

महिला सशक्तिकरण र समानता उजागर गर्न कोकाकोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका एक हजारजना महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना रहेको कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै उक्त कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको कम्पनीले जनाएको छ।
यो कार्यक्रमले महिलाहरुलाई ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ। जसले महिलाहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै राष्ट्रकै आर्थिक विकासमा सहयोग पुर्याउन सक्षम बनाउने कम्पनीले जनाएको छ। पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको कोकाकोलाले जनाएको छ।
‘हामी विश्वास गर्छौँ कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो। त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्देश्यले पहिला पनि ‘स्टार’ र ‘फाइभ बाइ ट्वेन्टी’ जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौं। ती कार्यक्रमहरुले महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए, जुन हाम्रो लागि खुशीको कुरा हो,’ कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘महिला सशक्तिकरण सम्बन्धि यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने अभियान अन्तर्गत यो वर्ष हामीले नेपालभरी साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका एक हजार महिलाहरुलाई व्यवसायिक तालिम दिँदै छौँ।’
‘नेपालको ग्रामीण तथा शहरी क्षत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायः महिलाहरुले नै चलाउनुहुन्छ। हामीले के देखेका छौँ भने यो कोभिड महामारीले वहाँहरुको व्यापारमा धेरै चुनौतीहरु ल्याएको छ।
यो कार्यक्रम मार्फत् हामीले उहाँहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र वहाँहरुको व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएका छौँ,’ बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने।