जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिओकेभित्र सफाइको काम छ, त्यही प्राथमिकतामा हिँडिरहेको छु

अन्तरवार्ता

बिओकेभित्र सफाइको काम छ, त्यही प्राथमिकतामा हिँडिरहेको छु

शोभनदेव पन्त, बैंक अफ काठमाण्डू

बिओकेभित्र सफाइको काम छ, त्यही प्राथमिकतामा हिँडिरहेको छु

लुम्बिनी बैंक गाभिपछि बैंकिङबाट बिदा भएका शोभनदेव पन्त केही समयको बिरामपछि बैंक अफ काठमाण्डू फर्किए। बिओकेमा फर्किएपछि भने उनी निकै ‘लो प्रोफाइल’ मा बसेर काम गरिरहेका छन्। कन्जरभेटिभ बैंकिङ स्कुलिङबाट हुर्किएका पन्त पछिल्लो समय केही आक्रामक पनि देखिन खोजेका छन्। आफ्नो स्वभावभन्दा फरक बैंकिङमा उत्रिएका हुन् कि ।

चालु बर्षको ६ महिनाको पनि पछिल्लो तीन महिनामा बैंकको नाफा अघिल्लोभन्दा बढेको छ। निक्षेपभन्दा ऋणको विस्तार बढी छ। बैंक अलिकति आक्रामक देखिन खोजेको हो ?
पहिलेदेखि नै हेर्नु हुन्छ भने बैंक अफ काठमाण्डू (बिओके) आन्तरिक रुपमा बलियो बैंक हो। मर्जर गर्दा खेरी ऋण ६० अर्बबाट अहिले ८४ अर्ब हाराहारीमा पुगिसकेका छौं। बिओके कहिले पनि एक्स्ट्रा एग्रेसिभ बैंक होइन। हामी त्यो हुने सोचाइमा पनि छैनौं। वित्तीय क्षेत्रमा सबैको हितको लागि पनि दीर्घकालसम्म चल्ने संस्था भएकाले आक्रामक हुन जरुरी छैन। प्रणालीगत जोखिम बैंकभित्र पनि र समग्र बैंकिङमा पनि नहोस् भनेर हामीले नियमित वृद्धिमा जानु पर्छ। वार्षिक १५/२० प्रतिशतको वृद्धिभन्दा माथि जाने भन्ने हाम्रो सोचाइ पनि छैन।

समग्र बजारको वृद्धि एकातिर अनि आफ्नो वृद्धि चाहिं शतप्रतिशत  भयो भने त कहीँ न कहीँ सम्झौता गर्नुपर्छ, यसबाट जोखिम पनि हुन्छ। यसमा हामी सजग छौं। बजारको वृद्धिलाई हेरेर नै १५/२० प्रतिशतको वृद्धिमा हामी हिँडेको हो। हो, अलिकति वृद्धि यसपाली देखिएको छ। तर आक्रमकै भने हुन खोजेको होइन।

कताकता दोस्रो त्रैमाससँगै आक्रामक भएको संकेत नाफा नोक्सान हिसाब खाताबाट देखियो ?
त्यस्तो इम्प्रेसन आएको होला, तर हामी एक्स्ट्रा ग्रोथ गरेर जाने पक्षमा छैनौं। नियमित ग्रोथबाटै जाने हाम्रो प्रवृत्ति हो र योजना पनि। त्यस्तो देखिएको मात्र हो। बैंकको नेटवर्थ पनि बढेर आएको छ। यसले गर्दा बैंकमा ‘कम्फर्ट जोन’ हरू बढेको छ। पुँजीले पनि बैंकलाई ‘सेफ्टी कुसन’ राम्रै दिएको छ। ८०-२० प्रतिशत सीसीडी (कर्जा-पुँजी-निक्षेप अनुपात) छ। हामीले अलिकति सीसीडीलाई बढाएका छौं। तर त्यो पनि सीमाभित्र।

आगामी दिनमा यो एग्रेसन देखिँदैन ?
हो यसलाई अपवाद माने हुन्छ। हामी त्यो ‘मोटिभ’ बाट जाँदैनौं। बजारको औसत ‘ग्रोथ’ नै हाम्रो पनि ग्रोथ हुने भन्ने हो।

लुम्बिनी बैंकबाट तपाईको छवि अलिकति ‘कन्जरभेटिभ’ बैंकिङ गर्ने भन्ने बनेको छ। मर्जरले गर्दा बैंकको ‘स्ट्रेन्थ’ त बढ्यो, तर बिओके कता कता हराए जस्तो। यही समयमा ‘नोटिस’ मा नपरेका बैंक भने माथि आए ?
यो पर्सेप्सनको कुरा हो। बिओके हराएको होइन। राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बिओके र लुम्बिनी त्यतातिर लागे। लुम्बिनी सानो भए पनि राम्रो बैंक थियो। बिओके कन्जरभेटिभ बैंक भनेरै चिनिएको थियो। त्यही भएर मर्जरका लागि पनि हामीले पहल गर्‍यौं। अहिले आएर त्यसलाई पुनरावलोकन गर्ने हो भने बिओके हराएको होइन कि बिओकेले एउटा राम्रो बैंक हुने बाटोका जति पनि सूचकहरु छन् त्यसलाई अझ बढी बलियो बनाउन पछ्याइरहेको देखिन्छ। जोखिम ब्यवस्थापन र सुशासन, खराब ऋण, प्रतिफल, कर्मचारीको उत्पादकत्व सबैमा हामी राम्रो देखिएका छौं।

यी कुरालाई हेर्दा बिओके आज एकदमै राम्रो बाटोमा छ। मर्जरपछि पनि हामी अर्ग्यानिक वृद्धिमा नै गएका छौं। अरु जस्तो ८ वटा वित्तीय संस्थालाई गाभेर हामी गएका छैनौं। मर्जरप्रति हामी नकारात्मक छैनौं। राम्रो संस्था आयो भने हाम्रो सञ्चालक समिति मर्जरको बारेमा सकारात्मक छ।

बिओके बजारबाट हराएको होइन। पब्लिसिटी धेरै गर्दैनौं, पत्रिकाबाजी, होडिङबोर्डमा जाँदैनौं। बैंकिङ ‘सो बिजिनेस’ पनि त होइ। यो भनेको ग्राहक सेवा र जोखिम ब्यवस्थापन तथा सेयरधनीको प्रतिफल हेर्ने हो। यसमा हामी आन्तरिक रुपमा धेरै नै काम गरिरहेका छौं।

२७ वटाको भीडमा त कहीँ न कहीँ आफ्नो छुट्टै पहिचान हुनु पर्‍यो नि ?
२७ वटा बैंक छन्। २७ वटाले अलग अलग के बेच्ने ? बैंकले निक्षेप लिने हो र ऋण दिने हो। टेक्नोलोजी बढाउने हो। २७ वटाको आआफ्नै युनिक पोजिसनिङ त हुँदैन। निक्षेप लिएर त्यसको सुरक्षा गर्ने हो। संस्थागत सुशासन पालना गर्ने हो।

नबिल र नेपाल इन्भेष्टमेन्टजस्ता पुराना बैंकहरु त आफ्नो पहिचान जोगाउनका लागि नेटवर्किङमा लागेका छन्। ब्रान्डिङ सुरु गरेका छन्। परम्परागत बैंकिङ गर्नेहरु त अब यसरी हुँदैन भनेर फरक ढंगले अगाडि बढ्न खोजेको देखियो। त्यो त बिओकेले पनि सोच्नु पर्ने होइन र ?
हामीले ९०/९२ ठाउँमा सञ्जाल विस्तार गरेका छौं। कसैको ४०० पनि पुगेको होला। त्योसँग तुलना गर्दा ९० कम हो। जहाँ जहाँ शाखा छन्, ती शाखाको पर्फर्मेन्स पनि राम्रो भएर जानु पर्छ भन्ने हाम्रो बुझाइ छ। त्यो शाखाले प्रतिफल दिनु पर्छ।

हाम्रो बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो समस्या जनशक्तिको छ। शाखा खोल्यो, स्कुलबाट भर्ना गर्‍यो, पठायो। यसले गर्दा सञ्चालन जोखिम उच्च हुन्छ। जति शाखा सञ्जाल छन्, त्यसलाई अझै बढाउने भनेको जोखिम बढाउने हो। हामी शाखा विस्तारमा एग्रेसिभ भयौं तर कसैले पनि त्योसँग जोडिने जोखिम बुझिरहेका छैनौं। हाम्रा साथीहरुले त्यो बुझिरहेका छैनन्। कतिपय साथीहरु पब्लिसिटीको दौडमा लागे। बैंकको ‘फन्डामेन्टल थिम’ भनेको जोखिम ब्यवस्थापन हो। त्यसलाई किनारा लगाएर काम गर्न सकिँदैन।

अहिले सञ्चालन जोखिम एकदमै बढेको छ। जस्तो साइबर होस् वा आन्तरिक प्रणाली । जनशक्तिको गुणस्तर हेरौं। बैंकभित्रको पूर्वाधार हेरौं, शाखा खोलेको छ, तर त्यो कसरी चलेको छ भनेर मनिटरिङ गर्ने मेकानिज्म राम्रो छैन। यसले त समस्या मात्र बढाउँछ। यसबाट निक्षेपकर्ताको पैसा डुब्छ। लगानीकर्ता अप्ठेरोमा पर्छन्।

सेवा एउटै सबैको। कार्टेलिङले ब्याज दर पनि एउटै। अब प्रतिस्पर्धा सकियो। यो भीडमा केही फरक हुनु पर्‍यो नि !
अहिले आएर हेर्दाखेरी नियामकबाट ‘स्प्रेड रेट’ नै तोकियो। यसपछि ‘इफिसेन्सी’ त सकियो। इफिसिएन्ट बैंकले अलिकति बढी चार्ज गर्न नसक्ने अवस्था बन्यो। यो त पाउनुपर्ने हो। अब त्यो अवस्था छैन। स्प्रेड रेटलाई लागू गर्न हुने थियो कि थिएन ? यसमा बहस गर्नुपर्छ।

निक्षेपमा एकखालको बेन्च मार्क तोकियो बैंकर्सबाट। यो एउटा समझदारी हो कार्टेलिङ त म भन्दिन। ‘गाइडेड’ पाथमा बैंक हिँडेको छ। इफिसिएन्ट बैंकलाई यसले ‘स्पेस’ नै दिएन। ४.४ प्रतिशत असारसम्म झारिसक्नु पर्छ। यस्तोमा हामी बैंकहरु कसरी फरक देखिन सक्छौं र ?

ब्रान्डिङ राम्रो छ। शाखा धेरै छ, निक्षेप आउँछ भन्ने भनाइ आयो। यसबाट ‘कस्ट अफ फण्ड’ मेरो कम भयो होला। तर स्प्रेड त ४.४ प्रतिशत नै हो। अनि हामी कसरी फरक हुन सक्यौं र ! हामी गाइडेड पाथमा हिँडेका कारणले फरक हुन गाह्रो छ।

अहिलेको प्रतिस्पर्धामा बिओके कहाँनेर छ ?
वित्तीय क्षेत्रको एक ‘प्लेयर’ भएका नाताले हामीले लगानीकर्ताको अपेक्षालाई सुरक्षित गर्ने हो, निक्षेप सुरक्षित गर्ने हो। नियामकको अपेक्षालाई सुरक्षित गर्ने हो। त्यतिले मात्र पुग्दैन उचित प्रतिफल पनि दिनु पर्छ। हामी अर्ग्यानिक प्रतिफलमा छौं। हाम्रो १७ प्रतिशत हो औसत प्रतिफल, त्यो हामी यो वर्ष पनि दिन्छौं। बैंकलाई ‘प्रुडेन्टली’ अगाडि बढाएका छौं। राष्ट्र बैंकले भनेका प्रत्येक नीति नियमभित्र हामी अँटाएका छौं। सबैमा हाम्रो कम्प्लायन्स छ। पुँजी कोष अनुपातलाई हमीले मेन्टेन गरेका छौं। यो सबैमा हामी खरो उत्रिएका छौं। आन्तरिक रुपमा हामी बलियो भएपछि टोल-टोलमा साइनबोर्ड चाहिन्छ जस्तो लाग्दैन।

यसरी बुझ्दा भो, एउटा साइज र प्रतिस्पर्धासँग एउटा कन्जरभेटिभ बैंकर डराइरहेको छ ?
यो एकदमै गलत हो। प्रतिस्पर्धासँग डराएको भए यो प्रतिफल कसरी आउँथ्यो ? प्रतिस्पर्धामा नअटेको भए त बैंक नै जीवित हुँदैनथ्यो नि।

एकातिर खर्च बढ्ला तर खर्चसँगै लक्ष्य पनि तोकिएको हुन्छ। खर्च बढाउँदा पनि लक्ष्य भेटिएन भन्ने कताकता डर लाग्ने ?
हामीले मर्जर गर्दाखेरी ७८३ जना कर्मचारी थिए। त्यतिबेला ६० अर्बको ऋण थियो हामीसँग। मर्जर पछिका तीन वर्षमा २५ प्रतिशतका दरले वृद्धि गर्‍यौं। अहिले ऋण हाम्रो ८४ अर्ब जति पुगेको छ। मर्जर गर्दा नाफा १०१ करोड थियो। गत वर्ष नाफा १८८ करोड गरेका छौं। ८३५ जना कर्मचारी पुगेका छन्।

इफिसिएन्टली हाम्रो स्टाफहरुले डेलिभरी गरिरहेका छन्। प्रति कर्मचारी उत्पादकत्व झन्डै ८८ प्रतिशतले बढेको छ। यो एकदमै राम्रो होइन र ? यसलाई कसरी प्रतिप्पर्धाबाट डराएको भन्नु हुन्छ ? अहिले कतिपय बैंकले हिजो खोलेका शाखाहरु बन्द गर्नुपर्ने अवस्था आइसकेको छ। युग डिजिटाइजेसनमा छिरिसकेको छ। बैंकिङको कन्सेप्ट नै परिवर्तन भइरहेको छ। नियो बैंकको कन्सेप्ट आइसकेको छ। अब केही समयपछि अहिले भएका धेरै शाखा बन्द गर्नुपर्ने हुन्छ। कतिपय ठाउँमा हामीले खोलेको शाखा चल्ने अवस्थै छैन। सहर बजारमा एउटै घरमा चारवटा बैंकको बोर्ड लागेको छ। अब त्यहाँ पाँचौ लैजाने ?

हिजोका समस्याहरु आज देखिएका छन्। आज हामीले जुन नीति लिएर हिँड्दैछौं त्यो भोलि अर्को समस्या बन्दैछ। के हामी समस्या मात्र बढाउने त ? हामीले त प्रुडेन्ट बैंकिङ गरिरहेका छौं। प्रुडेन्ट बैंकिङलाई प्रतिस्पर्धाबाट भागेको कसरी भन्न मिल्ला र ? भोलि बन्द गर्नुपर्ने शाखा छन् भने आज नखोल्दा त त्यो दूरदर्शिता होइन र ? भएकै शाखाको क्षमता बढाउनु राम्रो होइन र ? आज कुनै शाखाले २ अर्बको ऋण दिइरहेको छ भने त्यो शाखाबाट ४ अर्ब ऋण विस्तार गर्दा त्यो झनै राम्रो हुने होइन र ?

पछिल्लो दुई वर्ष एकदमै ‘लो प्रोफाइल’ मा बस्नु भयो। बैंकर्स संघमा नभेटिने, बाहिरी फोरमहरुमा पनि नभेटिने। सल्लाह सुझाव पनि नदिने। किन मौनता रोज्न थाल्नु भयो ?
तपाईँको अब्जरभेसन ठीकै हो। नयाँ पुस्ता आइरहेको छ। उनीहरुमा निक्कै इनर्जी छ। अब बैंकिङ नयाँ पुस्तालाई नै जिम्मा लगाउनु पर्छ। लुम्बिनीबाट बिदा हुँदा मैले त्यसबेलै भनेको थिएँ- अब म बैंकिङबाट मोटामोटी रूपमा बाहिरिएँ भनेर। मैले बैंकिङमा धेरै समय बिताए। जे गर्न सक्ने त्यो गरेँ। त्यसमा खुसी पनि छु भनेको थिएँ। फर्किएर आउने इच्छा पनि थिए। वातावरण यस्तो बन्दै गयो म बिओके फर्किनु पर्‍यो।

बैंकिङ उद्योग भनेको बैंकभित्रको कोर समस्या समाधान गर्ने हो। बाहिर होहल्ला गरेर ती समस्या पार लाउन सकिँदैन। धेरै ठूला मान्छेले बढ्ता सिकायो भने नयाँ पुस्ताको उन्नति पनि हुन सक्दैन। त्यति सिकाउने हो जति सिकाउँदा उसलाई झर्को लाग्दैन। निरन्तर सिकाएँ भने त्यसले झर्को लाग्छ। नयाँ पुस्ताको उन्नति रोकिन्छ। हामी उमेरले र काम गरेका हिसाबले सिनियर भइयो होला। तर गार्जेनसिप त सबैको राष्ट्र बैंककै हो। उसले भनेको नीति नियममा हिँड्नै पर्छ।

हो, यति हुँदाहुँदै पनि नयाँ पुस्ताले प्रुडेन्ट बैंकिङलाई छाड्नु हुँदैन। उनीहरुले नचाहिने कुरालाई स्वीकार गर्नु हुँदैन। नयाँ पुस्ताले उत्कृष्ट अभ्यासहरुलाई किनारा लगाउनु हुँदैन। दबाब आउला, त्यो दबाब थेग्नु पर्छ।

पछिल्लो दुई-अढाइ वर्षमा पनि बिओकेभित्र आफूले जे सक्छु, बल, बुद्धि र तागतले भ्याएसम्म जसरी काम गरिरहेको छु। बिओकेमा फर्किएर आएपछि मैले अलिकति चुनौती लिएको छु। यसमा अलिकति बढी काम गर्नुपर्ने हुन्छ। मर्जरलाई सफल रुपमा अवतरण गर्नुपर्ने थियो। सुशासनमा काम गर्नुपर्ने थियो। कर्मचारीको उत्पादकत्व बढाउनु पर्ने थियो। यो निरन्तर गर्नु पर्ने काम हो। बिओकेमा भएका चुनौतीहरुलाई सम्बोधन गर्ने हिासबले त्यसैमा लागिरहेको छु। यो बैंकले तलब दिएपछि काम त बैंककै गर्नु पर्‍यो नि।

लुम्बिनीमा तपाई देखिनु हुन्थ्यो यता आएपछि हराउनु भयो ? काम त हिजो पनि त्यही हो।
म अहिले लो प्रोफाइलमा रमाइरहेको पनि छु। ‘कोर’ काम गर्ने हो। बैंकको आन्तरिक मुद्दाहरुलाई समाधान गर्ने हो। बाहिर धेरै बोलेर हिँडेर आफ्नो भित्रको प्राथमिकतालाई किनारा लगाउँदा उपलब्धि हासिल हुँदैन।

राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्यायो। त्यसमा बिओके र लुम्बिनी मर्ज भए। अरु मर्जरमा गएनन्। तपाई त्यो बेला मर्जरको पक्षमा देखिनु भएको थियो। तर पछिल्लो समय बिग मर्जरको कुरा आउँदा तपाईँका तर्कहरु विपक्षमा आए। किन परिवर्तन हुनु भयो भन्ने बजारको पनि प्रश्न हो यो ?
त्यो होइन। तपाईहरुको गलत बुझाइ हो। मेरो भनाइ के हो भने हामीले मर्जरबाट के प्राप्त गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ। हामीले पुँजी बढाउन खोजेको हो कि, संख्या घटाउन खोजेको हो ? यसमा स्पष्ट हुनु पर्छ। यदि हामीले संख्या घटाउने हो भने पुँजी बढाउने अरु उपाय दिनु हुँदैन थियो। मेरो भनाइ यति मात्र हो।

मर्जर गर्दाखेरीमा हिजो हामीले लाइसेन्स बाँड्यौं। आवश्यक पनि थियो होला। तर अलिकति दीर्घकालीन सोचाइ राखेर गर्नुपर्छ भन्ने हो मेरो कुरा। मर्जर सही तरिकाले गरौं, सही नियत राखेर गरौं भन्ने हो मेरो भनाइ। लाइसेन्स दिँदै ‘प्रुडेन्टली’ गरेको भए यो अवस्था आउँदैन थियो कि ! अब मर्जर गर्दा पनि हतारमा नगरौं भन्ने कुरा हो मेरो। हकप्रद र एफपिओलाई रोकेर पुँजी बढाएको भए मर्जर अगाडि बढ्थ्यो नि। म त सुरुवातदेखि नै मर्जरको पक्षको मान्छे हो। मैं आफैंले बिओकेसँग प्रस्ताव गरेको हो मर्जर गर्न, पुँजी बढाएर मात्र जाँदा त्यसले अर्ग्यानिक ग्रोथ हुँदैन त्यही भएर मर्जरबाट हामी हिँडेको हो। मर्जरले हामीलाई राम्रो पनि भयो। दुवै बैंकको क्षमता एक भएपछि झन् राम्रो भएको छ। सेयर स्वामित्व विविधीकरण भएको छ। सुशासनमा अझ सुधार भएको छ। बैंकमा हुन-नहुने काम भएका छन् भने त्यो बाहिर आउँछ मर्जरबाट।

अघि तपाईले २ वर्ष कहाँ हराउनु भयो भन्ने गरेको प्रश्नको उत्तर अब म दिन्छु। मर्जरबाट हामीले एउटा चुनौती लिएका थियौं। त्यो चुनौती पालना गर्नु पर्‍यो। मर्जर भएर आउँदा प्रति कर्मचारी उत्पादकत्व १२ लाख थियो। राम्रो संस्थाको ३५ लाखदेखि ४० लाखसम्म छ। मैले यहाँ काम गर्नु पर्‍यो नि। समय त्यसमा गयो। कमसेकम अब १२ बाट २४ लाखमा पुगेका छौं, अझै हामीलाई यसले पुगेको छैन। भनेपछि मैले यहाँभित्र काम गर्नुपर्ने छ, बाहिर हल्ला गरेर गफ लगाएर मैले के गर्ने ? मैले बाहिर भाषण गर्ने अनि भित्र काम भएन भने मजा आउँदैन। हो, लुम्बिनीमा हुँदा एउटा अवस्थामा पुगियो अनि बोल्न थालियो। लुम्बिनीलाई एउटा बाटोमा हिँडायौं। राम्रो बनायौं। अनि एउटा नतिजा आएपछि बोल्न सकियो। बिओकेमा सुरुवातदेखि थाल्नु छ। सफाइको काम छ यहाँ। अहिले आएर प्रथमिकता फेरि घर सफाइमा छ मेरो। मैले त यहाँ काम गर्ने हो नि।

अन्तिम प्रश्न, जुन बजारले उत्तर सुन्न खोजेको छ। अजय श्रेष्ठ  थुनामा परेपछि बिओके र खासगरी तपाईमाथि ब्यक्तिगतरूपमा बजारले आक्षेप लगायो, जोगिने कुरामा पनि फँसाइयो भनेर। यस्तै खाले मुद्दा अरू बैंकमा पनि छन्, तर तपाईमाथि नै प्रश्न  उठाए। किन तपाई नै पर्नु भयो आक्रमणमा ?
जसले प्रश्न उठाए उनीहरुसँग राखेर एउटा छलफल चलाउँदा दुईतर्फी कुरा आउँछ। एकतर्फी कुरा मात्रै गर्दा तपाईले पूरा उत्तर पाउनु हुन्न। मेरो तर्फबाटको जवाफ म  दिन्छु। बिओकेमा अजय श्रेष्ठबाहेक पनि केही घटनामा पनि फर्जरी काम भएको देखियो। तपाईले बजारको एउटा प्रश्न छुटाउनु भयो, बैंकले हतारमा मुद्दा बुझायो भन्ने।

यो एकदमै गलत हो। हामीले एउटा संगठित गिरोहबाट ठगी, जालसाजी  भएको थाहा पायौं। अरु बैंकमा घटना घटाउन प्रयास गरेर नभएपछि यो बैंकमा आएर  घटना घटाइयो भन्ने प्रशस्त प्रमाण भेटियो। सुरुमा सञ्चालक समितिमा छलफल भइसकेपछि सकेसम्म पैसा उठाउने प्रयास गरियो। ९/१० महिना साथीहरु पैसा उठाउन लाग्नु भयो, तर पैसा उठेन। कुनै पनि उपाय नलागेपछि पुरै टिमले यो ऋणीले नियतबस नै बैंकलाई ठगेको हो भन्ने निष्कर्ष निकाल्यो। एउटा प्रतिवेदन उहाँहरुबाटै आयो- यो संगठित अपराध हो। यो समान्य तरिकाबाट उठ्ने अवस्था छैन। प्रतिवेदन आएपछि हामीले के गर्ने ?

अर्को प्रश्न पनि थियो बजारको- ऋण असुली न्यायाधिकरण (डिआरटी) मा मुद्दा हालेको भए पनि त हुन्थ्यो नि। डिआरटीले जालसाझीको केस हेर्ने हो ? त्यसले ठगीको केस हेर्ने हो ? त्यो अनुसन्धान गर्ने निकाय हो ? 

बिओकेले हतारमा गरेको निर्णय पटक्कै होइन। सम्पूर्ण टिमले अब यो ऋणीबाट बैंकको पैसा उठ्दैन, यो ठगी हो भन्ने स्थापित भएपछि सञ्चालक समितिमा धेरै छलफल भयो। ऋण उठाउने कुनै उपाय छैन भन्ने निष्कर्ष निस्किएपछि हामीले राज्यको कानुनलाई हातमा लिएर बसेर त हुँदैन। त्यसपछि हामी प्रहरीमा पुग्यौं। तपाईँको घरमा चोरी भयो, डकैती भयो भने तपाई कहाँ जानु हुन्छ ? तपाई आफैं अनुसन्धान गर्ने हो र ? बिओकेले हाम्रोमा ठगी भयो, जालसाजी भयो, हामीलाई नक्कली ट्रेस म्याप राखेर झुक्याइयो यसमाथि अनुसन्धान गरिदिनु पर्‍यो भनेर प्रहरीलाई भनेको हो। हामीले न कुनै कर्मचारीमाथि किटानी जाहेरी गरेका छौं। एउटा ‘कर्पोरेट सिटिजन्स’ भएर कानुनसंगत हिँड्ने संस्थाले निक्षेपकर्ताको हित संरक्षण गर्नुपर्ने छ। यस्तो संस्थामा ठगी हुन्छ भने त्यो संस्थाले के गर्ने ?

अरु बैंकले गरेका छैनन् भन्ने तपाईको प्रश्नको पनि म उत्तर दिन्छु। ती बैंकले यस्तो मुद्दा लुकाएर ठिक गरिरहेका छन् ? संगठित रुपमा भएका अपराध लुकाउनु ठीक हो ? तपाई भएको भए लुकाउनु हुन्थ्यो ? 

हामीले राज्यको अनुसन्धान गर्ने निकायलाई अनुसन्धान गर्न भनेका हौं। हामी ठगियौं बैंक ठगियो भनेर गएका हौं। यसो गर्दा हामीले के गर्न नहुने काम गर्‍यौं ? अब त्यसपछि जे जे भयो त्यसमा बिओकेले के गर्न सक्छ र ? अदालतबाट एउटा फैसला हुन्छ अनि बिओकेलाई त्यहाँ दोष लगाएर हुन्छ ? कागजपत्र सबैतिर उपलब्ध छ। निक्षेपकर्ताको संरक्षण गर्न भनेर हामी बसेका छौं। त्यो निक्षेप कसैले लुट्न खोज्छ भने रोक्नु बिओकेको काम होइन र ?

अर्को कुरा पनि उठेको थियो। प्रहरीले नआइज भन्दा भन्दै पनि बिओके गयो भनेर। तपाईको घरमा चोरी भयो, डकैती भयो अनि तपाई प्रहरीकोमा जानु भयो। प्रहरीले यो मुद्दा लिन्न म, किनभने यो मुद्दा लिएपछि तपाईमाथि पनि छानबिन गर्नुपर्ने हुन्छ, तपाईको श्रीमतीको पनि बयान लिनु पर्ने हुन्छ भन्यो। अनि के गर्ने मैले ? मैले छानबिन गर्नुस् भन्नु परेन ? जहाँसम्म साथीहरुले दुःख पाए, त्यसमा त बिओकेको पुरै परिवार दुःखी छ। वास्तविक रूपमा त हामी रोएका छौं साथीहरुले दुःख पाउँदा। छानबिन गर्ने निकायमा केही कुरा अभाव छ भने त्यसलाई पनि सुधार गर्ने हो। अनुसन्धान नै नगर्ने भन्ने होइन। उहाँ (आरोप लगाउने) हरु त गोहीका आँशु खसाल्नु भयो। परिवार त हाम्रो थुनिएका हुन् नि। बिजमाण्डू

7740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?