

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) आजदेखि सञ्चालनमा ल्याएको छ । यसले चेक काट्ने तथा अन्य व्यावहारिक समस्याहरु समाधान हुने भएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपाल र लण्डनका मेयर पिटर एलष्टिनले संयुक्त रुपमा यस प्रणालीको उद्घाटन गरेका छन् ।
राष्ट्र बैंकका अनुसार अब दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु पर्दैन । बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ ।
राष्ट्र बैंकको १३ बर्षदेखिको सञ्चालनमा ल्याउन खोजेको यो योजनाले पूर्णता पाएको छ । आरटिजिएस प्रणालीमा नेपालका २८ वटै बाणिज्य बैंकहरु आबद्ध भइसकेका छन्। आरटिजिएस लागूसँगै चेकको क्लियरिङ गरिरहनु पर्दैन। तत्कालको तत्काल एक बैंकबाट अर्को बैंकमा भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
सामान्यतया चेक क्लियरिङ गर्दा डेढ दिन लाग्ने गरेका थियो । अब, यो प्रणालीमा चेक क्लियरिङमा कुनै समय लाग्दैन । तत्कालका लागि राष्ट्र बैंकले २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा यो सेवा सुरु गरेको हो। २० लाखभन्दा माथिकोमा अनिवार्य नै गरेको छ। ग्राहकहरु बानि नपरुन्जेल चेक पनि चलाउने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यही भदौ २२ गते नै आरटिजिएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरिसकेको छ । राष्ट्र बैंकले यही भदौ १९ गते आरटिजिएस नियमावली ल्याएको थियो । सोही नियमावलीअनुसार नै भदौ २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ र पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि लागू गर्छौं। केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।
राष्ट्र बैंकले २०६३ को मौद्रिक नीतिबाट आरटिजिएस लागू गर्ने जनाएको थियो। तर प्राविधिक कारण भएकाले लागू गर्न सकेको थिएन। गभर्नर नेपालले आरटिजिएस लागू हुनुलाई ठूलो उपलब्धि भएको बताएका छन्। भारतमा सन् २००७ बाटै आरटिजिएस लागू भएको हो ।
सम्बन्धित समाचार
