जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • “घाटामा पनि कर तिर्ने व्यवस्थाको अन्त गरेका हौं, सेयर बजारका लगानीकर्ता कुरै नबुझी आत्तिनुभयो”

“घाटामा पनि कर तिर्ने व्यवस्थाको अन्त गरेका हौं, सेयर बजारका लगानीकर्ता कुरै नबुझी आत्तिनुभयो”

पूँजीगत लाभकरको विषयमा आर्थिक विधेयकमार्फत भएको व्यवस्थामा लगानीकर्ताहरुमा अनावश्यक द्विविधा देखियो । यो आवश्यक छैन । हामीले लगानीकर्ताहरुको हितको पक्षमा काम गर्न खोजेका हौं ।

सेयर बजारमा धेरै ठूलो लगानी भएको छ । लगानी इक्वीटीमात्र होइन, ऋण लिएर पनि भएको हुन्छ । त्यसको ब्याज पनि लगानीकर्ताले तिर्नु परिरहेको हुन्छ । बजारमा कुनै कम्पनीको सेयर बिक्री गर्दा मुनाफा भएको हुन्छ, त्यसको कर कट्टा गर्नुपर्ने हुन्छ । कुनै सेयर बिक्री गर्दा घाटा पनि भएको हुन्छ । वर्षभरिको कारोबारका आधारमा हेर्दा धेरै अहिले घाटामा छन् । तर उसले वर्षभरि कुनै कुनै समयमा भएको मुनाफाको ठूलो रकम टिडिएसको रुपमा जम्मा गरेको छ । जबकि आयकर ऐनको सिद्धान्तअनुसार कुनै पनि व्यवसाय गर्ने व्यक्तिले घाटामा कर तिर्ने भनेको एकदमै रिग्रेसिभ कुरा हो ।

त्यसकारण हामीले अहिले ल्याएको व्यवस्था भनेको चाहिँ घाटा भएपछि त्यसलाई उसले आउने ७ वर्षसम्म सार्न पाउँछ । आउने वर्षमा कमाएको आम्दानीमा त्यसलाई घटाउन पाउँछ र त्यतिखेर पनि कर छुट पाउँछ । अहिले उसको टिडिएसको रुपमा जम्मा भएको पैसा यदि उसलाई घाटा भयो र उसले पैसा तिर्नु नपर्ने भयो भने सरकारले उसलाई फिर्ता गर्छ वा आउने वर्षहरुमा उसले कमाएको पैसामा तिर्नुपर्ने ट्याक्समा एडजस्टमेन्ट गरेर उसले मिलाउन पाउँछ । रियल सेन्समा इफेक्टिभ ट्याक्स रेट र सिस्टम हो यो ।

अब यसअघिका आर्थिक वर्षहरुको कारोबारको हकमा लगानीकर्ता स्वयम्ले आफ्नो कारोबारको घोषणा गर्नुपर्ने हुन्छ । यसमा हामीले कुनै हस्तक्षेप गर्दैनौं । यसको पनि फर्मेटहरु बनाइन्छ । लगानीकर्ता तथा अन्य सबै सरकोरवालासँग बस्छौं र के गर्ने भन्ने सुझावका आधारमा व्यवस्थित र सुरक्षित ढंगले व्यवसाय अगाडि बढाउने गरी काम गर्छौ । लगानीकर्ताहरुले घाटा भएको बेला पनि राज्यलाई कर तिर्नुपर्ने पीडादायी अवस्थाको अन्त होस् भन्ने उद्देश्यले ल्याइएको व्यवस्था हो यो । यसमा थप कर आउँछ भनेर स्कोप देखेर ल्याएको व्यवस्था होइन । त्यसकारण विषयवस्तुलाई बुझेर अगाडि बढ्नका लागि सबै लगानीकर्तामा आग्रह गर्छु ।

यो विषयबाट अत्तालिनुपर्दैन । सबै समस्या हामी समाधान गर्छौ । फेरि भएको लाभबाट पनि खर्च कट्टी गर्न पाउँछन् । कुनै कर्मचारी राखेको छ भने खर्च कट्टी गर्न पाइयो, ऋण लिएर लगानी गरेको छ भने ब्याज तिर्न पाइयो । सेयर बजारमा लगानीका लागि गाडी खरीद गरेको छ भने त्यसलाई पनि खर्च देखाउन पाइयो । के के कुरामा खर्च गर्न पाइन्छ भन्ने कुराको पनि हामी सूची बनाउनेछौं ।

यो सिद्धान्त अनुसार अब १२ महिनामा टोटलमा प्रफिट भयो कि लस भयो भन्ने कुरा हेरिन्छ । तिरेको कर एड्भान्सको रुपमा जान्छ । समग्रमा १२ महिनाको टोटल गर्दा उसलाई लस भयो भने तिरेको कर रकम फिर्ता दिन्छ राज्यले वा उसले अर्को वर्षलाई सार्न पाउँछ ।

अरु व्यवसायले पाएसरहको सुविधा पूँजीबजारमा लगानी गर्नेले पाउने कि नपाउने ? यही सोचेर हामीले यो व्यवस्था गरेका हौं ।

यसमा अडिट गर्नुपर्ने, यो गर्नुपर्ने केही पनि हुँदैन । यो लगानीकर्ताको हितमा ल्याइएको हो । विश्वास लाग्दैन भने नआए पनि भयो । लगानीकर्ताले अहिले पूँजीबजारमा धेरै लस व्यहोरेका छन् । यो व्यवस्था नल्याउँदा राज्यलाई फाइदा थियो । तर हामीले लाखौं लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्यौं ।

हिजोको दिनमा ११०० मा रहेको बजार बढेर ३२०० माथि पुग्यो । फेरि घटेर १७०० मा आउँदा कति डूबेका होलान् ? उनीहरुको विषयमा हामीले चिन्ता गर्ने कि नगर्ने ? राज्यलाई करको रुपमा घाटा हुँदा पनि करोडौं बुझाएका छन्, तर अहिले उनीहरु अरबौं घाटामा हुँदा राज्यले हेर्नुपर्दैन ? हो, यही विषयलाई हामीले सम्बोधन गर्न खोजेका हौं । यो पोजिटिभ व्यवस्था हो । हामीले छलछाम गरेर ट्याक्स उठाउन खोजेको हुँदै होइन, लगानीकर्ताले यो रुपमा बुझिदिन भएन ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका