
विगतका केही वर्षयता बढिरहेको सुनको आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ठप्प भएको छ ।I
राष्ट्र बैंकबाट अनुमति लिएर सुनको आयात गरिरहेका वाणिज्य बैंकहरुले साउनयता सुन आयात गरेका छैनन् ।
नेपाली सुनचाँदी बजारमा सबैभन्दा बढी सुनको कारोबार हुने सिजन तीज, दशैं र बिवाहको लगन हुने महिनामा हो । तर यो वर्षको तीज र दशैंको समयमा भने सुनचाँदी पसल सुनसान जस्तै भए ।
गत साउन १ गते ६४ हजार ५ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको छापावाला सुनको मूल्य बढेर गत भदौ ९ गते इतिहास नै कायम गरी ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
सुनको मूल्य उच्च वृद्धि भएपछि गत साउनदेखि नै व्यवसायीहरुले बैंकबाट काँचो किन्न कम गरेका थिए । नेपाली नारीहरुले तीजमा नयाँ गहना बनाउने हुँदा अल्घिला वर्षहरुमा सबैभन्दा धेरै तीजको समयमा सुनको माग हुन्थ्यो ।
यो वर्ष भने साउनको अन्तिम सातादेखि नै प्रतितोला ७० हजार रुपैयाँ पुगिसकेकाले बजारमा सुनको माग क्रमशः घट्दै गएर तीज र दशैको समयमा सुनचाँदी पसलमा काँचो सुन खरिद गरेर नयाँ गहना बनाउने भन्दा गहना बेच्ने र पुराना गहनालाई नै नयाँ डिजाइनमा बनाउने ग्राहक बढेका थिए ।
बजारमा सुनको खपत घटेपछि बैंकहरुबाट व्यवसायीहरुले बैकबाट काँचो सुन किनेका थिएनन् । बैंकहरुले गत आर्थिक वर्षको अन्त्यमा आफ्नो कोटाअनुसार आयात गरेको सुन हालसम्म पनि बैंकमा नै स्टक रहेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले क्लिकमाण्डुलाई जानकारी दिए ।
‘सुनको मुल्य बढेको कारण काँचो सुनको माग घटेको छ,’ उनले भने ‘यो तीन महिना बैंकले कोटा अनुसार सुन आयात गर्नुभन्दा स्टकमा रहेको काँचो सुन बजार पठाउन नै गाह्रो भएको थियो ।’
सुन आयात गर्ने सबै वाणिज्य बैंकहरुले अहिले पनि व्यवसायीहरुलाई स्टकमा रहेको सुन नै बेचिरहेको अध्यक्ष ढुंगानाको भनाइ छ । राष्ट्र बैंकले चाडपर्व (सिजन) मा दैनिक २५ किलो र अन्य समय (अफ सिजन) मा भने दैनिक २० किलो मात्रै सुन आयात गर्न बैंकलाई अनुमति दिएको छ ।
गत आइतबारसम्म वाणिज्य बैंकहरुमा ३ सय २३ किलो सुन स्टकमा थियो । जसमा सानिमा बैंकमा मात्र ९० किलो काँचो सुन स्टक थियो । राष्ट्र बैंकले तोकिदिएको कोटा अनुसार बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्ने पाउँछन् ।
गत आर्थिक वर्षसम्म २२ वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोकिदिएको कोटामा रहेर सुन आयात गरिरहेका थिए । आयात गरिएको सुन बैंकमा नै थन्किएपछि सुन आयात गर्ने बैंकहरु पछि हटेका छन् ।
गत आर्थिक वर्षमा ३४ अर्ब ५३ करोड ७७ लाख ४८ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । सोही वर्षको साउन र भदौमा मात्र ४ अर्ब ८२ करोड ७६ लाख ६६ हजार रुपैयाँको सुन आयात भएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको साउन र भदौमा ३ करोड २३ लाख ५ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ ।
व्यवसायीहरुले काँचो सुन लिन बैंकमा नआएर स्टकमा सुन राखेका बैंकहरुले ३ महिनासम्म आयात ठप्प गरेर गरेका हुन् । तीज र दशैंको समयमा मात्र बैंकहरुमा ६ सय ५० किलो सुन होल्डमा रहेको थियो ।
यो अवधीमा व्यवसायीहरुले पनि बजारमा १० केजीसम्म पनि काँचो सुन गहना बनाएर बेच्न सकेनन् । असोजको दोस्रो सातादेखि सुनको मूल्य क्रमश घट्दै गएपछि बजारमा सुनको माग केही बढेको छ ।
सुनको मुल्य केही घटेर माग बिस्तारै बढ्न थालेपछि अर्को साता ४ वटा वाणिज्य बैंकले २ सय किलो काँचो सुन आयात गर्ने बैकर्स संघले जानकारी दिएको छ ।
जसमा सानिमा बैंक, मेघा, सिभिल र सनराईज बैंकले ५०/५० किलो सुन आयात गर्ने भएका हुन् ।
हाल बजारमा दैनिक करिब १८ किलो सुनको खपत भइरहेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले क्लिकमाण्डुलाई बताए ।
‘सुनको कारोबार तीज र दशैंको समयमा बढ्नु पर्ने हो तर त्यो समयमा गहना खरिद गर्नेको भन्दा बेच्नेको भिड सुन पसलमा थियो, कालिगडहरु काम नपाएर बसेका थिए,’ उनले भने ‘अहिले सुनको मुल्य केही घटेको छ, तर मुल्य घटेपनि माग बढेको छैन् ।’
गत वर्षहरुमा सामान्य अवस्थामा नै दैनिक २० देखि २५ किलोसम्म खपत हुन्थ्यो तर यो वर्ष सिजनमा नै १० किलो खपत हुन गाह्रो भएको शाक्यको भनाइ छ ।
तिहारमा सुनको भन्दा चाँदीका गहनाहरुको माग बढी हुन्छ । मानिसहरु तिहारमा चाँदीका भाँडा तथा गहनाहरु बनाउने गर्छन् । अन्य समयमा दैनिक ७ सय किलो चाँदी खपत भइरहेको थियो भने तिहारको समयमा १८ सय किलोसम्म चाँदी खपत हुने अनुमान महासंघले गरेको छ ।
सुनको मूल्य बढेर गहना फिर्ता आएर व्यवसायीहरुले बैंकबाट काँचो सुन खरिद गर्न नसकेका हुन । सुनको माग र कारोबार यही रेसियोमा रहेका नेपालको सुनको बजार खुम्चिँदै जाने व्यवसायीहरुको भनाइ छ ।
अहिले छापावाला सुनको मूल्य प्रतितोला ७० हजार २ सय रुपैयाँ र चाँदी ८ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































