जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ‘भेरोसेल’ खोपको दोस्रो डोज, ५० वटा खोप केन्द्र तय

‘भेरोसेल’ खोपको दोस्रो डोज, ५० वटा खोप केन्द्र तय

काठमाडौंमा आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाइने भएको छ।

वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने उल्लेख छ।

यसको लागि काठमाडौ‌ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १/२ वटा खोप केन्द्र तय गरिएको छ।

सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र वैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्। यस्तै, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।

वैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० गते र वैशाख १५ गते खोप पहिलो डोज लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।

कहाँ छन् खोप केन्द्र ?

काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ। पहिलो डोज भने निश्चित अस्पताल र स्वास्थ्य केन्द्रबाट मात्रै प्रदान गरिएको थियो।

दोस्रो डोज भने काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट प्रदान गरिनेछ। त्यसका लागि ३२ वटा खोप केन्द्रहरु छुट्याइएको छ। ३२ वटा खोप केन्द्रसँगै महाराजगञ्ज मेडिकल क्याम्पसमा समेत खोप दिइनेछ।

चन्द्रागिरी नगरपालिकामा तीनवटा खोप केन्द्र तय गरिएको छ। कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई-दुई स्थानमा खोप केन्द्र तय गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक-एक वटा खोप केन्द्र तय गरिएको छ।

दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ। पहिलो डोज लगाएको मिति अनुसार दोस्रो डोज लगाउने तालिका बनाइएको छ। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० बजे देखि बेलुका ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन्।

चीनमा उत्पादित ‘भेरोसेल’ भ्याक्सिन चैत २५ गते बाट लगाउन सुरु गरिएको थियो। चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो।

6185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका