जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ ।

दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दशैंंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।

वर्षभरि कर्मचारीले १३ महिनाको तलब पाउँछन् । थप एक महिनाको तलब दशैं खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दशंैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

“पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दशैंं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ”, अर्थशास्त्री डा लाभले भन्नुभयो । व्यवसायीहरुका अनुसार दशैंमा करिब रु १० अर्ब मूल्य बराबरको लत्तकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थको समेत कारोबार बढ्ने व्यवसायीहरुको भनाइ छ ।

जनकपुरमा मात्र हरेक वर्ष दशैंंमा २५ हजार खसिबोका खपत हुने तथ्याङ्क छ । यसरी वर्षमा एकपटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उहाँहरुका अनुसार दशैंंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । करिब पाँच लाख कर्मचारीका लागि रु चार अर्बभन्दा बढी रकम दशंैं खर्चबापत मात्र दिइने गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

यसबाहेक निजी क्षेत्रका सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दशैं खर्चबापत बोनस तथा भत्ता दिन्छन् । यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ । पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार औषतमा दशैंताका करिब रु १०÷१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको सङ्ख्यामा नेपालीहरु कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।

अर्थविद्हरुका अनुसार दसैं अघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दशैंदेखि छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको अर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरीलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ । दशैंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष शिवशंकर साहको भनाइ छ । उहाँका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।

यतिखेर प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा दशैंंको निकै चहलपहल बढेको छ । दसैंको टीका चलिरहेको र दिपावली नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ । खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलहरुमा मानिसहरुको भीड लागेको छ । चाडपर्वका लागि मानिसहरुले खाद्यान्नदेखि लत्ताकपडासम्म अनिवार्य रूपमा किन्ने गरेका छन् । जनकपुरका मुख्य बजारहरु शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँहरुमा किनमेल गर्ने मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ ।

गाउँदेखि शहरसम्म धुमधामका साथ मनाइने दशैंमा व्यापारसमेत बढ्ने गर्छ । कुल राष्ट्रिय उपभोगको २० प्रतिशत दशैं अघिको दुई÷तीन साता अवधिमा मात्रै हुने अनुमान गरिएको छ । व्यापारीहरूको पनि वर्षभरीको कमाइ हुने समय भनेकै दशैं, तिहार, छठजस्ता महान चाडपर्व नै हो ।

5460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?