ने

ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले जेनजी प्रदर्शनका क्रममा तहसनहस भएका संरचना बनाउन सहयोग गर्ने भएको छ। कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कूल बिक्री रकमको १ प्रतिशत ‘राष्ट्र पुनर्निर्माण’ का लागि भन्दै समर्पण गर्ने निर्णय गरेको हो।

‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्न लागेको हो। यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने विश्वास रहेको कम्पनीका प्रबन्ध निर्देशक श्री अञ्जनी नन्दन मारुले बताए।

‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो,’ उनले भने।

निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस सहयोगमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउन जनाएको छ।

राष्ट्र बैंकका निर्देशक लामिछाने कार्यकारी निर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकका निर्देशक दिपक लामिछाने कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संशाधन विभागले लामिछानेलाई आन्तरिक लेखापरीक्षण विभागको कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

लामिछाने राष्ट्र बैंक प्रवेश गरेको डेढ दशकमै कार्यकारी निर्देशकको पदमा बढुवा भएका हुन्। यसअघि सो विभागको जिम्मेवारी कार्यकारी निर्देशक नरेश शाक्यले सम्हाल्दै आएका थिए।

ब्याजको अनुदानका लागि अर्थले गर्‍यो करिब १० अर्ब निकासा

सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि आज रु नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

‘चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णय भएको छ’, अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैङ्कले लामो समयदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सरकारबाट पाउन सकेको थिएन । यो रकम निकासा भएसँगै कर्जा विस्तारका लागि थप सहज हुने अनुमान गरिएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार कृषि तथा पशुपन्छी कर्जा रु पाँच करोडसम्म, महिला उद्यमशील कर्जा तथा स्टार्टअप उद्यम कर्जा रु २५ लाखसम्म उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका युवा तथा शिक्षित युवा परियोजनाका लागि रु २० लाख बराबर सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जाका रुपमा रु पाँच लाख बराबर कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ । बैङ्क तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउने यस्तो सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग

महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाडौंको भवनको पुनर्निर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।

दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनर्निर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास बैंकले लिएको छ ।

साथै बैंकको सम्पुर्ण सेवाहरु पुर्ण रुपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैंकिङ सेवाहरु सुरक्षित रुपमा सञ्चालन भइरहेको समेत बैंकले जानकारी गराएको छ । नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको लेकसाईड शाखा बाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।

सेयर लगानीकर्ताको मनोबल उकास्ने उपाय खोज्दै अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले सेयर लगानीकर्ताको मनोबल उकास्नका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन्। मन्त्री खनालले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा शुक्रबार चार सदस्यीय कार्यदल गठन गरेका हुन्।

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला कार्यदलको सदस्यसचिव तोकिएका छन्।

कार्यदललाई पुँजी बजारमा देखिएका विसङ्गति र समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल उकास्न चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारबारे कार्ययोजना पेस गर्न पाँच दिन दिइएको छ। जेनजीको आन्दोलका कारण भदौ २३ पछि बिहीबार खुलेको सेयर बजारमा १६० अंकको पहिरो गएको थियो। तीन वटा नेगेटिभ सर्किट लागेपछि बजार एक घण्टामै बन्द गर्नुपरेको थियो।