जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नेपाल बैंकर्स संघले नयाँ अध्यक्ष ज्ञानेन्द्र ढुंगाना नै दोहोरिने सम्भावना

नेपाल बैंकर्स संघले नयाँ अध्यक्ष ज्ञानेन्द्र ढुंगाना नै दोहोरिने सम्भावना

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले नयाँ अध्यक्ष भेट्टाउन नसकेपछि अहिलेका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नै निरन्तरता पाउने भएका छन् ।

संघको अध्यक्ष बन्न सीइओहरुले इच्छा नदेखाएपछि ढुंगानालाई नै निरन्तरता दिने भद्र सहमति भएको हो ।

एनबी बैंकका सीइओ समेत रहेका ढुंगाना संघको अध्यक्षमा दोहोर्याउने पक्षमा थिएनन् । ढुंगानाले जनता बैंकका सीइओ पर्शुराम कुँवर, संघका पूर्वअध्यक्षसमेत रहेका नविल बैंकका सीइओ अनिल शाह, हिमालयन बैंकका सीइओ अशोक राणा लगायतलाई अध्यक्ष बनिदिन आग्रह गरेका थिए ।

संघको कामका कारण आफ्नो बैंकमा समय दिन नपाएको भन्दै ढुंगानाले अध्यक्ष दोहोर्याउन चाहेका थिएनन् ।

तर, अधिकांश सीइओहरुले ढुंगानालाई दोहोर्याउन दबाब दिएका थिए । केही समयसम्म ढुंगानाले सीइओहरुको प्रस्ताव अस्विकार गरेका थिए ।

ढुंगानाले संघका लागि अहोरात्र खटेर राम्रो काम गरेको भन्दै सीइओहरुले दोहोर्याउनुपर्ने धारणा राखेका हुन् ।

तर, यही मंसिर १ गते बैंकर्स संघमा एक दर्जन सीइओहरु उपस्थित भएर बैठक बस्यो । उक्त बैठकमा उपस्थित सबैले ढुंगानालाई दोहोर्याउन तीब्र दबाब दिएपछि अन्तिममा उनले ‘मलाई दोहोर्याउने कुनै रहर छैन तर तपाईहरु नै भन्नुहुन्छ भने तयार हुनै पर्यो ।’

संघको बैठकमा अनिल शाहले ढुंगानाले राम्रो काम गरेको भन्दै तारिफ समेत गरेका थिए ।

‘संघको अध्यक्षमा ढुंगानाजी नै ठीक हुनुहुन्छ, उहाँले दोहोर्याउनै पर्छ,’ शाहले भनेका थिए, ‘कुनैपनि हालतमा उहाँ दोहोर्याउन तयार होइन भने मात्रै म अध्यक्ष बन्न तयार छु ।’

त्यस्तै, अशोक राणाले पनि आफूलाई अध्यक्ष बन्न आएको प्रस्ताव इन्कार गर्दै ढुंगानालाई नै निरन्तरता दिनुपर्ने सुझाएका थिए ।
त्यसैगरी, पर्शुराम कुँवर क्षेत्रीले पनि आफू अध्यक्ष नबन्ने र अध्यक्षका लागि सबैभन्दा उपयुक्त व्यक्ति ढुंगाना नै भएको बताएका थिए ।

त्यसपछि बैठकमा उपस्थित सबै सीइओहरुले ढुंगानालाई नै निरन्तरता दिनुपर्ने सुझाब दिए । यद्यपि यो बैंकर्स संघको निर्णय भने होइन ।

बैंकर्स संघको कार्यकारी समितिका सदस्य पर्शुराम कुँवर क्षेत्रीका अनुसार संघले आगामी नेतृत्व चयन गर्नका लागि निर्वाचनको मिति र निर्वाचन कमिटि पनि गठन गरेको छ । जसअनुसार आगामी मंसिर १७ गतेसम्म उम्मेद्धारी दिने, १८ गते उम्मेद्धारी फिर्ता लिने र १९ गते हुने साधारणसभाले नेतृत्व चयन गर्ने कार्यतालिका छ ।

संघले निर्वाचन अधिकृतको रुपमा संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मालाई नियुक्ति गरेको छ ।

अहिले संघको उपाध्यक्षमा नेपाल एसबिआई बैंकका प्रवन्ध निर्देशक अनुकुल भट्नाकर उपाध्यक्ष छन् । सामान्यतया संघमा उपाध्यक्षलाई नै अध्यक्ष बनाउने प्रचलन थियो ।

तर, भट्नाकर भारतीय नागरिक भएकाले अर्थ मन्त्रालय र राष्ट्र बैंकले भट्नाकरलाई अध्यक्ष नबनाउन दबाब दिएपछि बैंकका सीइओहरु ढुंगानालाई नै निरन्तरता दिने पक्षमा पुगेका हुन् । यद्यपि ढुंगाना भने विगतमा पनि उपाध्यक्षलाई अध्यक्ष बनाएको नजिर प्रस्तुत गर्दै भट्नाकरलाई अध्यक्ष बनाउन सहमत थिए ।

भट्नाकर संघको उपाध्यक्ष भएपछि भारतीयलाई पदाधिकारी बनाएको भन्दै केही बैंकका सीइओ भने बैंकर्स संघको पूर्ण बैठकमा सहभागी हुन छाडेका थिए ।

संघको विधानमा बैंकको सीइओ भएको व्यक्ति सदस्य हुनसक्ने व्यवस्था छ । अध्यक्षका लागि नेपाली नागरिक नै हुनुपर्ने भन्ने तोकिएको छैन । भारतीय नागरिक पनि संघको अध्यक्ष भइसकेको इतिहास छ ।

संघलाई राज्यले बढी रिकोनाइज गर्न थालेको छ । केही समयअघि मात्रै चिनियाँ राष्ट्रपतिको भ्रमणको बेला राष्ट्रपति विद्यादेवी भण्डारी आयोजना गरेको राजकीय भोजमा समेत बैंकर्स संघका अध्यक्ष ढुंगानालाई बोलाइएको थियो ।

राज्यले संघको अध्यक्षलाई दिएको महत्वका कारण सरकारले अध्यक्षमा भारतीय नागरिक नआउन् भन्ने चाहन्छ ।

मंसिर १ गतेको बैठकमा उपाध्यक्ष भट्नाकर भने उपस्थित थिएनन् । उनले आफ्ना प्रतिनिधिलाई बैठकमा पठाएका थिए । र, उनका प्रतिनिधिले पनि ढुंगानालाई नै अध्यक्षमा निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । साथै, भट्नाकर उपाध्यक्षमा भने फेरि दोहोरिन तयार रहेको उनका प्रतिनिधिले बताएका थिए ।

त्यसपछि उपस्थित सीइओहरुले अध्यक्ष र उपाध्यक्षलाई आगामी कार्याकालका लागि निरन्तरता दिने निष्कर्शमा पुगेका हुन् ।
‘संघको बैठकमा उपस्थित दर्जन सीइओहरुले अध्यक्ष र उपाध्यक्षमा अहिलेकैलाई निरन्तरता दिने भन्ने कुराकानी भएको हो, निर्ण भएको होइन र निर्णय गर्नपनि मिल्दैन,’ सदस्य क्षेत्रीले भने ।

अध्यक्ष र उपाध्यक्ष सर्वसहमति हुने करिब निश्चित भएको छ । साधारणसभाले ५ जना सदस्य पनि चयन गर्दैछ ।

8870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?