जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एससीटीको ‘स्मार्ट क्युआर’ सबै पीएसपीको वालेटबाट जुनसुकै क्युआरमा भुक्तानी गर्न सकिने

एससीटीको ‘स्मार्ट क्युआर’ सबै पीएसपीको वालेटबाट जुनसुकै क्युआरमा भुक्तानी गर्न सकिने

कार्ड सेवामा अग्रणी रहेको स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) ले विद्युतीय प्रणालीबाट हुने सबै भुक्तानी सेवालाई एउटै ‘प्लाटफर्म’ बाट उपलब्ध गराउन प्रक्रिया थालेको छ।

अहिले कार्ड सेवामा केन्द्रित रहेको कम्पनीले ‘स्मार्ट क्युआर’ भुक्तानी सुरु गर्दैछ। नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) को लाइसेन्स लिएको कम्पनीले स्मार्ट क्युआरको औपचारिक सेवा माघबाट सुरु गर्दैछ। यद्यपी अहिले पनि यो सेवा उपलब्ध भने छ।

‘अहिले कम्पनी पिच्छे छुट्टाछुट्टै सेवा उपलब्ध छन्। अब हामी कम्प्लिट पेमेन्ट सोलुसन्स प्रोभाइडरका रुपमा अगाडि आउँदैछौं,’ एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बिजमाण्डूसँग भने, ‘त्यसको सुरुवात स्मार्ट क्युआरबाट गर्न लागिएको हो।’

अहिले दर्जनौं पीएसओहरु सञ्चालनमा छन्। उनीहरुले आफ्नो विशेषज्ञता अनुसार एउटा निश्चित क्षेत्रहरुमा काम गरिरहेका छन्। जस्तो कसैले मोबाइल बैंकिङमा काम गरिरहेका छन् भने कसैले कार्ड सेवामा काम गरिरहेका छन्। 

‘हामीले भने एउटै प्लाटफर्मबाट सबै सुविधा दिन थालिसकेका छौं,’ भुजुले भने, ‘यो भनेको इन्ट्रिग्रेटेट सेवा हो।’ उनका अनुसार, अहिले मोबाइल बैंकिङ सेवा मोबाइलमा मात्र चल्छ। कार्ड कार्डमा मात्र चल्छ। एसटीसीले भने सबै सेवा एउटा प्लाटफर्मबाट उपलब्ध गराउने गरी ‘इकोसिस्टम’ बनाउन खोजेको हो। 

‘हाम्रो फोकस भनेको डिजिटल पेमेन्टको सबै डेलिभरी च्यानलहरु एउटै विन्डोजबाट चल्न पर्यो भन्ने हो। हामी त्यही गर्दै छौं। त्यही अनुसार हामीले एससीटीलाई नयाँ तरिकाबाट अगाडि लैजान खोजेका हौं,’ भुजुले भने। 

उनका अनुसार, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगयात सबै सेवा अब एउटै लगइनबाट चल्ने छ। कम्पनीले सुरुवात स्मार्ट क्युआरबाट गर्न खोजेको हो। स्मार्ट क्युआरको अहिलेसम्म ग्राहक २५ हजार नाघिसकेका छन्। यसमा ८ वटा पीएसपीहरु आबद्ध भइसकेका छन्। 

अहिले आइएमइपेको क्युआरबाट प्रभु पेको क्युआरमा भुक्तानी गर्न मिल्दैन। स्मार्ट क्युआरबाट अब आबद्ध जुनसुकै पीएसपीको वालेटबाट जुनसुकै क्युआरमा भुक्तानी गर्न मिल्छ। 

अहिले एउटाको सेवा उसको नेटवर्कमा मात्र चल्छ। अब भने राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त सबैको नेटवर्कमा चल्छ।  ‘अहिले राष्ट्र बैंकले चाहेको पनि त्यही हो’ भुजुले भने, ‘त्यसको इकोसिस्टम बनाउन सक्ने हामी हो। हामी सबै खालको सेवा दिने गरी लाइसेन्स प्राप्त एक मात्र कम्पनी हौं।’

कम्पनीमा आबद्ध हुने पीएसपी बढ्दै गएपछि मर्चेन्ट पनि थपिँदै जाने छन्। जस्तो ग्लोबल आइएमइ बैंकका सबै ग्राहक एससिटी नेटवर्कमा आबद्ध हुन्छन्। उनीहरुले अर्को कुनै वालेट नचलाइ प्रभु पेको क्युआरमा भुक्तानी गर्न सक्छन्। 

‘अब ग्राहकलाई विकल्प हुने भयो। विद्युतीय भुक्तानीको ठूलो चेन तयार हुने भयो,’ भुजुले भने, ‘त्यसको सम्पूर्ण काम एससिटीले गर्न सुरु गरेको हो।’ उनका अनुसार, नयाँ सेयरधनी, नयाँ ब्यवस्थापनसहित नयाँ उत्साह बोकेर काम सुरु भइसकेको छ।

2445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका