जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज हुने पक्कापक्की, १:१ को स्वाप रेसियोमा सहमति

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज हुने पक्कापक्की, १:१ को स्वाप रेसियोमा सहमति

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने भएका छन्। यी दुवै बीमा कम्‍पनीनिकट स्रोतका अनुसार एक सेयरबराबर एक अर्थात् १:१ को स्वाप रेसियोमा मर्ज हुने आन्तरिक सहमति जुटिसकेको छ।

साथै, मर्जरपछि ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ को नामबाट कारोबार संचालन गर्ने समेत लगभग सहमति बनिसकेको स्रोतको भनाइ छ।

प्रभु लाइफको असार २३ मा हुने साधारणसभामा मर्जरको प्रस्ताव लैजान लगिएको छ। साधारणसभाबाट मर्जरको प्रस्ताव पारित भएपछि यी दुई जीवन बीमा कम्पनीले एकआपसमा गाभिनका लागि औपचारिक रुपमा घोषणा गरेर प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतको भनाइ छ।

महालक्ष्मीले सोही अनुसार अहिले प्रभु लाइफको साधारणसभालाई कुरेर बसेको बताइएको छ।

बीमा समितिले आगामी चैतभित्र जीवन बीमा कम्पनीहरुलाई पाँच अर्ब र निर्जीवन बिमा कम्पनीले साढे २ अर्ब न्युनतम चुक्ता पुँजी पुर्‍याउनका लागि निर्देशन दिएकाले अधिकांश बीमा काम्पनीहरु यतिबेला पुँजी वृद्धिको दबावमा छन्।

समितिले अझ असार मसान्‍तभित्रै मर्जरमा जाने बीमा कम्‍पनीहरुलाई विभिन्न सुविधाहरु दिने समेत घोषणा गरेको थियो। सोही अनुरुप बीमा कम्पनीहरु मर्जरका लागि तातेका छन्।

पाँचवटा बीमा कम्पनीहरुले यसअघि नै मर्जरमा जाने घोषणा गरेर प्रारम्भिक सहमति समेत गरिसकेका छन्। अन्य कम्पनीहरु पनि मर्जरका लागि पार्टनर खोज्ने प्रक्रियामा छन्।

सोही क्रममा प्रभु र महालक्ष्मीले मर्जरका लागि एकअर्कालाई आफ्ना लागि उपयुक्त कम्पनी पहिल्याएका हुन्।

हाल कुल १९ जीवन बीमा कम्पनीहरुमध्ये मर्जरमा जानका लागि साथीको खोजिमा रहेका कम्पनीहरु अब १२ वटा रहेको देखिन्‍छ। यसअघि पाँचवटाले मात्र मर्जरको प्रक्रिया अघि बढाएको भए पनि अहिले महालक्ष्मी लाइफ र प्रभु लाइफको पनि मर्जरमा जाने लगभग पक्कापक्की भइसकेको स्रोतको भनाइ छ।

यस्तो छ पाँच अर्ब पुँजी बनाउने बाटो
जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले अहिलेको चुक्ता पुँजी (१ अर्ब ४० करोड रुपैयाँ) मा वृद्धि गर्न ५० प्रतिशत रकम संस्थापक सेयरधनीहरुबाट जोहो गर्न लागेको छ। यसपछि पनि महालक्ष्मीको चुक्ता पुँजी करिब २ अर्ब १० करोड रुपैयाँ मात्र पुग्नेछ। यस्तै, प्रभु लाइफले पनि पुँजी करिब २ अर्ब मात्र छ।

यसैले दुवै कम्पनीसँग तोकिएको पाँच अर्ब न्यूनतम पुँजी पुर्‍याउन मर्जरबाहेक अरु बाटो छैन। यही कारण पनि यिनले एकआपसमा गाभिन खोजेका हुन्।

तर मर्जरमा गइसकेपछि पनि दुई कम्पनीको गरी कुल पुँजी बढीमा ४ अर्ब १० करोड मात्र पुग्ने देखिन्छ। तोकेको पुँजी सीमा भेट्नका लागि ९० करोड रुपैयाँ अपुग हुनेछ। यो अपुग रकम उठाएर पुँजी पाँच अर्ब पुर्‍याउने थप बाटो भनेको सर्वसाधारणमा सेयर जारी गरेर हो।

3915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका