जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • १४ अर्ब ३४ करोड बराबरको आईपीओ विक्रीका लागि अनुमति

१४ अर्ब ३४ करोड बराबरको आईपीओ विक्रीका लागि अनुमति

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्म कुल १८ ओटा कम्पनीलाई साधारण शेयर (आईपीओ) विक्री गर्न अनुमति दिएको छ ।

बोर्डको विवरणअनुसार पछिल्लोपटक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले  ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर विक्री गर्न  अनुमति पाएको हो ।

बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कुल १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० रुपैयाँ बराबरको साधारण शेयर विक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ । बोर्डका अनुसार २०७७ असारमा कुल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको संख्या शतप्रतिशतले वृद्धि भएर ३५ लाख नाघेको अवस्था छ ।

यस्तै ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको संख्यासमेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भएर २६ लाख पुगेको छ । यस्तै प्राथमिक सार्वजनिक निष्काशनमा मुस्किलले ५ लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।

पछिल्लोपटक सार्वजनिक निष्काशन गरेको जीवन विकास लघुवित्तको साधारण शेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ ।

धितोपत्र बजार अनलाइन कारोवारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकामा हालसम्म त्यो संख्या बढेर ६ लाख ६० हजार बढी पुगेको छ । दैनिक ६ लाख बढीले कारोबारमा सक्रियता देखाएका छन् ।

बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बोर्डका अनुसार चालू आवको १० महीनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब रुपैयाँ बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो । प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत संकलन गरी दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्‍याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।

बोर्डका अनुसार चालू आवको शुरुआतीमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर विक्री गर्‍यो । यस्तै समाज लघुवित्तले  ८६ लाख बराबरको ८ लाख ६० हजार कित्ता साधारण शेयर विक्री गरेको थियो ।

बोर्डबाट अनुमति पाउनेमा पाँच ओटा जलविद्युत् कम्पनी छन् । त्यसमा सिङ्गटी हाइड्रोपावरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर विक्री गरेको थियो । उक्त परिमाणको शेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई विक्री गरिएको थियो ।

ग्रिन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर विक्री ग¥यो । बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये प्रिमियमसमेत जोडेर साधारण शेयर विक्री गर्नेमा रु रु जलविद्युत् परियोजना हो । सो कम्पनीले  ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता साधारण शेयर विक्री गर्‍यो ।

सीईडीबी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर विक्री गरिसकेको छ । यस्तै तेह्रथुम पावर साधारण शेयर बिक्रीका लागि अनुमति पाइसकेको छ । सो कम्पनीले १२ लाख कित्ता साधारण शेयर विक्री गर्दैछ । साधारण शेयर विक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो । सो कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर चालू आवमा विक्री गरेको छ ।

यस्तै जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोशीले साधारण शेयर विक्रीको अनुमति पाएको छ । सो कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण शेयर विक्री गर्दैछ ।

बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजस्वमा समेत पूँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पूँजीगत लाभकरवापत सरकारलाई वर्षमा मुस्किलले १ अर्ब रुपैयाँ बराबरको योगदान पुर्‍याउने गरेकामा हाल महीनामै सो भन्दा बढी रकम संकलन हुन थालेको छ ।

लामो समयदेखि स्पष्ट नभएको पूँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ । रासस

5525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?