जोडिनुहोस
बिहिबार, साउन २२, २०७७
बिहिबार, साउन २२, २०७७
  • होमपेज
  • बीमा बीमा कम्पनीहरुले गर्ने हो

बीमा बीमा कम्पनीहरुले गर्ने हो

० प्राइम लाईफ इन्स्योरेन्सको वित्तिय अवस्था कस्तो छ ?
प्राइम लाईफ इन्स्योरेन्स विगतका वर्षहरुदेखि लगातार राम्रो प्रतिफल दिने जीवन बीमा कम्पनी बनेको छ । लगानीकर्ताहरुलाई पनि राम्रो प्रतिफल दिने र खासगरी बीमितहरुको लागि, जुन हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । बीमितहरुको बीमाकोष असाध्यै राम्रो आकारको बनेको छ । यस कम्पनीको झण्डै आठ सय करोड भन्दा बढिको बीमा कोष बनिसकेको छ र यस आर्थिक वर्षको अन्त्यसम्ममा हामी करिब करिब हजार करोडको हाराहारीमा पुग्नेछौं ।

बीमितहरुको संख्याको आधारमा जुन आजको हाम्रा चालु अवस्थामा रहेका बीमाकोषमा योगदान गर्ने बीमितहरुको संख्या करिब १ लाख २३ हजार र बैदेशिक रोजगारको पनि हामीसंग करिब तिन लाखको हाराहारीमा बीमितहरु अहिले पनि हुनुहुन्छ । बीमाकोषमा योगदान गर्ने जुन १ लाख २३ हजार बीमीतको लागि यो आर्थिक वर्षमा बन्ने करिब हजार करोडको हाराहारीमा बीमाकोष हुनु राम्रो कुरा हो, यसैका आधारमा हाम्रा बीमितहरु र लगानीकर्ता सेयरधनीहरुले पनि आफ्नो लगानी अनुसारको प्रतिफल निरन्तर रुपमा पाइरहनु भएको छ र भविष्यमा पनि यहि अवस्था रहेमा राम्रो प्रतिफल दिन सकिन्छ तसर्थ कम्पनीको हालको बीत्तिय अवस्था राम्रो रहेको छ ।

० पछिल्लो अवस्थामा बजारमा नयाँ लाईफ इन्स्योरेन्स कम्पनीहरु आए, पछिल्लो समय प्राइम लाईफ बजारमा राम्रो मानिन्छ । प्रतिस्पर्धा चाहि बजारमा कस्तो ?
पहिलो कुरा बीमितले सहि सुचना पाउनु पर्छ । अर्को कुरा बीमा कम्पनीहरुको प्रमुख उत्तरदायित्व भनेको बीमितहरुको हकहितको लागि काम गर्नु हो । सबै बीमा कम्पनीहरुले बीमितहरुको हकहितलाई केन्द्रबिन्दुमा राखेर काम गरिदियो भने प्रतिस्पर्धा हुने भन्दा पनि बजार बिस्तार राम्रो भएर जान्छ । अहिले प्रतिस्पर्धा नै गर्नुपर्ने अवस्था छैन, हामीले यसलाई प्रतिस्पर्धाको रुपमा लिएका छैनौं, बजार बिस्तारको रुपमा मात्रै लिएका छौं किनभने धेरै कम्पनीहरुले बीमा सम्बन्धमा नैं भनिरहँदा मानिसहरुमा बीमा सम्बन्धी चेतना बढ्ने, बीमाको बारेमा बारम्बार सुन्ने हुँदा कमसेकम बीमा सम्बन्धी जानकारी धेरै व्यक्तिमा पुग्ने भयो र सो बुझे पछि त बीमा कुन कम्पनीमा गर्ने भन्ने कुरा मात्र त हो नि ।

मानिसहरुले धेरै बीमा कम्पनीहरुको कुराहरु सुन्ने कुरा राम्रो हो । त्यसबाट छनौट गर्छन् हो त्यो अवस्था सम्म ल्याउने काम हाम्रो हो । यही कामलाई सघाउन नयाँ कम्पनीहरु आएका हुनाले कुनै बजार बिग्रिएको जस्तो मलाई लाग्दैन र धेरै बजार प्रतिस्पर्धा भएको जस्तो पनि लाग्दैन । हामीले यसलाई बजार बिस्तारको सहायकको रुपमा लिएका छौं ।

० पछिल्लो अवस्थामा नयाँ आएका बीमा कम्पनीहरुले पत्याउनै नसकिने खालका बीमा योजनाहरु बजारमा ल्याएर बजार अलि प्रतिस्पर्धी बनाएका हुन् की ?
नयां कम्पनीहरु बजारमा आएपश्चात केही थप अनुसन्धानका कुराहरु, रिसर्चका कुरा, केही इनोभेसनका कुराहरु भएका छन् । अहिले नयाँ सोचको, नयाँ विशेषताहरु भएका बीमा योजनाहरु आउन थालेका छन् । त्यसको अर्थ प्रतिस्पर्धी भएर पनि हो । अर्को कुरा अरु भन्दा हामी पृथक छौं है भनेर आफुले आफुलाई पृथक देखाउने होडबाजी पनि हो ।

० बीमा समितिले निर्देशिका नै जारी गरेर मर्जरमा जानुस् भनेको छ । तपाईले यसलाई कसरी लिनुभएको छ ?
नेपालमा एक डेढ वर्ष जति भयो दश वटा नयाँ कम्पनीहरु खुलेको । कसैले एक वर्ष चलाए कसैको डेढ वर्ष भयो समग्रमा दुई वर्ष पनि भएको छैन । ती कम्पनीहरुका संस्थापकहरुले लगानी गरेको बाहेक त्यस कम्पनीमा आईपीओ समेत जारी भएको छैन । कतिपय कम्पनीहरुले आफ्नो शाखा तथा उपशाखा खोलेर आफ््नो व्यापार बिस्तारको लागी नयाँ ठाउँमा नयाँ शाखा खोल्ने, नयाँ बजार बिस्तार गर्ने क्रममै हुनुहुन्छ ।

अब यतिनै खेर मर्ज गर भन्दा पुराना संञ्चालन गर्न कठिन भएका कम्पनीहरु अथवा क्रस होल्डिङ्ग एकै परिवारका सदस्यहरुले विभिन्न नाममा हरेक कम्पनीहरुमा शेयर लगानी गरेकाहरुलाई मर्ज गराउने भन्ने खालको हो भने चाँहि केही हदसम्म सही होला त्यो हिसाबमा । तर, बजार विस्तारको हिसाबले मर्ज नै गर्नुपर्ने अवस्था भएको जस्तो मलाई चाहि लाग्दैन । त्यो त्यति उपयुक्त पनि नहोला ।

० अहिले बीमा कम्पनीहरुबीच व्यवसाय, कर्मचारी, अभिकर्ता खोसाखोस÷ तानातानको अवस्था छ । व्यवसायको लागि विभिन्न उपहार दिने जस्तो विकृती आयो यसलाई कसरी लिनुहुन्छ ?
एउटा मान्यता के राख्नुपर्छ भन्दा खेरी हामीहरु व्यवसायमा छौं, सामाजिक सुरक्षाको रुपले पनि काम गरिराखेका छौ र एउटा व्यवसायिक सुरक्षा पनि हो । यो व्यवसायमा बसी सकेपछि एउटा नैतिकताको पनि कुरा आउँछ । जीवन बीमाको कार्यकारी भएर कम्पनी चलाईरहँदा कुन कुरा नैतिक हो र कुन कुरा अनैतिक हो भनेर आफुले आफुलाई पनि छुटाउनु पर्छ । आफुले आफुलाई नै यो गलत काम गरिराखेको छु भन्दा भन्दै त्यसबाट व्यवसाय बृद्धि गर्नु चाहिँ ठिक हुँदै होइन भन्ने मान्यता मेरो । त्यही कारणले नियमनकारी निकाय पनि चाहिने हो र नियमनकारी निकायले खबरदारी पनि गरिरहनु पर्छ । बीमा कम्पनी स्वयंनियमनमा नबसेकै कारणले नियमनकारी निकाय चाहिने हो ।

नियमनकारी निकायले पनि सबै कुराको नियन्त्रण गर्न सक्दैन । एउटा सिन्द्धात, निति नियम बनाउने हो । तर त्यो निर्देशन, ऐन, नियमावलीले पनि सबै कुरा समेट्छ भन्ने हुँदैन । बद्मासी गर्ने नियत राख्ने मान्छेले जहाँ पनि छिद्र फेला पार्छ । त्यो छिद्र कसैले प्रयोग गर्लान कसैले नगर्लान । बीमा समितिले बिगत माघदेखि अभिकर्ताहरुलाई विदेश भ्रमणमा नलैजाउ, विदेश भ्रमणमा लैजाने स्किमहरु नबनाउ, अभिकर्ताहरुलाई सामानहरु उपहारको रुपमा नदेउ भनि निर्देशन दिएको छ । खासगरी संस्थागत अभिकर्ता बैंकहरुलाई त कमिशन बाहेक केही दिनै पाइदैन । व्यक्तिगत अभिकर्तालाई इन्सेन्टीभ दिन पाइन्छ, प्रथम बीमाशुल्कको १८ प्रतिशत भित्र रहेर देउ भनेर नियमनकारी निकायबाट निर्देेशित कुरा भयो ।

तर अहिले बजारमा सुन्न आएको अनुसार केही कम्पनीहरुले अझ भनु केही बैंकका कर्मचारीहरुलाई पनि सामानहरुको प्रलोभन दिएर कामहरु गराईरहेको छ भन्ने सुन्नमा आउछ । त्यो अनैतिक काम हो । त्यो कामलाई नियमनकारी निकायले कुन हदसम्म रोक्ने त ? विदेश नपठाउ भनेको छ, तर घुमाउरो बाटोबाट विदेश पठाईराखेको छ । त्यो त गलत प्रकृतीको काम हो नि ।

० पछिल्लो समय बैंक र बीमाबीच बैंकाईन्स्योरेन्स सम्झौता बढ्दै गएको र जुन बैंकले बढि पोलिसी बेचिदिन्छ त्यही बैंकलाई बीमा कम्पनीको डिपोजिट पनि दिने र अर्कोतिर बैंकहरु आफैले बीमा कम्पनीहरु सञ्चालन गरिहेका पनि छन् यसलाई कसरी लिनु भएको छ ?
बीमा कम्पनीले बैंकहरुलाई एजेन्सी बनाउन पाइन्छ भन्ने नियम पहिलेदेखि नै छ । यो अरु देश लगायत विश्व बजारमा पनि चलिआएको छ । हाम्रो देशमा बैंकाइन्स्योरेन्सको एउटा पाटो मात्र हुन्छ । विश्व बजारका बैंकहरुले पोलिसी दिने देखि लिएर दाबी भुक्तानी समेत बैंकहरुले नै गर्छन् । हाम्रो देशमा चाँही बैंकलाई कर्पोरेट एजेन्सी बनाएको मात्र हो । बैंकले डिपोजिटरबाट लिएको पैसा नै डिपोजिटरलाई ब्याज दिएर बिचको ४÷५ प्रतिशतको स्प्रेडमा काम गर्नुपर्छ । त्यो भन्दा यो लगानी नै नगरी आम्दानी आउने स्रोत हो । त्यसकारण बैंकाइन्स्योरेन्स नराम्रो कुरा पक्कै होइन ।

बीमा समितिले पनि जुन निर्देशन दिएको छ, यस्तो कर्पोरेट एजेन्सीलाई कमिशन बाहेक केही नदेउ । कमिशन त बीमा नियमावली ऐन २०४९ ले नै तोकेको छ । यस बिचमा बैंकलाई प्रयोग गरेर डिपोजिटको बार्गेनिङ्ग गर्नु गलत कुरा हो । लगानी निर्देशिकामा टेक्निकल रिजर्भको यति प्रतिशत भन्दा बढी एउटा बैंकलाई डिपोजिट दिन पाउदैन भन्ने पनि छ । बैंकलाई एजेन्सी बनाएर काम गराउनु गलत होइन ।

तर, नियमनकारी निकायले बन्देज गरेको कुरा दिन्छु भनेर काम लगाउनु चाँही गलत हो । यसमा बैंकले पनि डिपोजिट मात्र लिने हिसाबले काम गर्नु पनि राम्रो होइन । हाम्रो एउटै भनाई के हो भने ः बैंकले पनि एउटा राम्रो ग्राहक पाओस् बीमा गराउनका लागि र कम्पनीलाई पनि बैंकको च्यानलबाट बीमा गराउदा खेरी हाम्रो जुन कर्पोरेट क्रेडिबिलीटी छ त्यसले काम पाउछ । कुनै एउटा व्यक्तिले बीमा गराउनु भन्दा बैंकले बीमा गराउँदा बीमितको लागि पनि राम्रो हो ।

० यसैमा एउटा कुरा थपौ बैंकले कर्जा लिन जाँदा तपाईको परिवार सबैको बीमा गरिदिनुस् हामी कर्जा चाँडो गरिदिन्छौं भन्ने पनि छ यसलाई कसरी लिनु भएको छ ?
यो प्रलोभन दिएर, बाध्य बनाएर बीमा गर्ने भनिएको होइन । त्यसले गर्दा रेपुटेसन रिक्सको कुरा आयो । किन आयो भन्दा बैंक त एउटा संस्था हो नि, व्यक्ति होइन । आज त्यो एउटा बैंकको शाखा प्रमुखले ग¥यो भन्ने कुरा आउँदैन, त्यो त बैंकले गरेको हो, उ एउटा प्रतिनीधि पात्र मात्र हो ।

त्यसकारण त्यो प्रतिनिधी पात्रहरुलाई सहि बाटो ल्याएर बैंकको व्यवस्थापनले पनि यो कुरामा कडा निर्देशनहरु दिनु पर्छ । हामीहरुले चाँही के गर्छौ भने बैंकका अधिकारीहरु, शाखा प्रबन्धकहरुलाई बोलाएर तालिम दिन्छौं । उहाँहरुलाई हामीले भनेका हुन्छौं, बैंक एउटा एजेन्ट हो तपाईहरु त्यहाँका कर्मचारी भएको नाताले तपाईले बीमा पोलीसी बेच्ने हो तर गलत कुरा गरेर होइन । मानिसलाई बाध्य बनाएर होइन ।

मानिसलाई बुझाएर सम्झाएर बेच्ने हो, बुझाउने ठाउँमा कठिनाई छ भने हामी आईदिन्छौं । बीमा आफैमा राम्रो हो भनेर मात्र गराउं । तर कसैलाई अप्ठ्यारो पारेर, कुनै अन्य कुरासंग गासेर बीमा गर्नु हुँदैन भन्ने कुराको सन्देश हामीहरुले दिइराखेका छौं ।

० बीमा कोषको रकमलाई सदुपयोग गर्न के के गर्नुपर्ला ?
बीमा समितिले जारी गरेको नयाँ निर्देशिका अुनसार बीमाकोषमा भएको रकमको ५ प्रतिशतसम्मको रकम घरजग्गामा लगानी गर्न पाउने भएका छन् । हिजोको दिनमा केही बैंकहरुले बण्ड जारी गरिरहँदा प्रत्येक पटक बीमा समितिबाट स्वीकृति लिईरहनु प¥र्थो भने आज त्यो लिइरहनु पर्ने अवस्था छैन । शेयर बजारमा पनि १० प्रतिशत सम्म लगानी गर्न सकिने भएको छ । सरकारले प्राथमिकतामा राखेको क्षेत्रमा पनि ५ प्रतिशत सम्म शेयर लगानी गर्न पाएका छौं । म्यचूअल फण्डमा पनि लगानी गर्न पाएका छौं ।

त्यसकारण अहिले लगानीका अवसरहरु विस्तारित भएका छन् । समग्रमा भन्दा बीमा कम्पनीहरुसंग करिव २० हजार करोड लगानीयोग्य रकम छ । हामी लाईफ इन्स्योरेन्स कम्पनीहरुका बीचमा पनि हामीहरु नै मिलेर एउटा फण्ड बनाएर बैंकहरुले हाइड्रो लगायत ठुलो ठुलो प्रोजेक्टहरुमा लगानी गर्छ भने हामी लगानी गर्ने हाम्रो एक्स्पर्टिज त होइन तर हामी एउटा कन्सोर्टियम पार्टनरका रुपमा बैंकहरुसंग पनि जान सकिन्छ होला । हिजोको दिनमा यो फण्डको आकार ठुलो थिएन र त्यसको खोजी पनि भएको थिएन । अब यसलाई ठूलो त नभनु केही ठिक्कको आकार सुरुवाती आकारमा पुगेको हुनाले लगानीका थप अवसरहरु पहिचान गर्ने बिस्तारित रुपमा लगानी बढाएर जान भने हामी लागि परेका छौं ।

० डिजिटल जमानामा पनि बीमालेखमा १० को टिकट टाँस्ने गरिएको छ । प्राइम लाईफले यसलाई डिजटल बनाउन के के गरिरहेको छ ?
स्टाम्प टाँसीएको, छाप लागेको, दस्तखत भएको कुनै प्रमाणित कागज हातमा नपरीकन विश्वास गर्दैनौ हामी । कतिपय ठाउँमा त्यसलाई कानुनले पनि मान्दैन । बीमा पनि कानुनी करार अन्तर्गत भएको हुनाले कानुनी रुप दिनुपर्ने हुनाले भोलिको दिनमा कुनै कानुनी झन्झट झमेला अथवा कानुनी प्रक्रियामा जानुप¥यो भने यो कानुनी दस्तावेज हो भन्ने प्रमाणीत गर्नलाई पनि यि कुराहरु आवश्यक होलान् ।

त्यति भन्दा भन्दै पनि हामी एकदमै डिजिटलबाट ज्यादै टाढा पनि छैनौ । कतिपय ठाउँमा हामी प्रयोग पनि गरेका छौं । हिजोको दिनमा बैंकमा खाता खोलेपछि बैंकमा पैसा राखेपछि पासबुक भर्ने चलन हुन्थ्यो भने आज हामीलाई त्यो पासबुक चाहिदैन आज हामी कम्प्यूटर प्रिन्टलाई पत्यार गर्ने अवस्थामा भैसकेका छौं, भनेको जस्तै गरेर विस्तारै त्यो सोच बीमामा पनि आउँदैछ जस्तो लाग्छ । प्राइम लाइफले चाँहि डिजिटलमा प्रवेश गर्नको लागि पहिला त हामीले भुक्तानीका लागि चाहिने सबैभन्दा सजिलो माध्यम बनाईदिनु पर्ने हुन्छ ।

आज पनि बीमितले बीमाशुल्क भुक्तानी गर्नुप¥यो भने कि त बैंकमा जम्मा गरेर भौचर ल्याउनु पर्छ कि त अफिसमै आएर पैसा तिर्नु पर्छ । रसिदै काट्नु पर्ने हुन्छ । त्यसैले पहिला त त्यसलाई नै एउटा पेमेन्ट गेट वे पोइन्ट अफ सेट एउटा मेसिनबाट अथवा ब्रान्चलेस बैंकिङ्गबाट तिरेको रकमहरुलाई पनि स्वीकार गर्ने स्टेजमा पुग्नु प¥यो । अहिले मानिसहरुले मोवाइल बैंकिङ्ग अथवा मोवाइल वालेटबाट पेमेन्ट गेट वे सजिलो बनाउन् त्यसपछि मात्र अरु स्टेजमा जाने हो भने हामीहरु पहिलो चरणमा काम गरिहरेका छौं ।

० नयाँ बीमा कम्पनीहरु आएपछि बीमा क्षेत्रमा दक्ष, अनुभवी कर्मचारीहरुको अभाव भएको देखिएको हो ? मानिसहरुले बीमामा काम गर्न नचाहेको हो ?
वास्तवमा बीमा क्षेत्रमा पहिलादेखि नै कर्मचारी अभाव नै हो । एउटा कारण त बीमाको बारेमा धेरै प्रचारप्रसार, सचेतना, बीमा सम्बन्धी शिक्षा, कम भएको कारणले पनि होला । दोस्रो यो बीमा क्षेत्र पनि रोजगारीको एउटा आकर्षक क्षेत्र हो भनेर हामीले पनि त्यति प्रोत्साहन गर्न सकिराखेका पनि छैनौ होला ।

यसमा हाम्रो पनि कमजोरी होला । तर अबको दिनमा नयाँ बीमा कम्पनीहरु थुप्रै आइसके पछि बजारमा जुन चहलपहल भयो, त्यसले गर्दा पनि मानिसहरुको बीमा प्रतिको आकर्षण बढ्दो छ । अहिले केही क्याम्पसहरुले बी.बी.ए., एम.बी.ए., बी.ए.मा बीमा सम्बन्धी कोर्षहरु पनि राखेका हुनाले अब एकेडेमीकल्ली हुमेन रिसोर्सहरु तयार हुँदैछ र त्यो राम्रै रुपमा आउँछ होला । सुरुवात भएकै छ ।

कर्मचारी खोसाखोसको अवस्थामा नयाँ कम्पनी खोलेर जानेहरुको बाध्यता पनि बुझिदिनु पर्छ । नयां कम्पनी सबै नयाँ कर्मचारी राखेर मात्रै चल्दैन । कमसेकम विभागीय प्रमुख तहसम्मका कर्मचारीहरु पुरानो अनुभवी चाहिन्छ । त्यो हिसाबले केही लिएर जानु त सही हो । तर त्यो लिएर जाँदा खेरी सहि मान्छे र आफुलाई काम लाग्ने मानिस लगेको भए अझ राम्रो हुन्थ्यो । बीमा बजारमा नयां नयां व्यक्तिहरुलाई तालिम दिएर लगाउने अवसर छ त्यसैले कर्मचारीको अभावको महसुस खासै गर्नुपरेको छैन ।

० अभिकर्ताहरुलाई तालिम नै नदिई अभिकर्ताको प्रमाण–पत्र दिएर बीमा गर्न लगाउने प्रक्रियालाई कसरी लिनु भएको छ ?
अभिकर्ता हुनका लागि १५ दिनको तालिम लिनु पथ्र्यो । मुख्य मुख्य केन्द्रहरु जस्तो नेपालगञ्ज, बिराटनगर, काठमाडौं यस्तै गरी दुई चार वटा ठाँउहरुमा मात्रै दिन पाइन्थ्यो । मलाई कतिसम्म थाहा छ भने हप्तादिनसम्म होटलमा बसेर आफ्नो खर्च गरेर तालिम लिएर आएर व्यवसाय गर्ने एजेन्सीहरु पनि थिए । उनीहरु आज पनि राम्रो व्यवसाय गरेर टिकीरहेका पनि छन् । तालिम नलिएका अभिकर्ताहरुले बीमा पोलिसीमा कमिशन मात्र देखेका हुन्छन् ।

उनीहरुले मानिसहरुलाई झुक्याएर बीमाका पोलीसीहरु बेचेको हुन्छ । जसको असर ३÷४ वर्षपछि बिस्तारै देखिन आउछ । नेपालमै भर्खरै घटेको घटना जुन बीमाको पैसाको लागि बाबुले छोरीको हत्या गरेको भन्ने सुन्नमा आएको छ । केही समयपछि ति बीमा पोलिसीहरु धेरै सरेन्डर हुने, ल्याप्स हुन जान्छन् । त्यसैले अभिकर्ताहरुलाई तालिम नै नदिई अभिकर्ताको प्रमाण–पत्र दिएर बीमा गर्न लगाउनु सरासर गलत कार्य हो ।

० सरकारले अहिले स्वास्थ्य बीमा पनि ल्याएको छ । यसलाई कसरी लिनुभएकोछ ?
यो सरकारले आफ्नो हिसाबमा आफ्ना मोबीलाईजरहरु राखेर, आफ्ना कर्मचारीहरु राखेर गरेको कुरा हो । हाम्रो भनाई के हो भने बीमा भनेपनि बीमा गर्न भनेर स्थापना भएका संस्था तथा कम्पनीहरुले गर्नु पर्ने कार्य हो । बीमा भन्ने शब्द आउने बित्तिकै त्यो बीमा कम्पनीहरुले गर्नुपर्छ ।

त्यो जुनसुकै बीमा कम्पनीले गरोस् । बीमा सरकारले गर्ने होइन । हुनत यहाँ कर्जा बीमा एउटाले, स्वास्थ्य बीमा एउटाले, केही बीमा हामीले गरीराखेका छौं भन्दा खेरी बीमा बजार आफैमा छरपस्ट भएको अवस्था छ । समाचारमै आएको कुरा हो । सरकारले गरेको स्वास्थ्य बीमामा पनि पहिलो किस्ता आयो दोस्रो किस्ता आउँदै आएन भन्ने सुनिएको छ । यसले गर्दा त यो स्वास्थ्य बीमा जुन उद्देश्यले ल्याएको हो त्यो त पूरा भएन की जस्तो लाग्छ । यो बीमा कम्पनीहरुलाई दिएको भए त कुनै न कुनै व्यापारीक दृष्टिकोणले भए पनि निरन्तरता गराउने थिए भन्ने लाग्छ ।

० दाबीमा बीमित र बीमा कम्पनीमा विवाद हुने त्यो विवाद बीमा समितिमा जाने त्यहाँ पनि सुनुवाई नहुने अब बीमित कहाँ जाने यसलाई कसरी लिनुभएको छ ?
खासगरी जीवन बीमामा त्यति दाबी आउदैन । जीवन बीमामा दुई वटा अवस्था मात्रै हो । बीमीत जिउदो भएछ बीमा अवधीसम्म भने उसले एकमुष्ट बोनस र बीमाङ्क रकम फिर्ता पाउने हो । कथंकदाचीत बीमितको मृत्यु भएछ भने इच्छाएको व्यक्ति अथवा हकवालाले पाउँने हो । यसमा अरु कुनै अवस्था नै छैन । यही अवस्थामा पनि किन विवाद आउछ ? एउटा कारण गलत सूचना दिएर बीमा गराएको छ ।

नविकरण बीमाशल्क नतिरको अवस्थामा बीमा भइरहेको छ भन्ने भएको छ । वास्तवमा उसको बीमा फेल भईसक्यो । यसको जोखिम बहन गरेको छैन, कम्पनीले अब उसको बीमा मेच्यूरिटी होला अथवा बीमित व्यक्तिको मृत्यु होला त्यो बेलामा बीमाको रकम दाबी गर्न आउँदा बीमा कम्पनीले कसरी दिन्छ ? त्यस्तो अवस्थामा विवाद हुनु स्वभाविक नै हो । अर्को अवस्था भनेको बीमामा केही शर्त, नियमहरु हुन्छन् त्यो शर्त तथा नियमहरुको राम्ररी जानकारी दिनुप¥यो । अभिकर्ता परिपक्व प्रोफेसनल भएर बीमितलाई सबै कुरा भनेर गराएको बीमा भए यो खालको विवाद आउँदैनथ्यो । बीमा गराउने समयमा नै सबै कुरा प्रष्टसंग नभन्दिएकोले नै यस्ता खालका विवादहरु आउने हो ।

कहिलेकाही कस्तो खालको विवाद आउछ भने कम्पनी आफैले सोच्नु पर्ने अवस्था आउँछ । बीमा गरेको ६ महिना पनि नभई असाध्ये रोग क्यासर लागेर मृत्यु भयो, त्यो सहि हो तर, यहाँ के हुन्छ भने बिरामी भन्ने थाहा पाइसक्छन् अनि ल्याएर बीमा गरि दिन्छन् । उनीहरुले ढाँटेर बीमा गर्छन् । तर, डाक्टर कहाँ त ढाँटेको हुँदैन । अनि त्यो डाक्टरको रिपोर्ट ल्याउ भन्दा त लाससंगै रिर्पोट पनि जलायो भनेको हुन्छ । त्यो मानिसको नागरिकता, बीमालेख सबै कुरा छ ।

जल्यो भने त सबै कुरा जलाउनु प¥थ्यो नि । त्यो डाक्टरको रिर्पोट मात्र किन जलाएको त ? कम्पनीले पनि त खोजीनिती अनुसन्धान गर्छ नि । यस्तैमा कहिलेकाहीं केही विवाद हुनसक्छ अन्यथा नियमित रुपमा नैं दाबी भुक्तानी भइरहेको छ र नियमन निकायबाट समेत दावी भक्तानी सम्बन्धि विवादमा विवाद मिलाउनका लागि आवश्यक सहयोग भइरहेको छ ।

० त्यसो त तपाईहरुले बीमा अघि आफ्नो मेडिकलमा डाक्टरलाई जाँच गराएको हुन्छ नि त ?
हो, अहिले हामीहरुले त्यही गरीरहेका छौं । अहिले हामीहरुले एडभान्स क्लिनीक, नर्भिक हस्पिटलमा मेडिकल गराउने गराएका छौं । अहिले हाम्रो कर्मचारी, अभिकर्ताको उपस्थितिमा मात्र बीमा गर्ने व्यक्तिको मेडिकल गराउने गरेका छौं । त्यसले गर्दा हामीकहाँ त्यस्तो खालको विवाद आउँदैन ।

कहिलेकाँही कस्तो हुन्छ भने हामीले त सबै जोखिम लिएका छैनौं । जोखिम बांड्न रि इन्स्योरेन्स गरिएको हुन्छ । रि इन्स्योरेन्स कम्पनीसंग दावी लिनका लागि बीमितको तर्फबाट दावी भुक्तानीको लागि आवश्यकता अनुसार मेडिकल जांचका कागजातहरु सहित अन्य आवश्यक कागजातहरु पु¥याउन सकेनन भनेत उसले त हामीलाई दाबी बापतको रकम दिँदैन, उसले नदिएपछि हामीले पनि दिन सक्दैनौं । हो यस्तै यस्तै खालका कानुनी अड्चनहरु र उपलब्ध गराउनुपर्ने कागजातहरु पूरा नगरेको कारणले दाबी दिन नसकिने अवस्था श्रृजना हुनसक्छ ।

० अन्त्यमा प्राइम लाईफ इन्स्योरेन्स हाँक्ने योजना के कस्ता छन् ? नयाँ प्रोडक्ट कस्ता कस्ता आउँदैछन् त ?
प्राइम लाईफ इन्स्योरेन्सको मुख्य आधारभुत स्लोगन नै सही कुरा गरेर, बीमाको जानकारी सही दिएर आफ्ना अभिकर्ताहरुलाई पनि त्यही किसिमको तालिम दिएर बीमा गराउँदै जाने, बीमाको पहुँच बढाउदै जाने र बीमालाई सकेसम्म देशका धेरै ठाउँमा दुरदराजमा पहुँच पु¥याउने हाम्रो सबैभन्दा पहिलो उद्देश्य रहेको छ । हाम्रो अहिले १३५ स्थानमा शाखा, उपशाखा तथा सम्पर्क कार्यालयका रुपमा सञ्चालनमा छन् । अझ त्यसलाई बढाउदै लैजाने क्रममा छौं । केही संख्या थप गर्नका लागि हामीले बीमा समितिमा स्वीकृतिका लागि पनि पेश गरेका छौं ।

त्यसैगरी अभिकर्ताहरुलाई तालिम दिनको लागि आधारभुत तालिम र कसैकसैले तालिममा नबुझेका हुन्छन्, राम्ररी नपढेका हुन सक्छन्, अथवा त्यतिखेर ध्यान नदिएका हुन सक्छन् उनीहरुलाई केही व्यवसाय गरी सकेपछि थप व्यवसाय गर्नको लागि रिफ्रेसर तालिम हामी दिन्छौं । हामी वर्षको २ देखि ३ पटक सम्म रिफ्रेसर तालिम दिन्छौ । मुलुक भरीका लिडरहरुको लागि पनि वर्षको एक पटक अनिवार्य तालिम दिन्छौं । वर्षमा २ पटक हेड मार्केटिङ्गहरुलाई पनि तालिम दिइआएका छौं । कहिलेकाँही अभिकर्ताहरुसंग अन्तरक्रिया गर्ने गरिन्छ । यसरी हामीहरुले बीमा सचेतना र बीमा शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेका छौं ।

अर्को कुरा हामीहरुले कर्मचारीहरुको बृत्ति विकासमा त्यतिकै ध्यान दिएका छौं । उनीहरुलाई अफिसमा, अफिस बाहिर र बाहिरबाट एक्सपर्टहरु बोलाएर पनि विभिन्न विषयहरुमा तालिम दिइ आएका छौं । खासगरी मार्केटिङ्गमा काम गर्ने कर्मचारीहरुको लागि त वर्षको २ पटक विजनेश कन्फेरेन्स नै गरेर धेरै कुराहरु सिकाउछौं र उनीहरुको पनि केही कुराहरु, समस्याहरु छन् भने त्यसलाई समाधान गर्छौ । यसका साथै हामीहरुले विदेशमा अध्ययन तथा तालिमहरुमा पनि पठाइरहेका छौं । अर्को कुरा इन्टरनेट कनेन्टीभिटी सबै ठाउँमा छ । त्यसको माध्यमले तुरुन्तै बीमालेख जारी हुन्छ । प्रिमियम तिर्न आएको होस् वा नविकरण त्यसको तुरुन्तै नै रसिद दिन्छौं ।

हाम्रोमा प्रिमियम तिर्ने वित्तिकै, नविकरण गर्ने वित्तिकै र बीमितको जन्मदिनमा मोबाइलमा एस.एम.एस जान्छ । त्यो किसिमले हामीले बीमितलाई पनि धेरै सुविधाहरु दिइ आएका छौं । कसैले बीमाको कर्जा लिन आयो भने हाम्रा सबै शाखाहरुबाट त्यो सेवा दिन्छांै । हामीहरुले बीमितलाई कसरी बढि भन्दा बढि सुविधा दिएर व्यापार बृद्धि गर्ने सोको लागि वातावरण मिलाई राखेका छौं । लगानीकर्ताहरुको पाटोमा भन्नु पर्दा कम्पनीको चुक्ता पूंजी १७८ करोड पुगेको छ । आगामी वार्षिक साधारण सभाबाट थप २२ करोडको लागि बोनश शेयर जारीगर्ने वित्तिकै कम्पनीको चुक्ता पुँजी २०० करोड पुग्छ ।

हामीसंग आर्थिक बर्ष २०७४।७५ कै नाफाबाट रु. २४ करोड बाड्न पुग्ने रकम छ । २०७५ सालको नाफा र आगामी वर्षहरुमा हुने नाफाको हिसाबले २०० करोडको पुँजीलाई न्यूनतम पनि अब आउने ४÷५ वर्ष नियमित रुपमा कम्तिमा १० प्रतिशतका दरले लाभांश दिन सकिने किसिमको व्यवसायिक वातावरण कम्पनीमा बनेको छ र त्यो अनुसार नै कम्पनी अगाडी बढिरहेको छ । आर्थिक बजार मासिक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका