जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बैंकहरुले झन् घटाए ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सार्वजनिक गरेका छन्। भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुले दिने अधिकतम औसत ब्याजदर घटेको देखिएको छ।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशतविन्दु रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा झरेको छ। यस अवधिमा ब्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो। चालु आर्थिक वर्षको असोज महिनाको ब्याजदर सार्वजनिक गरेका बैंकहरुमध्ये ८ वटाले घटाएका छन् भने १० वटाले यथावत कायम राखेका छन् ।

असोज महिनाको लागि दुई वटाले बैंकले भने ब्याजदर बढाएका छन् । असोज महिनाका लागि स्ट्याण्डर्ड चार्टड बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएका हुन् ।

ब्याजदर घटाउनेमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेका छन् ।

असोजमा कृषि विकास बैंकले ०.१८ प्रतिशत, एनआइसी एशिया बैंकले ०.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, नेपाल बैंकले ०.१५ प्रतिशत, कुमारी बैंकले ०.२ प्रतिशत, नेपाल एसबिआई बैंकले ०.२७ प्रतिशत र एभरेष्ट बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

असोज महिनाको लागि स्ट्याण्डर्ड चार्टड बैंकले ०.०५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । साथै, असाज महिनाको लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ५.३५ प्रतिशत, नबिल बैंकले ५.५ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, माछापुच्छे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.५ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकले ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

ट्यारिफ चपेटामा एप्पल : आइफोन-१७ प्रो महँगो

एप्पलले आफ्नो नयाँ पुस्ताको आइफोन सार्वजनिक गरेको छ, जसमा नयाँ अल्ट्रा-पातलो मोडेल र उच्चस्तरीय मोडेलमध्ये एउटामा मूल्य बढाइएको छ। मंगलबारको यो घोषणाको बीचमा कम्पनी विश्वव्यापी व्यापार युद्धको चपेटामा परेको छ। आइफोन-१७ लाइनअपमा अब ‘एयर’ नाम पाएको नयाँ स्लिम मोडेल समावेश छ, जुन नाम एप्पलले पहिले नै आफ्नो पातलो आइप्याड र म्याक कम्प्युटरका लागि प्रयोग गर्दै आएको थियो। वार्षिक परम्परानुसार, सबै चार नयाँ आइफोन-१७ मोडेलमा गत वर्षको तुलनामा राम्रो क्यामरा र बढी टिक्ने ब्याट्री हुनेछ। सबै मोडेलमा कम्तीमा २५६ गिगाबाइट स्टोरेज हुनेछ, जुन अघिल्लो पुस्ताको भन्दा दोब्बर हो।

‘हामी फेरि स्तर बढाउँदैछौं,’ एप्पलका सीइओ टिम कुकले कुपर्टिनोस्थित कम्पनीको क्याम्पसमा स्टीभ जोब्सको नाममा बनेको अडिटोरियममा भेला भएका दर्शकलाई सम्बोधन गर्दै भने।

ट्यारिफको चपेटामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमन र उनले लगाएको उच्च करको नीतिपछिको आइफोनका नयाँ मोडललाई बजारमा सहज छैन। आइफोनले नयाँ मोडल ल्याउनुलाई ट्रम्प प्रशासनले विदेशी उत्पादनलाई अमेरिकी बजारमा ल्याएको रूपमा हेरिरहेको छ, जसले गर्दा कुकलाई गाह्रो परेको छ।

आइफोन-१७ का सबै मोडेल चीन र भारतस्थित एप्पलका उत्पादन केन्द्रमै बन्ने भएकाले ती ट्रम्पका केही ट्यारिफको चपेटामा पर्नेछन्। विश्लेषकहरूका अनुसार आयात शुल्कले एप्पललाई मूल्य बढाउन दबाब दिएको छ, ताकि नाफा सुरक्षित गर्न सकियोस्।

कम्पनीले कुनै कारण नबताई आइफोन-१७ प्रोको मूल्य १,१०० डलर तोकेको छ, जुन अघिल्लो मोडेलको भन्दा १०० डलर, अर्थात् १० प्रतिशत बढी हो। आइफोन एयरको मूल्य १,००० डलरबाट सुरु हुनेछ, यो अघिल्लो वर्षको आइफोन-१६ प्रो बराबर हो।

सामान्य आइफोन-१७ भने ८०० डलरमै रहनेछ र आइफोन-१७ प्रो म्याक्स १,२०० डलरमै। सबै मोडेल सेप्टेम्बर १९ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

एप्पलको सेयर मंगलबार १.५ प्रतिशतले घट्यो, जबकि अन्य बजार बढेको थियो। यसले लगानीकर्ताहरू अझै सन्तुष्ट नभएको देखाएको छ।

नयाँ आइफोन एयर
आइफोन-१७ एयरले सबैभन्दा बढी चर्चा पायो। यसले प्रो मोडलको धेरै सुविधा समेट्दै आकर्षक डिजाइनमा आएको छ। फोरेस्टर रिसर्चका विश्लेषक दिपाञ्जन चटर्जीका अनुसार यो ट्रेन्डमा ध्यान दिने उपभोक्तालाई आकर्षित गर्नेछ। एयर मोडेल मात्र ५.६ मिलिमिटर बाक्लो छ, जब कि अन्य आइफोन १७ मोडेल ८–९ मिलिमिटर छन्। ‘त्यहाँ थुप्रै ‘क्र्याकल्स’ र एउटा ठूलो ‘पप’ थियो,’ चटर्जीले भने।

यसपटक सेल्फी संस्कृतिलाई ध्यान दिइएका नयाँ फिचरहरू पनि थपिएका छन्। आइफोन-१७ मोडलमा बढी मेगापिक्सेल भएको फ्रन्ट क्यामेरा, ‘सेन्टर स्टेज’ अप्सन, र नयाँ सेन्सर छन् जसले प्रयोगकर्तालाई फोन नघुमाइकनै ल्यान्डस्केप फोटो खिच्न दिनेछ। विश्लेषक पाओलो पेस्काटोरेका अनुसार, यद्यपि अपग्रेडहरू धेरै हदसम्म अघिल्ला वर्षझैँ क्रमिक मात्र हुन्, एप्पलले ‘लामो समयदेखि उस्तै रहेको आइफोनमा नयाँपन ल्याएको’ देखिन्छ। एप्पलले नयाँ स्मार्टवाच पनि ल्याएको छ, जसमा उच्च रक्तचाप (हाइपरटेन्सन) पत्ता लगाउन सहयोग गर्ने उपकरण छ, साथै नयाँ पुस्ताको एअरपड पनि प्रस्तुत गरेको छ।

बिक्री बढाउने प्रयास
एप्पल पछिल्ला वर्षमा बिक्री वृद्धिमा संघर्ष गर्दै आएको छ। नाफा भए पनि स्टार्टअप बिजनेसमा प्रश्न उठिरहेको छ। यही कारण कम्पनीको बजार मूल्य यस वर्ष ६ प्रतिशतले घटेको छ, जबकि नास्डाक कम्पोजिट १३ प्रतिशतले बढेको छ।

पछिल्लो वर्षको आइफोन १६ ठीकठाक चले पनि, एआई फिचर नपुगेकाले बिक्री अपेक्षा अनुसार भएन। स्मार्ट सिरि सहायक लगायतका फिचर अब अर्को वर्ष मात्र आउनेछन्।

फोरेस्टर रिसर्चका टोमस हुशानले भविष्यवाणी गरे, ‘प्रतिस्पर्धीलाई हराउन एप्पलले एआईलाई नयाँ प्रयोगकर्ता इन्टरफेसको रूपमा सफलतापूर्वक प्रयोग गर्नैपर्छ।’

विश्वव्यापी व्यापार युद्धको असर
ट्रम्प र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले बारम्बार आइफोन अमेरिकामै बनाउनुपर्ने माग गरेका छन्। तर विश्लेषकहरूले यो असम्भव बताएका छन्, किनभने यस्तो गर्न वर्षौं लाग्नेछ र मूल्य दोब्बर वा तेब्बर हुनेछ।

कुकले अमेरिकामा ४ वर्षभित्र ५०० अर्ब डलर लगानी गर्ने वाचा गरेका थिए, पछि १०० अर्ब थपे। उनले ट्रम्पलाई २४ क्यारेट सुनको आधार भएको मूर्ति पनि उपहार दिएका थिए।

यस्तो कूटनीतिले एप्पललाई सबैभन्दा कठोर ट्यारिफबाट केही हदसम्म जोगाएको छ। तर अझै पनि अमेरिकामा भित्रिने आइफोनहरूमा करिब २५ प्रतिशत शुल्क लागिरहेको छ, जसका कारण विश्लेषकहरूले कम्पनी मूल्य बढाउने अनुमान गरेका थिए। यद्यपि स्यामसङ र गुगलजस्ता अन्य स्मार्टफोन कम्पनीहरू भने गत वर्षकै मूल्यमा टिकेका छन्। (एपी)

कार्की क्याबिनेटको पहिलो निर्णय: असोज १ गते शोक दिवस, मृतकका परिवारलाई १५ लाख दिने

सरकारले जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति प्रति दु:ख व्यक्त गर्दै असोज १ गते शोक विदा दिने निर्णय गरेको छ। आज सरकार विस्तारपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले असोज १ गते शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले सहादत प्राप्तलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरिने जानकारी दिए। यस्तै, मृतकका परिवारलाई १५ लाख दिने निर्णय पनि सरकारले गरेको छ।

यस्तै, घाइतेहरुको नि:शुल्क उपचार गर्ने र आन्दोलनका क्रममा धनजन क्षति र ज्यादती भएकोमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरिएको छ। पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउने तयारी गरिएको भनिए पनि नाम भने तय भएको छैन।

आयोगको प्रतिवेदनको आधारमा कारबाही गर्ने अर्यालले जानकारी दिए। साहदत प्राप्तहरुको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय पनि भएको छ।

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय

जेनजी आन्दोलनका क्रममा शाहदत्त प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

गृहमन्त्री अर्यालका अनुसार १ असोजमा शोक दिवस मनाउने र सार्वजनिक विदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ । जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।

गृहमन्त्री अर्यालका तीन निर्णय- काजक्रियालाई एक लाख, शव लैजान सघाउने र शोक दिवस मनाउने

नवनियुक्त गृह एवम् कानुनमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहणसँगै तीनवटा निर्णय गरेका छन्। शीतल निवासमा सपथ गरेपछि सिंदरबार पुगेर पदभार ग्रहण गरेका उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई काजक्रियाका लागि सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, शवहरु जिल्ला पठाउनुपर्नेको हकमा हेलिकप्टरको प्रयोग र पछिल्लो घटनालाई राष्ट्रिय शोकको रुपमा मनाउने निर्णय गरेका हुन्।

गृहमन्त्री अर्यालले आगामी निर्वाचन निष्पक्षरुपमा भएर गर्ने बताएका छन्। गत साता भएको आन्दोलनमा दिवंगत धेरै जनाको शव अझै उपत्यकाका अस्पतालहरुमा छन्। अब सद्गतका लागि गाउँघर लैजान सरकारले सघाउनेछ।

शोक दिवसमा राष्ट्रिय झण्डा झुकाइनेछ। उनको निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्नेछ।

बैंकिङ सेवाहरू सहज रुपमा संचालनको वातावरण बनाउन सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ सेवाहरू सहज रुपमा संचालन गर्ने वातावरण बनाउन अनुरोध गरेको छ। सिबिफिनले विज्ञप्ति निकाल्दै जेनजीको आन्दोलनमा अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सिर्जना गर्न माग गरेको हो।

सिबिफिनले भनेको छ, ‘गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्‍याउने तत्वहरूसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रुपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना बैंकिङ सेवाहरू सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन समेत सिबिफिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।’

महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा जेनजीको आन्दोलनले निजी क्षेत्रमा क्षति पुर्‍याएको सिबिफिनको भनाइ छ।

व्यवसायी र ऋणीलाई जोगाउन राष्ट्र बैंकले बनायो समिति

बैंकर र व्यवसायी दुवैको कुरा सुनेपछि नेपाल राष्ट्र बैंकले व्यावसायिक प्रतिष्ठनदेखि तल्लो तहका ऋणीसम्मलाई के कसरी सहयोग गर्न सकिन्छ भनेर अध्ययन सुरु गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग र भुक्तानी प्रणाली विभागका प्रमुखहरुको संयोजकत्वमा दुई वटा समिति बनाएर अध्ययन सुरु गराएका छन्।

कोभिडमा जस्तो एकै पटक पुनर्कर्जामा जाँदा पछि जटिलता आउने भएकाले बजारको माग र आवश्यकता अध्ययन गरेर कस्तो सुविधा दिने भन्ने निर्णय राष्ट्र बैंकले गर्नेछ। गभर्नर पौडेलले गत शुक्रबार मात्र बैंकर र व्यवसायीहरुलाई डाकेर समस्या सुनेका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहणलगत्तै कर्मचारीहरुलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने योजना सुनाएकी थिइन्।

सरकारसँग समन्वय गरेर अगाडि बढ्ने योजनामा रहेको राष्ट्र बैंकले छलफलको अवसर पाएको छैन। अर्थसचिव राष्ट्र बैंकको सञ्चालक हुन्छन्। सरकारी काममै व्यस्त भएका कारण उनी राष्ट्र बैंक सञ्चालक समितिको बैठकमा जान सकिरहेका छैनन्। अर्थमन्त्री नियुक्त नभइसकेको अवस्थामा राष्ट्र बैंक पनि अन्योलमा छ।

त्यसैले आफ्नो तर्फबाट सानादेखि ठूला ऋणीसम्म र बैंकरको कुरा बुझ्न राष्ट्र बैंकले समिति बनाएर काम थालेको हो। बैंक तथा वित्तीय संस्थामार्फत ऋणीको कुरा बुझ्न नियमन विभाग प्रमुख गुरु पौडेलको नेतृत्वमा समिति बनाइएको छ। सोझै व्यवसायीहरुको समस्या र मागका बारेमा बुझ्न भुक्तानी प्रणाली विभागका प्रमुख किरण पण्डितको नेतृत्वमा अर्को समिति गठन गरिएको छ।

जेनजी आन्दोलनमा आपराधिक समूहले घुसपेठ गर्दा गभर्नर पौडेलकै घर जलेको छ। व्यक्तिगत पीडाकै बीच पनि गभर्नरले आफैं पहल गरेर निजी क्षेत्रको कुरा सुनेका थिए।

राष्ट्र बैंक तत्कालै पुनर्कर्जा वा सहुलियतपूर्ण कर्जाको निर्णय गर्नेभन्दा पनि पहिले आवश्यकता पहिचान गर्नतिर लागेको छ। त्यसपछि कति क्षति भएको हो भन्ने यकिन गरेर कस्तो सुविधा दिँदा निजी क्षेत्रको समस्या सम्बोधन हुन्छ त्यही अनुसार अगाडि बढ्ने नियमन विभाग प्रमुख पौडेलले जानकारी बताए।

निजी क्षेत्रको मनोबल कमजोर भएकाले राजस्वमा ठूलो प्वाल पर्ने आकलन गरेको राष्ट्र बैंकले समग्र अर्थतन्त्रलाई ‘पम्पिङ’ गर्ने गरी नीति तर्जुमा गर्नु पर्नेछ।

कति छ पैसा?
प्रधानमन्त्री कार्कीले भनेजस्तै सरकारसँग सहुलियतपूर्ण कर्जा दिनका लागि १० अर्ब रुपैयाँ मात्र छ। त्यो पनि आगलागी तथा तोडफोड हुनुभन्दा अगाडिको अवस्थामा।

अघिल्लो सरकारले पुरानो अनुदान फरफारक गर्ने भनेर राष्ट्र बैंकसँग विवरण मागेको थियो। अब राजस्व उठाउने संयन्त्र कमजोर भएकाले सरकारले अनुदान ऋण उपलब्ध गराउने सम्भावना केही टरेको छ।

त्यसो हुँदा राष्ट्र बैंककै तर्फबाट केही योजना बनाउनु पर्ने हुन्छ। राष्ट्र बैंकका अधिकारीहरुका अनुसार, कोभिडकालमा जस्तै गरेर जाँदा राष्ट्र बैंकले सस्तो ब्याजदरको साढे २ खर्ब रुपैयाँ पुनर्कर्जा दिन सक्छ। त्यसबाहेक बैंकिङ क्षेत्रमा ६ खर्ब रुपैयाँ अतिरिक्त तरलता छ। यसमध्ये केहीलाई उद्योग धन्दा पुनरुत्थानका लागि आधार दर हाराहारीमा दिने व्यवस्था मिलाउन सकिन्छ।

तर, पछिल्लो समय ऋणको माग नै थिएन। पछिल्लो घटनाले माग थप घट्ने विश्लेषण राष्ट्र बैंकको छ। त्यसो हुँदा तोडफोड नभएका उद्योगहरुबाट पनि ऋणको माग हुने छैन।

तोडफोड र आगजनी भएका उद्योगहरुको क्षति धेरै हदसम्म बीमा कम्पनीहरुबाट बहन हुन्छ। क्षति भएका उद्योग तथा प्रतिष्ठान तथा ऋणीहरुलाई ऋण तिर्ने समय थप्न सकिने गरी पनि छलफल भएको छ।

कुलमानलाई प्राधिकरणमा गर्न नसकेको काम गर्ने अवसर

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्। कुलमानले सोमबार अपराह्न ऊर्जा मन्त्रालय पुगेर पद्‍भार ग्रहण गर्ने क्रममा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन्। डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगका नाममा सवा ८ अर्ब रुपैयाँ बक्यौता रहेको नेपाल विद्युत प्राधिकरणको हिसाब छ।

प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा डिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने कुलमानको प्रयास असफल भएको थियो। यही विषयमा तत्कालीन ऊर्जामन्त्री दीपक खड्कासँगको विवादका कारण कुलमान गत चैत दोस्रो साता बर्खास्त भएका थिए।

प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा गर्न नसकेको काम कुलमानले अब ऊर्जामन्त्रीको जिम्मेवारीमा रहेर गर्ने भएका हुन्। उनले सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‍मा ऊर्जासहित शक्तिशाली तीन वटा मन्त्रालयको नेतृत्व पाएका छन्। उनले ऊर्जाबाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि नेतृत्व पाएका हुन्।

कुलमानले प्राधिकरणमा रहँदा बक्यौता उठाउनका लागि एकपछि अर्को प्रयास गरेकामा तत्कालीन ऊर्जामन्त्री खड्काले भाँजो हालेका थिए। बक्यौता रकम उठाउने कुलमानको योजनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि असहयोग गरेका थिए। ओलीले खड्काको लहलहैमा लागेर कार्यकाल सकिनु पाँच महिनाअघि चैत ११ गते कुलमानलाई बर्खास्त गरेकामा तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसबाट विरोध भएको थियो।

स्रोतका अनुसार खड्काले डेडिकेटेड र ट्रंक लाइनबापत ठूलो रकम तिर्नुपर्ने उद्योगी र बिचौलियाको प्रभावमा परेर अन्तिमसम्म नै बक्यौता रकम ढिसमिस बनाउने प्रयास गरेका थिए। कुलमानलाई बर्खास्त गरेपछि खड्काले चैत २९ गते प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराइ प्रशासकीय पुनरवलोकनका लागि धरौटी रकम २५ प्रतिशतको साटो ५ प्रतिशत राखे हुने निर्णय गरेका थिए।

यो निर्णयका आधारमा प्राधिकरणले सूचना निकालेपछि त्रिवेणी स्पिनिङ मिल्स, त्रिवेणी सिन्थेटिक यार्न इन्डष्ट्रिज, रिलायन्स स्पनिङ मिल्स, भलबारी स्वचालित कारखाना, एसआर स्टील उद्योग, गोयन्का फुड्स, अशोक स्टील, जगदम्बा स्टील, रघुपति जुट मिल्स, बाबा जुट मिल्स, सिद्धार्थ पेट इन्डष्ट्रिज, घराना फुड्स, एसआर फुड्स, जगदम्बा सिन्थेटिक, एभरेष्ट रोलिङ मिल्स, युनाइटेड सिमेन्ट, अर्घाखाँची सिमेन्ट, शिवम् सिमेन्ट लगायत ४६ वटा उद्योगले निवेदन दिएका थिए। तीमध्ये लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले भने किस्ताबन्दीको सुविधामा बक्यौता रकम तिर्दै आएका छन्।

पुनरवलोकन समितिबाट आफ्नो चाहना अनुसार निर्णय गराउने खड्काको योजनामा प्राधिकरणकै कर्मचारीले साथ दिन अस्वीकार गरेका थिए। खड्काले आफैंले प्राधिकरणको सञ्चालक नियुक्त गरेका श्यामकिशोर यादवको नेतृत्वमा पुनरवलोकन समिति गठन गरेकामा प्राधिकरणका कर्मचारीले समितिमा बस्नै अस्वीकार गरेका थिए।

खड्काले बक्यौता ढिसमिस गर्न खोजेको भन्दै कर्मचारीले समितिमा बस्न नमानेपछि अख्तियारले प्राधिकरण सञ्चालक समितिको निर्णयको माइन्यूट नै मागेर छानबिन अगाडि बढाएको थियो। अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले साउन अन्तिम साता प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर खड्काको योजनामा साथ नदिन निर्देशन दिएका थिए।

करणले काटेको बिल सच्याउने अधिकार पुनरवलोकन समितिलाई छ। पुनरवलोकन समितिबाट हुने निर्णय अन्तिम हुने प्राधिकरणको विद्युत वितरण विनियमावली विनियमावलीमा उल्लेख छ। त्यही व्यवस्थाका कारण खड्काले बक्यौता रकम ढिसमिस गराउन खोजेका थिए। प्राधिकरणका अनुसार ३४ उद्योगको नाममा जरिवानाबाहेक ६ अर्ब ४० करोड ९२ लाख ४० हजार रुपैयाँ बक्यौता छ

जेनजी आन्दोलनबाट बैंकहरूका ६८ वटा शाखा र ६९ वटा एटिएम आगजनीः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले विभिन्न बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेको बताएका छन् । सोमबार अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा गभर्नर पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘जेन–जी प्रदर्शनका कारण बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरूको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुःखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ ।’

निजामती सेवामा रहँदा निष्कलंक अर्थमन्त्री खनालका चार एजेण्डा

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदबहालीसँगै चारवटा मुख्य एजेण्डा अगाडि सारेका छन्। निजामती प्रशासनको बागडोरमा रहँदा निष्कलंक हुन सफल खनालले भ्रष्टाचार नियन्त्रण, फजुल खर्च घटाउँदै चुनावी बजेटको जोहो, पुनर्निर्माण र निजी क्षेत्रसँगको सहकार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका हुन्।

मन्त्री खनालले राजस्व बढाउन अर्थ मन्त्रालय केन्द्रित हुने बताएका छन्। ‘राजस्व असुलीमा ज्यादै ठूलो प्रयत्न भएर लाग्नुपर्ने छ। यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्नेछ,’ उनले भने।

पहिलो : भ्रष्टाचार अन्त्य
अर्थमन्त्री खनालले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्ने भन्ने विश्वासका साथ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको बताए।
‘भ्रष्टाचार नियन्त्रणका लागि ज्यानै गुमाएर युवाहरूले बलिदान दिएका छन्। त्यो सपना पूरा गर्ने जिम्मेवारी हामीले पाएका छौँ। युवाहरूको विश्वास लिएर आएको छु। यसलाई पूरा गर्नु हामी सबैको दायित्व र कर्तव्य हो,’ उनले बुधबार पदभार् ग्रहणपछि मन्त्रालयका कर्मचारीसामु भने। मन्त्री खनालले विगतमा गल्ती गरेको भए कानुन बमोजिम सजाय हुने र अब आइन्दा नजानेर पनि कर्मचारीलाई गल्ती गर्ने छुट नहुने बताए।

‘गल्ती गरेका रहेछौँ भने निश्चित रुपमा कानुनी प्रक्रियामा सहभागी हुनुपर्छ। सजाय भोग्नका निम्ति तयार हुनुपर्छ। अब आइन्दा नजानेर पनि गल्ती गर्ने कुनै गुन्जयास नराख्नुहोला,’ उनले भने।

कुनै विषयमा शंका लागे, आफूले गरेको कामको परिणाम नराम्रो हुन्छ भन्ने लागे, करदाताको पैसाको सदुपयोग हुँदैन वा सार्वजनिक सम्पत्तिको दुरुपयोग हुँदैन कि भन्ने लाग्छ भने सच्च्याएर जान तयार हुनुपर्ने मन्त्री खनालले बताए। ‘सार्वजनिक सम्पत्तिको प्रयोगमा अब हामी सच्चिनै पर्छ। सच्चिएर अगाडि बढ्नुहोला भन्ने मेरो आग्रह छ,’ उनले भने।

भनसुन, अनुचित लाभजस्ता विषय अब नचल्ने मन्त्री खनालले बताए।

‘कतैबाट केही आयो भने त्यसमा सचिवज्यूले आफ्नो जिम्मेवारी पूरा गरेर एक्सन लिनुहुनेछ। म प्रशासनबाट आएको हुनाले थाहा छ प्रशासकीय अधिकार मन्त्रीको दायरामा पर्दैन। कारबाहीको दायरा मन्त्रीको हुँदैन। त्यसकारण मैले सचिवज्यूलाई भनेको छु- यस्तो खालको घटना भए तत्काल एक्सन लिनुस्। हामीले लामो समय अल्झाएर राख्नु हुँदैन,’ उनले भने।

गल्ती गर्ने कसैलाई पनि संरक्षण नगर्ने अर्थमन्त्री खनालले बताए। ‘यो मेरो व्यक्तिगत एजेण्डा होइन, अहिले राष्ट्रको एजेण्डा हो,’ उनले भने।

उनले जति समय लागे पनि काम कार्यालयमै गर्न कर्मचारीहरूलाई निर्देशन दिए। ‘होटल, रेस्टुरेन्ट,घरमा गएर काम गर्ने प्रयास नगर्नुहोला,’ खनालले भने।

उनले कुनै पनि कामका लागि आफ्नो घरमा कोही पनि नआइदिन आग्रहसमेत गरे। ‘मेरो घरमा नआउनुहोला। जे काम छ सबै कार्यालयमै बसेर गरौँ। मेरो घर चिन्नुभएन भने निकै खुशी हुनेछु,’ उनले भने।


दोस्रो : चुनावी खर्चको जोहो

आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गराउने म्यान्डेट पाएको सरकारले त्यसका लागि बजेटको जोहो गर्नुपर्ने भएको छ। चालु आवको बजेटले चुनावी खर्चको परिकल्पना नगरेकाले अन्तरिम सरकारले त्यसको व्यवस्थापन गर्नुपर्नेछ।

यसका लागि पूरक बजेट ल्याउने पक्षमा नरहेको मन्त्री खनालले बताए। बजेटभित्रै रहेर फजुल खर्चका निम्ति गरिएको विनियोजन कटौती गर्ने र प्रोजेक्ट बैंक बाहिरबाट राजनीतिक दबाबमा छिराइएका आयोजना कार्यान्वयन नगर्ने योजना मन्त्री खनालले सुनाए।

‘६ महिनाको संवैधानिक दायरा रहेको र त्यसपछि म्याद थप नहुने भएकाले यो अवधिमा जसरी पनि निर्वाचन सम्पन्न गराउनु छ। यसका लागि खर्चको जोहो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो,’ उनले भने।

टुक्रे आयोजना कार्यान्वयन नगर्ने, फजुल खर्च घटाउने र हुँदै नहुने काममा छुट्याइएको बजेट निर्वाचनमा उपयोग गर्ने आफ्नो रणनीति रहेको मन्त्री खनालले बताए। उनले भने, ‘यति गर्दा १०० अर्ब जति निकाल्न सकिन्छ कि भन्ने सचिवज्यू र मेरो बुझाइ छ।’

तेस्रो : तत्काल उठ्दैछौँ भन्ने सन्देश

खनालले सिंहदरबार छिर्न थालेको ४६ वर्षमा यस्तो भयावह अवस्था कहिल्यै नदेखेको बताए। ‘कतै युद्धभूमिमा आएकोजस्तो लाग्ने भएको छ। त्यसकारण कम्तीमा अर्थ मन्त्रालय परिसरमा भएका भग्नावशेष तुरुन्तै हटाऔँ। धुँवाले भएको कालो तुरुन्तै पोतेर सेतो बनाऔं। हामी उठ्यौँ है भन्ने सन्देश प्रवाह गरौँ,’ उनले भने।

सार्वजनिक सम्पत्ति क्षति भएकाले वित्तीय प्रणाली र संयन्त्रबाट अत्यावश्यक पुनर्निर्माण तत्काल सुरु गर्न पनि मन्त्री खनालले निर्देशन दिएका छन्।

‘सार्वजनिक सम्पत्तिको बिमा नहुने भएकाले क्षति ठूलो छ। तर तुरुन्तै गर्नुपर्ने काम सुरु गरिहालौँ। सार्वजनिक निकायहरू दुरुस्त भएर काम गर्न सक्ने भए भन्ने खालका बनाऔँ,’ उनले भने।


खनाल अर्थ मन्त्रालयका लागि तत्काल कुनै सवारीसाधन खरिद गर्ने पक्षमा छैनन्। ‘कतिपय सवारी आवश्यकताभन्दा बढी थिए होलान्, कुनै काम नलाग्ने हुन लागेका थिए होलान्। त्यसकारणले कम्तीमा ६ महिना अर्थ मन्त्रालयले भएकै सवारी साधनबाट काम चलाउनुपर्छ। सार्वजनिक खर्चमा ज्यादै निर्मम हुनुपर्ने बेला छ।’

चौथो : निजी क्षेत्रसँग सहकार्य

मन्त्री खनालले अर्थतन्त्रको बलियो आधार निजी क्षेत्र भएकाले उसँगको सहकार्यलाई बलियो बनाएर जाने प्रतिबद्धता जनाएका छन्। तोडफोड, आगजनी, लुटपाटबाट निजी क्षेत्रले ठूलो क्षति बेहोरेको भन्दै उनले भने, ‘यकिन विवरण नआएको भए पनि निजी क्षेत्रमा ठूलो क्षति भएको छ। व्यावसायिक प्रतिष्ठानमा आक्रमण भएको छ। उहाँहरूको मनोबल उकास्ने काम सरकारले गर्छ।’

मन्त्रालयका हरेक निर्णय निजी क्षेत्रमा गएर ठोक्किने र मन्त्रालयका हरेक निर्णयले निजी क्षेत्र प्रभावित हुने भएकाले मिलेर अगाडि बढ्ने खनालले बताए।

‘निजी क्षेत्रको मनोबल बढाउन तत्काल हामीले कदम चाल्नु छ। केही प्रणालीगत विषय पनि सुधार गर्नु छ। निजी क्षेत्रको विश्वास लिएर काम गर्नु छ। सबै मिली अर्थतन्त्र उकास्नु छ,’ उनले भने।

अर्थमन्त्रीमा रामेश्वर खनालको नियुक्ति

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अर्थ मन्त्रीमा रामेश्वर खनाललाई नियुक्त गरेको छ । त्यसैगरी गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङलाई पनि नियुक्त गरेको छ । देश आर्थिक रुपमा जर्जर भएको छ । अहिले आर्थिक संकटको अबस्था छ । यस्तो विषम परिस्थितिमा अर्थमन्त्री बनेका रामेश्वर खनालबाट धेरै सुधार हुने अपेक्षा गरिएको छ । अर्थसचिवको कार्यभार संहालीसकेका खनाल पूर्व प्रधानमन्त्री डा. वाबुराम भट्टराईका आर्थिक सल्लाहकार थिए । लामो समय अर्थ मन्त्रालयका विभिन्न पोजीशनमा रहेर प्रशाशनीक काम गरेका खनाल सक्षम र लोकप्रिय व्यक्ति मानिन्छन् । उनी अर्थशास्त्रका विद्यार्थी पनि हुन् । अर्थ मन्त्रालयबाट अवकास पाएपछि खनाल अध्ययन र अनुसन्धान कार्यमा मात्रै सिमित थिए । त्यसैक्रममा यस अघिको सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्दा उनी त्यसको अध्यक्ष भएर काम गरिसकेका छन् ।

आशा, अपेक्षा र चुनौती
बर्षौदेखि जनतामा शाशन गर्दै आएका लोकतन्त्राकि दलहरुले जनतामाथि शाशन त गरे तर विकास, समृद्धि, नागरिकले पाउनुपर्ने आधारभूत शिक्षा र स्वस्थ्य पनि दिन सकेनन् । यसैको मार अहिले भोग्नुपरेको छ । विगतका सरकारले आम नागरिकलाई उद्यमशीलता, उत्पादन, अर्थतन्त्र, वित्तीय शिक्षा आदिका विषयमा कहिल्यै राम्रो योजना दिन सकेनन् । राजनीतिक नेताहरुले व्यबयायी र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तिलाई सहजीकरण गर्न समेत सकेनन् । न त देश र जनतालाई धनी बनाउने विषयमा बृहत छलफल नै गर्न सके, बरु उल्टै लगानीका प्रकृया झन्झटीला, उच्च राजश्व, उच्चदरको कर नीति आदी इत्यादीसँगै व्यबसाय गर्दा घुस समेत दिनुपर्ने बाटाहरु बनाए ।

नेपालमा लगानी मात्रै चाहिने, रोजगार मात्रै चाहिने, अनि नेतालाई चन्दा पनि चाहिने तर लगानीकर्तालाई सहजीकरण दिनु नपर्ने ? लगानीकर्ताले नाफा कमाएको देख्न पनि नचाहने । यही कारण हो नेपालमा प्रजातन्त्र आएको यत्तिका बर्षसम्म देश आर्थिक रुपमा समृद्ध हुन नसक्नु र युवाहरुले देशमा भविश्य देख्न नसक्नु । यसका साथै दलका नेताहरुले केही काम नगर्ने, चन्दा र घुसकै भरमा धनी हुने पद्धतिको विकास भयो । यही विचमा खनाल अर्थमन्त्री बनेका छन् ।

नेपालमा उद्यमशीलता गर्न कठिन छ । अझ कठिन छ लगानी गरेर उद्यमी बन्न अनि अरुलाई रोजगारी दिन । यहाँका कानून, नीति र सिष्टम लगानीमैत्री छैनन् । यसै कारण विदेशी लगानीकर्ता नआएका हुन् । यहाँका राजनीतिक दलका नेताहरुले कहिल्यै पनि आर्थिक विकासका लागि सरल नीतिहरु बनाउन सकेनन् । अनि यी राजनीतिक दलबाट विकास र समृद्धिको आशा धेरैले गर्न छोडे । यसै कारण कैयौं युवाले देश छोडे, भोलि हामीले पनि देश छोड्न नपरोस्, देश राम्रो बनोस्, यहीँ देशमा रोजगार मिलोस, उद्यमी बन्न पाइयोस् भनेर नै अहिले जेनजी पुस्ताले लोकतान्त्रिक सरकारमाथि हस्तक्षेप गरेका हुन् ।

हाल निर्माण हुँदै गरेको सरकारबाट आम युवा पुस्ताले राखेका अपेक्षा र सिंगो देशले गरेको अपेक्षा अलि धेरै नै छ । सरकारको नेतृत्वतहले चाहेको अबस्थामा यी समस्या समाधानमा त्यति कठिन पनि छैन । जे जति अहिले समस्याहरु छन् कम्तिमा ती समस्यामाथि आशाको रेखा मात्रै कोर्न सकेपनि खनाल सफल अर्थमन्त्रीको दर्जामा पर्नेछन् ।

दशैंको मुखैमा बैंकिङ र सुरक्षा चुनौती

यहि भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित अस्थिर परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट कैदीबन्दी फरार रहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार आइतबारसम्म तीन हजार ७ सय २३ कैदीबन्दी पक्राउ गरी कारागारमा फर्काइएको छ भने अझै १० हजार ३ सय २० कैदीबन्दी फरार रहेका छन् । प्रहरीले फरार कैदीबन्दीको खोजी जारी राखेको छ र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रवक्ता घिमिरेका अनुसार कतिपय फरार कैदी भारततर्फ भाग्न खोजिरहेका थिए, तर भारतीय प्रहरीले समातेर फिर्ता पठाएका छन् । केही फरार कैदीलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन् भने कतिपय आफैं फिर्ता भएर कारागार आएका छन् । घिमिरेले भने, ‘कसैले फरार कैदीबन्दीको बारेमा जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा तुरुन्त जानकारी दिनुहोस् । हामीले खोजी अभियान जारी राखेका छौं ।’

यस्तै सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट १ सय ३९ जना थुनुवालाई पक्राउ गरिएको छ । तर, अझै दुई हजार १०० थुनुवा फरार छन् । प्रवक्ता घिमिरेले भने, ‘फरार थुनुवाको खोजी जारी छ । सबै सुरक्षाकर्मी, प्रहरी र स्थानीय प्रशासनले सतर्क रहनु आवश्यक छ ।’ यसरी दशैंको मुखैमा ठुलो संख्यामा कैदी र थुनुवा फरार हुँदा सुरक्षा चुनौती थपिएको छ ।

बैंकिङ र सार्वजनिक सुरक्षा चुनौती
फरार कैदीबन्दीको घटना बैंकिङ क्षेत्रका लागि पनि चुनौती बनिरहेको छ। देशभरका बैंक तथा वित्तीय संस्थाहरुले सुरक्षालाई उच्च प्राथमिकतामा राख्न थालेका छन्। कैदीबन्दीको अस्थिर गतिविधि, तोडफोड र आगजनीका घटनाले बैंक र वित्तीय संस्थाको नियमित काममा असर पारेको छ।

विशेषतः दशैंको चहलपहल सुरु हुन लाग्दा यस्तो सुरक्षा चुनौती थप चिन्ताजनक भएको छ। बैंकहरु, सरकारी कार्यालय तथा बजार क्षेत्रमा पनि सतर्कता अपनाउन सुरक्षाबलहरुलाई निर्देशन दिइएको छ।

जेनजी प्रदर्शनपछि कैदीबन्दी फरार हुनु देशको सुरक्षा प्रणालीका लागि गम्भीर चुनौती बनेको छ । दशैंँको चहलपहलका बेला बैंकिङ, व्यापार, सार्वजनिक सुरक्षा र नागरिक जीवनमा असर पर्न सक्ने भएकाले सुरक्षा निकायले सबै उपाय अपनाइरहेको छ । नागरिकको सहयोग र सतर्कता नै यस संकट व्यवस्थापनको प्रमुख आधार हुने देखिन्छ ।

फरार कैदीबन्दीको खोजी जारी रहँदा सरकार, प्रहरी र सुरक्षा निकायले सार्वजनिक सुरक्षा र वित्तीय क्षेत्रमा थप सतर्कता अपनाउने तयारीमा छन् ।