सरकारले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।
बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिने निर्णय समेत गरेको विभागले जनाएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायत ठूला सवारी साधन ६ असोज घटस्थापनादेखि २० असोज पूर्णिमासम्म नारायणघाट–काठमाडौैं रुटमा चलाउन नपाउनेगरी निर्णय भएको छ । आयात निर्यातका सवारी साधन भने भन्सार कार्यालय बन्द रहने अवधि बाहेकका दिन यो रुटमा चल्न सक्ने छन् ।
सुनको मूल्यले फेरि बनायो रेकर्ड, तोलाको २ लाख १७ हजार पुग्यो
काठमाडौं र सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला २ लाख १५ हजार २०० रूपैयाँमा कारोबार भएको सुन आज तोलामा १ हजार ९०० बढेर २ लाख १७ हजार १०० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलाको २ हजार ५९५ पुगेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँ बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
कामना सेवा विकास बैंकले वडालाई दियो कुर्सी, प्रहरीलाई कम्प्युटर र प्रिन्टर सहयोग
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका-३० लाई कार्यालय संचालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ।
जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पूर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो। कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई फर्निचरहरु हस्तान्तरण गरेकी थिइन्।
वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनामा सहयोग गरि कार्यालय संचालन गर्न सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालाहरुलाई पनि पुनःनिर्माणमा जुट्न आह्वान गरेका थिए।
बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरणसहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर पनि हस्तान्तरण गरेको छ।
कार्यालय पूर्णरुपमा जलेर नष्ट भई कार्यालय सञ्चालन नै असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरि बहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए।
बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरु पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ।
दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राख्ने अर्थमन्त्रालयको निर्णय
अर्थ मन्त्रालयले निजी क्षेत्रसँग भएको छलफलमा दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक तथा भन्सार खुला राख्ने निर्णयको जानकारी दिएको छ।
मंगलबार अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले जानकारी दिए कि पहिरोका कारण बन्द भएको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले पहल गरिरहेको छ।
अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा आयोजित छलफलमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी थिए। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपका उद्योगी तथा व्यवसायी सहभागी थिए।
निजी क्षेत्रको मनोबल उकास्न अर्थमन्त्री एक्सनमा
अर्थ मन्त्रालयले कर तिर्ने समय एक महिना थप गरेको छ। जेनजीको आन्दोलनका क्रममा निजी क्षेत्रमा समस्या देखिएपछि अर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीलाई कर तिर्ने अवधि बढाएका हुन्। सामान्यतया साउन महिनाको भ्याट, अन्त:शुल्क, विलासिता कर, शिक्षा शुल्क लगायत कर भदौको २५ गतेसम्म बुझाइसक्नुपर्ने व्यवस्था थियो।
तर, गएको हप्ता सम्पूर्ण सेवा अवरुद्ध भएको र व्यवसायमा क्षति पनि पुगेका कारण थप एक महिना अवधि थपिएको अर्थ मन्त्रालयले जनाएको छ। अब असोज २५ सम्म बुझाउँदा जरिवाना लाग्ने छैन। अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहुलियत दिने तयारी पनि सुरु गरेका छन्।
उनले उद्योगी, व्यवसायीलाई अहिलेको समस्याबाट बाहिर निकाल्नका लागि ‘इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान’ ल्याउने तयारी थालेका हुन्। भदौ २४ मा भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग, व्यवसाय तथा लगानीमा ठूलो क्षति पुगेको छ। यसबारेमा अर्थमन्त्री खनालले मंगलबार निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका प्रतिनिधिसँग अन्तर्क्रिया गरेका छन्।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका साथै चौधरी ग्रुप र भाटभटेनी सुपरमार्केटका प्रतिनिधि सहभागी थिए। व्यवसायीहरुले अर्थमन्त्रीसामु प्रदर्शनका क्रममा उद्योग व्यवसायमा भएका क्षतिको सम्बन्धमा कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम यथाशिघ्र भुक्तानी हुने व्यवस्था लगायतमा सरकारले निर्णय गर्नुपर्ने माग राखे।
अर्थसचिव घनश्याम उपाध्यायले दसैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा समेत बैंक तथा भन्सार खुला रहने बताए। पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउनका लागि सरकारले प्रयास गरिरहेको उनले बताए।
मंगलबार नै अर्थमन्त्री खनालले तोडफोड र आगजनीले ध्वस्त भएका भाटभटेनी सुपरमार्केटको कोटेश्वर स्टोर, गाडीका शोरुम लगायत संरचनाको अवलोकन गरेका थिए। मन्त्री खनालले व्यवसायीहरुसामु निजी क्षेत्रका समस्यासँग सरकार परिचित रहेको बताएका छन्। ‘सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘सरकारले निजी क्षेत्रलाई आवश्यक सहयोग गर्नेछ।’
आगजनीमा परेको प्रहरीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग
सांग्रिला डेभलपमेन्ट बैंकले जेनजीको आन्दोलनका क्रममा आगजनीमा परेकामध्ये एउटा प्रहरी कार्यालयलाई सहयोग गरेको छ। बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर, एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर मेसिन सहयोग गरेको हो।
बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले वृत्तका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।
प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। वृत्तका इन्चार्ज श्रेष्ठले आगजनीले ठूलो क्षति भएकाले आफूहरुलाई अझै धेरै सहयोग आवश्यक रहेको बताए।
भोलि देशभर सार्वजनिक बिदा
गृह मन्त्रालयले जेन जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। भदौं २३ र २४ गतेका मृतकहरूको सम्झनामा भदौं १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइने भएको हो।
सरकारी निर्णयअनुसार उक्त दिन राष्ट्रिय झण्डा आधा झुकाइने छ। गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार मृतकहरूको सम्मानमा यो कदम चालिएको हो।
भोलि बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।
सरकारले बर्खास्त गरेका ओझा बलजफ्तीरुपमा प्राधिकरणमा हाजिर
अनुभवको फर्जी कागजपत्र पेस गरेर अध्यक्ष बनेका शरद ओझाले फेरि अर्को फर्जी काम गरेका छन्। ‘अदालतको आदेश छ’ भन्दै आधिकारिक पत्र नबोकी उनी मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा हाजिर गरेका छन्। आफ्नो जानकारीविना ओझाले जबर्जस्ती हाजिर गरेको भन्दै अर्थ मन्त्रालय चकित बनेको छ। यस विषयलाई नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले गम्भीररुपमा लिएका छन्।
ओझाले बिहान कार्यालयमा फोन गरेर, म अफिस आउन लागें गाडी पठाइदिनू भनेका थिए। त्यसपछि प्राधिकरणले उनलाई लिन गाडी पठाएको थियो। उनलाई प्राधिकरणका कर्मचारीहरुले स्वागत समेत गरे। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले अदालतको आदेशको पत्र भए सजिलो हुन्थ्यो भनेर ओझासामु भनेका थिए। त्यसपछि ओझा अदालतले आदेश दिइसक्यो, अझै थाहा पाउनु भएको छैन भन्दै सरासर अध्यक्षको कार्यकक्षमा छिरेका थिए।
अदालतबाट कस्तो आदेश आएको भन्ने आधिकारिक रुपमा अहिलेसम्म न प्राधिकरणलाई थाहा छ, न त अर्थ मन्त्रालयलाई नै।
अदालतले भनेको भन्दै पत्र र मन्त्रालयको जानकारीविनै प्राधिकरण पुगेपछि यस विषयमा नवनियुक्त अर्थमन्त्री खनालले के भएको हो भनेर चासो राखेको स्रोतले बतायो।
फर्जी अनुभवको कागजातका कारण भदौ पहिलो साता सरकारले ओझालाई बर्खास्त गरेर अर्को निर्णय नहुन्जेलाई अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी दिएको थियो। पोखरेलले पनि ओझाले पुन: कार्यभार सम्हालेको थाहा पाएनन्।
ओझाले आदेश छ भन्दै जबर्जस्ती पदबहाली गरेपछि मन्त्रालयले भोलिबाट कार्यालय छिर्न नदिनु भन्ने निर्देशन दिएको छ। स्रोतका अनुसार, अर्थमन्त्री खनालले यसबारेमा गम्भीर चासो राखेका छन्। उनले नियामक निकायमा सरकारको जानकारी विना जोसुकै मान्छे अध्यक्ष हुँ भन्दै जानु गलत भएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन्।
सरकारले बर्खास्त गरेपछि ओझा सर्वोच्च अदालतमा गएका थिए। त्यसमा सर्वोच्चकी न्यायाधीश सारङ्गा सुवेदीको एकल इजालासले नयाँ नियुक्ति प्रकृया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेकी थिइन्। यो आदेश सर्वोच्चको वेवसाइटमा कैफियतका रुपमा राखिएको छ। आधिकारिक रुपमा पत्र दिइएको छैन।
निजी क्षेत्रको कन्फिडेन्स बढाउँदै अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उकास्ने प्रयास थालेका छन्। खनाल अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको भोलिपल्ट मंगलबारबाट निजी क्षेत्रलाई ढाडस दिन मैदानमा उत्रिएका छन्। नवनियुक्त अर्थमन्त्री खनालले अटो हबको रुप लिएको थापाथलीस्थित क्षतिग्रस्त शोरुम र भाटभटेनी सुपरमार्केटका स्टोरको अवलोकन गरेका छन्।
उनले अर्थसचिव घनश्याम उपाध्यायलाई साथै लिएर गाडीका क्षतिग्रस्त शोरुम अवलोकन गर्दै व्यवसायीहरुलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।
मंगलबार साढे १२ बजेतिर पुगेका शोरुम अवलोकन गर्न पुगेका खनालले तोडफोड र आगजनीबाट भएको क्षतिको जानकारी दिंदै शोरुम पहिलेकै अवस्थामा ल्याउनका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका हुन्। उनले व्यवसायीहरुलाई क्षति यकिन गरेर बीमाको रकम दाबी गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले आगजनी र तोडफोडले शोरुममा साथै गाडीहरु ध्वस्त भएको अवस्थामा अर्थमन्त्रीको आश्वासनले आफूहरुलाई पिडामा मल्हम मिलेको जस्तो अनुभूति भएको बताए।
‘उहाँले बीमामा क्षतिको दाबी गर्दा पाइने रकम पहिले नै सर्टेन प्रतिशत निकासा गर्ने व्यवस्था मिलाइदिने भन्नु भएको छ। यसले हामीलाई शोरुम बनाउन सहज हुन्छ,’ चौधरीले भने, ‘बीमामा सहजीकरण गरिदिने आश्वासनले हामीले काम गर्न पाउँछौं। एकातिर बीमाको प्रक्रिया चल्दै गर्छ, अर्कातिर क्षतिग्रस्त शोरुम बनाउने काम अगाडि बढ्छ।’
जेनजीको नाममा भएको आन्दोलनका क्रममा भदौ २४ गते अराजक समूहले टाटा मोटर्स, महिन्द्रा, सुजुकी र हुन्डाईको थाथापलीस्थित शोरुमा तोडफोड गरेका थिए। टाटा मोटर्स, महिन्द्रा र सुजुकीको शोरुममा आगजनी समेत गरिएको थियो।
सीजी ग्रुपको पूरै भवन क्षतिग्रस्त भएको थियो। तोडफोड र आगजनीमा ३० वटा गाडी ध्वस्त भएको व्यवसायीहरुले बताएका छन्। उनीहरुका अनुसार करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
‘अर्थमन्त्रीले क्षतिग्रस्त शोरुम अवलोकन गरेर सहयोग गर्ने आश्वासन दिनुलाई हामी व्यवसायीहरुले सकारात्मक रुपमा लिएका छौं। यसले हाम्रो कन्फिडेन्ट बढाउने काम गरेको छ,’ चौधरीले भने।
नवनियुक्त अर्थमन्त्री खनालले सोमबार पद्बहालीका क्रममा नै निजी क्षेत्रको मनोकल उकास्नु आफ्नो प्राथमिकता भएको बताएका थिए। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी निर्देशक(सीईओ) राजनबाबु श्रेष्ठ अर्थमन्त्रीको आश्वासनले निजी क्षेत्रको मनोबल बढाउने बताए।
‘अर्थमन्त्रीले यसरी फिल्डमै उत्रेर व्यवसायीले खेप्नुपरेको समस्या नजिकबाट हेर्दा व्यापारिक क्षेत्रलाई कन्फिडेन्ट दिन्छ। राम्रो म्यासेज जान्छ,’ श्रेष्ठले भने, ‘उहाँले शोरुम अवलोकनका साथै व्यवसायीलाई दिएको आश्वासनले सरकार निजी क्षेत्रको साथमा भएको अभास दिएको छ।’
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका निर्देशक निराकर श्रेष्ठले अर्थमन्त्रीको आश्वासनलाई आफूले निजी क्षेत्र अप्ठेरोमा पर्दा सरकारले साथ दिन्छ भन्ने रुपमा लिएको बताए।
‘अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको २४ घन्टा नहुँदै उहाँ क्षतिग्रस्त शोरुम अवलोकन गर्न आउनुभयो। यो भनेको सरकार व्यवसायीको समस्यामा गम्भीर छ भन्ने हो,’ उनले भने, ‘यसले हामी व्यवसायीहरुलाई लगानी गर्न प्रोत्साहित गरेको छ।’ व्यवसायीहरुले क्षतिग्रस्त शोरुम बनाउने प्रक्रिया अगाडि बढाइसकेका छन्।
अर्थमन्त्री भाटभटेनीमा
अर्थमन्त्री खनाल गाडीका शोरुम अवलोकनपछि भाटभटेनी सुपरमार्केटको कोटेश्वरस्थित क्षतिग्रस्त स्टोरमा पुगेका छन्। उनलाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले क्षतिबारे जानकारी गराएका छन्।
रामेश्वर खनाल र मीनबहादुर गुरुङ
जेनजीको नाममा भएको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका १२ वटा स्टोरमा तोडफोड र आगजनी तथा थप ९ वटा स्टोरमा लुटपाट भएको थियो। भाटभटेनीका अध्यक्ष गुरुङले अर्थमन्त्रीले आफ्नो क्षतिग्रस्त स्टोर अवलोकन गर्दा आफूहरुलाई हौसला मिलेको बताए।
‘अर्थमन्त्री रामेश्वर खनालज्यू आगजनीबाट प्रभावित हाम्रो कोटेश्वर शाखा अवलोकन गर्न आउनुभयो। उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ,’ गुरुङले भने, ‘भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन। हामी अझ सबल भएर पुनर्निर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं।’
क्षतिग्रस्त भाटभटेनी सुपरमार्केट सफाई गरिंदै
अराजक समूहले चौधरी ग्रुपको कारखानादेखि विभिन्न होटल र अरु व्यावसायिक प्रतिष्ठानलाई पनि खरानी बनाइएको थियो। त्यही कारण निजी क्षेत्र सरकार र राष्ट्र बैंकसँग मनोबल उकास्ने कार्यक्रम ल्याउन माग गरेको छ।
नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयारः सिबिफिन
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार रहेको जनाएको छ । सिबिफिनले आईतबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । सिबिफिनले आज विज्ञप्ति प्रकाशित गरी गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरुसँग सजग हुनु पर्ने उल्लेख गरेको छ ।
‘अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको र प्रस्थान विन्दु बनेको यस आन्दोलनको जगमा उभिएर युवा पुस्ताको आवाज र आकांक्षाहरुलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ’, विज्ञप्तीमा भनिएको छ ।
साथै जेनजी आन्दोलनको क्रममा भएको मानवीय र देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिनले गहिरो दुःख प्रकट गरेको छ । विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरुको पवित्र उद्देश्यसहित आह्वान भएको आन्दोलनको क्रममा भएको मानवीय र निहीत स्वार्थप्रेरित आक्रमणबाट देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिन स्तब्ध छ र गहिरो दुःख प्रकट व्यख्त गरेको छ ।
यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ३ करोड पुगेको छ । यस्तो सञ्चिति १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिब क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा ४.० प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२.० प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको छ ।
२०८२ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६.० प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
राष्ट्र बैंकका अनुसार यसअवधिसम्म चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड बचतमा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता.३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको छ ।
त्यस्तै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २९.९ प्रतिशतले र अमेरिकी डलरमा २५ प्रतिशतले बढेको छ। २०८२ साउन महिनाको विप्रेषण आप्रवाह १ खर्ब ७७ अर्ब ४१ करोड रहेको छ । आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । निर्यात ९५.७ प्रतिशतले र आयात ११.४ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ४६ अर्ब ३१ करोड र राजस्व परिचालन रु.८४ अर्ब ४७ करोड रहको छ ।
वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ। विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.७६ प्रतिशत रहेको छ ।
दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक खुला रहने
दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने भएको छ। अर्थ मन्त्रालयले मंगलबार निजी क्षेत्रका प्रतिनिधिसँग गरेको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार आयात–निर्यात र वित्तीय कारोबारमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको हो। उपाध्यायले हालैको पहिरोका कारण अवरुद्ध तातोपानी नाका खुलाउन सरकार गम्भीर रहेको पनि बताए।
मंगलबार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग विस्तृत छलफल भएको थियो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपलगायतका प्रतिनिधिहरू सहभागी थिए।
उद्योगी तथा व्यवसायीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकमको शीघ्र भुक्तानी लगायतका माग राखेका थिए। जवाफमा अर्थमन्त्री खनालले व्यापार तथा उद्योग क्षेत्रलाई सहजीकरण गर्ने उद्देश्यले सरकार एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउन लागेको बताए। “कर नीति र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक छ,” उनले आश्वासन दिए।












