जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रममा ऋणपत्रको कारोबारमा जोड

नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रममा ऋणपत्रको कारोबारमा जोड

नेपाल धितोपत्र बोर्डले आइतबार आगामी आर्थिक वर्ष २०७७/ ७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बोर्डले वेबिनार तथा बोर्डको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ढुंगानाले लकडाउनको कारण सहज रुपमा कार्यालय सञ्चालन गर्न नसक्दा गत आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्न चुनौती रहेको बताए ।

धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गर्ने नीति रहेको छ । यस्तै सरकारी र संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने रहेको छ ।

चालु आवबाट एकीकृत ग्राहक कार्ड वितरण हुने भएको छ । ऋणपत्रको लागि छुट्टै नियमावली बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
चालु आवदेखि बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने व्यवस्था हुने भएको छ । बजार विकासको लागि सर्ट सेलिङको विषयमा अध्ययन गरी आवश्यक कार्य अघि बढाइने भएको छ । विकासात्मक ४० वटा कार्यक्रम सम्पन्न गर्ने बोर्डको नीति रहेको ढुंगानाको भनाइ छ ।

उनले सरकारले पुँजी बजार विकासको लागि ल्याएको ५८ बुँदामध्ये धितोपत्र बोर्डको भागमा परेको काममा ६८ प्रतिशत सम्पन्न भएको बताए । उनले आगामी दिनको बाँकी कामलाई कार्यान्वयनमा लैजाने काम जारी राख्ने बताए ।

बोर्डको चालू आवको नीति तथा कार्यक्रममा धितोपत्र बजार तथा तथा वस्तु विनिमय बजारको विकास गरी आइओएससिओ को मापदण्ड अनुरुपको बनाउँदै लैजाने उल्लेख छ।

यसैगरी बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने कार्यक्रम तय गरेको छ।

बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन अनुसन्धान गर्ने तथा बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने योजना पनि समेटिएको छ।

प्रदेशस्तरमा समेत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरतालाई सुदृढ गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बोर्डले बिगत तीन बर्ष अघिदेखि आफुले वर्षभरी गर्ने कार्यक्रम बर्षको सुरुमा नै नीति तथा कार्यक्रमको रुपमा सार्वजनिक गर्न थालेको हो ।
बोर्डले असार १४ गते धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमका विषयमा विज्ञहरूसँग सुझाव लिएको थियो । सोही सुझावको आधारमा निति तथा कार्यक्रम ल्याएको बताएको छ ।

9915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका