जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंकर्स संघको चुनाव कात्तिक २३ मा: अध्यक्षमा उपाध्यायको दाबी

बैंकर्स संघको चुनाव कात्तिक २३ मा: अध्यक्षमा उपाध्यायको दाबी

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कात्तिक २३ गते हुने बार्षिक साधारणसभाले अध्यक्षसहित ६ जना सदस्यहरुको निर्वाचन गर्ने भएको छ।

संघको आइतबार बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो। सोमबार संघका अध्यक्ष भुवन दहालसहितको टोलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रमुख अतिथिका रुपमा उपस्थिति हुन निम्तोसमेत दिएका छन्।

अध्यक्ष दहालको २ बर्षे कार्यकाल पुरा हुँदैछ। त्यसैले आगामी साधारणसभाले नयाँ अध्यक्ष छान्ने छ।

संघका बहालवाला उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने चलन चार बर्षयता चल्न थालेको छ। अहिले उपाध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय छन्। उनलाई नै स्वत: अध्यक्ष बनाउनु पर्छ भन्ने एकथरी छन्।

तर सरकारी बैंकले समग्र बैंकहरुको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निजी क्षेत्रबाटै अध्यक्ष बनाउनु पर्छ भन्ने मत पनि अगाडि आएको छ। यसअघि भारतीय लगानीको नेपाल एसबीआइ बैकका प्रमुख कार्यकारी उपाध्यक्ष हुँदा उनले समग्र नेपाली बैंकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै कार्यसमितिमा नभएका दहाललाई अध्यक्ष बनाइएको थियो।

अध्यक्ष दहालले सोमबार कार्यसमितिका सदस्यहरुलाई इमेल लेख्दै आफ्नो बैंकिङ कार्यकालसमेत तीन महिनापछि सकिन लागेकाले आगामी कार्यसमिति छान्नका लागि सुझाएका छन्। इमेल पाएका एक बैंकरका अनुसार, दहालले आगामी नेतृत्वले काम गर्नु पर्ने भएकाले त्यसै अनुसार समिति छान्न सुझाएका छन्।

संघका धेरैजसो सदस्य उपाध्याय अध्यक्ष भएको हेर्न चाहँदैनन्। धेरैजसोको चाहना रत्नराज बज्राचार्य अबको अध्यक्ष बनुन् भन्ने छ। उनीहरुका अनुसार, रत्नराजसँग ४०औं बर्ष बैंकिङसँगै राष्ट्र बैंकमा काम गरेको अनुभवसमेत छ। उनी गभर्नर अधिकारीको चाहनामै यसपाली बैंकिङमा फर्किएका हुन्। अहिले उनी ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत छन्।

‘प्राविधिक र ब्यवहारिक कुरा बज्राचार्यले बुझ्नु हुन्छ। साथै राष्ट्र बैंकसँग पनि उहाँको गहिरो सम्बन्ध भएका कारण समन्वय गरेर काम गर्न सजिलो हुन्छ’ एक बैंकरले भने, ‘त्यही भएर धेरैको चाहना बज्राचार्य भइदिए हुन्थ्यो भन्ने हो। उपाध्यायको भने ब्यक्तिगत चाहना मात्र हो। उहाँ निजी क्षेत्रका बैंकहरुलाई सँगै लिएर जान सक्नु हुन्न।’

संघको सदस्यका रुपमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको दुई बर्षका दरले दुई कार्यकाल पुरा भइसकेको छ। एउटै पदमा दुई कार्यकालभन्दा बढि बस्न नपाउने ब्यवस्थाका कारण यसमा निर्वाचन हुने छ। 

यसबाहेक सनराइज बैंकको प्रमुख कार्यकारीबाट बाहिरिएपछि जनक शर्मा पौडेलको सदस्य पद रिक्त छ। यो पदमा पनि निर्वाचन हुने छ।

नेपाल बैंकका कृष्णबहादुर अधिकारी, मेगा बैंककी अनुपमा खुँजेली र एनएमबि बैंकका सुनिल केसीको एक कार्यकाल पुरा भएको छ। उनीहरुले अर्को एक कार्यकाल दोहोर्‍याउन सक्छन्। त्यसो हुँदा पनि यो पदमा निर्वाचन हुने छ।

4360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका