जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • नबिल बैंकका प्रमुख कार्यकारी अनिल शाहको तलब घट्यो, वर्षभरी एक करोड ६२ लाख रुपैयाँ बुझे

नबिल बैंकका प्रमुख कार्यकारी अनिल शाहको तलब घट्यो, वर्षभरी एक करोड ६२ लाख रुपैयाँ बुझे

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको वार्षिक तलब तथा सुविधा घटेको छ। अघिल्लो वर्षको भन्दा यसपाली उनको तलब सुविधा ३६ लाख रुपैयाँले कम भएको हो।

बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा उल्लेख गरे अनुसार, एक वर्षमा शाहलाई एक करोड ६२ लाख ३४ हजार रुपैयाँ मात्र भुक्तानी गरिएको छ।

जबकी अघिल्लो वर्ष एक करोड ९८ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

बैंकले पुस २९ गते साधारणसभा डाकेको छ। साधारणसभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदनमा शाहको तलब सुविधा घटेको उल्लेख गरिएको छ।

यसो त सञ्चालक समिति खर्च पनि घटेको छ। अघिल्लो वर्ष सञ्चालक समिति बैठकका लागि कुल ७० लाख खर्च भएकोमा गत वर्ष ५४ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ।

यद्यपि सञ्चालकहरुले लिने भत्ता भने बढेको छ। अघिल्लो सात २४ लाख १० हजार रुपैयाँले काम चलेको थियो भने पोहोर २७ लाख ५९ हजार रुपैयाँ खर्च भयो।

नबिल बैंक लिमिटेडले सेयरधनीलाई साढे ३३ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बैंकले कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

बैंकले नगद लाभांशलाई प्राथमिकतामा नराखी पुँजी वृद्धिमा जोड दिएको पहिलो पटक हो। बैंकले पछिल्लो दुई वर्ष १२/१२ प्रतिशतका दरले बोनस सेयर दिँदै आएको थियो।

बैंकले गत आर्थिक वर्ष ३ अर्ब ४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब २० करोड रुपैयाँ यस्तो नाफा गरेको छ।

बैंकको अहिले चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ। अब पुँजी सवा तीन अर्ब  रुपैयाँभन्दा बढीले बढ्ने छ। बैंकको जगेडा कोषमा १६ अर्ब ८७ करोड रुपैयाँ छ।

3875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका