जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • साख: ग्रुपका अध्यक्ष गणेशभक्त साख:को ९१ वर्षको उमेरमा निधन, उद्योग व्यवसायमा महत्वपूर्ण योगदान

साख: ग्रुपका अध्यक्ष गणेशभक्त साख:को ९१ वर्षको उमेरमा निधन, उद्योग व्यवसायमा महत्वपूर्ण योगदान

साख: ग्रुपका अध्यक्ष उद्योगी गणेशभक्त साख:को ९१ वर्षको उमेरमा निधन भएको छ। भक्तपुर पुर्ख्यौली भएका साख: बुढ्यौलीमा समेत उद्योग व्यवसायमा सक्रिय थिए।

 

गणेशका पाँच छोरामध्ये एक जनाको निधन भइसकेको छ। उनका छोराहरु किरणप्रकाश, तेज प्रकाश, विश्वप्रकाश र ज्योतिप्रकाश छन्। श्रीमति जनकलक्ष्मी र साहिँलो छोरा प्रभातको निधन भइसकेको छ। उनले भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेर त्यस क्षेत्रको उद्योग व्यापार बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले भक्तपुरको उद्योग व्यवसायलाई विस्तार गर्न साख:को योगदान महत्वपूर्ण रहेको बताए।

‘भक्तपुरमा जन्मिएर यो क्षेत्रको उद्योग व्यवसाय विकास गरेपछि काठमाडौं बस्नुभएको थियो। तर पछिल्लो केही वर्षदेखि फेरि यही आएर बस्न थाल्नुभएको थियो,’ ताम्राकारले बिजमाण्डूसँग भने, ‘केही समय पहिला भेट्दा समेत उहाँ सक्रिय नै रहेको पाएको थिएँ।’ यो समूहको भक्तपुरमा नेपाल पेन्टस र साख: मेटल एण्ड एलाइड इन्डस्ट्रिज छ। उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका साख: सामाजिक क्षेत्रमा पनि क्रियाशील थिए। उनलाई २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत दिएको थियो।

व्यवसाय र उद्योगमा योगदान

गणेशभक्तका बाबु रामभक्तले जापानबाट कपडा र सिंगापुरबाट ल्वाङ, सुकमेल मरिच लगायतका सामान आयात गर्थे। यो व्यापारमा उनी समेत संलग्न रहे।

कृष्णलाल रामभक्त फर्मका नाममा विदेशबाट सामान ल्याएर यहाँ बिक्री गरिन्थ्यो। मुम्बइबाट व्यवस्थापनमा स्नातक गरेका गणेशभक्तले चकलेट, बिस्कुट र जर्मनीबाट लुगा सिलाउने मेसिन झिकाए। काठमाडौको हात्तीसारमा कार्यालय राखेर जर्मनी, चीन र जापानबाट सामान ल्याएर कारोबार हुन्थ्यो। अहिले त्यही साख:को कर्पोरेट कार्यालय छ।

व्यवसायसँगै उनले उद्योग क्षेत्रमा हात हाल्दै युनिसा पोलिकेम र नेपाल पेन्ट्स उद्योग खोले। २०५१ सालमा सिमरामा साख: स्टील स्थापना गरे। गणेशभक्तले एफएमसीजीमा समेत हात हाल्दै मल्टिफुड इन्डस्ट्रिज खोलेर चाउचाउ उत्पादन समेत गरेका थिए। उनले चेमी ड्रग उद्योग समेत किनेर औषधी उद्योगमा समेत संलग्न भएका थिए।

उनी भ्याट कार्यान्वयन अघि बनाएको अध्ययन टोलीको सदस्यसमेत थिए। रुप खड्काको अध्यक्षतामा बनेको कार्यदलमा उनी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यको हैसियतमा अध्ययन टोलीमा सहभागी भएका थिए।

8165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?